Tuesday, August 26, 2014

देह व्यापार : नियन्त्रण होइन नियमन

नेपालमा लामो समयदेखि देह व्यापारका बारेमा बहस भइरहेको छ । औपचारिक रुपमा धेरै नेपाली यौन व्यापारको विरोध गर्छन् । यसको अनेक नकारात्मक प्रभावको तर्क दिन्छन् । वास्तविकता भने सतहमा भएको छलफल जस्तो छैन । देह व्यापारको विरोध गर्नेहरु नै उपभोक्ता बनिरहेका हुन्छन् । प्रहरी र सञ्चारमाध्यमकालागि यौन व्यवसाय वा व्यवसायी दैनिक कन्टेन्टका विषय बनिरहेका छन् । देह व्यापार वा याैन व्यवसायका बारेमा मेरा केही धारणाहरु राखेकाे छु ।

धेरैको मत गरिबी वा अरु विकल्प नपाएका कारण महिलाहरुले देह व्यापार अङ्गालेको भन्ने छ । तर देह व्यापारमा मध्यम र उच्चवर्गका महिलाहरु प्रशस्त संलग्न छन् । गरिबी नभइ, सजिलो र उच्च आर्थिक लाभ नै यौन व्यापारको आकर्षण हो । विश्वमा चाँडो र सजिलो गरी पैसा कमाउने व्यवसायमा यौनलाई लिइन्छ । सामान्यतः शारीरिक सुन्दरता भएका महिला(अधिकांश) र पुरुष(आंशिक)ले मात्रै देह व्यापार गर्न सक्छन् । गरिब भएपनि कुनै कुरुप महिलाले चाहेर पनि देह व्यापार अपनाउन सक्दैन ।
  
देह व्यापार गर्नेलाई विगतमा ‘वेश्या’ वा ‘रण्डी’ भनिन्थ्यो । यो शब्द्ध समाजमा अहिले बर्जित वा प्रतिवन्धित बन्दै गएकोछ । सट्टामा यौन व्यवसायी शब्द्धले व्यापकता पाएको छ । यसर्थ समाजले यसलाई मान्यता दिँदै एउटा व्यवसायका रुपमा स्वीकार्न थालेको छ ।

पूर्वीय सभ्यतामा प्राचिन कालबाटै समाजमा यौन व्यवसाय विद्यमान रहेको देखिन्छ । हाम्रो धार्मिक कथा र ग्रन्थहरुमा यत्रतत्र नगर बधुको चर्चा पाइन्छ । नगर बधुहरु खासमा यौन व्यवसायी महिला नै थिए । हिन्दू धर्मग्रन्थमा मात्र होइन ‘बाइबल’ मा पनि सृष्टिको शुरुवातमै नगर बधुको कथा छ । किराती मुन्धुमको प्रारम्भतिरै वेश्या चरित्रको बयान गरिएको छ । यसले देखाउँछ देह व्यापार मानव सभ्यताको शुरुवात हुँदैबाट समाजमा विद्यमान थियो ।

नेपाली समाजकै कुरा गर्दापनि विगत ३०० वर्षदेखि केही नेपाली महिलाहरु कुनै न कुनै रुपले(जबरजस्ती र स्वेच्छिक दुबै) यौन व्यवसायमा संलग्न थिए । नेपालको बादी समुदायका महिलाहरुको परम्परागत पेशा नै देह व्यापार मानिन्छ । समाज र सरकारको अनावश्यक हस्तक्षेपले अहिले उनीहरुको पेशा विथोलिएको छ ।

संसारमा यौन व्यावसाय सञ्चालनको वैधानिक अनुमती दिँदा कुनै समाज भाँडिएको वा विग्रीएको उदाहरण छैन । बरु अनुमती नदिँदा सामाजिक अपराध बढेका छन् । जहाँ यौनलाई सामाजिक र प्रशासनिक रुपमा दमन गरिएको हुन्छ, त्यहीँ धेरै यौन हिंसा हुने गर्दछन् । युरोपियन वा अमेरिकन खुल्ला समाजमाभन्दा इस्लामिक वा भारतीय बन्द समाजमा यौनहिंसाका घटनाहरु धेरै हुने गरेकाछन् ।

विश्वका विकसित सबैजसो देशहरुले यौन व्यावसायलाई कानुनी मान्यता दिएका छन् । भारतमा सयौ बर्ष पहिलेदेखि यौन व्यावसाय सन्चालित छ । इटाली, थाइल्यण्ड, अमेरिकाको पर्यटकीय शहरहरु, अफ्रिकाको केन्या, तान्जानिय, दक्षिण अफ्रिका जस्ता ठाउँका विशेषत : युवा महिलाहरुको सजिलो र उच्चस्तरको जीवन जीउने व्यावसाय नै यौन बनेको छ ।

दशवर्षे माओवादी सशस्त्र युद्धमा भाग लिएका महिला छापामार अधिकांश बच्चा बोकेर गाउँ फर्किए ।  बेलायतमा पढ्न बस्दा महात्मा गान्धीसमेत एकपटक वेश्यालय गएका थिए ।

-राज्यले देखावटी नियन्त्रको कोशिश गरिरहेको छ तर राज्य सञ्चालनमा सहभागी राजनीतिज्ञदेखि प्रशासकहरुसम्म यौन व्यावसायीका मालदार ग्राहक बनिरहेका छन् । उच्चपदस्तहरु धेरैपटक यौन व्यावसायीहरुसँग रङ्गेहात समातिएका छन् । प्रशासक र सुरक्षा प्रमुखहरु ‘अन द स्पट’ भेटिएका छन् । 

- प्रत्येक विश्वकप फुटबल र ओलम्पिक जस्तो खेलको कुम्भमेलामा मुख्य अंश र चर्चा देह व्यापारकै हुन्छ ।
- नेपाली पत्र­पत्रिकामा कम्मरमुनीको समाचार भनिने ‘सेक्स’ धेरै विक्छ । एक प्रकार अखबारमा पाठकहरु कम्मरमुनीकै समाचार खोजी रहेका हुन्छन् ।

माथिका यि तथ्यहरुले प्रष्ट भन्छ यौन बर्जित वा बन्देज लगाएर सम्भव हुने विषय होइन । मनोविज्ञ फ्रायडले भनेका छन् ­ ‘मानिसले प्रत्येक चिन्तन यौनसँग जोडिरहेको हुन्छ ।’ विगत १५÷२० वर्षको ट्रेन्डलाई हेर्दा सरकारी नियन्त्रणका बावजुद नेपालमा देह व्यापार लगातार विस्तार भइरहेको छ । यसलाई अब नियन्त्रण वा प्रतिवन्ध होइन, कानुन बनाएर व्यवस्थापन गर्नु आवश्यक छ । देह व्यापारको वैधानिकीकरणले समाजिक उत्सृङ्खलता घटाउनुकासाथै, समाजलाई मर्यादित बनाउनेछ । यौन व्यावसायको वैधानिकताले नराम्रो नभइ, राम्रो नै धेरै गर्नेछ ।

यो पेशालाई वैधानिक बनाउँदा रोजगारको बजारमा प्रत्येक वर्ष प्रवेश गर्ने १ प्रतिशत भन्दा बढी युवाले यसबाट स्वरोजगार वा रोजगार पाउनेछन् । व्यावयासको नियमनबाट राज्यले कर प्राप्त गर्नेछ भने व्यावसायमा संलग्नहरु सुरक्षित हुनेछन् । यसले उनीहरुको व्यावसायिक र मानवअधिकारको रक्षा हुनेछ । अहिले अनौपचारिक रुपमा व्यावसाय सञ्चालन गर्दा व्यावसायीहरुले अनके खालका जोखिमहरु पलपल झेल्दै आएका छन् । दिनरातको पुलिसको डर त छँदैछ, कोठी सञ्चालकले गर्नुसम्मको श्रम र शारीरिक शोषण गरिहेको हुन्छ । अर्कोतिर ग्राहकले पनि उस्तै ठगी रहेको र जबरजस्ती गरीरहेको हुन्छ । पैसा कमाए त्यसको श्रोत देखाउनै अप्ठ्यारो । चौतर्फी शोषण र असुरक्षामा अहिले यौनकर्मी छन् ।

कानुन बनाएर निश्चित क्षेत्रमा व्यावसाय गर्न दिँदा राज्यले पाउने राजश्वको लाभ त छँदैछ, रोजगारीको दायित्व पनि कम हुन्छ । देह व्यापारको वैधानिकीकरणले सामाजमा हुने यौन विश्रृङ्खलतामा कमी आउने निश्चित छ । कुनै युवा वा पुरुषले बजारमा यौन किन्न पायो भने सायदै जोखिम मोलेर कसैलाई बलात्कार गर्ला ? यौनकै लागि कसैसँग अनेक बाचा बाँध्ने वा जोखिम मोल्ने काम गर्ला ! सप्ताहान्तका दिन बजारमा खरिद गर्न पाए धेरैले दिनदिनै यौनको पछाडि लागेर समय बर्वाद गर्ने छैनन् । किशोर किशोरीले सुरक्षित ढंगबाट सिक्ने ठाउँपनि पाउनेछन् ।

देश व्यापार संलग्न यौनकर्मीहरु, उनीहरुको अधिकार तथा स्वास्थ्यमा काम गर्नेहरु र विभिन्न समयका अध्ययनहरुले पनि नेपालमा यौन व्यावसायलाई कानुन बनाएर व्यवस्थापन गर्न आवश्यक भइसकेको औल्याएका छन् । अहिलेको सामाजिक परिवर्तनले यसको आवश्यकता देखाइ सकेको छ । जहाँसम्म किशोर­किशोरीहरुको सवाल छ ! उनीहरुलाई समाज र राज्यले उमेर अनुसारको उचित यौन र नैतिक शिक्षाको व्यवस्था गर्नुपर्दछ । १९ वर्ष नपुगी व्यक्तिगत मोबाइल प्रयोग गर्न र एडल्ट फिल्म हेर्न दिइनु हुन्न । साइबार वा इन्टरनेट चलाउनलाई जन्मदर्ताको आधारमा पासवर्ड सिस्टम राज्यले विकास गर्नु आवश्यक छ । यौन व्यावसायलाई वैधानिकता दिनुको विकल्प भने अव समाजसँग देखिन्न ।
(स्केच तस्वीरहरु विकिपेडियाबाट साभार गरिएको हो ।)

No comments:

Post a Comment