फिल्म

हिन्दी फिल्मको सय बर्ष

(भारतीय फिल्म इन्डस्ट्री संसारकै ठूलो मानिन्छ । त्यहाँ वार्षिक सयौं फिल्म दर्जनौ भाषामा बन्छन् । विश्वको फिल्म इतिहासमा भारतीय फिल्मको विशिष्ट स्थान छ । आउने अप्रिल २१ तारिखमा पहिलो भारतीय फिल्म प्रदर्शन भएको १०० वर्ष पुग्दैछ । कान्तिपुर कोसेलीमा छापिएको यो सामग्री मलाई ज्ञान बद्र्धक लागेकाले साभार गरेर पोष्ट गरेको छु । अन्यथा भए माफ पाउँ – आरडी)
सन् १९१३, २१ अपि्रलमा बम्बईको 'ओलम्पिया' हलमा भारतको प्रथम कथा-चित्र 'राजा हरिशचन्द्र' को प्रथम प्रदर्शन भएको दिन आउन दुई महिना जति बाँकी छ । त्यस दिनपछि भारतीय सिनेमाले १०१ वर्षमा प्रवेश गर्नेछ । भारतीय सिनेमाको यो शताब्दी वर्ष चलिरहेको छ, अन्तिम चरणमा । यो सय वर्षमा पुग्नुअगिको भारतमा सिनेमाका पूर्वनिर्माणको चरण पनि थियो । छोटकरीमा त्यो जान्नु हाम्रा लागि लाभदायक हुनेछ ।

सन् १८९५ को २८ डिसेम्बरका दिन प|mान्सको पेरिसमा लुमियर बन्धुले बनाएको विश्वको प्रथम सिनेमाको प्रदर्शन भएको थियो । ती सिनेमा छोटाछोटा थिए जसमा रेल आएको, कारखानाबाट मजदुर निस्केका अनि मालीले बगैंचामा पानी हालेका आदि दृश्य थिए । यिनै दृश्यहरूलाई विश्वमा सिनेमा विधाको प्रथम निर्माणका रूपमा लिइन्छ । दृश्यहरू चल हुनाले दर्शकलाई आत्मसात् गर्न सजिलो आफनै दिनचर्यासित मिल्ने खालको र जीवन्त लागेको थियो । सबैले यो नवीनतम विधाको स्वागत गरे । लुमियर बन्धुले त्यसबाट प्रशस्त लाभ आर्जित गरे ।

त्यसको छ महिना दस दिनमा उक्त सिनेमा वा लघु सिनेमा समूहको बम्बईको वाट्सन भन्ने होटलमा प्रथम प्रदर्शन वा पि्रमियर गरियो । पि्रमियरको त्यही परम्परा भारतीय सिनेमामा अद्यापि कायमै छ । ७ जुलाई, १८९६ बेलुकी ६ बजे यसको प्रदर्शन हुँदा दुई सयजना गन्यमान्य व्यक्तिले फिल्म हेरेका थिए । भारतमा त्यसलाई एउटा चमत्कारी विधाका रूपमा लिइयो । सारा दर्शक मन्त्रमुग्ध र चमत्कृत भएका थिए । बम्बईको स्टेसनमै रेल आएको स्थानीय दृश्य पनि सामेल गरिएकाले ती झन् अभिभूत भएका थिए ।

 त्यसपछि पनि भारतमा सिनेमा बनाउने क्रम चलिरह्यो । तर, जसले सिनेमालाई कथाका रूपमा प्रस्तुत गर्ने श्रेय पाए, ती थिए- महाराष्ट्रमा जन्मेका ढुण्डिराज गोविन्द फाल्के, डी.डी. फाल्के अझ चिनिने नाउँ हो दादासाहेब फाल्के । उनी नै भारतीय वा हिन्दी फिल्मका पिता मानिन्छन् । उनैका नाउँमा फिल्म जगत्को सबभन्दा प्रतिष्ठित सम्मान राखिएको छ ।

उनी चित्रकला र फोटोग्राफीमा अघिदेखि नै रुचि राख्दथे । जुन बखत उनले फिल्म बनाउने सोचे, फाल्के चालीस वर्षका रोगी व्यक्ति भइसकेका थिए । र त्यसमाथि निर्धन पनि । फिल्म हेर्दा हेर्दा उनी आंखै पनि नदेख्ने भइसकेका थिए, पछि उपचारले ठीक भए ।

पहिले उनले कृष्णबारे फिल्म बनाउने सोचेका थिए । पछि त्यो विचार त्यागे किनभने त्यो खर्चालु हुनाले सम्भव लागेन । त्यसपछि उनले 'राजा हरिश्चन्द्र' बनाएका हुन् । पहिले पनि 'कोसेली' मै आइसकेको छ, फाल्केको फिल्ममा खेल्न वेश्याले समेत मानेनन् । पछि वसन्त सोलंके भन्ने पुरुषलाई नै स्त्री भेषमा ल्याइयो । रोहिताश्वको भूमिका खेल्न कुनै आमाले छोरो नदिएपछि आपmनै पुत्रलाई खेलाए । 'राजा हरिश्चन्द्र'ले रेकर्ड बनायो । यो तेइस दिन चल्यो लगातार । तिनताक फिल्महरू कुनै पनि सातासम्म पनि चल्दैन थिए ।

फाल्केले केही अरू फिल्म बनाए । यसै अखबारका पानामा पहिले आइसकेको छ, 'लंका दहन'बाट आम्दानी भएको सिक्काहरू गाडामा हालेर लानुपरेको थियो । यसरी फाल्केले 'मुक' भए पनि सिनेमाको युगको भारतमा प्रारम्भ गरेका थिए ।

पहिलो विश्वयुद्ध भएको दशक नबित्दै सन् १९२७ मा 'द ज्याज सिंगर' भन्ने फिल्म आयो, विश्व सिनेमालाई हल्लाउने गरी । त्यो पहिलो बोल्ने सिनेमा थियो । भारतमा थालनीमा बोल्ने सिनेमाको विरोध भी. शान्तारामजस्ता फिल्मकारले समेत गरेका थिए । त, समय त पछि हट्दैन । सन् १९१३ मा 'आलम आरा' भन्ने प्रथम बोल्ने फिल्म आर्देशिर इरानीले बनाए । त्यसपछि हिन्दी सिनेमामा अझै महत्त्वपूर्ण युग थालिएको हो ।

सन् १९५० तिरका हिन्दी फिल्महरू प्रायः पौराणिक ऐतिहासिक र धार्मिक छन् । एउटा अर्को प्रकारको फिल्म पनि छ, त्यो हो साहित्यिक कृतिमाथि बनेका फिल्महरू । उपरोक्त फिल्महरूले फिल्मकार अर्थात् खासगरी कलाकार, निर्देशक, लेखक र गायक संगीतकार पनि विभिन्न किसिमले जन्माए । के एल सहगल, लता मंगेशकर, मुहम्मद रफी, मुकेश, मन्ना डे, तलत महमुद, आशा भोसले, सम्साद बेगम, नूरजहाँ, सुरैया, गीता दत्त आदि अनगिन्ती व्यक्तित्वशाली गायक गायिकालाई अगाडि ल्याए ।

त्यसैगरी नितिन बोस, देवकी बोस, मृणाल सेन, सत्यतिज रे, विमल राय, महबबु खान, ऋषिकेश मुखर्जी, पिसी बरुवा आदि कैयौं ठूला निर्देशकहरू फिल्म आकाशमा व्याप्त भए । सत्यजित रेले हिन्दीमा एउटैमात्र फिल्म बनाए पनि उनको उपस्थिति बलियो छ । त्यसै हारहारीमा राज कपुर, शान्ताराम, गुरुदत्त, केदार शर्मा, ख्वाजा अहमद अब्बासजस्ता प्रभावशाली फिल्मकारहरू पनि आए ।

पचासअघिका फिल्ममा 'रामराज्य', 'डा. कोटनिसकी अमर कहानी' आए छाप छोड्ने गरी । 'झाँसी कि रानी' पहिलो रंगीन फिल्म बन्यो भारतको, जुन सन् ५२ मा आएको थियो । हुन त सन् ५२ मै 'आन' पनि रंगीन फिल्मका रूपमा आएको थियो । रामानन्द सागर, ख्वाजा अहमद अब्बास, कमाल अमरोहीजस्ता बलिया लेखक आए, जसले पछि राम्रा र सम्भिmनलायक फिल्म पनि बनाए ।

गीतकारको त एउटा लामो पंक्ति छ । सम्झेर साध्य छैन । प्रायः पहिले गीतकारहरू अलग्ग स्थापित भएर फिल्ममा आएका देखिन्छन् । पछि फिल्मका लागि लेख्नेहरू आए । पहिलो कोटीमा साहिर लुधियानवी, कैफी आजमी, गुलजार, शैलेन्द्र, हसरत जयपुरी, सकिल बदायुनी, नीरज आदि पर्दछन् । यी सब अलग्ग स्थापित भइसकेपछि फिल्ममा आएका हुन् ।

साहित्यिक कृतिहरूमा फिल्म बनाउने परम्परा पहिलेदेखि नै थियो । अझै पनि छ । तिनमा सबभन्दा बढी शरत्चन्द्रका कृतिमाथि फिल्म बनेको देखिन्छ । प्रेमचन्द र रवीन्द्रनाथ त्यसपछि आउँछन् । शरत्चन्द्रको 'देवदास' हिन्दीमा तीनपटक बन्यो । जसमा निर्देशक क्रमशः प्रमथेश बरुआ, विमल राय र सञ्जयलीला भन्साली थिए । बीचमा उ जमानामा धमेन्द्र र हेमा मालिनीलाई लिएर पनि देवदास बनाउने कुरा चलेको थियो । तर त्यो बन्न सकेन । रमाइलो के भने, तिनै देवदास आआपmनो समयका सफल फिल्म सावित भए ।

फिल्म कलाकारको त एउटा ठूलो भीडै छ, त्यो पनि एकसेएक जसको उपस्थिति आआपmनो जमानामा साँच्चिकै स्टारकै रह्यो । यिनमा केही महानै छन् भने केही लोकपि्रय मात्र । सहगल, अशोक कुमार, दिलीप कुमार, राज कपुर, देवआनन्द । दिलीप कुमार, राज कपुर र देवआनन्दलाई कुनै बखत 'थ्री बिग' भनेर भनिन्थ्यो । बलराज साहनी, राजकुमार, मोतीलाल, सञ्जीवकुमार आदिले नायक-सहनायक भएर खेले पनि आपmनो अभिनयको छाप भने छाडेका छन् । सम्मी कपुरको आफ्नै शैली थियो, बागी कलाकारे ।

त्यसपछिको पुस्तामा राजेश खन्ना, अमिताभ बच्चन, जितेन्द्र, धर्मेन्द्र अनि, त्यसपछि ऋषिकपुर, संजय दत्त, मिथुन, शाहरूख, सलमान, आमीर बने । र, अब अहिले रणवीर कपुरजस्ता अभिनेता आउँदै छन् ।

हिरोइनहरूमा पुरानो जमानाका दुर्गा खोटे, शान्ता आप्टे, शोभना समर्थनदेखि मीनाकुमारी, नरगिस, मधुवाला, माला सिन्हा, नूतन हुँदै माधुरी दीक्षित, काजोल र अहिलेका पि्रयंका चोपडा, करिना कपुरसम्म आइरहेका छन् ।

पहिलेका फिल्महरू उद्देश्यपूर्ण बढी थिए । बीचमा स्टन्ट फिल्मको समय आयो । यिनमा 'हन्टरवाली' का रूपमा नाडिया महिला कलाकारका रूपमा स्टन्टक्विन मानिइन् । त्यसबाहेक यस्तैमा रंजन आजाद, दलजितजस्ता अभिनेता पनि थिए, जो पछि टिक्न सकेनन् ।

संगीतकारका रूपमा नौसाद, मदनमोहन, शंकर जयकिशन, कल्याणजी आनन्दजी, लक्ष्मीकान्त प्यारेलाल अलि पछि नदीम-श्रवण र साजिद वाजिदको जोडी देखियो सफल । बुलो सी.रानी, उषा खन्ना आदि महिला संगीतकार रूपमा सफल भए । गायिका-नायिकाको छवि सुरैयाको बन्यो । सबभन्दा पछि एआर रहमान संगीतमा ओस्कार जित्ने भारतीय भए ।

यो वर्षहरूमा अमिताभ बच्चन जो धेरैपटक नराम्ररी बिरामी परेका थिए, लोकपि्रयताको शिखरमा पुगे । शताब्दीको महानायकका रूपमा उनको चुनाव भयो ।

सत्तरीको दशकमा हिन्दीमा समानान्तर सिनेमा बन्न थाल्यो, जसको थालनीको श्रेय 'भुवन सोम' फिल्मलाई दिइन्छ । मृणाल सेन यसका निर्देशक थिए । यसपछि श्याम बेनेगल, गोविन्द निहलानी, वासु भट्टाचार्य, वासु चटर्जीले यो धारलाई अघि बढाए । यी फिल्मले नसिरुद्धिन शाह, ओम पुरी, अमोल पालेकर, शबाना आजमी, स्मिता पाटिलजस्ता कलाकारलाई पनि ल्याए । तर, यीभन्दा पहिले नै 'दो बिघा जमीन', 'औरत', 'मदर इन्डिया', 'दो आंखे बारह हाथ', 'जागते रहो' लाई विर्सिनन सकिन्न, जसले समानान्तर फिल्मको निर्माण गरेका हुन् ।

'मुसाफिर' ऋषिकेश मुखर्जीको पहिलो फिल्म थियो । यसमा दिलीप कुमार पनि थिए । यसमा प्रयोगको राम्रो प्रयास छ । यही एउटा फिल्म हो जसमा दिलीपले गीत पनि गाएका छन् ।

भारतीय फिल्मको सय वर्षलाई यतिले ठ्याम्मै पुग्दैन, यो स्पष्ट थाहा छ । अन्य कति पक्षहरू यसको विकासका, संघर्षका, प्रविधिका तिनलाई लेख्न थाल्यो भने एक त एउटा सिंगो ग्रन्थ बन्छ, अर्को आपmनो ज्ञानले भ्याउँदैन । तैपनि, बेलाबेलामा यस्ता कुराहरू लेख्ने प्रयास हुनेछ भन्ने ठानेको छु । अहिलेलाई मोटामोटी सर्वेक्षण केवल सम्झनाको भरमा । अनुभवहरू त बाँकी नै छन् ।

 

 

हिन्दी सिनेमाका सय वर्षः केही वास्तविकता, केही फ्यान्टासी

साप्ताहिक हिमाल खबरपत्रिकाबाट साभारः
भारतीय सिनेमा सय वर्ष पूगेको छ । सन् १९१३ मा बनेको पहिलो ‘साइलेन्ट मूभी’ राजा हरिशचन्द्रदेखि यसै हप्ता रिलिज भएको बम्बे टकिज सम्म हिंदी सिनेमाले लामो यात्रा तय गरेको छ ।

कसैका लागि यी फिल्महरुको गीत संगीत, लार्जर थ्यान लाइफ क्यानभास, वास्तविकता भन्दा परको काल्पनिक संसार र यसको चमकदमक मन पर्छ भने कसैलाई यी सबैभन्दा बेग्लै वास्तविकताकै सेरोफेरोमा जीवनको तितो सत्य देखाउने फिल्महरु ।

धेरै वर्षदेखि अमिताभ बच्चन, शाहरुख, अमिर र सलमान खान जस्ता अभिनेताहरु शुक्रबार सपना बेच्छन र मानिसहरु हातहातै यी सपनाहरु किन्छन पनि, कहिले डन, कहिले बाजीगर त कहिले दबंग बनेर । यो फ्यान्टासीका बीच केही स्थान कुनै ‘दो विघा जमीन,’ ‘अर्धसत्य,’ ‘अंकुर’ या ‘अर्थ’ का लागि पनि हुने गर्छ ।
सय वर्ष पूरा भएको अवसरमा भारतीय फिल्म उद्योगमा उत्सवको माहौल छ । आमिर खानले यसै मौकामा भनेका छन, “मैले पनि यहाँ २५ वर्ष विताएको छु । यती धेरै सक्षम मानिसहरुसँग काम गर्नु गर्वको कुरा हो । अफशोच मैले यस मौकामा कुनै फिल्म बनाउन सकिन ।”

हिन्दी फिल्मले जति प्रशंसा पाउँछ, त्यति आलोचना पनि । निर्देशक अनुराग कश्यप भारतीय सिनेमाको भविष्यप्रति आशावादी छन् । भन्छन, “सिनेमाको भविष्य राम्रै देखिन्छ । अहिलेसम्म हामी बाँधिएका थियौं तर अब हामी र हाम्रो सिनेमा खुला हुँदैछ, स्वतन्त्र हुँदैछ ।”

अनुराग कश्यपको आशासँगै अभिनेता सञ्जय सूरी ती ब्यक्तिहरुमध्ये पर्छन जस्ले हिन्दी सिनेमा पछाडि फर्कदै गरेको र सनसनी धेरै हुने गरेको बताउँछन् ।

किन पछाडि जाँदैछन् फिल्म ?
सञ्जय सूरी भन्छन, “हाम्रो सिनेमा पछाडि जाँदैछ, अहिले हामी सय बर्षको उत्सव मनाइरहेका छौं यो राम्रो हो तर, आउँदा दिनरुका लागि म चिन्तित् छु ।” उनी थप्छन, “फिल्महरु राम्रा बनिरहेका छैनन् भन्ने होइन तर, राम्रा फिल्महरु निकै कम छन् । अहिलेका फिल्महरुमा सनसनी धेरै छ कला थोरै ।”

कुनै बेला हिन्दी सिनेमा भारतका गाउँठाउँ र दिल्ली बम्बै जस्ता शहरसम्म सिमित थियो । तर आज भारतीय फिल्महरु भारतमा मात्रै हैन सात सामुद्र पारी डलर र पाउण्ड कमाइरहेका छन् । हिन्दी सिनेमाको बोली, पहिरन र शैली भारतको आफ्नो भाषा र तौरतरीका भन्दा टाढा पुगेको छ । निर्देशक दिबाकर बनर्जी भारतीय फिल्महरुलाई विश्व सिनेमाका उत्कृष्ट फिल्महरुमा स्थान बनाउनतर्फ जोड दिनुपर्ने बताउँछन् ।

दिबाकर भन्छन, “पछिल्लो ७०–८० वर्षमा भारतीय सिनेमा भारतीयहरुका लागि मात्रै बनेको छ । अब फिल्म विश्वभरकै दर्शकहरुलाई ध्यानमा राखेर बनाउनु पर्छ ।”

पैसा या कला ?
फिल्म एकतिर सिर्जनशिलता र कला देखाउने एउटा माध्यम हो भने यसमा लगानी पनि निकै धेरै हुन्छ । दुबैबीचको यो युद्ध वर्षौंदेखि चल्दै आएको छ । ‘फायर,’ ‘अर्थ,’ ‘बवंडर’ र ‘फिराक’ जस्ता फिल्मकी अभिनेत्री नन्दिता दासलाई अफसोस छ कि आजका फिल्महरुमा पैसा कलामाथि हावी भएको छ ।

नन्दिता भन्छिन, “यी सय वर्षहरुमा हामीले एउटा मौका गुमाएका छौं, त्यो हो हामिले सीमा र अड्चनहरुलाई नाघ्ने प्रयास गरेनौं ।” नन्दिता अगाडि भन्छिन, “हामी फिल्ममा उदार हुन सकेनौं, जसलाई हामी समानान्तर सिनेमा भन्थ्यौं त्यो अचेल करिब करिब समाप्त भइसकेको छ ।

अचेल पैसाले कलामा धेरै नै हस्तक्षेप गरेको र प्रत्येक चिज ब्यवसायिक भएको उनको गुनासो छ । गीतकार प्रसून जोशी हिन्दी सिनेमाको हिस्सा हुन पाएकोमा गर्व अनुभव गर्छन । उनका अनुसार, “भारतीय सिनेमाको सय वर्षको यात्रालाई म ठूलो सफर ठान्छु । हाम्रो रहनसहन, पहिरन, बोलचाल, संस्कृति यी सबैमा जति प्रभाव फिल्मको छ, त्यती शायदै अरु कसैको होला ।” सिनेमा बिनाको भारत कल्पना समेत गर्न नसकिने जोशीको भनाई छ । उनी थप्छन, “सोच्नुस त फिल्मको डायलग, गीत नहुँदा हुन त……”
कहिले प्रशंसा त कहिले आलोचनाका बीच सय वर्षको यात्रा त पूरा भयो तर यो लक्ष्य मध्यान्तर मात्रै हो….. आशा छ, हिन्दी फिल्महरु जस्तै यो यात्राको क्लाइमेक्स आउन पनि अँझै बाँकी नै छ ।

No comments:

Post a Comment