हिउँ खेल्ने यात्रा !
यो
वर्ष हिमपात निक्कै पछि अर्थात वर्खा लाग्ने समयमा भयो । समयमा हिमपात
नहुँदा स्वभाविक रुपमा हिमाली भेगका ग्रामीण किसानहरुलाई चिन्ता हुन्छ ।
समयमा हिउँ परेन भने हिउँदे बाली (गहुँ, जौं, आलु, सागपात, उवा आदि) राम्रो
हुँदैन । हिउँ नपरेको वर्ष असिनाले बाली नाली सखाप पार्ने हिमाली जन
विश्वास छ । यो वर्षै वर्षको अनुभव जन्य कुराबाट निर्मित विश्वास हो ।
यसैलाई इण्डिजिनिअस नलेज भन्ने गरिन्छ । हिमालका मात्र होइन, सिंचाइको
सुविधा विहिन देशका हामी बासिन्दाहरु सबैतिर हिमपातकै प्रतीक्षा
मा हुने गछौं हिउँदमा ।
किन
भने हिमालमा हिउँ पर्दा पहाड र तराईमा वर्षाद हुन्छ । चार पाँच महिना लामो
खडेरीले काकाकुल बनाएको धर्तीलाई हिउँदे झरीले तृप्त बनाउँछ । बालीनालीमा
जीवन भर्छ । किसानमा अनेकालको चिन्ता हट्छ । एक प्रकार हिमपात र हिउँदे झरी
पर्नु भनेको नेपाली किसानमा आशाको सञ्चार हुनु पनि हो ।
हामी
नेपाली हिमाली देशका बासिन्दा ! सगरमाथा, मकालु, कञ्चन्जंघा, मनासलु,
धौलागिरी, अन्नपूर्ण, निलगिरी, सैपाल जस्ता हिम चुचुराबाट आफूलाई
गौरवान्वित ठान्छौं । नेपाललाई धेरै जसो हिमालकै नामबाट संसारमा चिन्ने
गरिन्छ । तर बिडम्बना ८० प्रतिशत नेपालीहरुले नजिकबाट हिमाल देख्न र
हिउँलाई छुनै पाएका हुँदैनन् । विद्यालय उमेरमा ताना शर्माको निबन्ध पढ्दा
कस्तो आफैँलाई नमज्जा लाग्थ्यो । हिमालयको देश नेपालमा जन्मिएका ताना
शर्माले बेलायतमा पुगेर मात्रै हिँउलाई नजिकबाट देखेको र छोएको कुरा लेखेका
थिए ।
उनी त इलममा जन्मिएका थिए । हिमाल अलि टाढै हुने भयो । शर्मालाई बेलायत
पुग्दा भएको पीडादायी वा लज्जाजनक हालत भन्दा उनको निवन्ध पढ्दा मलाई भएको
थियो । म पूर्वी हिमाली जिल्ला संखुवासभाको पनि हिमाली गाविस मकालुमा
जन्मिएको मान्छे । तर विद्यालय उमेरमा कहिल्यै हिउँ र हिमपातको दृष्य
नजिकबाट देख्न पाएको थिइन ।
मेरो गाउँबाट पारी धेरै टाढा देखिने सिम्सा हिमालको हिउँ मात्र १५÷१६
वर्षको उमेरसम्म मैले देखेको थिएँ । हिउँ छुन पाउने त कुरै भएन । धेरै
हिमपात हुँदा मेरो गाउँपारी सेदुवाको ओङसिङ र आम्राङको शीर भुसुनेडाँडासम्म
हिउँ परेको देखिन्थ्यो । हिमाली गाविस भएर पनि अरुण नदी नजिकै भएकाले मेरो
गाउँसम्म कहिल्यै हिउँ आइपुग्दैन ।
त्यही भएर मलाई बाल्यकालमा हिउँ छुने अवसर मिलेन । हिमालय मावि खाँदबारीमा
पढ्ने ताका सुकेपातलमा परेको हिउँलाई पहिलो पटक कुल्चिएको थिएँ । थोरै
मात्रामा परेको हिउँ धेरैदिन रहँदैन । नजिकबाट हिँउ र हिमाल देख्न पाएको
त्यसपछि म्याग्दीको चर्चित पर्यटकीय स्थल पुन हिल जाँदा हो । त्यहाँ पुग्दा
पहिलो पटक हिमाललाई आखाँ अगाडि नजिकबाट देख्न पाएँ ।
पछि लाङटाङ जाँदा हिउँ छुन पाएँ । संखुवासभाको पावाखोला, थुदाम हुँदै टिबेट जाँदा हिमाल पार गरेरै गएँ ।
बासी भएको हिउँ र ताजा हिउँमा पक्कै परक हुन्छ । मैलै अघाउँजी ताजा हिउँ
खेल्न पाएको थिइन् । २०६६ साल फागुन ११ गते महाकुलुङ जाँदा कुलुपोङ्खो
भञ्ज्याङमा हिउँ खेलेको थिएँ । बाटोमा भएकाले हतार थियो, एक्लै पनि थिएँ ।
धेरै खेलिएन ।
तर यो वर्ष फागुन पहिलो हप्ता परेको हिउँमा खेलेर साँच्चै मज्जा लिन पाइयो ।
संसारकै उत्कृष्ट पर्यटकीय स्थल सोलुखुम्बूलाई मानिन्छ । सोलु बसराइको
तेश्रो वर्ष पुरा भइरहँदा हिउँमा खेल्ने रहर साँच्चै पुरा गरियो । जिल्ला
सदरमुकाम नजिकै रातनागे डाँडा छ । सल्लेरी, काँकु र बासा गाविसको संगम
स्थलका रुपमा रहेको रातनागे डाँडा चर्चित भ्यू पोइन्ट हो ।
यहाँबाट मौसम सफा भएको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका
हिमालहरु हेर्न सकिन्छ । रातनागेडाँमा हिउँ हेर्न र खेल्न प्रजातन्त्र
दिवसको अवसरलाई उपयोग गरियो । सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनन्सका साथी
ज्ञानदीप राई, भाइहरु केशव र सुजन कुलुङ, महेश कार्कीजी, बहिनीहरु सरस्वती
र मनिला कुलुङ सहित यात्रा साच्चै रमाइलो रह्यो । हिउँ खेल्दाका केही
दृष्यहरु !
एउटा सत्य कथा
कथा
उनकी आमाको सानैमा विहे भएको थियो । विहे हुँदा लोग्ने स्वास्नी १२ वर्षका थिए । ससुराली आएका उनीहरु बाटोमा गट्टा खेल्दै झगडा गर्ने । यो करिब ४० बर्ष अगाडिको कुरा थियो । उमेर बढ्दै जाँदा शारीरिक आकर्षण या प्रेम भयो । उनीहरुले छोरी जन्माए । उमेर बढ्दै जाँदा आमाको लोग्नेलाई अरु नै कोही मन प¥यो । आमालाई त्यसको खास वास्ता थिएन । तर मामाहरु केही जान्ने हुँ भन्ने बल र बुद्धिका घमण्डी । दिदीको लोग्नेलाई बेस्मारी पिटेर चेली खोसेर माइतीमा लिएर आए ।
लोग्नेको घरबाट फिर्ता ल्याइएकी चेली गोठमा वस्तु गोठाला भइन् । उनको बसाइ गोठमै थियो । छोरी ठूली हुँदै थिइन् । गोठालामा उनी एक्लै थिइनन् । नातामा भाइ पर्ने गाउँकै युवक पनि सँगै थिए । रहँदै वस्दै जाँदा एउटै वंशका भएपनि उनीहरुले चेली–माइती विर्सिए । प्रेम सायद शारीरिक आकर्षण हो । वास्नाले उनीहरुलाई जिते । शारीरिक सम्पर्क भयो । उनी गर्भवती भइन् । उनीहरु चेली–माइती नाता पर्ने भएपनि विहे गर्ने निष्कर्षमा पुगे ।
परम्परा अनुसार साइनो लाग्ने विहे गर्नेलाई गाउँबाट निकाला गर्ने चलन थियो । माइती पक्ष केटालाई गाउँ निकाला गर्नेमा लागे । तर अन्तिममा ति दुईको विवाह हुन दिएनन् माइती पक्षले । उनकी आमाले दोश्रो सन्तानको रुपमा उनलाई माइतीमा जन्माइन् । उनको बाबाले आमालाई दिएको सुत्केरी खर्चसमेत मामा पक्षले स्वीकार गरेनन् । उनी बामे सर्दै गर्दा उनकी आमाको मामाहरुले उनी भन्दा निक्कै जेठा विधुरसँग विवाह गरी दिए । आमासँगै नयाँ स्वास्नीको उपहारका रुपमा उनी आमाको तेश्रो लोग्नेको घर पुगिन् ।
एक छोरी र एक छोरा आमाबाट जन्मिएपछि आमाकी लोग्नेको मृत्यु भयो । उनी सानै थिइन् । आमाको कान्छो लोग्ने अर्थात कान्छा बाबा कस्ता थिए भन्ने उनलाई हेक्का छैन । जब उनी १६ वर्षकी भइन् । अनि बल्ल उनले आफ्नो बाबालाई भेट्न गए । बाबा उनलाई माया गर्थे । आमासँगको विछोड पछि उनको बाबाले अर्को विहे गरेका रहेछन् । संयोग वा सामाजिक विकृति ! फेरि आफ्नै नजिकको चेली पर्नेलाई विहे गरेछन् । दुई छोरी जन्माएपछि उनको मृत्यु भइहालेछ ।
कुलुङ संस्कारमा आफ्नो नजिकको चेली माइती पर्ने विवाह गरेर फाप्दैन भन्ने मान्यता छ । त्यही भएर कान्छी आमा अर्थात बाबाको दोश्रो स्वास्नी युवा अवस्थामा नै मरेको अरुहरुले उनलाई भन्छन् । उनको बाबाको पनि त्यति धेरै उमेर नखाइ ६ वर्ष अघि मृत्यु भइसकेको छ । नातामा विहे गरेकै कारण यस्तो भएको होकी भन्ने उनलाई लाग्छ । अर्को उनी आफ्नो मामाहरुको भूमिका खराब रहेको ठान्छिन् । आखिर बाबाको कर्म नजिकै नातामा रहेछ । बरु कुलुङ संस्कार अनुसार दप्स्नीङ परिवर्तन गरेर मान्यता दिएको भए हुने थियो ।
अहिले आमा विधवा जीवन विताइरहेकी छिन् । उनलाई धेरैले आफ्नो वास्तविक पहिचानबाट कमैले चिन्छन् । आमाको कान्छा लोग्नेबाट चिन्छन् । उनलाई पनि अप्ठ्यारो लाग्छ । बाबा पट्टिका आफन्तहरुलाई त्यति चिन्दैनन् । आमाले जन्माएको सन्तान तीन जना लोग्नेबाट ४ जना छन् । उता बाबा पट्टि उनीहरु तीन बहिनी छन् । ऊ र एउटा बहिनीको विहे भइसकेको छ । एउटी बहिनी बाबाको घरमा बस्छिन् ।
अहिले आफ्नो वास्तविकता मान्छेहरुलाई सुनाउन उनलाई अप्ठ्यारो लाग्छ । कसैले कसैलाई जबर जस्ती एक अर्काबाट अलग्याई दिँदा नजिकै गाउँमा भएर पनि आफ्नै बाबा र आमा पट्टिका सन्तानहरु दसतिर भएका छन् । हाडनाता वा नजिकको नातामा विहे गर्नु हुन्न भनेर कुलुङ समाजमा अभिभावकले नसिकाउँदाको परिणाम उनी आफ्नो अवस्थालाई ठान्छिन् ।
(यो महाकुलुङ क्षेत्रमा परिचित एक युवतीको वास्ताविक कथा हो ।)
पन्धबर्ष नुपुग्दै विवाह गर्छन् वालिकाहरु
(हाम्रै नेपालमा)
राजधन कुलुङ
सोलुखुम्बूको वाकु–८ वाप्सा, मगर गाउँका अधिकांश वालिकाले १५ वर्ष नपुग्दै
विवाह गर्ने गरेका छन् । बालविवाह कानुनद्धारा बर्जित भएको कुरासँग बालिका र
उनीहरुका अभिभावक कसैलाई वास्ता छैन । वाप्सा बदबर टोलकी सुष्मा
रजानमगर(१४)को वाकु– ९ लाखुका किशोर हिराकाजी रानामगर(१६)सँग भरखरै विहे
भयो । कानुनी रुपमा दुबैको उमेर नपुगे पनि अभिभावकै सहमतीमा उनीहरुको विवाह
भएको हो । सुष्मा र हिराकाजी अहिले माइती–ससुराली गरिरहेका छन् ।
एकवर्ष पहिले वाप्सा बलेफाकी कोपिला खपाङ्गी मगर(१४)ले सोमान मगर(२१)सँग प्रेम विवाह गरिन् । ओठ निचोर्दा दूध आउने बालिका कोपिलाले विहे गर्दा उनका अभिभावकले खासै आपत्ति जनाएनन् । आफूलाई मन पराएको भन्दै सोमानले जबरजस्ती गरेपछि बाध्य भएर विहे गर्नु परेको कोपिला बताउँछिन् । विहेपछि ४ कक्षाको पढाई त्यसै रोकिएको छ भने उमेर नआउँदै गहस्थी जीवन सुरुभएको छ । विवाहले पढ्ने धोको समाप्त भएको कोपिला बताउँछिन् ।
कोपिला खपाङ्ीकै उमेरमा हिमाली मगर(१४)ले र गोपाल मगर(१८)सँग गतवर्ष विहे गरिन् । हिमाली र गोपल आफ्नै राजीखुसीले विहे गरेको बताउँछन् । विहेपछि ७ कक्षामा पढ्दै गरेका दुबैको स्कुल छुटेको छ । अहिले हिमाली गाउँमै घरखेती गर्छन् भने गोपाल कहिले गाउँ त कहिले नाम्चे जाने आउने गर्छन् ।
सुष्मा, कोपिला र हिमालीको मात्र होइन गाउँका सबै जसो किशोरीहरुको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ । १५ वर्ष नपुग्दै विहे गर्नेको लस्करमा जोडिन्छिन् बेबिना मगर(१८), जसले ४ वर्ष पहिले गाउँकै अमर मगरसँग विवाह गरेर दुई बच्चाकी आमा भइसकेकी छिन् । उनीहरु आमाबाबससँग छुटिएर बस्दै आएका छन् । १५ वर्षमा टेक्दै गर्दा विवाह गरेकी सुजता मगर(१९)को छोरो ४ वर्षको भइसकेको छ । विष्णु मगर(१५) ले गाउँकै शम्भु मगर(१८)सँग डेडवर्ष पहिले विहे गरिन् ।
करिब १५० घर मगर परिवार रहेको वाप्सा गाउँमा पछिल्लो पटक अरु हेरी उमरे पुगेर विहे गर्ने सुविता मगर(१८) र राजु रानामगर(१८) हुन् । अरुका केटाकेटीले बच्चैमा गरेपनि आफूले उमेर पुगेरै छोरीको विवाह गरिदिएको सुविताकी आमा चिनीमाया रजानमगर बताउँछिन् । ९० प्रतिशत बालिकाहरुको किशोरी अवस्था पार नभइ विहे हुने गरेको स्थानीय गोविन्द थापामगर बताउँन । भन्छन्– कानुनले अवैध मानेको बालविवाह परम्पराकै रुपमा वाप्सामा स्थापित छ ।
पछिल्लो ७ वर्षमा सबैभन्दा धेरै उमेर पुगेर आफूले विहे गरेको सन्ध्या थापामगर(२१) बताउँछिन् । उनले दुईवर्ष पहिले गाउँकै हिरा मगर(२१)सँग विवाह गरेकी हुन् । सन्ध्याका अनुसार पहिलो राजश्वालासमेत नहुँदै वाप्साका धेरै केटीहरुको विवाह भइसक्छ । २०६१÷०६२ यता वाप्साका दुई दर्जनबढीको बालविवाह भएको छ । वालविवाह अन्यत्त्र विकृति मानिएपनि आफ्नो गाउँमा सामान्य बन्दै गएको सन्ध्या बताउँछिन् ।
अरुका छोराछोरीले बालविवाह गरेपनि आफ्नो छोराछोरीलाई त्यस्तो गर्न नदिने स्थानीय अजम्बरी सामुदायिक संस्थाकी कोषाध्यक्ष सीता मगर बताउँछिन् । बालविवाहको चलनले बालिबालिकाको पढाई चौपट भएको कोषाध्यक्ष मगरको अनुभव छ । अहिलेसम्म वाप्साको बदबर, बलेफा, खानी र रोयखोला टोलका कुनै मगर बालिकाले एसएलसीसम्म नगरेको सिता बताउँछिन् । अधिकांश केटाहरुले पनि १८, १९ वर्षमा विहे गर्ने गरेका छन् । सानो उमेरमा विवाह गर्ने चलनले गाउँ शिक्षामा ज्यादै पछाडिएको स्थानीय भक्तबहादुर मगर बताउँछन् ।
बालविवाहले शिक्षा आर्जन तथा व्यक्तित्व विकासमा बाधा परेको र परिवार सञ्चालन गर्न गाह्रो भएको सन्ध्या थापा बताउँछिन् । स्थानीय सगरमाथा मावि कक्षा १० पढ्दापढ्दै विहे गरेकी सन्ध्या स्वयम् त्यसपछि पढाइ छाड्न बाध्य भइन् । बालविवाह हुनुमा अभिभावकहरु नै दोषी भएको सन्ध्या बताउँछिन् । ‘ठूलाहरुले गाउँको विवाह तथा सामुहिक कार्यमा साना केटाकेटीहरुलाइ जुटाइदिने, जिस्काउने, उकास्ने गर्छन्’ भन्छिन्– यसले बालविवाह गर्न प्रोत्साहित गराएको छ ।’ केहीले भने साथीभाइको देखासिखीले सानैमा विहे गरेको बताउँछन् । आफु सानै भएपनि मनमिलेपछि एक्लै बस्न नसकेर विहे गरेको बेबिना मगर बताउँछिन् ।
आर्थिक र शैक्षिक रुपमा पछाडि रहेको वाप्सा मगर गाउँमा बालविवाह रोक्न
विशेष सचेतनात्मक अभियान खाँचो भएको गैह्रसरकारी संस्था पहाडी विकास तथा
संरक्षण समूह नेपालको वाकु हेर्न सामाजिक परिचालक पर्विमाया खालिङ राई
बताउँछिन् । पहाडी विकासले वाप्सामा गरिबी निवारण कार्यक्रम सञ्चालन
गरिरहेको छ । सामाजिक परिचालक राईका अनुसार कार्यक्रममा समेटिएका
परिवारहरुको सामुदायिक संस्थामार्फत बालविवाह रोक्न अभियान चलाउन पहल
भइरहेको छ ।
अजम्बरी सामुदायिक संस्थाकी अध्यक्ष चिनीमाया रजानमगर केटाकेटीले सानैमा विवाह गर्दा अन्य गाउँकाले हेयका दृष्टिले हेर्ने हुँदा अबको दिनमा यसलाई रोक्न पहल गर्ने बताउँछिन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, सोलुखुम्बूका उपाध्यक्ष नरेन्द्र थापामगर जिल्लाकै पछाडि परेको मगर गाउँमा सुधार अभियान चलाउनु पर्ने बताउँछन् । गाउँ विकास समिति र महिला तथा बालबालिका कार्यालयले वाप्सामा सचेतना अभियान चलाउनु पर्नेमा उनी जोड दिन्छन् ।
(फोटोः १. सानैमा विहे गरेर आमा बनेकाहरुः सन्ध्या, कोपिला र बेबिना मगर । २. सानैमा विहे गरेर वर्षेनी आमा बनेकी एक युवती । तस्विरः राजधन कुलुङ)
साझा श्रीमती हुने दाजु भाइको दैनिकी
Krishna, Tsedar & Tsiring |
संखुवासभा किमाथांका– १ का पेमा शेर्पा(५५) र छेदर शेर्पा(४९) चारदाजुभाइध्ये जेठा र माहिला हुन् । परिवारका चारमध्ये साइला छेवी र कान्छा टासी छुट्टिएर अलग्गै आफ्नो परिवारका साथ बस्छन् । तर पेमा र छेदर बाबुकै पालादेखि सँगै बस्दै आएका छन् । पहिलेको सगोल परिवार जस्तै अहिले पनि उनीहरुको एउटै परिवार छ । दुबैको साझा श्रीमतीका रुपमा २६ वर्षदेखि छिरिङ भुटिक(४९) छिन् ।
दाजुभाइ सँगै बस्छन्, खान्छन्, सुत्छन् । दिउँसो अधिकांश समयसँगै काममा जान्छन् । उनीहरुलाई दाजुभाइको एउटै श्रीमती भएकोमा कुनै अप्ठ्यारो छैन । श्रीमतीसँग बस्ने उनीहरुको आफ्नै समझदारी छ । साझा श्रीमतीबाट दुबैको गरी २ छोरी र ३ छोरा जन्मिएका छन् । अझ यसो भनौ बहु विवाह गर्ने पुरुषको मिलेका दुईवटी श्रीमतीहरु जस्तै छ, दाजुभाइको सम्बन्ध । दुबैलाई अप्ठ्यारो महशुस हुन्छ त, जब अन्य गाउँका कोही घरमा आइपुगे प्रश्न सोध्दा हुन्छ ।
यो पङ्तीकार २०६६ जेठको १२ गतेको साँझ उनीहरुको घर पुग्दा बाहिर पानी परिरहेको थियो । भित्र पेमा र छेदर दाजुभाइ चुलोको पूर्वपट्टि आगो ताप्दै कुरा गरिरहेका थिए । चुलोको पश्चिमपट्टि बसेर श्रीमती छिरिङभूटिक फापर भुटिरहेकी थिइन् । किमाथांका गाविस सचिव कृष्ण खनालका साथमा गएको पङ्तीकारसँग कुरा गर्न सुरुमा उनीहरुले अप्ठ्यो माने । ६० घर मात्रै बसोबास गर्ने किमाथांका गाविसका सबैले सचिवलाई चिनेका थिए । साथीको रुपमा खनालले परिचय गराएपछि उनीहरु मसँग आफ्नो परिवारका बारेमा बोल्न राजी भए । जेठ ४ दिनको बसाइको क्रममा यो परिवार मात्रै थियो दुबै श्रीमानसहित श्रीमती घरमा भेटिएको र केही कुरा गर्न मञ्जुर । होइन भने गाउँका केही शिक्षित र देश–परदेश डुलेका भनाउँदोहरुबाट तिमीहरुको बेइजत यिनीहरुले पत्रिकामा छापेर गर्छन् भनेकाले यस्ता सबै परिवारका मान्छे फोटो खिच्न त के र कुरा गर्नसमेत मान्दै नमान्ने । तर पेमा र छेदर थोरै उदार भेटिए यस मामिलामा ।
नेपालकै दुर्लभ परम्परा धानी रहेको भएपनि यी दाजुभाइ साझा श्रीमती राखेको कुरालाई सजिलै भन्न चाहँदैनन् । छिरिङभुटिक दाजुभाइको साझा श्रीमती हो नी ? भन्ने जिज्ञासामा हो भनेका छेदरले जेठाको खुट्टा एकपटक भाँचिएर कमजोर रहेका कारणसँगै बस्नु परेको बताए । यो परम्पराको पुरानो चलनअनुसार दाजुभाइसँगै घरमा नबस्ने भएपनि उनीहरु धेरैजसो दुबै घरमै हुन्छ्न । शारीरिक सम्बन्ध र सन्तान विभाजन प्रश्नमा छेदरले शारीरिक सम्पर्कको आफ्नै तालिका भएको तर बताउन अप्ठयारो रहेको भनेर पन्छिए । सन्तानको बाँडफाँड भने अनुहार हेरेर गरिने र यही तरिकाबाट दाजुभाइको भाग लगाएको उनले बताए । छेदरकाअनुसार दाइ अस्वस्थ्य र चौरी गोठ नभएकाले धेरै जसो गाउमा दुबैजना बसेका हुन् । तर परिवारको नेतृत्व माइलाले गर्दै आएका छन् ।
Pema & Tsedar: Brothers |
किमाथांकामा साझा श्रीमती(पाँच पाण्डव)को परम्परा धान्दै आएका यिनै चार परिवार हुन् । भारतको उत्तराञ्चल, हिमाञ्चल र केरलामा समेत केही हिन्दु जातिमा समेत रहेको यो चलनप्रति नावा जातिका युवा पुस्ता नकारात्मक भइँदिँदा परम्परा नै लोप हुने अवस्था केही समयपछि नै आउने देखिन्छ । यो चलन अनुसार परिवारमा खास गरी एकजनाको विवाह हुन्छ । उसैकी श्रीमती भनेर मागिन्छ तर विहेमा सबैसँग राखेर टीकाटालो गरिन्छ । टीकाटालोपछि भित्र्याएकी दुलही सबै दाजुभाइकी श्रीमती हुन्छिन् । कतिपय महिलाहरु नै साझा श्रीमतीका रुपमा मात्र विवाह गर्न चाहनेपनि हुन्छन्, नावा परम्परामा । महिला कै माग त्यस्तो हुँदा दाजुभाइले एउटै ल्याउनैपर्छ ।
Tsiring frying Buckweat. |
पहिले परिवारमा जति जना दाजुभाइ छन्, तिनीहरु सबैले एउटै महिला विवाह गर्थे । किमाथांका कै स्थानीय लामा दावा नावाका पाँच हजुरबाहरु किङसङ दोर्ची, जिमी लामा, ल्हाकपा, पेम्बा र येसीका श्रीमती कासाङ थिइन् । उनको हजुरबाको मात्र होइन अन्यको पनि यस्ता थुप्रै परिवार थिए । त्यो वेला र अहिलेको जीवनपद्धतिमा केही परिवर्तन भएको छ । तर यो चलन विशेष खालको छ ।
दावा नावाका अनुसार पहिलेको चलनमा दाजुभाइ सबैको जिम्मेवारी विभाजन हुन्थ्यो । कोही खेतीको जिम्मामा बस्थे भने कोही गोठ, कोही व्यापार, कोही लामा आदि कामको जिम्मा लिन्थे । यसले गर्दा उनीहरु सबै दाजुभाइ एकै पटक घरमा कमै मात्र भेला हुने भए । जुन भाइ घरमा भयो, श्रीमती त्यहीसँग बस्थिन् । वर्षको एकदिन सबै दाजुभाइ आ–आफ्नो कामबाट घर आउँथे, सबै बसेर आफ्नो वर्षभरिको काम, नाफा घाटा सबैको समीक्षा गर्ने चलन नावाहरुको छ । त्यसपछि आफूहरु नहुँदा घरको रेखदेख गरिदिएको भनेर पूजा गर्ने चलन हुन्छ । चाँदीले बाँधेको तोङबामा चाँदीकै पिपा(चुस्ने पाइप) राखेर पूजा गर्नुपर्छ । पूजापछि श्रीमतीलाई जेठादेखि कान्छासम्म सबै दाजुभाइले के कति कमाए भनेर अन्तिम हिसाब पालै पालो श्रीमतीलाई सुनाउँछन् ।
श्रीमती भने त्यसदिन राम्रो कपडा, गरगहना लगाएर श्रृङ्गार गरेर घरमा बस्नुपर्छ । पूजा सकिएपछि दाजु–भाइ एकठाउँ र श्रीमती अन्तै बसेकी हुन्छिन् । श्रीमानहरु एकै पटक श्रीमती कहाँ जानु हुन्न । चलन अनुसार जेठोबाट पालै पालो गरेर इच्छा हुनेमध्येले शारीरिक सम्पर्क गर्छन् । तर पालो तलमाथि भए ओछ्यानमा को छ, को छैन हेरेर श्रीमती कहाँ जाने चलन भएको दावा बताउँछन् । साझा श्रीमती हुने परिवारमा सबैभन्दा बढी चासोको रुपमा उनीहरुको यौन जीवनलाई नै हेरिएको हुन्छ ।
तर पहिले साझा श्रीमतीमा बसेका पेम्मा शेर्पा भने अरुले भनेको जस्तो, यस्तो परिवारमा नहुने बताउँछन् । भन्छन्– ‘दाजुभाइहरु एकै दिन पारेर कमै श्रीमतीसँग बस्न जान्छन्, परम्परागत रुपमा भन्ने हो भने घरमा एकजना मात्र श्रीमतीसँग रहन्छ । यदि कोही दाजुभाइ आए ऊ छाडेर अन्तै जानुपर्छ, यो चलनै हो ।’ तर सबैले यो नियम पालन नगरेको उनकै अनुभव छ । ‘मेरो नामकी श्रीमती दाइले निजी बनाए’– पेम्माले भने । त्यही विषयमा उनी अहिले जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् ।
स्थानीय गुम्बाका लामा दावा नावा भन्छन्– ‘खास परम्पराकै कुरा गर्दा जेठा र कान्छा मात्र पालै पालो श्रीमतीसँग जाने र अन्य दाजुभाइहरु कोही गिलोङ(कुमार) लामा बस्ने, कोही अन्य काममा लाग्नु पर्ने यो साझा श्रीमती प्रथाको मुख्य मान्यता हो ।’ तर शारीरिक सम्बन्ध सबैसँग नभए पनि सबैको हेरचाह श्रीमतीले गर्नुपर्ने, नगरे दाजुभाइ मिलेर कारबाही गर्ने चलन रहेको दावा बताउँछन् ।
संखुवासभामा दाजुभाइको साझा श्रमिती राख्ने चलन शेर्पा समुदायको नजिक मानिएका नावा जातिमा मात्रै पाइने गरेको भोटखोलाको भोटिया संस्कृति सम्बन्धि पुस्तक लेखक फिन्जो भोटे बताउँछन् । भोटेका अनुसार पैत्रिक सम्पत्ति र जमिनको खण्डीकरण नहुने र कामको बाँडफाँडमा सजिलोका कारण यो चलन अपनाइएको देखिन्छ । भोटखोला क्षेत्रकै अन्यजातिमा यस्तो परम्परा कहिल्यै अपनाइको इतिहास छैन । पूर्व गाविस अध्यक्ष रिञ्जिन लामा र शिक्षक लाच्या पनि यसमा सहमत छन् । कम उब्जाउ हुने र थोरै कृषियोग्य भूमि भएका ठाउँमा बस्नेहरुले यस्तो चलन चलाएको उनीहरु बताउँछन् । किमाथांकामा खर्कसमेत कम भएकाले यहाँ जनसंख्या नियन्त्रण गर्न तथा सम्पत्ती विभाजन रोक्न स्थानीय विशेषता अनुसारको परम्परा विकास भएको उनीहरुको तर्क छ ।
तर किमाथांकामा पछि आएका तिब्बतीयन मुलका फेच्याबाहरुमा यस्तो चलन छैन । च्याबा, नावा र शेर्पामा मात्रै यस्तो छ । त्यस्तै चेपुवा–७ छुमसुर, ८ रिदाक र हटिया २ फाराङ यो चलन छ । त्यहाँका मेनाक्पा, ङोम्बा, च्याबा, नावा, ठाकतोक, ज्याङग्रा, ठोमा, नावा, शेर्पा थर भएकाहरुले साझा श्रीमती राख्ने गरेका छन् । यो परम्परा नावा जातिको मौलिक पहिचान भएको शिक्षक लाच्या नावा बताउँछन् । अहिले किमाथांका बाहेक रिदाकमा ३, छुमसुरमा २ र हुङ्गुङ फाराङमा २ परिवारका दाजुभाइ साझा श्रीमतीमा बसेका छन् ।
शिक्षितहरु युवाहरुको आकर्षण पटक्कै साझा श्रीमती प्रथाप्रति नभएको शिक्षक नावा बताउँछन् । अहिले व्यक्तिवादी सोंच बढ्नु र यो चलन नै नराम्रो अरु समुदायबाट भनिनु यसमा विकर्षण देखिनको मुल कारण भएको फिञ्जो बताउँछन् । बाह्य सम्पर्क बढ्दै गएकाले परम्परागत विवाह प्रणालीलाई अस्वीकार गरिएको शिक्षक नावाको भनाइ छ । नावाका अनुसार साझा श्रीमती राख्ने परिवारमा पनि दाजुभाइमध्ये कोही बढी हावी भइदिनाले समस्या देखिएको हो । नाम सबैको भएपनि एकजनाले निजी बनाउँदा धेरैको समस्या देखिएको उनको अनुभव छ ।
(छिरिङभुटिक नावाका दुई श्रीमानहरु पेमा शेर्पा(दाँया) र छेदर शेर्पा– १, छेदर र दाजुभाइकी साझा श्रीमती छिरिङभुटिक–२ र पेमाको परिवासँग गाविस सचिव कृष्ण खनाल । तस्विरः राजधन कुलुङ)
गुराँस फुल्दा वनै रङ्गिन, मनै रङ्गिन
नेपालमा राष्ट्रिय फुलको सम्मान पाएको गुराँस फुल्दा वन त रातै रमाइलो हुन्छ नै मन पनि रङ्गिन बन्न पुग्छ । गुराँस फुल्दा कति सुन्दर देखिन्छ भनेर प्रष्ट पार्ने एउटा नेपाली लोक कथा गाउँघरमा प्रचलित छ । जुन यस्तो छ – सत्य युगमा एकदिन गुराँस उत्तिसको छोरी माग्न बेसीँ गएछ । सुरिलो उत्तिसले बाङ्गोटिङ्गो गुराँसलाई छोरी दिन अस्वीकार गर्दै बचन लगाएछ –‘तिमी जस्तो अष्ट बक्र(बाङ्खुटे) लाई कसरी मेरो सुन्दरी छोरी दिन सक्छु ?’ उत्तिसको बचनले गराँसको मन दुखेछ । अनि उस्ले पनि जवाफ फर्काउँदै भनेछ – ‘चैत्र–बेशाखमा मेरो रुप हेर्न आइज, म कति सुन्दर छु त्यो त्यतिबेला थाहा पाउनेछौ ।’ अनि गुराँस उत्तिसको छोरी नलिइ लेकतिर फर्किएछ ।
नभन्दै
चैत्र–बैशाखमा उत्तिस गुराँसलाई हेर्न लेकतिर गएछ । गुराँसको रुप हेरेर
उत्तिस साह्रै पछुताएछ । सत्य युगमा गुराँससँग कुटुम्बेरी गर्न नपाएकाले
कलियुगमा लेकसम्म उत्तिस पलाएको रे भन्ने विश्वास छ । पहिले समुद्र सतहबाट
२००० मिटर तलको उचाइमा हुने उत्तिस अहिले २९०० मिटरसम्म उम्रि सकेको छ ।
कथा जे सुकै भएपनि वातावरणवादीहरु विश्व तापमान वृद्धिको प्रभाव यसलाई
भन्छन् । ९ वर्ष पहिले संखुवासभा तामाफोक– १ मदामसिंहका ७६ बर्षे तामाङ
हजुरबाले आफु तन्नेरी हुँदा तीनजुरे क्षेत्रमा एकै बोट उत्तिस नदेखेको तर
अहिले गुराँससँग सराबरी भएको बताउँदै यो कथा सुनाएका थिए । वास्तवमा अहिले
ग्लोवल वर्मिङले हिमालसम्मै न्यानो हुँदै गएर हिमरेखा माथिमाथि सरी रहेको छ
। लोककथामा नै ग्लोबल वर्मिङ आइसकेको अवस्थामा वातावरण संरक्षण चिन्तित
हुन आवश्यक छ नै ।
लालीगुराँस नेपालको १६०० देखि ३६०० मिटर उचाइमा कमन वनस्पति हो । संसारमा पाइने ४३ प्रजातिका गुराँसमध्ये ३० बढी नेपालमा पाइन्छ । तीनजुरे–मिल्के–जलजले नेपालको प्रसिद्ध गुराँस पाइने क्षेत्र हो । त्यहाँ २८ प्रजातिका गुराँस पाइने वनविज्ञहरु बताउँछन् । त्यसपछि मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अर्को धेरै खाले गुराँस पाइने क्षेत्र हो जहाँ २५ प्रजातिका गुराँस पाइन्छन् । यो तस्बिर खिचिएको गुराँस भने सोलुखुम्बूको घुम्नेपानी क्षेत्रको हो । यहाँ साँच्चै सुन्दर गुराँस चैत्रको १५ तिर फुल्ने गर्दछ । अध्ययन नभएपनि यो क्षेत्रमा २० भन्दा बढी प्रजातिका गुराँस पाइने अनुमान छ । यो तस्बिर बहिनी दौलित कुलुङले खिचेकी हुन् । तस्बिर सौजञ्यका लागि उनलाई आभार । यो ब्लगमा पोष्ट गरिएको तस्बिर हेरेर एकपटक गुराँसको सुन्दरता पान गर्नुहोला ।
लालीगुराँस नेपालको १६०० देखि ३६०० मिटर उचाइमा कमन वनस्पति हो । संसारमा पाइने ४३ प्रजातिका गुराँसमध्ये ३० बढी नेपालमा पाइन्छ । तीनजुरे–मिल्के–जलजले नेपालको प्रसिद्ध गुराँस पाइने क्षेत्र हो । त्यहाँ २८ प्रजातिका गुराँस पाइने वनविज्ञहरु बताउँछन् । त्यसपछि मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अर्को धेरै खाले गुराँस पाइने क्षेत्र हो जहाँ २५ प्रजातिका गुराँस पाइन्छन् । यो तस्बिर खिचिएको गुराँस भने सोलुखुम्बूको घुम्नेपानी क्षेत्रको हो । यहाँ साँच्चै सुन्दर गुराँस चैत्रको १५ तिर फुल्ने गर्दछ । अध्ययन नभएपनि यो क्षेत्रमा २० भन्दा बढी प्रजातिका गुराँस पाइने अनुमान छ । यो तस्बिर बहिनी दौलित कुलुङले खिचेकी हुन् । तस्बिर सौजञ्यका लागि उनलाई आभार । यो ब्लगमा पोष्ट गरिएको तस्बिर हेरेर एकपटक गुराँसको सुन्दरता पान गर्नुहोला ।
२७ वटी श्रीमतीका श्रीमान रामचन्द्र कटुवाल
जीवनमा मान्छेले कति जनासँग विवाह गर्ला? सामान्यतः हुने र पाइने जवाफ एक जनासँग भन्ने नै हो । कसै कसैले बढीमा दुई, तीन, वा चार जनासम्म गर्ला । तर खाँदबारी-११, ढोलबाजेका रामचन्द्र कटुवाल (५२) २७ औं श्रीमती शारदा दाहालसँग ५ वर्षदेखि जीवन विताइ रहेका छन्।
विवाह संसारमा जन्मिएका प्राय सबै महिला-पुरुषले गर्छन् । यो सामन्य वा स्वभाविक घटना हो । तर रामचन्द्र कटुवालको वैवाहिक प्रसङ्ग भने बैग्लै र रोचक पक्कै छ । ‘भगवान’ रामचन्द्रले जस्तो बल्लकी एउटै स्वास्नी सीता रावणलाई खोस्न लगाएर, फिर्ता लिएनन् उनले । बरु गएकालाई कहिल्यै खोजेनन् र अनेकौं कन्या र अर्काकीसमेत भित्राउँदै रहे । अहिलेसम्म २७ वटी ल्याएर दुर्लभ रेकर्ड कायम गरका छन् यिनले। कसैले एउटी पाउन मुस्किल भएको बेला २७ वटी भित्त्र्याउन सफल कलियुगका ‘साक्षात रामचन्द्र’सँग कसरी भित्रिए त? त्यति धेरै श्रीमतीहरु भनेर जान्न बहु विवाह संवाद गरिको छ। खै धेरै गर्छु भनेर विहे गरिएको थिएन । तर यस्तै भो, गर्दै जाँदा ख्याल ख्यालमै २७ जना पुगेछन् । कसरी त्यति धेरै पट्याइयो भनेर मान्छेहरु प्रश्न गर्छन्, भन्न पनि लाज मर्दो छ ।’ सयजना पुर्याउने विचार गर्नुभा’छ कि के हो ? सोध्दा मुस्कुराउँदे उनको जवाफ थियो । खाँदबारी बजारका साहूदेखि सामान्यसम्मको भर अभरमा भारी ओसारी दिने पेशाले भरिया रामचन्द्रले कति वर्षको उमेरमा, कसरी पहिलो विहे गरे ? ‘म भारी बोकेर म २५ वर्षको उमेरमा खोटाङ सिम्पानी पुगेको थिएँ । त्यहाँ खेताला र भरिया भएर बर्षदिन बसेँ । बस्ने क्रममा म जस्तै काम गर्ने, त्यहीँकी अधिकारी केटीसँग ‘लभ’ पर्यो । उनलाई लिएर म खाँदबारी आएँ । कटुवालले कथा सुनाए।
रामचन्द्रको पहिलो विवाह धेरै टिकेन । ६ महिना सँगै बसे, जेठी श्रीमतीको नाम पनि विर्सिएका छन् उनले । खाँदबारी-११, चापाबोटे ढुङ्गेधारमा जन्मिएको यिनी साक्षर हुन् तर आमाको धेरै श्रीमानहरु भएका कारण बाल्यकालमा आर्थिक हैसियत राम्रो भएन र भरिया बनेका थिए । २६ वर्षको उमेरमा पहिलो विवाह गरेका रामचन्द्रले अहिले जेठी श्रीमतीको जस्तै धेरैको नाम विर्सिएका छन् । छ महिनासँगै बस्ने जेठी श्रीमतीको साख नाम विर्सिएको संवादका क्रममा बारम्बार दोहोर्याए- खै गाउँलेहरु डल्ली भन्थे । ‘मसँग आएको ६ महिनापछि उनकै माइती गाउँका केटाहरुसँग तराई झरेकी थिइन्, त्यतै बात लागेको सुनें, पछि खोटाङ नै फर्किन् अरे तर म लिन गाइन् । अहिले मरे बाँचेको थाहा छैन ।’ यस्तो थियो जेठीसँगको विछोडको कथा।
एउटीले छाडेपछि अर्की त ल्याउनै पर्यो । अब उनको दोश्रो विहेको कथा सुरुभयो । माइली श्रीमती भएर आइन् माल्टाकी चन्द्रवती गिरी । तर चन्द्रवतीसँग पनि रामचन्द्रको धेरै हिउँद वितेन । ‘जम्मा ३ वर्षँसगै बसियो चन्द्रवतीसँग’ कटुवाल मुस्कुराए । किन छुटिए त दोश्रीसँग पनि रामचन्द्र – ‘पछिपछि उनी जोसँग पनि लाग्न थालिन्, जता जो सँग मन लाग्यो त्यतै जाने गर्न थालेपछि मैले नै छाडी दिएँ।’ चन्द्रवती आफ्नो १ छोरासमेत लिएर गएको रामचन्द्रले बताए । चन्द्रवतीलाई कहिलेकाहीँ बजारमा देखे पनि छोरा कहाँ छ भन्ने जानकारी आफूलाई नभएको रामचन्द्रले सुनाए। त्यसपछि एक्लो भएका रामचन्द्रलाई तुम्लिङटार बोहराटार गाउँकी माइतीमा विग्रेर बसेकी मुनादेवी गिरी आइलाग्यो । माइतीहरुले मुनादेवी रामचन्द्रलाई ल्याइ दिएका थिए । १३ वर्ष रामचन्द्रसँगै बसेकी मुना निमोनियाले अस्पतालमा मरिन् । मुनासँगको १३ वर्षको वैवाहिक जीवनमा रामचन्द्रको कुनै सन्तान भने भएनन् । अहिलेसम्मका श्रीमतीहरुमध्ये उनको अनुभवमा मुनादेवी असल थिइन्। तेस्रो श्रीमतीको मृत्युले रामचन्द्र विवाह गर्ने क्रम रोकिएन । लगतै विरामी अवस्थाकी सुवेदी थरकी (नाम विर्सिए) महिलालाई कसैले रामचन्द्रको जिम्मा लगाइ दियो । उनले सक्दो उपचार गरे । महिना दिनमा निको भयो । निको भएपछि छाडेर आफ्नै बाटो लागिन् । ‘उनी धूपुका मगरसँग विवाह गरेर बसेकी छिन्’ आँखा चम्काउँदै रामचन्द्र बोले-’कहिले काहीँ भेटहुँदा सञ्चो सुविस्ता के छ भनेर सोध्छिन् ।’ पूर्व एक श्रीमतीसँगको सम्बन्ध बारे जानकारी दिए।
पाँचौं श्रीमतीका रुपमा आफ्नै घरमा डेरा गरी बस्ने इलामकी लिम्बुनीलाई अपनाए । जुन रामचन्द्रकै शब्दमा ‘अर्काकी स्वास्नी’ थिइन् । कटुवालका अनुसार ख्याल ख्यालमा लसपस भयो र आइलाग्यो । लिम्बुनीसँगको विवाह पनि धेरै टिकेन । अब छैटौंमा खाँदबारीकै महादेवी गिरीलाई कसैले ल्याई दिए । उनी पनि बाटो लागिन् । त्यसपछि फूलमाया राईलाई भारी बोक्ने क्रममै ‘लभ’ परेर सातौं श्रीमतीका रुपमा विवाह गरेर ल्याए । फूलमाया रामचन्द्र आफैले विवाह गरेको दोस्री थिइन्। उनीसँगको गृहस्थी ६ महिनाबढी चलेन । त्यसो हुनुमा फूलमायाको माइतीको ‘भिलेन’ रोल जिम्मेवार थियो। रामचन्द्र अहिले पनि दुखेसो गर्छन् ‘फूलमायालाई माइतीले जबर जस्ती खोसेर लगे। उनी मसँगै बस्न चाहन्थिन्। तर माइती र दिदी ठूलो पदमा थिए, भरियासँग फूलमायाले विहे गरेको मन पराएनन्।’ तर छुटेपछि भेट भएको छैन, उनको उनीसँग। मन मिलेर विहे गरेको फूलमाया माइतीले खोसेपछि रामचन्द्र पनि केही विरक्तिए। आठौं विवाहपछि श्रीमतीको नाम र संख्या पनि हिसाब राख्न पनि उनले छाडेको बताउँछन् । भन्छन्- ‘पहिलेका ७ जनासँग १७ वर्ष विताएँ। फूलमायासँगको विछोडपछि विहे गर्ने पेशा जस्तै बन्यो।, अरुले सोधेपछि सम्झँदै जाँदा अहिलेकी २७ औं रहेछिन, आफैंलाई अचम्म लाग्छ।’ कसरी पुग्यो त्यतिविधि श्रीमतीका संख्या ? अनुहार चम्काउँदै हाउभाउका साथ रामचन्द्र विरासत सुनाए ‘त्यसपछि मैले पनि आएका जतिलाई नदोर्याइ र एकै पटक घरमा दुई जना नहुने गरी नयाँ नयाँ महिला श्रीमतीका रुपमा भित्र्याइ रहें। मैले लिने गरेको थाहा पाएपछि धेरैले मलाई नै ल्याइ दिन थाले। ल्याउने र जाने क्रम पनि निरन्तर भइरहृयो। कोही महिला कसैसँग विग्रियो र विगार्नेले जिम्मा लिन सक्ने अवस्था भएन र नराम्री छ भने म कहाँ आइ पुग्न थाल्यो। करीब ५ बर्षभित्र मसँग श्रीमतीका नाममा १८ महिला मेरो घर भित्रिएछन् । सम्झँदा आफैलाई शर्म पनि लाग्छ अहिले त।
रामचन्द्रले करीब एक दर्जन जातका महिला विवाह गरेका छन्। तिनीहरु सबै आफूले खोजेको नभइ ख्याल ख्यालमै जुरेको उनी बताउँछन्। धेरै विवाह उनले आफूले खोजेर नभइ अरुले नै ल्याइदिने गरेकाले भएका छन्। ‘अब त विहे गर्दिन भन्यो कतै न कतै कि आफैँ फेलापर्छ, कि त ल्याइदिन्छन् ।’- उनले विहेको क्रम सुनाए। छोटै समय सहि, ४ वर्षमा १८ कटुवालका श्रीमती भए। तर संयोग पनि कस्तो ती कोही पनि बढीमा ३ महिना भन्दा लामो समय बसेनन्। किनभने तिनीहरु ल्याएको होइन, ल्याइएर आएका थिए। रामचन्द्रकै शब्दमा -’अर्को उपयुक्त फेला नपरुञ्जेल बसे, लाज लुकाए, कोही राम्रो पाएपछि छाडेर हिँडेका थिए।’ भन्छन् – ‘आफ्नो कर्मै यस्तो होला भनेर सँगै बसुन्जेल श्रीमती मानेर राखे र सकेको सहयोग पनि गरे। तर गएपछि वास्ता गर्नै छाडिदिएँ। बीचमा छिटो छिटो फेरिएका श्रीमतीहरुमध्ये धेरैको क्रम र नाम पनि उनलाई याद छैन। सम्झेका नाममध्ये भगवती गिरी एक हुन्। माल्टा खिप्रीङकी भगवती एक महिनाको सुत्केरी हुँदा रामचन्द्र विहे गरेका थिए। उनी नाम लिन चाहँदैनन् तर कसैले रामचन्द्रलाई भगवती ल्याइ दिएका थिए। सुत्केरी अवस्थाकी उनलाई स्याहार उपचार गरे। तर दुई महिनापछि नानीसमेत छाडेर काठमाण्डौंतिर अलप भइन्। रामचन्द्रकै जिम्मामा बच्ची आयो त्यसलाई आफ्नै छोरी मानेर पाले। अहिले ७ कक्षामा पढ्दै छिन। छोरीकै कारण भगवतीको नाम याद आएको हो। भगवती रामचन्द्रका ९ औं श्रीमती थिए। रामचन्द्रलाई कति श्रीमतीको नाम मात्रै, कतिको थर मात्रै याद छ । सम्झेका अन्य नामहरुमा आठौं शारदा मगर, १५/१६ औं तिर पर्ने चनमती गिरी, त्यसकै हराहारी कि चन्द्रा पुरी, कलादेवी गिरी, २०/२२ औं की सरस्वती, नन्दी गुरुङ, अर्की तामाङ थरकी महिला, कार्कीको छोरी, अहिलेकी भन्दा दोश्रो अन्तिम विमला पोख्रेल आदि छन्। आफूलाई छाडेर धेरैले यतै वरिपरि आफ्नो घरजम गरि खाएकाले सबै बताउँदा नराम्रो हुने भन्दै रामचन्द्र केहीको नाम लिन पन्छिए। केहीको नाम भने कतै नलेख्ने शर्तमा गोपनियता खोले पनि, केहीको भने जति कोशिश गर्दा पनि विर्सिएँ भनेरै तारे। ‘नाम नलेखी दिनुहोला अप्ठयारो पर्छ’ पटक पटक सचेत गराए। जति विहे गरेपनि कोही नबसेपछि, उनले करिब १ वर्ष श्रीमती विहिन बसे।
तर मन मानेन, अर्को विहे गरें। २७ औ श्रीमतीको रुपमा शारदा दाहाल छिन्। धुपु लेब्राङकी शारदाले १६ वर्षकी हुँदा माइतमा अवैध गर्भधारण गरेकी थिइन्। माइतीले केही पैसा सहित २०६० सालको असार गते याद भएन, मध्यरातमा माओवादीले कारबाही गर्ने डरले रामचन्द्रलाई शारदाको लाज ढाकिदिन भन्दै जिम्मा लगाएका थिए। आउँदा ल्याएको सहित शारदापट्टी उनका दुई सन्तान छन्। अब के गर्लान् त रामचन्द्रले, फेरी श्रीमती संख्याको बढाउलान् – भन्छन्- ‘अहिलेकीले छाड्दिन भनेको छ, तर छाडिन् भने त के गर्ने चुप लागेर बस्न सकिन्न हजुर ! सबै काम मैले गरेको छु, पालन पोषण सबै मैले गर्ने हो। उनको त उही बच्चाको स्याहार सुसार त हो।’ प्रस्ताव आएका छैनन् त? ‘हुँदा हुँदै दुईवटा बनाउन म चाहन्न तर प्रस्ताव आएका छन्। सवा दुई दर्जन श्रीमतीका श्रीमान रामचन्द्रको अनुभव धेरै राम्रो भने छैन। धेरैलाई विरामी र सुत्केरी अवस्थामा उनले जिम्मा लिएका थिए। तर तङग्रिएपछि आफ्नो खुसी छाडेर हिँडे। ‘दुःख पाउँदा मसँग ओत लाग्न आए, मौका परेपछि आफ्नो बाटो लागे। बिरामी अवस्थामा जिम्मा लिएकाहरु महिना दिनमा निको भएर छाडेर थुप्रै हिँडेका छन्।’ कटुवालले मुख अँध्यारो बनाउँदै मनको बह सुनाउंछन्-’तर मेरो पनि छाडेर जानेलाई खोज्ने मेरो पनि चलन छैन। धेरै विहे गदै जाँदा छरछिमेकीले रामचन्द्र पैसा कमाउनका लागि जस्तो पनि केटी जिम्मा लिन्छ भनेकोमा दुःख लागेको छ। ‘खास धेरै पैसा कसैसँग लिएको छैन, उही मैले त सहयोग गर्ने हो। भन्छन्- बरु रोगीहरुलाई उपचार गर्दा उल्टै मेरो खर्च भएको छ।
२७ वटीमध्ये २५ जना त अर्कैसँग विहे गरेर गए, जारी कतिको उठाइयो त ? ‘मैले अर्का कै श्रीमती लिम्बुनी ल्याएको थिएँ, जारी उठाउन आएनन्। मैले पनि कसैको जारी उठाइन ।’ कसैसँग जारी नलिएको उनले जानकारी दिए। यत्राविधि श्रीमतीहरु दुःख पाएँ भन्दै रामचन्द्रकोमा फर्केर आए के गर्लान् त यिनी ? ‘श्रीमती नहुँदा आएको भए लिम्बुनी र फुलमायालाई त लिन्थें तर अहिले त घरमा छँदाछँदै जो आए पनि लिन्न, मलाई आफ्नो सहज पर्दा छाडेर जानेहरुलाई दुःख पाएर आउँदा किन लिने ? ‘ उनको प्रतिप्रश्न थियो। २७ वटीमा कति जातका परे त श्रीमतीहरु – ‘सन्नेसी, क्षेत्री र बाहुन नै धेर परे तर तामाङ, गुरुङ, राई, लिम्बु पनि गरिएछ। धेरै चाहिँ सन्नेसी कै छोरी परे ।
उज्यालोतिर महाकुलुङ
Fulwatti Hydro Project, Chheskam |
जिल्लाकै पिछडिएको क्षेत्रको पर्याय मानिने सोलुखुम्बूको महाकुलुङमा धमाधम विद्युत बल्न थालेपछि पुरानो पहिचान फेरिन लागेको छ । महाकुलुङका पाँच गाविसहरुमध्ये आर्थिक वर्ष ०६७÷०६८ मा सोताङ र छेस्कामका १२५५ घरमा बत्ती बलेपछि पहिचान फेरिन शुरु भएको हो । २०६८ पुस दोश्रो साता ८८ किलोवाट क्षमताको भूवाखोला लघुजलविद्युत आयोजना निर्माण पुरा भएपछि बुङ गाविसको ८१८ घर उज्यालो पारेको छ । भूवाखोला जलविद्युत आयोजना सम्पन्न भएसँगै महाकुलुङको २०७३ घर उज्यालो बनेको छ । बाँकी करिब दुईहजार घर उज्यालो बनाउन १०० किलोवाटको बुदुमखोला, गुदेल र ७६ किलोवाटको माथिल्लो रोकखोला लद्युजलविद्युत आयोजना, पावै निर्माण क्रममा रहेका छन् । विद्युत निर्माण र बल्ने क्रमले महाकुलुङलाई नमुना गाउँ बनाउँदै लगेको छ ।
प्रारम्भिक सर्भेक्षण अध्ययन सँगसँगै शुरु भएपनि सोताङले ७०. २ कलिोवाटको रोकखोलालाई पहिलो आयोजनाका रुपमा सम्पन्न ग¥यो । २०६७ कार्तिकमा सम्पन्न रोकखोला लघुजलविद्युत आयोजनाले सोताङको ६९८ घरधुरीमा बत्ती बलेका छन् । २०६७ पुसमा सम्पन्न ४२ किलोवाटको फुलवात्तीखोला लघुजलविद्युत आयोजनाले छेस्कामको ७५० मध्ये ५५७ घर उज्यालिएका छन् । जिल्लाकै पिछडिएको गाविसको रुपमा रहेको छेस्काममाले विद्युत आयोजना सफल बनाएपछि अन्य गाविसवासीमा उत्साह थपिएको बुङका पूर्व गाविस अध्यक्ष जीतबहादुर कुलुङ बताउँछन् । अधिकांशले नेपाली भाषा बोल्न नजान्ने छेस्कामवासीहरुको जलविद्युत बाल्ने सफलता प्रेरणादायी भएको जिल्ला विकास समिति सोलुखुम्बूका योजना तथा प्रशासकीय अधिकृत तुलराज सुनुवारकोे भनाइ छ । जिल्ला प्रशासनको बृहत घुम्तिशिविरमा महाकुलुङ पुगेका सुनुवार अन्य क्षेत्रमा पछाडि रहेपनि यो क्षेत्र जलविद्युतमा अग्रणी भएको बताउँछन् ।
महाकुलुङको तेश्रो जलविद्युत आयोजना भूवाखोला कुलुङहरुको चाड मिनारी दाचाम चाक्चाकुरको उपहार स्वरुप २०६८ पुस १५ बाट बालिएको अध्यक्ष जीतबहादुर कुलुङ बताउँछन् । बुङको ८१८ घरमा विद्युत बलेपछि कुलुङ जातिको उद्गमभूमि महाकुलुङको आधाबढी बस्तीबाट अन्धकार हटेको छ । गुदेल र पावैका लागि दुईवटा आयोजनाहरु निर्माण भइरहेका छन् । गुदेलको ८६२ घरको लागि १०० किलोवाटको बुदुम खोला लघुजल विद्युत आयोजना निर्माण भइरहेको छ । महाकुलुङको पाँच आयोजनामध्ये बुदुम सबैभन्दा ठूलो हो । आउने डेढवर्षमा गुदेललाई उज्यालो बनाइने अध्यक्ष सञ्चराम कुलुङ बताउँछन् । आयोजनाको क्यानल र पावर हाउस निर्माण पुरा हुने क्रममा रहेकोछ ।
पावै र सोताङको केही गाउँका लागि माथिल्लो रोकखोला निर्माण भइरहेको छ । ७६ किलोवाटको माथिल्लो रोकले दुई गाविसका ६७६ घरमा उज्यालो बनाउने अध्यक्ष बीरकुमार राई बताउँछन् । ३० किलोवाटको रोकखोला तेस्रो सोताङको विस्तृत सर्भेक्षण भइरहेको छ । रोक तेस्रोले २७५ घरमा उज्यालो पु¥याउनेछ । रोकखोला तेस्रो पहिले विद्युत पाउनबाट बन्चित सोताङको बस्तीलाई लक्षित गरेर निर्माण हुने अध्यक्ष हिम नाछिरिङ बताउँछन् ।
दुईवर्षमा महाकुलुङ उज्यालो
निर्माण पुरा भएका सोताङ, छेस्काम र बुङको तीन आयोजनाले महाकुलुङको करिब ५२ प्रतिशत घरमा उज्यालो पुगेको छ । अबको डेढदेखि दुई वर्षमा महाकुलुङ पुरै उज्यालो हने कुलुङ संघका केन्द्रीय कोषाध्यक्ष एवं् विकासकर्मी भलाकाजी कुलुङ बताउँछन् । सबै घरमा बत्ती बलेसँगै यो क्षेत्रले विकासमा एउटा फड्को मार्ने कुलुङ बताउँछन् । निर्माण पुरा भएका तीन आयोजनाको उत्पादन क्षमता २००.२ किवा रहेको छ । दुई निर्माणाधिन र पाइपलाइनमा रहेको एक गरी तीन आयोजनाले थप २०६ किवा विद्युत उत्पादन गर्नेछ । ६ वटा आयोजना निर्माण सम्पन्न हुँदा ४०६.२ किवा विद्युत उत्पादन हुनेछ । यसले ४ हजार घरलाई उज्यालो दिनेछ ।
निर्माणाधिन र पाइलाइनमा रहेका आयोजना पुरा हुँदा त्यसले थप १८१३ घरमा बत्ति बल्नेछ । सबै आयोजना पुरा हुँदा महाकुलुङको ९७ प्रतिशत घरमा बत्ति बल्नेछ । महाकुलुङको पाँच गाविसमा ४ हजारबढी घरधुरी रहेकाछन् । लघुजलविद्युत आयोजनाले नसमेट्ने परिवारलाई पेल्ट्रिक सेट र सौर्य प्रणालीबाट विद्युत पु¥याइने यसका अभियन्ताहरु बताउँछन् । पावै, बुङ र छेस्कामको केही वडामा यसअघि नै पेलिट्रक सेट र लघुजलविद्युत सञ्चालनमा छन् । अहिले उत्पादन भएको विद्युतसमेत पुरै खपत नभएकाले बाँकी घरलाई दिन सकिने फुलवात्ती लघुजलविद्युत आयोजना, छेस्कामका कोषाध्यक्ष दुतिशंकर कुलुङ बताउँछन् । कुलुङका अनुसार फुलवात्तीको ४७ किवा उत्पादनमध्ये १७ किवा मात्रै उपभोग रहेको छ ।
विजुलीले गाउँको जीवन फेरिएको छ
गाउँमा विद्युत बलेपछि नागरिकको जीवन शैलीमा फेरिएको छ । छेस्कामका अधिकांश महिला अहिले पनि नेपाली राम्रोसँग बोल्न सक्दैनन् । तर विद्युतले स्याटेलाइट टेलिभिजनमा पहुँच पु¥याएको छ । महिलाहरुले अबेरसम्म घरेलु सिपका काम गर्न पाएका छन् । गाउँमा कम्प्युटर इन्स्टिच्युट, फोटोकपि, हाइभिजन हल, रेफ्रिजिरेटर पुगेका छन् । धेरै बृद्धबृद्धासँग जीवनकै अकल्पनीय परिवर्तन आँखा अगाडि देख्न पाएको अनुभव छ । ५० वर्ष पहिले दार्जिलिङ र ४५ वर्ष पहिले धरानमा देखेको विजुली आफ्नै घरमा बलेको देख्दा खुसीको सिमा नरहेको छेस्कामका गौरीशंकर कुलुङ(७४) बताउँछन् । छेस्कामकै अर्का बृद्ध अमृतबहादुर कुलुङ यो जुनीमा आफ्नै गाउँमा बिजुली बल्ला भनेर नसोँचेको बताउँछन् ।
सोताङ बजारका होटल व्यवसायी सर्की शेर्पा बत्तीलेपछि गाउँको मुहारै फेरिएको अनुभव सुनाउँछन् । उनी शहरमा जस्तै फ्रिज राख्न, घरैमा बसीबसी टेलिभिजन हेर्न पाइएको र सामुदायिक रेडियो सञ्चालन हुने क्रममा रहेको बताउँछन् । महाकुलुङ प्रावि छेस्कामकी शिक्षिका कल्पना कुलुङ विद्युतले युवा वर्गलाई सूचना प्रविधिसँग नजिक्याउन सहयोग पु¥याएको सुनाउँछिन् । विद्युत आएपछि हेल्थपोष्टको इन्जेक्सन र औषधि रेफ्रिजिरेटरमा राख्न सजिलो भएको छ । सुधारिएको फलामे चुल्होको प्रयोगले गृहिणीमा उल्लेख्य स्वास्थ्य सुधार भएको छेस्कामकी स्वाथ्यकर्मी तिर्सना कुलुङ बताउँछिन् । छेस्कामककै सामाजिक कार्यकर्ता अरुणा कुलुङको अनुभवमा गाउँमा मिल सञ्चालनपछि धेरै महिलाहरुको जाँतोबाट मुक्ति पाएका छन् ।
गाउँमा विद्युत बलेपछि ९० प्रतिशत मट्टितेलको प्रयोग घटेको उनी बताउँछिन् । विद्युतमा अगुवा बनेपछि वारिपारि गाउँका मानिसहरुले महाकुलुङलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको रोकखोलाका अध्यक्ष हिमबहादुर नाछिरिङ बताउँछन् । पहिले यो क्षेत्रलाई नै हेपिएको नजरले हेर्थे, अहिले सिक्न आउँछन्, उनी भन्छन्– महाकुलुङ उजयालो भएपछि सबैको हेर्ने आँखा परिवर्तन भएको छ । पहाडी विकास तथा संरक्षण समूह बुङका अध्यक्ष श्रीध्वज राई बीसबर्ष पहिलेसम्म हरियो सागका रुपमा सुर्ती मात्रै उत्पादन हुने महाकुलुङको गाउँगाउँमा विजुली बल्नुलाई ‘साँच्चैको परिवर्तन’ मान्छन् । सामाजिक जागरणमा पहाडी विकासको अग्रणी भूमिका रहेको उनी बताउँछन् । पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङले महाकुलुङमा स्थानीय श्रोतमा आधारित गरिबी निवारण कार्यक्रम सञ्चालन गरी रहेको छ । गरिबी निवारण कोषको सहयोगमा सञ्चालित यो कार्यक्रमले ४२ सामुदायिक संस्थामार्फत १ करोड ७० लाखबढी आयआर्जनका लागि लगानी भइसकेको छ । १ करोड १० लाखको लगानीमा ५ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । कार्यक्रमले महाकुलुङ क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने शिक्षक सुरेन्द्र बास्तोला बताउँछन् ।
महाकुलुङका बुद्धिजीविहरु जलविद्युतलाई स्थानीय नागरिकको आयआर्जनसँग कसरी जोड्ने भन्ने सोँचमा रहेको सगरमाथा माविका शिक्षक पर्खिधन राई बताउँछन् । पहाडी विकासले सञ्चालन गर्ने कार्यक्रमले यसमा सहयोग पुग्ने उनको धारणा छ । कार्यक्रम अन्तरगत किसानहरुलाई पशु पालन, फर्निचर उद्योग सञ्चालन, जडिबुटी खेती तथा उद्योग, तरकारी खेती सञ्चालन गराउनु पर्ने उनको धारणा छ । अब साँस्कृतिक पर्यटन र सडकको विकासमा महाकुलुङले जोड दिनु पर्ने कुलुङ संघका केन्द्रीय कोषाध्यक्ष भलाकाजी कुलुङ बताउँछन् । विद्युतीय सुविधासँगै कृषि र पशुलापन तथा आयआर्जनद्धारा जनताको जीवनस्तर उकास्न पहाडी विकास तथा संरक्षण समूह बुङ र गरिबी निवकारण कोषले कार्यक्रम सञ्चालन गरिहेको छ ।
देशमा शान्ति स्थापनासँगै गाउँमा लघुजलविद्युत निर्माणको अभियान शुरु भएको हो । सम्पन्न आयोजनाको सरदर प्रति किलोवाट उत्पादन लागत ३ लाख छ । लागतको करिब ५० प्रतिशत इसापले अनुदान उपलब्ध गराएको हो भने बाँकी गाविस, जिविस, स्थानीय जनता, जनश्रम र विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाइएको यसको अगुवाहरु बताउँछन् । -तस्विरहरुः फुलवात्ती खोला लघु जलविद्युत आयोजना, छेस्कामको पावर हाउस । तस्विर ः+ राजधन कुलुङ_
No comments:
Post a Comment