Saturday, December 13, 2014

खोक्चिलिप र वेइलिमको कथा (भाग १)

Google Image
–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक । यसलाई खण्ड खण्ड प्रस्तुत गरिनेछ ।) 

निनाम्मा–येम्खुमाले सुन्मा, सुम्निमे र यादेको सृष्टि गरेको धेरैपछि खार ‘मिक्पौ’ (मालिङ्गो) लिन लेकको जंगलमा जाँदा सोक्पा(वन मान्छे–राक्षस) ले खायो । यो मानव समाज व्यवस्थित विकास नभइ सकेको अवस्था थियो । लोग्नेलाई सोक्पाले खाएपछि विधवा दुम्दिलिमले आफ्ना गेसकुप खामेइकुप(टुहुरा) सन्तानहरुको पालन पोषण गरिन् । खेतीपातीको शुरुवात भइ नसकेको अवस्थामा जंगलबाट कन्दमुल खोजेर पेटपाला गर्नु पर्दथ्यो । कन्दमुल खोज्न जंगल गएको बेला दुम्दिलिमलाई पनि सोक्पाले खायो । खार र दुम्दिलिमका चार सन्तानहरु लोस, खेवा, चिनवा र खोक्चिलिप अभिभावक विहिन भए । आमा–बाबु दुबैलाई सोक्पाले खाएपछि खोक्चिलिप तीन दिदीहरु लोस, खेवा र चिनवाले संरक्षण तथा पालन पोषण गर्नु पर्ने भयो । उनीहरु वन मान्छे (जंगली बुढी) को नजिकै बस्दथे । त्यो जङ्गली बुढी इष्र्यालु ‘नाचुर्मे’ स्वभावकी थिइन् । उनलाई आफ्नै वरिपरि बसेर टुहुरा टुहुरी चेली माइतीले गरी खाएको मन परेन । (यहीँबाट मानवमा इष्र्याको शुरुवात भएको विश्वास गरिन्छ ।) खोक्चिलिप उमेरमा सानो, रोगी र ढिलो बढ्ने खालको थियो । ऊ केही कुरा लुकाउन नजान्ने सोझो खालको थियो । अर्काले जे भन्यो त्यही मानी हाल्ने थियो । दिदीहरुले अरु कसैलाई नभन्नु भनेको कुरा पनि उनले जङ्गली बुढीलाई भनिहाल्थ्यो । खोक्चिलिपलाई दिदीहरुले जंगली कन्दमुल खोजेर खुवाउँथे । 

आमा–बाबु दुबैलाई सोक्पाले खाएपछि पनि सजिलै जीवन निर्वाह गरेको देखेर छिमेकी नार्चुमेलाई आरिस लाग्यो । नाचुर्मे बुढीले यि टुहुरा टुहुरीले कसरी पेटपाला गर्छन भनेर चियो गर्न थाल्यो । केही पत्तो नलागेपछि दिदीहरु बाहिर आहारा खोज्न गएको बेला उनले मिठो बचनमा फकाएर खोक्चिलपलाई सोध्न थाली – चासी (नाति) ! तिमीलाई दिदीहरुले के खुवाउँछन् ? साझो खोक्चिलिपले भनिदियो – ममा (हजूर आमा) ! तपार्इँकै ढिकीसारको कनिका केलाए खान दिन्छन् । त्यस दिनदेखि बुढीले ढिकीसारको भूस उठाएर बारीमा फ्याँक्न थाली । सदा झैँ दिदीहरु घरमा आएपछि कनिका केलाउन भूस खोज्दा थिएन । अब भाइलाई के खुवाउने ? दिदीहरुलाई आपत प¥यो । उनीहरुले शंका लागेर भाइलाई सोधे– दिउँसो यहाँ को आएको थियो ? ‘ममा आउनु भएको थियो’ भनेर भाइले बतायो । दिदीहरुले भाइलाई सोधे– ममाले के भन्नु भो ? भाइको उत्तर थियो – दिदीहरुले के खान दिन्छन् ? । फेरी दिदीहरुले सोधे– अनि के भनिस त ? भाइले भने– ‘ममाकै ढिकीसारको कनिका केलाई दिन्छन्’ भनिदिएँ । दिदीहरुको मनमा शंका उत्पन्न भयो । उनीहरुले आप्नो भाषामा केही वादविवाद गरे । अनि भाइलाई सम्झाए– अबदेखि आफ्नो परिवारको गोप्य कुरा कहिल्यै ममालाई नभन्नु ! भाइले हवस् भने । त्यो दिन दिदी भाइ सबै भोकै बसे । भोलि पल्टदेखि लौसी (गिट्ठा) खोजी ल्याएर खान थाले । उनीहरुले भाइलाई लौसी खाने गरेको कहिल्यै ममालाई नबताउनु भनेका थिए । 

भूस उठाएर बारीमा फ्याँक्न थालेदेखि भोकले ती टुहुरा– टुहुरीहरु मर्छन् भन्ने आरिसे जङ्गली बुढीलाई लागेको थियो । तर पहिले जस्तै खोक्चिलिप र उनका दिदीहरुले सजिलै जीवनयापन गरिरहेको देखेर उनलाई डाह भयो । एकदिन खोक्चिलिप एक्लै घरमा बसिरहेको बेला आएर ‘के खान दिन्छन् अचेल दिदीहरुले ? भनेर सोध्न थाली । पहिला जस्तो खोक्चिलिपले सजिलै भन्न मानेन । नभने श्राप दिन्छु भन्ने बुढीको जबरजस्ती अघि केही चलेन । लौसी खान दिन्छन् – भनेर भनिदिए । बुढीले लौसीमा खिप्ली (चिराइतो)को तितो दलिदिए । त्यसपछि लौसी (गिट्ठा) खान नसक्ने तितो भयो । बेलुकी दिदी–भाइ लौसी खान बसे । लौसी पहिले जस्तो मिठो नभइ खानै नसक्ने तितो थियो । शंका लागेर दिदीहरुले खोक्चिलिपलाई यस पल्ट पनि को आएको थियो ? भनेर सोधे । उही ममा आएको थियो, मलाई अनेक थरी भनेर सोधे, डर देखाए । मेरो पालौ लौसी खान्छौं भनिदिएँ भनेर भाइले जवाफ पर्काए । भाइको सोझोपन र आरिसे बुढीको पापी कार्यले दिदीहरुलाई साह्रै पीर प¥यो । उनीहरुलाई यो ढंगले भाइ पाल्न गाह्रो हुने महशुस भयो । एक पटक भाइलाई गाली गरे – त्यो बुढीले जे जे भनेर सोधे पनि गोप्य कुरा कहिल्यै नभन्नु । अब खाउन यो खिप्लीको तितोसँगको लौसी ! भाइले अब कहिल्यै भन्दिन मनेर बाचा ग¥यो । 

एउटै आमा–बाबुको सन्तान, दिदीहरुलाई नि भाइको माया नलाग्ने कुरा भएन । भाइलाई पाल्नु नै थियो । आफ्नो भाषाबाट आपसमा सरसल्लाह गरे । वैकल्पिक खाद्यन्नको खोजी गर्न थाले । त्यसपछि उनीहरुले सू (भ्यागुर) खान थाले । लौसीमा खिप्लीको तितो दलेर खान नहुने बनाएको धेरै समय भइसक्दा पनि खोक्चिलिप जस्ताको जस्तै देखेर बुढी झन् आरिसले जलिन् । दिदीहरु नभएको मौकापारी जङ्गली बुढी खोक्चिलिपको घरमा गयो । फकाइ फकाइ अहिलेचाहिँ के खान दिन्छन् ? भनेर खोक्चिलिपलाई सोध्न थाल्यो । दिदीहरुले नभन्नु भनेका छन् भन्दै धेरै समय उनले टार्न खोजे । अन्तिममा बाध्य भएर भन्नै प¥यो – सू खान दिन्छन् । बुढीको आरिसे मनमा पाप छँदै थियो । पप्पौ (लाटकोसेरो)ले थुन्से बुन्न चोया खिप्दा निस्केको बेतको झूस सूमा भरिदिइ । सु पनि अब रेसैरेसा भएर खान अयोग्य भयो । खोक्चिलिपको सोझोपनको फाइदा उठाएर बुढीले दिदी–भाइको जीवन निर्वाहमा गाह्रो बनाउँदै लगे । वनजंगलमा पाइने प्राकृतिक खाद्य कन्दमुल विकृत हुँदै जान थाल्यो । जंगली फलफूल र खाद्यन्नमा समस्या पर्र्दैै गएपछि भाइलाई फेरि सम्झाए– आफ्नो गोप्य कुरा शत्रुलाई नभन्नु, भित्रीकुरा शत्रुले थाहा पाए आन्द्राभूँडी थाहा पाउँछन् । मुटुको भेउ पाए भने चाहने बित्तिकै मार्न सक्छन्् । यसरी भाइलाई उपदेश दिए । भाइलाई पाल्नु त छँदै थियो । अब दिदीहरुले खोक्चिलिपलाई ‘साप्लोखे (वन तरुल)’ खुवाउन थाले । क्रमश ..............

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन

No comments:

Post a Comment