Thursday, June 11, 2020

विदेशीको स्वार्थमा सडक आन्दोलन ?

हुन त लेख्दैमा या नलेख्दैमा फरक पर्ने केही होइन तर लेख्न मन लागि हाल्छ र लेख्छु । सरकारले कुनै गलत काम गरेको छ भने विरोध गर्न पाउने नागरिकको अधिकार हो । सचेत नागरिकहरुको खबरदारीले पदमा वस्नेहरुले आफूलाई सुधार गर्ने मौका पाउँछन् । सतर्क रहन बाध्य हुन्छन् । अहिले संसार एउटा जादुमयी भाइरसको दवदवामा छ । छैन भन्दा छ जस्तो, छ भन्दा छैन जस्तो कोरोनाको जालझेलमा दुनियाँ रुमलिएको छ । विश्वका ज्यादै राम्रा र वैभवशाली भनिएका देखि महा खत्तम मानिएका देश र नेताहरुको व्यवस्थापन क्षमता जाँच्ने एउटा अनुपम अवसर जस्तो भएर कोरोनाभाइरस आएको छ । धेरै देशहरु जस्तै औषतमा हाम्रो मुलुक चलिरहेको छ ।
वर्तमान सरकार गठन हुन नपाइकनै यसको विरोधमा केही शक्ति लागेकै थिए । समयक्रम वित्दैजाँदा विरोधका स्वरहरु अरु थपिएका छन् । राम्रो गर्न त दिँदै नदिने नेपाली राजनीतिक चेतनाले सरकार चलमलायो कि विरोध गर्ने नै भयो । त्यसमाथि विविध कारणले वर्तमान सरकार, सोँचे जति कामकाजी हुन नसक्दा चौतर्फी प्रहार अरु तीव्र बनेका छन् । अहिले कोरोनाभाइरसको व्यवस्थापन र लक डाउन सरकारको विरोध गर्ने अर्को बहाना बनेको छ । केही नजाने पनि विरोध गर्न जान्ने हामीलाई के चाहियो र यो बेला ? यो भएन, उ भएन भन्यो । विरोध गरिहाल्यो । विरोध गर्न जान्ने तर काम केही नजान्नेहरु लोकप्रिय हुने मुलुकमा यो समय मलिलो बनेको छ ।
सरकारमा बस्नेहरु स्वयम्लाई महशुस भएको देखिन्छ, राम्रो काम गर्न सकिएको छैन । यसको अर्थ हामी सुध्रिनु पर्दछ भन्ने चेत उनीहरुसँग छ । अहिलेको राजनीतिक बाध्यता पनि त्यस्तै छ । अहिलेको विकल्प भनेको, अहिलेकाहरु सुध्रिनु नै हो । कथित् प्रजातन्त्रको पुनःस्थापना पछाडि देश निरञ्तर राजनीतिक अस्थिरताबाट यात्रारत थियो । अस्थिर राजनीतिबाट अवैध लाभ लिन अभ्यस्तहरु अहिलेको झण्डै स्थिर(गिरिजप्रसाद पछाडिको प्रधानमन्त्रीको लामो कार्यकाल) जस्तो सरकार बनेकोमा साह्रै औडाहा भएको छ । उनीहरु निसासिएर मरिएला झैं भएका छन् । त्यसैको भँडास पोखिनक्रम यत्रतत्र छ । वर्तमान सरकार कथम् पुरै कार्यकाल चल्ने अवस्था बनेमा ति प्राणीहरु हृदयघातले जान पनि सक्छन् । यो त भयो तिनीहरुको कुरा ।
कुरा अर्को पनि छ । नेपाली जनता लोकतन्त्रका लागि लायक छैनन् । उनीहरु प्रणालीमा विश्वास गर्दैनन्, बरु चमत्कारको आश गर्छन् र कहिले कस्लाई, कहिले कस्लाई पुकार्छन् । अहिले कसैलाई पुकार्ने कार्यको शुरुवात भइसकेको छ । यस्तो हुनुमा पार्टिहरुमा राजनीतिक सँस्कृति नहुनु जड कुरा हो । यदि त्यस्तो नहुन्थ्यो भने जम्मा तीन बर्ष पनि नपुग्दै सरकारले जुनतारा झार्नु पथ्र्यो, पहाड पल्टाएर मैदान बनाउनु पथ्र्यो भनेर मानिसहरु भन्ने थिएनन् । सत्य के हो भने देशको विकास र सामाजिक आर्थिक परिवर्तनको यात्रा अत्यन्त लामो हुन्छ । यदि कुनै सरकारले साँच्चै दूरगामी कामहरु गर्ने नै हो भने दशक पनि साह्रै छोटो हुन्छ । एउटा कार्यकाल भनेको त आधार निर्माण गर्दैमा सकिन्छ । तर हाम्रो जस्तो मुलुकमा त्यस्तो कुरा कल्पना जस्तो हुने रहेछ । तथापि जनमुखी काम गरेर परिर्वतन हुँदैछ भन्ने आभाष दिलाउन नसकिने भने होइन ।
अहिले सरकारको विरोध सडकमा उच्चस्तरकै हुने ह्रिहल्सन शुरु भएको देखिन्छ । प्रतिपक्षि त भर लाग्दो छैन नै । सरकारी दल नै अहिलकोे प्रतिपक्षी हो । त्यो शक्ति, यो सरकारले विर्सेर पनि राम्रो नगरोस् भनेर सबै प्रयत्न गरिरहेको छ । वर्तमान सरकार ऐतिहासिक संविधानसभाबाट निर्मित संविधान बमोजिमको चुनावबाट निर्वाचित भएर स्पष्ट बहुमत सहित आएको छ । यस्तो अवस्थामा सरकारको विस्थापन गर्ने राजनीतिक र नैतिक बल प्रतिपक्षीसँग त छैन नै । सत्तारोढ दलबाटै त्यस्तो कोशिश हुनु झनै अराजनीतिक र अनैतिक हुन्छ । यदि यो पाँच बर्षभित्र सरकारको परिवर्तन सम्भव छ भने स्वयम् प्रधानमन्त्रीको स्वेच्छिक वहिर्गगमन मात्रै हो । त्यो भन्दा फरक अवस्थाको सृजना गर्नु भनेको नेपालकालाई दुर्गतिको मार्गमा धकेल्नु सिवाय केही होइन ।
सरकारको कमजोरीको आलोचना गर्नैपर्छ तर ध्रुवसत्य कुरा केहो भने अहिले ओलीको ठाउँमा कुनै एबीसीडी प्रधानमन्त्री थिए भने पनि अवस्था उही हुने थियो । त्यसमाथि फ्रण्टलाइनमा देखिएका अन्य शीर्ष नेतृत्व प्रमाणित असफल छन् । कोरोनाभाइरस सरकारको कमजोरीका कारण भन्दा पनि भारत समर्थित विरोधीहरु र फटाहा नागरिकका कारण फैलिएको छ । अहिले भएको आन्दोलनको लक्ष्य अर्कै छ । यसमा देशद्रोही शक्तिको उक्साहट छ भन्ने प्रष्ट छ । हिसाब खोज्ने नाममा युवाहरुले आफ्नै मुलुकको अस्मितामाथि प्रहार गर्नु जस्तो राष्ट्रघात अरु हुन्न । काम गर्दा पैसा खर्च हुन्छ भन्ने पनि बुझनु नागरिकको पनि दायित्व हो । चित्त नबुझे हिसाब खोज्ने कानुनी अधिकार छँदैछ । विश्वास लाग्दाे पारदर्शिता कायम गर्ने सरकारकाे पनि दायित्व हाे । तर सङ्कटकाे समय आन्दोलनको नाममा युवाहरु विदेशीको गोटी हुनु दुखद हो । अहिले आन्दाेलन गर्ने नभइ राष्ट्रिय एकता कायम राख्ने समय हाे ! सरकारलाइ सहयाेग गर्ने समय हाे । यति कुरा राष्ट्रिय झण्डाकाे दुरूपयाेग गर्नु अघि बुझ्नु जरूरी छ !

No comments:

Post a Comment