Tuesday, August 18, 2020

किराँतहरु सम्बन्धमा केही कुरा

आरडी कुलुङ

किराँत को हुन् ? को होइनन् ? भन्ने विषयमा लामो समयदेखि केही बहस हुँदै आएको देखिन्छ । कतिले किराँतलाई एउटा वृहत्तर सभ्यताका रुपमा लिने गरेका छन् । कतिले एक सिमित समुदाय वा जातिका रुपमा मात्रै । पछिल्लो अढाइ दशकामा किराँत एउटा राजनीतिक पदावलिका रुपमा पनि बहसमा छ । नेपालको इतिहासमा किराँत एक प्राचीन शासक वंश पनि हो । गोपाल र महिषपाल पछाडि शासन गर्ने शासक किराँत वंशका थिए । किराँत वंशका ३२ पुस्ताले १६०० बर्ष नेपाल (काठमाडौं पउत्यका)मा शासन गरेको इतिहासकारहरुले लेख्दै आएका छन् । अध्ययनले देखाउँछ कि तेश्रो शाताब्द्धीमा लिच्छवीहरुद्धारा पराजित नभइन्जेल २९ जना किराँत वंशका राजाले नेपालमा शासन गरेका गरेका थिए । वर्तमानमा नेपाल र भारतको ठूलो समुदायले आफूलाई किरातका रुपमा स्वीकार्दछन् । त्यस भित्र अनेकौं आदिवासी समुदायहरु समाहित छन् । किरात एक वृहत्तर पहिचान र सभ्यता सूचक शब्द्धका रुपमा रहेको छ । 

मिथक र इतिहास फरक कुरा हुन् । तर कहिलेकाहीँ मिथक र इतिहासलाई सर्लकक छुट्याएर हेर्न सकिन्न । ठोस प्रमाणहरु उपलब्ध नभएको अवस्थामा इतिहास र मिथक मिसिन पुग्छन् । किराँतहरु दक्षिण एसियाका प्राचीन आदिवासी हुन् भन्नेमा विवाद छैन । यद्यपि उनीहरुको प्राचीनत्व एवं् सभ्यताका संवन्धमा चर्चा गर्दा ठोस प्रमाणको अभाव छ । त्यसैले प्राचीन ग्रहन्थहरु वेद, पुराण, काव्य कृति र लोककथाहरुको सहारा लिनु परेको अवस्था छ । किरातहरुको मात्रै नभएर विश्वका अन्य सभ्यताहरुले पनि यस्तो गरेको पाइन्छ । किरातहरुका सम्बन्धमा उल्लेखित श्रोतहरुलाई आधार लिँदै गरिएको अध्यनको यो लेखमा केही चर्चा गर्ने प्रयास गरिएको छ । 

वेद, पुराण र इतिहासमा किराँतहरु :

प्राचीन भारतीय, ग्रीक तथा रोमन साहित्यमा उल्लेख गरिएको आदिम जातिहरुमा किराँतले मुख्य स्थान ओगटेको छ । प्राचीन समयका लेखक, भूगोलशास्त्री र इतिहासकारले भारतवषर््ाका तात्कालिन जातिहरुको विषयमा जे जति लेखेका छन् त्यसमा किरातहरुलाई ठूलो महत्व दिएका छन् । हिमालय दक्षिण र भारतका पार्वतीय इलाका, जंगल एवं गंगा नदीको तट, मुहान, उपत्यका एवं हिमाली तथा निम्न हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जातिहरुमध्ये किरातहरु मुख्य थिए (सिंह, १९९०) । सिंहले लेखेका छन – वैदिक कालपूर्वदेखि सातौं शताब्दीबीच प्राचीन समयको सबैभन्दा ठूलो आदिवासी जाति किरातहरु नै थिए । गंगा नदीको मैदानी भागबाट उत्तर र पूर्वी हिमालय क्षेत्रको गुफा एवं् पर्वत क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका आदिवासीहरुलाई वैदिक कालमा भारतवर्षमा प्रवेश गरेका आर्यहरुले पहिलो पटक ‘किरात’ नामले सम्बोधन गरेका थिए । 

वाल्मिकी रामायणको किष्किन्धा काण्डमा ‘किरातहरु टापुमा बसोबास गर्ने, काँचो मासु खाने र उग्र स्वभावका थिए’ भनिएको छ । रामायण अनुसार किरातहरु प्राचीन आसामका आदिवासीहरु थिए र जो जंगलको गुफा तथा पूर्व वंगालसम्म फैलिएको समूद्र किनारको दलदले भूमिमा बस्थे । उनीहरु स्वर्णिम रङ भएका, साहसी, एकै ठाउँमा बसोबास नगर्ने, नरभक्षी र तीखो तीखो कपाल भएका सुन्दर मोहडाका थिए । किराँतहरु धेरै अघिदेखि ब्रह्मापुत्र (लौहित्य) नदीको दुबै किनारामा बसोबास गर्दथे (सिंह, पृ.५१) । किराँतहरु ब्रह्मापुत्र (लौहित्य) नदीको दुबै किनारामा बसोबास गर्थे भन्ने कुरा कुलुङ समुदायमा प्रचलित किरात उत्पत्तिको मिथकसँग मिल्दो देखिन्छ । कुलुङ लोक कथामा किराँतहरुको उत्पत्ति समुद्र र जमिनको मिलन हुने ठाउँ मिनापोङ्खो हाल्कुम्बुमा भएको थियो । एसके चटर्जीले ‘किरात जन कृति’ मा लेखेका छन् ‘ख्रृष्टपूर्व ५०० वर्ष ४०० इश्वीबीच महाभारत र रामायण रचना कालमा किरातहरुले हिमालयको सम्पूर्ण दक्षिण भाग, पुरै उत्तर पूर्वी भारत, नेपाल नजिक विहार र गंगाको उत्तरी क्षेत्र तथा वङ्गालको खाडिमाथि गंगा बग्ने क्षेत्र लगायत बङ्गाल र असामको क्षेत्र किरातले ओगटेका थिए ।’ चटर्जी थप्छन् – यसको अतिरक्ति ख्रृष्टपूर्व १००० वर्षतिर उत्तर भारत, नेपाल उपत्यका, सिक्किम, भूटान र तल्लो हिमाली क्षेत्रका पश्चिम गडवाल, कुमाउ, सतलज र यसबीचका पहाडी खण्डमा किरातहरु बस्दथे (ऐजन, पृ.१०३) ।

आर्यहरु आउनु अघि किरातहरु भारतीय उपमहाद्धीपका मूल बासिन्दा थिए । किरात शब्द्धको पहिलो प्रयोग ऋृग्वेदमा गरिएको इतिहासकारहरु बताउँछन् । तर मन्त्रहरुमा भने ‘किलात’ शब्द्ध उल्लेख भएको पाइन्छ । यजुर्वेदमा भने किरात नै लेखिएको पाइन्छ । डा. स्वामी प्रपन्नचार्यका अनुसार ‘किरात’ शब्द्ध प्रकृत भाषाको किर र अत मिलेर बनेको हो । किर को अर्थ समुद्रपर्यन्त भूभाग र अत को अर्थ निरञ्तर गमन गर्नु हो । अर्थात समुद्रबाट हिमालय(नेपालसमेत)सम्मको भूभागमा निरञ्तर गमन वा विचरण गर्नेहरु नै किरात हुन् । प्रपन्नचार्यले  लेखेका छन कि ‘नेपालदेखि समुद्रसम्म जसले पराक्रमले जितेर शासन गरे ति किरात हुन् ।’ उनले आफ्नो बल, बुद्धि र पुरुषर्थले हिमालयदेखि समुद्रसम्म जितेर शासन गरेकाले उनीहरुलाई ’किरात’  नाम दिइएको हो भनेका छन् (याखाराई, १९९६) ।

अर्को कथानुसार शम्वर ऋृग्वेद कालमा आर्यवर्तको सम्पूर्ण हिमालीक्षेत्रका शासक थिए । उनका सयवटा फलामे किल्लाहरु थिए । उनलाई साथ दिने राजाहरुमा शष्णु, पिप्रु, वर्चिन, धुनि, चुमुरी आदि थिए । शम्बरको प्रमुख शत्रु इन्द्र र दिवोदास थिए । वर्तमान काबुल, कन्दाहारदेखि कश्मिर, हिमाञ्चल, नेपाल हुँदै बर्मासम्मको समस्थ पर्वतीय र मैदानी क्षेत्रहरुमा सुदास, दिवोदास आदिलाई साथमा लिएर इन्द्रले ४० वर्षसम्म शबरसँग युद्ध गरेका थिए । युद्ध रोकिएको समय पर्वत क्षेत्रको आफ्नो किल्लामा निदाइरहेको बेला इन्द्रले शम्बरलाई झुक्याएर षड्यन्त्रपूर्वक मारेपछि युद्ध सकिएको थियो (याखाराई) । शम्बर किराँत वंशका भएको विश्वास गरिन्छ । 

किरातहरुको उत्पति वा आगमन बारे जोन हेमिलटनले यसो भनेकाछन् –ई.पू. ४००० अगाडि पर्सिया(इरान) खाडीको उत्तरी समतल भूभागमा दुईवटा सभ्य जाति बस्दथे । उत्तरी मैदानमा बस्नेलाई आकाद र दक्षिणी मैदानमा शौभार वंश भनिन्थ्यो । शौभार वंशको एक ठूलो जमातले पूर्वदिशा आइ ई.पू. ३००० मा चीन राज्य स्थापना गरेका थिए । त्यसकै एक समूह छुट्टिएर काबुल, पञ्जाब भइ गंगा नदीको मैदानमा आएर बसोबास गर्न थाले । कैयौं पुस्तापछि यिनै शौभार वंशका मानिसलाई आर्यहरुले किरात संबोधन गर्न थाले (याखाराई, पे.३४९) । हिन्दू धर्मशास्त्र योगीनीतन्त्र अनुसार किरातको उत्पत्ति काबुलको उत्तर कुशद्धीपबाट बसाइ सरेर आएकी कङ्कती नामकी सुन्दर कन्या र महादेवबीच सहबास भइ एक स्वस्थ पुत्र लाभ भयो जसको नाम ‘किरात’ रह्यो र त्यसैबाट भएको हो । डा. स्वामी प्रपन्चार्यले त्यसलाई अस्वीकार गर्दै खण्डन गरेका छन् । 

यसको अर्थ भारतमा आर्यहरुको प्रवेश पहिल्यैबाट अर्थात ऋृग्वेद काल अगाडिदेखि पहाड तथा हिमाली क्षेत्रमाहरुमा किराँतहरुको बसोबास रहेको प्रष्ट हुन्छ । हिमालय क्षेत्रलाई ‘किरात हिमवत खण्ड’ पौराणिक साहित्यमा भनिएकोले उनीहरु यहाँको आदिम बासिन्दा भएको देखिन्छ । ‘प्राचीन भारतमा किरातहरु’ पुस्तकमा जीपी सिंह लेख्छन् –‘किरातहरुको उत्पत्ति र प्राचीनत्व अझै पनि रहस्यमय रहेको छ । अन्य प्राचीन भारतीय आदिवासीहरु झैं किरातहरुलाई पनि साधारणत : आदिवासीको रुपमा वर्णन गरिएका छन् । यिनीहरु मुल रुपमा मध्य देशको गांगेय समतलभूमि, विभिन्न नदी तथा तिनीहरुका शाखा नदीहरुका किनारा, वनजंगल, मानसरोवर पोखरी छेउछाउमा अवस्थित कैलाश पर्वतको फेदी तथा यसका छेउछाउका ठाउँहरु, गंगा नदीका तीरमा अवस्थित प्रदेशहरु, पहाड एवं उपत्यका, पार्वतीय अञ्चल, जंगल, उत्तर र पूर्वी हिमालयका सिमाना इलाका, विन्ध्या अञ्चल तथा उत्तर पश्चिम, मध्य अनि पश्चिम भारत तथा डेक्कनका विभिन्न भागहरुमा बसोबास गर्नेहरु हुन् । वास्तवमा किरातीहरु स्वदेशीहरु नै थिए (सिंह, पे.४९)’ । सिंहले किरातहरु भारतीय उपमहाव्दीपका अती पुराना जाति भएको ठहर गरेका छन् । 

किरातहरु भारतवर्षको सर्व प्राचीन जातिहरुमध्येका थिए भन्नेमा करिब सबै इतिहासकार र अनुसान्धानकर्ताहरुको एकमत जस्तो देखिन्छ । नेपालको प्रारम्भिक इतिहासबाटै किरातहरुको चर्चा पाइन्छ । हिमालय पर्वतको दक्षिणी क्षेत्रका पहिलो आवादकर्ताहरु किरातहरु भएको विश्वास गरिन्छ । नेपालको इतिहासमा पहिलो र दोश्रो शासन गर्ने गोपाल र महिषपालहरु पनि किरात वंशकै भएको दावी लेखक दुर्गाहाङ याखाराईले दावाी गरेका छन् । उनले नेपालमा यलम्बर पूर्वका गोपाल र आहिर वंशी भनिएका राजाहरु पनि किरात नै थिए भनेर लेखेका छन् (याखाराई, पे.३६५) । याखाराईले यसलाई किम्दन्तीको भर परेर सँस्कृत भाषामा राजवंशवली लेख्दा गाई पाल्नेलाई ‘गोपाल’ र भैँसी पाल्नेलाई ‘भैँस वा महिसपाल’ अर्थात ‘अहिर वंशी’ भनिएको उल्लेख गरेका छन् । त्यो बेलाको भूराजनीतिक अवस्थाले पनि किरात बाहेक अन्यको शासन कल्पना गर्न नसकिने याखाराईको तर्क छ ।  

नेपालको इतिहासमा पहिलो किरात राजा यलम्बर भएकोमा सबै इतिहासकारको एकमत पाइन्छ । तात्कालिन समयमा नेपाल भनेर काठमाडौंलाई बुझिन्थ्यो । विभिन्न किरात समुदायको भाषामा काठमाडौंलाई ‘यलाखोम’ भनिन्छ । यसको अर्थ यलम्बरको भुमि हो । सामान्यत ः नेपालमा ३२ पुस्ताका किरात राजाहरुले शासन गरेको नेपालको इतिहासमा उल्लेख गरेको पाइन्छ । प्रेमबहादुर माबोहाङले ३३ जना किरात राजाहरुको नाम उल्लेख गरेको पाइन्छ (याखाराई, पे. ३६८) । कपिय इतिहासकारले २६ पुस्ताले शासन गरेको लेखेका छन् । एक ठाउँ सिंहले लेखेका छन् – समस्त सुत्रहरुको पूर्णतया छानविन पश्चात खृष्टपूर्व ३१०२ सालमा किरात शासन प्रारम्भ भएको हो (सिंह, पे.३०९, ३१०) । माबोहाङका अनुसार कलिगत ४० (इ.पू. ३०६१) मा राजा भूवनसिंहको राज्य विजय गरेर यलम्बरले किरात वंशीय युगको प्रारम्भ गरेका थिए (याखाराई, पे.३६८) । विभिन्न इतिहास लेखकहरुले किरात कालको प्रारम्भको मिति बेग्ला बेग्लै उल्लेख गरेका छन् । किरात वंशका २९ जनाले शासन गरेको सरदर १३०० वर्ष र त्यस अघिको गोपाल र महिषपाललाई किरातै मान्दा इसापूर्व १७०० तिरबाट उनीहरुको शासन शुरु भएको मान्न सकिन्छ । तर किरातहरुको शासन कहिले शुरु भयो र कहिले अन्त्य भयो भनेर एकीन समय किटान गर्न सकिने अवस्था छैन । यसो हुनुमा किराँतहरु बारे ठोस जानकारी दिने शिलालेख वा अन्य प्रमाण नहुनु नै हो । 

लामो अनुसन्धानपछि किरात इतिहासका विज्ञ जीपी सिंहले नेपाल उपत्यकामा २९ जना किरात राजाले शासन गरेको निश्कर्ष निकालेका छन् । यलम्बर पहिलो राजा थिए । जस्ले किरात राज्यको स्थापना गरे । त्यसपछि क्रमशः उनको राज्य पूर्वमा टिस्टा, दक्षिणमा मोरङ, पश्चिममा त्रिशुली नदी र उत्तरमा हिमालसम्म थियो (सिंह, पृ.३१०) । दोश्रो किरात राजा पबि थिए । उनको शासनकालमा द्वापार युग अन्त भएर कलियुग शुरुवात भएको मानिन्छ । त्यसपछि उनेको छोरा स्कन्धर तेश्रो राजा भए । तिनीपछि छोरा बलम्ब÷बलहाङ, बलम्ब पछाडि हुमति राजा भए । हुमतिको पालामा पाण्डवहरु वनबास बसेको बेला अर्जुनले किरातको रुप धारण गरेका महादेवसँग युद्ध गरेर आफ्नो कौशलद्धारा तिनलाई मुग्ध पारेका थिए (सिंह, पृ..३११) । हुमतिको छोरा जितेदस्ती सातौं किरात राजा भए । उनको शासनकालमा महाभारतको युद्ध भएको विश्वास गरिन्छ । अर्जुनको आग्रहमा पाण्डवहरुको पक्षमा महाभारत युद्ध लड्दा उनले प्राण गुमाएका थिए । भगवानलाल इन्द्रजीका अनुसार पाँचसय एक्काइस बर्ष नेपालमा शासन गर्ने गोपाल वंशले राज्य हारेको पाँचसय छत्तीस बर्षपछि जितेदस्तीले गद्दी आरोहण गरेका थिए (सिंह) । उनको मृत्युपछि गलिञ्जा राजा भए । गलिञ्जापछि पुष्क वा हुर्मा, त्यसपछि सुयार्मा, पर्व, बुंका र स्वानन्द(थोमु)ले किरात शासन चलाए । 

बौद्ध परम्पराको किम्वदन्ती अनुसार सातौं किरात राजा जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल(काठमाडौं) भ्रमण गरेका थिए । त्यसै बेलाबाट काठमाडौंमा बुद्धधर्मको प्रवेश भएको विश्वास गरिन्छ । (बुद्धले नभइ उनको चेला आनन्दले काठमाडौं भ्रमण गरेका थिए भनिन्छ । बुद्धले जीवनकालमा काठमाडौं आएको प्रमाण छैन ।) चौधौं किरात राजा स्थुङ्को राजा भएको समय ईसापूर्व २५० सालमा नेपाल एक पवित्र भूमि भएको प्रख्याती सुनेर मौर्य सम्राट अशोकले आफ्नो अध्यात्मिक गुरु उपगुप्त भिक्षुको सल्लाह लिइ आफ्नो परिवारसहित ठूलो संख्यामा प्रजाहरु साथ लिएर नेपालको भ्रमण गरे । अशोकले त्यही बेला अनेक गुम्बा र चैत्यको निर्माण गराए । बुद्धको जन्मस्थल लुम्बिनी सोही समय अशोक स्तम्भ खडा गरिएको थियो । त्यसमा अशोकले आफ्नो आदेशहरु शिलालेखका रुपमा लेखाए (सिंह, पे.३११) । सम्राट अशोकले त्यही बेला आफ्नी छोरी चारुमतीको देवपालसँग विवाह गरिदिए । चारुमतीले पशुपति मन्दिर नजिकै बसोबास गरिन् र आफ्नो लोग्नेको नाममा देउपाटन शहर बसाइन् । उनले चारुमती विहार निर्माण गरिन् । चारुमतीकै नामबाट वर्तमान चाबहिल बनेको हो भनिन्छ । सम्राट अशोक नेपालबाट फर्किएपछि स्थुङ्कोले अशोक स्तम्भ र स्तम्भसँगै राखिएको मौर्य सम्राटको घोडाको मुर्तिलाई नष्ट गराएका थिए । यसलाई भारतको नेपाली भूमिमा भएको अतिक्रमणको प्रतिरोधका रुपमा जीपी सिंहले उल्लेख गरेका छन् । उनले बुद्ध धर्मको अस्वीकारको रुपमा पनि यसलाई अथ्र्याएका छन् । किरात राजवंशमा बुद्ध धर्मको प्रभावबारे कुनै चर्चा गरिएको छैन ।

पन्ध्रौं किरात राजा गिधरी भए । गिधरी पछि नाने(नन्याहाङ), ल्युक, थोर, बरमा, गुजा, पुश्कार, केशु, सुजा, सन्सा, गुनान र खिम्बु राजा भए । यलम्बरले किरात राज्य स्थापना गर्दा मातातिर्थमा राजधानी थियो । पछि उनले गोकर्णमा सारेका थिए । खिम्बुका छोरा अट्ठाइसौं किरात राजा पटुकाको पालामा सोमवंशी राजपुतहरुले गोकर्णमा पटक पटक आक्रमण गरे । त्यसपछि उनले गोकर्ण छाडेर शंखमुलमा नयाँ राजधानी बनाए । सोमवंशीहरुको पटक पटक आक्रमणबाट आजित भएका उन्तीसौं किराती राजा गस्ती शंखमुलको दरबार छाडेर पूर्वतिर लागे (सिंह, पे.३१४) । सोमवंशीहरुबाट भएको पराजय किरात राजत्वकालको पूर्ण पतन नभएर पतनको शुरुवात थिया् भनेर सिंहले लेखेका छन् ।  

खम्बू र लिम्बू विभाजन :

काठमाडौं उपत्यकाको राजधानी गुमाएपछि किरात राजवंशका सन्तानहरु आफ्नै राज्यको पूर्वी भागतिर सरेर बस्न थाले । यलम्बरकै पालादेखि पूर्वमा टिष्टा र दक्षिणमा मोरङसम्म किरात राज्य रहेको थियो । तेश्रो शताब्द्धीमा किरात राजा गस्ती सोमवंशी लिच्छवीहरुबाट पराजित भएपछि उनका सन्तानहरुले काठमाडौंको पूर्वतिर पर्ने बनेपा गएर आफ्नो शासनलाई निरञ्तरता दिए । लिच्छवीहरु नजिकै भएकोले उनीहरुमा असुरक्षाभाव कायम रह्यो । गस्तीको मृत्यु पश्चात अझ आफ्नो राज्यलाई सुरक्षित बनाउन पूर्वतिर राजधानी सार्ने विषयमा उनका छोराहरुबीच छलफल भयो । जेठा लोलिमले राखेको प्रस्तावमा छलफल हुँदा कान्छा भाइ खामसोसो र उनका पक्षका भाइ भरदारले बनेपामा नै बसेर लिच्छवीहरुसँग युद्ध गरी यलाखोम फिर्ता लिने विचार अघि सारे । त्यो कुरा लोलिमहाङलाई मान्य भएन । उनी आफ्नो पक्षका भाइ भरदार र कुल कुटुम्ब लिएर पूर्वतिर लागे । तमोर नदी तरेपछि सुसुवादेनमा किल्ला बनाइ बस्न थाले । उनले मोरङको विजयपुरलाई अर्को राजधानी बनाएर किरात शासन चलाउन थाले । लिबुक राजा भएको बेला भाइ भरदार र जनताहरुको चाहना बमोजिम लोलिमहाङले स्थापना गरेको राज्यलाई १० प्रान्तमा विभाजन गरी रायहरु नियुक्त गरेर शासन चलाउन थाले (याखाराई, पृ.३७४) । यसरी विभाजन भएको प्रान्तहरु नै कालान्तरमा दश लिम्बुवान भएको मानिन्छ ।

लोलिमहाङ पूर्वतिर लागेपछि खाम्सोसोले बनेपाको शासन सञ्चालन गरे । तर उनले शासन सम्हालेको ६ वर्षमै केही विश्वास घाती भरदारहरु प्रलोभनमा फसेर लिच्छवीहरुसँग मिल्न पुगे । यसले यलाखोम फिर्ता गर्ने उनको योजना तुहियो । खाम्सोसो पनि बाँकी भाइ भरदार, सैनिकहरु र बालवच्चा लिएर बनेपाबाट पूर्व लागे । दुधकोशी किनारको मुक्ली देरेपु भन्ने स्थानमा आएर आफ्नो किल्ला बनाए । उनले स्थानीय देवीदेवतालाई इष्टदेव मानी उक्त स्थानको नयाँ नाम दिवालपुर राखेर ‘खम्बुक–यक’ किल्ला खडा गरेर त्यस भेगमा शासन गर्न थाले । बनेपाबाट पूर्व लागेपछि लोलिमहाङ र खाम्सासो वंशका दुई अलग किरात शासन स्थापना भए । 

खाम्सोसोले स्थापना गरेको राज्य चलि नै रहेको थियो । खम्बोकहाङ राजाको राज्यकालमा लिम्बुवानमा जस्तै खम्बुक यकबाट प्रशासित राज्य विभाजनको कुरा आयो । एउटा राज्यलाई १२ टुक्रामा विभाजन गरियो । त्यसपछि १२ प्रान्तमा १२ वटै राजाले शासन गर्न थाले (याखाराई, पे.३७४ र ३७५) । खम्बू किन भनियो भन्ने सवालमा खम्बुक दरबारबाट विभाजन भएको र खम्बोकहाङ राजाको जनता भएकोले खम्बू वा खम्बूवान भनिएको हुन सक्ने अनुमान गरिन्छ । खम्बोकहाङको राज्यबाट अगल भएका १२ प्रान्तमा विस्तारै फरक किसिमको किरात सभ्यता विकास भए । जुन वर्तमानमा फरक पहिचानबाट परिचित बनेका छन् भन्ने विश्वास गरिन्छ । 

किरात मङ्गोल हुन् ? 

धेरैले नेपालका किरात लगायत अन्य आदिवासीहरुलाई मङ्गोल भन्ने गरेका छन् । यसको अर्थ मुगल(मुसलमान ?) वा मंगोलियाबाट बसाइ सर्दै आइपुगेको मङ्गोल मुलको जाति हुन्छ । किरातीहरु मङ्गोल हुन् भन्नेमा किरात इतिहासका अध्येताहरु सहमत देखिन्नन् । चालीस बर्षको अनुसन्धानपछि डा. स्वामी प्रपन्नचार्यले किरात मङ्गोल नभएको बताएका छन् । उनले किरात र मङ्गोलियाका बासिन्दाहरुको वंश, परम्परा र विश्वास केही पनि नमिल्ने बताएका छन् । मङ्गोल शब्द्ध मुगलबाट उत्पत्ति भएको हो । यो शब्द्ध प्रयोगमा आएको लगभग ७५० बर्ष हुन्छ (याखाराई) । मङ्गोल शब्द्ध प्रचलनमा आएको चङ्गेज खान(१२६२–१३२७)को पालादेखि हो । उनी शुरुमा बौद्ध अनुयायी आदिवासी भएपनि पछि तुर्कहरुको संगतले मुसलमान बनेका थिए (विकिपेडिया, हिन्दी) । 

उनै चङ्गेज खानका नाती कुब्लाइ खाँले आफूलाई मङ्गोल भनेको इतिहासमा पढ्न पाइन्छ । चङ्गेज खाँले विश्वको २२ प्रतिशत भूभागमा दिग्विजय पाउनेक्रममा चीन, रुस, पूर्वी युरोप, अरब, पाकिस्तान, आफगानिस्तानदेखि भारतलाई आफ्नो राज्यमा गाभेका थिए । तिनै मङ्गोल शासक चङ्गेज खाँको पराक्रमबाट प्रभावित तुर्क मङ्गोल मिश्रित मुसलमान वंशबाट सन् १५२६ मा स्थापना भएको साम्राज्यलाई मुगल साम्राज्य भनियो । जो भारतलाई अंग्रेजहरुले सम्पूर्ण कब्जा गर्नुअघिसम्म कायम रह्यो । 

धेरै इतिहासकारको मतमा किरातहरु प्राचीन भारतका सुप्रसिद्ध आदिवासीहरु थिए । प्राचीन सँस्कृत साहित्यमा यो नाम भारतीय मुलका आदिवासीहरुप्रति प्रयोग गरिन्थ्यो, सिनो–तिब्बतीहरुप्रति होइन । क्रिश्चियन युग प्रारम्भ हुनुअघि भारतमा सिनो–तिब्बती र तिब्बत–बर्मी परिवार प्रवेश गरेको प्रमाण पाइँदैन । अध्ययनले के स्पष्ट गर्दछ भने प्राचीन भारतका प्रथमवासीहरु किरात थिए (सिंह., पृ.७५) । भारतका किरातहरु सम्बन्धि वृहत अध्ययन गरेका डा. जीपी सिंह पनि किरातहरु मङ्गोल वा मङ्गोलियाबाट आएको मान्न तयार छैनन् । आरएन सलेडोरको भनाइ उदृत गर्दै जीपी सिंहले लेखेका छन्­ ‘किरातहरु प्राचीन मंगोल आदिवासीहरु थिए भन्ने धारणा काल्पनिक र आधारहीन हुन् ।’ यस सम्बन्धि एक छुट्टै लेख यसअघि नै लेखेको छु (http://kulungraj.blogspot.com/2020/04/blog-post.html) ।

आजका किरातहरु :

किरातहरु लिच्छवीबाट यलाखोममा पराजित भएपछि मात्रै पूर्वी प्रदेशमा फैलिएका होइनन् । उनीहरु प्राग ऐतिहासिक कालबाटै पूर्वी क्षेत्रमा बसोबास गर्दथे । यलम्बरको राज्य टिष्टा र मोरङसम्म फैलिएको थियो । नेपालको वर्तमान किरातहरु विकसित हुनु पहिले पूर्वी नेपालमा नागा जातिका मानिसहरुको सघन बसोबास थियो । उनीहरु किरात मुलकै थिए र राज्य उनीहरु कै थियो । धेरैले यलम्बर र उनका सन्तानहरुकै शासनलाई मानेनन् । जस्का कारण अरु किरातहरु र नागाबीच द्धन्द्ध हुँदा धेरै नागा किरातहरु विस्थापित भएको र केही अन्य किरातीहरुमा विलय भएको विश्वास गरिन्छ भनेर याखाराईले लेखेका छन् ।

पूर्वी नेपाललाई इतिहासको पछिल्लो खण्डमा किराती देश नामाकरण गरिएको छ । हड्सनका अनुसार, किरात देशमा बस्ने किराँतीहरु तीन भागमा विभक्त छन् । क) अरुणदेखि मेची नदी र सिंहलिलासम्मको पल्लो किरातमा बस्नेहरु लिम्बू, याक्खा र लोहरुङ आदि । ख) लिखुदेखि अरुण नदीसम्म अर्थात माझ किरातमा बसोबास गर्नेहरु बान्तावा, दुङ्माली, खालिङ, दूमी, साम्पाङ, बाहिङ, थुलुङ, कुलुङ, रोदोंग(चाम्लिङ?) आदि र ग) लिखुदेखि सुनकोशी नदीसम्मको भूभाग अर्थात वल्लो वा नजिकको किरातमा बसोबास गर्ने चौरासे(वाम्बुले), सुनुवारहरु आदि हुन् (सिंह, पृ.९१ र ९२) । 

हड्सनले पूर्वी नेपालमा पर्ने किरात देशको पुरानो नाम ‘नौ लाख किरात’ थियो भनेका छन् । हड्सनका अनुसार उत्तर पूर्वमा खम्बूहरुको देशलाई महाकुलुङ भनिन्थ्यो । नेपालको लडाकु जातिहरुमा तिनीहरु पनि थिए । डिआर रेग्मीका अनुसार क्रिश्चियन युग शुरु हुनुभन्दा पूर्व प्राचीन कालमा नेपाल उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुको शक्तिशाली शाखा अहिलेका कुलुङ, थुलुङ आदि हुन् । राजी, चेपाङ, थाडुस वा थारुहहरु पनि किरात नै हुन् (सिंह) । जनकलाला शर्माका अनुसार किरातीहरु हिमाली खण्डमा बसोबास गर्ने सर्वाधिक प्राचीन जाति हुन् । हाल किरातहरुको मुल थलो नेपालको पूर्वी भाग हो । किराँती भन्नाले मुलरुपमा राईलाई भनिन्छ र यदाकता तिनीहरुलाई जिम्दार पनि भनिन्छ । यदाकदा लिम्बुहरुले पनि किरात शब्द्ध प्रयोग गर्दछन् (राई, २०६८) । चाल्र्स म्याकडुगलका अनुसार राई र लिम्बूहरु प्राचीन किरातीका सन्तान ठानिन्छ । आज पनि उनीहरु आफूबाट र अरुबाट किराती नै भनिन्छ (म्याकडोगल, १९७९) । हड्सन्ले करिब २६०० वर्षभन्दा पहिले किरातीहरु वर्तमान बासस्थानमा आएको अनुमान गरेका छन् (राई) ।

प्राचीन किरातका सन्ततीहरुको वर्तमान अवस्था सम्बन्धमा शोधकर्ता जीपी सिंहले ग्रियर्सनलाई उदृद गर्दै लेखेका छन् ः प्राचीन किरातहरु भारतको इतिहासबाट विलुप्त भएका छैनन् । नेपालको सुदुर पूर्वी अञ्चलका वर्तमान किरातीहरुले भौगोलिक, जातीय तथा भाषिक रुपमा तिनीहरुको एक शाखाले प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै अर्को अनुच्छेदमा लेखेका छन् ः नेपालको दुधकोशी र कोशी नदीको बीचमा अवस्थित किरात देश अथवा पार्वतीय देश वा हिमालको फेदमा बस्नेहरु नै निःसन्देह किराँतहरु हुन् । तिनीहरु साधारणतः खम्बू, लिम्बू र याखा जनजातिहरु हुन् (सिंह, पृं.९०) । 

पिसि भट्टाचार्यका अनुसार वर्तमान आसाम, नागाल्याण्ड, नेफा(अरुणाञ्चल), मणिपुर, त्रिपुरामा बसोबास गर्ने बोरो, रभा, गारो, लालुङग, मिरि(मिसिंग), मौन्पा, अका, डाफ्ला, अबोर, मिकिर, खासी, सिन्टेग, डिमासा, मैथी, तिप्रा, हाजोंग, मिजो(लुसाई), नागा, मिस्मि, सिंफगो, अपतानी, नोक्ते, वान्चो, कुकी–चीन, खाम्ती तथा पहाड र तराई क्षेत्रमा धेरै संख्यामा रहेका जनजातिहरु किरात हुन् (ऐ., पृ.८८) । चाल्र्स म्याकडुगलका अनुसार राई र लिम्बूहरु प्राचीन किरातीका सन्तान ठानिन्छ । आज पनि उनीहरु आफूबाट र अरुबाट किराती नै भनिन्छ (म्याकडोगल, १९७९) । प्रा. माणिकलाल श्रेष्ठका अनुसार करिब ८० प्रतिशत नेवार पनि किराती छन् (राई,पृ.५) ।  

इमानसिंह चेम्जोङ, माणिकलाल श्रेष्ठ, डोरबहादुर विष्ट, हर्षबहादुर बुढामगर लगायतका विभिन्न लेखकहरुले नेपालका सबै आदिवासी जनजातिलाई किराती नै हुन भनेका छन् । तर हिन्दू धर्मावलम्बी मगरहरु, बुद्ध धर्म मान्ने गुरुङ, तामाङ, थकाली र तिब्बतीय मुलका शेर्पा, भोटे लगायतका हिमाली जातिले किराँत भनेर स्वीकार गरेको देखिन्न । लेखक टंकबहादुर राईले पनि गुरुङ, मगर, थकाली, तामाङ, शेर्पा आदिलाई किरात हुन् कि होइनन् भन्नेमा लामो विवाद देखिने बताएका छन् (राई ः पृ.१३) । वर्तमान नेपालमा बसोबास गर्ने चाम्लिङ, खालिङ, थुलुङ, कुलङ, साम्पाङ, बाहिङ, बान्तावा, मेवाहाङ, लोहरुङ, जेरो, वाम्बुले, याम्फू, आठपहरिया, कोयी, दूमी, पुमा, नाछिरिङ, किरातराई भनिनेहरु, थामी, धिमाल, सुनुवार, जिरेल, सुरेल, हायु, चेपाङ, लिम्बू, याक्खा, लेप्चा, कोचे, मेचे र उत्तर पूर्वी भारतमा बसोबास गर्ने नागा लगायतका आदिवासीहरु सबै किराती हुन् भन्न सकिन्छ । किनभने तिनीहरुमध्ये धेरैले आज पनि आफूलाई किरात वंशी भन्दै आएका छन् ।

सन्दर्भ सामग्री

१. सिंह, जीपी, १९९०, प्राचीन भारतमा किरातहरु, एफआरएस, लण्डन, अनु. राई टीबी

२. याखाराई, दुर्गाहाङ, १९९६, ब्राह्मणवाद विरुद्ध जनजाति+उत्पीडित वर्ग, धनरानी खायाराई, 

३. राई, टंकबहादुर, २०६८, किरात इतिहास, उत्तरकुमार चाम्लिङ, 

४. शर्मा, जनकलाल(२०३९), हाम्रो समाज, साझा प्रकाशन

५. Mcdougal Charles, (1979), the Kulunge Rai, Ratna Pustak Bhandar, Kathmandu, 

No comments:

Post a Comment