Monday, December 15, 2014

खोक्चिलिप र वेइलिमको कथा (भाग २)

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

सु खान नहुने अयोग्य बनाएको धेरै दिन विति सक्यो । टुहुरा चेली–माइतीको जीवन यापन सहज रुपमा चलिरहेको देखेर बुढीलाई झन आरिस लाग्न थाल्यो । कुनै हालतमा टुहुरा चेली–माइतीलाई भोकले मार्ने उनको चाहना थियो । साप्लोखे खाएर खोक्चिलिपहरु बाँचिरहेका छन् भन्ने बुढीले थाहा पाएरै छाडी । त्यो थाहा पाएपछि बेलोमा आफ्नो कपाल गाँसेर सजलै खन्न नसक्ने गरी वन तरुललाई पताल भसाइ दिइ । अनेक बहाना गरेर खोक्चिलिपबाटै यो थाहा पाएकी थिइन् त्यो राक्षसनी बुढीले । साप्लोखे सजिलै खन्न नसकिने भएपछि दुई दिदीहरु लोस र खेवा अब यस्तो सोझो भाइ पालेर बसिरहन सकिन्न भन्ने निष्कर्षमा पुगे । कान्छी बहिनी चिनवाको चारो खोज्ने क्रममै भिरबाट लडेर मृत्यु भइसकेको थियो । लगातार तीन छोरी पछिको छोरा थिए खोक्चिलिप । चिनवाको मृत्यु भएकाले अहिले पनि शुरुको गर्भबाट लगातार तीन छोरी पछि छोरा जन्मिए तेलिया भनिन्छ । यस्तो हुन गएमा केही अनिष्ट हुन्छ भन्ने कुलुङ मान्यता छ ।

पहिले सृष्टिमा आरिस, पाप, लोभ केही थिएन । जङ्गली राक्षस बुढीले आरिस र पाप जन्माइन् । अर्काको प्रगति देख्न नसकेर खुट्टा तान्ने प्रवृत्तिको विकास यहीँबाट भएको मानिन्छ । पहिले गिट्ठा तितो नभइ स्वादिष्ट थियो । भ्यागुरमा नसैनसा थिएन । वन तरुल जमिनको बाहिरी सतहमा नै फल्दथ्यो । तर आरिसे राक्षसनीले गिट्ठा र भ्यागुर खान अयोग्य बनाए । वन तरुललाई पताल भसाए । राक्षसनीको आरिस गर्नुअघि जीवन निर्वाह कठिन थिएन । उनै राक्षसनीले मानव जीवन यापनलाई गाह्रो बनाइन् र मानव दुःखको भवसागर गहिरियो । 

अब दिदीहरु लोस र खेवाले भाइ खोक्चिलिपलाई आफूसँगै अल्लोको लोक्ता केलाउन जंगल लिएर जान थाले । बाटोमा डुलाउँदै, खेलाउँदै, अनेक कथा सुनाउँदै लगे । अल्लो केलाउँने जंगलमा पुगेपछि एक जनाले भाइको जुम्रा हेर्न थाले, एकजनाले अल्लो केलाउन । जुम्रा हेर्दाहेर्दै खोक्चिलिप निदायो । निदाएपछि उनीहरुले यही बेला भाइलाई मारेर छाड्ने सल्लाहा पाल्सी भाषा र संकेतबाट गरे । (कुलुङ रिदुममा लोस र खेवाले प्रयोग गरेको यो पाल्सी भाषाबाटै अलग अलग भाषाको विकास भएको भनिन्छ ।) शत्रुले कब्जामा पारेर मर्नुभन्दा आफ्नै हातले भाइ मार्नु उनीहरुले उचित ठाने । सोझै मार्न उनीहरुलाई गाह्रो भयो । सुतेको ठाउँमा अल्लो केलाउँदा निस्किएको सण्ठी ‘खिसोमा’ बटुलेर पुर्न थाले । धेरै थाकले पुरिसकेपछि त्यसमाथि चढेर कुल्चिए । कुल्चिँदा खिसोमा भाँचिएर प्याट–प्याट आवाज आयो । उनीहरुले ‘भाइको करङ भाँचियो, हात भाँचियो, खुट्टा भाँचियो, खप्पर फूट्यो’ भन्दै कुल्चिरहे । जब उनीहरुलाई भाइ मर्यो भन्ने एकीन लाग्यो – एउटा कर्द, एक कोसा केरा, योक्सुम्बोउ (पिँडालु) को पातमा पानी, घिचिलोउ (एक प्रकारको माला) भाइको टाउको पट्टि राखी दिए । यसरी भाइ मर्यो भनेर पहिले लोस र खेवाले राखिदिएका कारण अहिले पनि मृतको चिहानमा माला, हतियार, पानी र फलफूल चढाउने चलन छ । 

भएको भाइलाई आफैँले पुरेर मारिदिएपछि लोस र खेवा दिदी बहिनी छुट्टिएर बस्ने निधोमा पुगे । उनीहरुमध्ये बहिनी खेवा दक्षिणतिर र दिदी लोस उत्तरतर्फ उडेर जाने सल्लाह भयो । दिदी बहिनी एकअर्कामा सञ्चो विसञ्चो, मर्यो बाँच्यो कसरी थाहा पाउने भन्ने कुरा भयो । अन्तिममा दुबैले लिम्चिबुङ फूल त्याे ठाउँमा रोपेर छुट्टिने, समय– समयमा हेर्न आउँदा फूल कललाउँदाे भइरहे जिउँदो छ भनेर सम्झने, यदि ओइलाएको भए विसन्चाे या मर्यो भनेर सम्झने र एकअापसमा खाेज खबर गर्ने बाचा राखे । अनि दुवैले अा-अाफ्नाे नाममा लिम्चिबुङ रोपेर । अब दिदी–बहिनी विछोडिने समय आयो । दिदीले बहिनीलाई माया गरेर पहिले उडिजा, तिमी गएको म हेरी पठाउँछु भनी । तर बहिनी केही जिद्धी र अल्छी थिइ । उनले दिदीलाई तिमी उडिजाउ म हेरी पठाउँछु भन्यो । उनीहरुबीच वादविवाद भयो । बहिनीले नमानेपछि अन्तिममा दिदी उत्तर उडेर गइन् । खेवाले दिदी उडेर गएको हेरिन् तर आफू उडेर जान सकिनन् । खेवालाई दिदीको ‘छुल’ (चित्त दुखाइ) लागेको थियो । प्वाँस झरेर उड्न नसकी छाडिएकी खेवाले त्यतै समय बिताउन लाग्यो । डुल्दै जाँदा थुन्से बुनिरहेको पप्पौ (लाटकोसेरो)लाई खेवाले भेटिन् । उनलाई के मन लाग्यो, उही पप्पौलाई जिस्काउन थाली । पप्पौले खुतुतुतु................ खुतुतुतुतु................. गर्दा त्यसै र पुप्पुउ पुप्पुउ ... गर्दा उसै खेवा गर्थी । पप्पौ सोझो र रिसाहा थियो । उस्ले मलाई नजिस्काउहै रेउमे (सोल्टीनी) भन्दै खेवालाई सम्झायो । तर तरुनी भएकी खेवा के मान्थी ! उसले मलाई खाइहाल्नुस् रेवा (सोल्टी) ! भन्दै जिस्काइ रही । पप्पौलाई लाटो रिस उठ्यो र साँच्चै खेवालाई मारेर खाइदिए । 

दिदी बहिनी छुटिएको धेरै भयो । बहिनीको कुनै खबर थिएन । एकदिन लोस दिदीबहिनी छुटिँदा रोपेको फूल हेर्न गए । खेवाले रोपेको फूल ओइलाएर मर्न लागेको देखिन् । त्यसपछि लोस बहिनी खेवाको खोजीमा लागिन् । अनेक खोज्दा पनि खेवाको कुनै पत्तो लागेन । बरु पप्पौ मात्रै थुन्से बुन्दै गरेको भेटिन् । लोसले पप्पौलाई बहिनीको बारेमा सोधिन् । तर मलाई थाहा भएन भन्ने जवाफ मात्रै पप्पौले फर्काए । फेरि खोज तलास गर्दै गइन् तर पप्पौको वरिपरिबाट टाढा गएको संकेत मिलेन । पहिल्याउँदै पप्पौकै नजिक लोस पुगिन् । शंका लागेर फेरि पप्पौलाई – तपाईँलाई केही थाहा होला रेवा ! त्यो नक्कली, चन्चली थिइ, सायद आएर तपाईलाई जिस्क्यायो होला ! भनेर सोधिन् । पप्पौले उही कोनी मलाई थाहा भएन भन्ने नै जवाफ फर्काए । जति पटक खोज्दै गएपनि खेवाको गोहो पप्पौ भन्दा धेरैपर गएको पत्तो लागेन । फेरि पप्पौलाई सोध्नै प¥यो – केही त थाहा होला रेवा ! धेरै पटक सोधेपछि दिक्क भएर पप्पौले भनिदिए– कोनी तल वेइपौ (कटुस)को रुखतिर चढ्ने गर्थी । लोस वेइपौको फेदमा गएर हेर्दा खेवाको हाडखोर भेट्टाइन् । लोस बहिनीको हाडखोर जम्मै भेला पारेर लिएर गइन् । उनले आफ्नो तानको नजिकै बहिनीको हाडखोरलाई काठको भाँडोमा कोदोको पिठोको खोलेसँग भिजाएर राखी दिइ । अनि मेरी बहिनी खेवा जस्ताको तस्तै सृजना भइजाओस भनेर जपिन् । तान बुन्दै बेलाबेला बहिनीको हाडखोर लोसले हेर्थी । शुरुमा जोर्नीहरुमा मासु पलाए, नस पलाएर जोडियो । क्रमशः शरीरमा पुरै मासु पलाएर पहिलेकै आकारमा खेवा सृजना भइन् । केही समयपछि पुरै खेवाको स्वरुप सृजना भयो । अनि चेतना आएपछि ब्यूझिन् – ‘धत्तेरी ! नाना (दिदी) ! म त कति धेरै निदाएछु नि !? 

बाँकी अर्को खण्डमा ......

No comments:

Post a Comment