–आरडी कुलुङ
सामान्य चलन चल्तीमा नेपालका आदिवासी समूदायलाई मङ्गोलियन भन्ने गरेको पाइन्छ । कतिपय अवस्थामा पहिचान नखुलेका कसैको हुलिया दिँदा सञ्चार माध्यमले नै मङ्गोलियन अनुहारको भन्ने गरेका छन् । यद्यपि त्यस्तो भाषाको आलोचना पनि हुने गरेको छ । यसरी चलन चल्ती प्रशस्त प्रयोग गरिएको शब्द जस्तै नेपालका आदिवासीहरु मङ्गोल नै हुन् त ? उनीहरुलाई मङ्गोल भन्ने आधार र कारण के हुन् ? यस विषयमा खासै छलफल भने हुने गरेको छैन । तथापि मङ्गोल शब्द सबै आदिवासी जनजाति समुदायका निम्ति सर्व स्वीकार्य शब्द भने होइन । यो छोटो लेखमा सबै आदिवासी जनजाति समुदायको नभइ किरातहरु मङ्गोल हुन् वा होइनन् ? भन्ने विषयमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
मङ्गोल(मुगल) शब्दको उत्पत्ति Kirat King Yalamber |
मंगोल शब्द कहाँबाट कसरी आयो ? त्यस बारे चर्चा गरौं । आठौं शताब्दीमा चिनीया ताङ वंशको शासन कालमा वर्तमान मङ्गोलिया देश रहेको भूभागका शिवेइ जनजाति सम्बन्धि वर्णन गर्ने क्रममा मङ्गोल शब्द पहिलो पटक प्रयोग भएको देखिन्छ । एघारौं शताब्दीको अन्ततिर लियाओ शासनमा खामाङ मङ्गोलहरु पुनःसंगठित भए भनिन्छ । सन् ११२५ मा लियाओ शासनको पतन भएपछि खामाङ मङ्गोल मङ्गोलियन भूखण्डको नेतृत्व पङ्तिका जाति भए । यद्यपि जिन राजवंश र तातार संघले युद्धमा कमजोर बनाएका थिए । बाह्रौं शताब्दीताका मंगोलियन पठार पाँच मुख्य घुमन्ते जातिहरु केराइटस्, खामग मंगोल, नाइमन, मेर्गिड र तातारले कन्फेडेरेसन(खान्लिङ)द्धारा प्रभूत्व जमाए ।
सन् १२०६ मा जेंगिस÷चंगेज खान(तेमुजिन बोर्जिगिन) सबैका शासक भए । उनी मङ्गोल साम्राज्यको सम्राट बनेपछि मंगोल त्यो क्षेत्रका घुमन्ते जातिहरुका लागि एकतावद्ध गर्ने साझा पहिचान भयो । जेंगिस खान एउटा कविला नायकबाट आजसम्म स्थापना भएकोमध्ये सबैभन्दा ठूलो साम्राज्यका शासक बने । उनको राज्यले पृथ्वीको २२ प्रतिशत भूभाग ओगटेको विश्वास गरिन्छ । मंगोल कविला नायक चंगेजले साम्राज्य स्थापना गरेपछि यो शब्द व्यापक हुन गयो । सन् १२४० मा गुयुक खानले पोप इन्नोसेन्ट चौथोलाई लेखेको पत्रमा महान मङ्गोलिन राज्यको महान खगन भनेर आफूलाई भनेका छन् ।
जेंगिसका वंशज ६ जनाले १६२ बर्ष मध्य एसियामा साम्राज्य चलाए । जेंगिज खानले स्थाना गरेको साम्राज्य विभाजित भएपनि उनका वंशजले मध्य एसियाका विभिन्न ठाउँमा शासन गरिरहेकै थिए । तिनैमध्येका बाबरले एकीकृत मंगोल साम्राज्य विघटन भएको १५८ बर्ष पछाडि भारतमा मुगल साम्राज्य स्थापना गरे । तुर्क मंगोल वंशका बाबरले स्थापना गरेको राज्य नै खास मुगल साम्राज्यका थियो । जेंगिसका सन्तानहरु इस्लाम र बौद्ध धर्ममा विभाजित थिए । बाबर इस्लाम धर्म अपनाउने वंशजमध्येका हुन् । खास नाम जाहिरुद्दिन मुहम्मद भएका उज्वेक योध्द्धा बाबरले दिल्लीका शासक इब्राहिम लोधीलाई पराजित गरेर २० अप्रिल १५२६ मा मुगल साम्राज्यको स्थापना गरेका थिए । मुगल शासक बाबर(बाघ) मंगोल वंशजका थिए । बाबर तुर्क मंगोल वंशी उज्वेक विजेता तैमुरलेनको पाँचौं पुस्ताका वंशज थिए भने तैमुरलेन स्वयम जेंगिस खाँका वंशज थिए । बाबरकी आमा जेंगिस खाँको चौधौं पुस्ताकी वंशज थिइन् ।
मंगोल शब्द नै अरबी र पर्सियनमा अपभ्रंस भएर मुगल हुन गएको हो । बाबरका पूर्खा तैमुरलेन मंगोल मुलका थिए भन्ने कुरालाई मुगल शब्दले जोड दिन्छ । नेपाल बाहेकको समग्र दक्षिण एसियमा करिब ३१६ बर्ष मुगल शासन चलेको थियो । वर्तमान भारत, पाकिस्तान, अफगानिस्तान र वंगलादेश मुगल साम्राज्यका भूभाग थिए । नेपाल लगायत दक्षिण एसियामा मुगल शासनकै प्रभावले मंगोल, मुंलान(मुगल भूमि) शब्दहरु प्रयोगमा आए । नेपालमा प्रयोगमा रहेको मङगोल शब्द मुगल(मस्लिम) शासनबाट लिइएको देखिन्छ ।
Genghis Khan, Mongol emperor |
मंगोलोइड के हो ?
मंगोलोइड शब्दले मानव समूहको नश्लीय वर्गीकरणको प्रयासलाई बुझाउँछ । होमो स्यापियेन्सलाई छाला र कपालको रङ, खप्परको बनावट, अनुहारको प्रकृति आदिलाई हेरेर विभाजनको प्रयास भएको पाइन्छ । प्राकृतिक इतिहासका प्राध्यपक तथा चिकित्सक(गोटिङजेन स्कुल अफ हिस्ट्री, जर्मनी) जोन फ्रेडरिक ब्लुमेनब्याकले सन १७७९ मा यिनै कुराका आधारमा मानवलाई पाँच नश्ल(प्रजाति)मा विभाजनको प्रस्ताव गरेका थिए । जुन यस प्रकार थिए ः कालालाई इथोपियन, गोरालाई ककेसियन, पहेँलोलाई मंगोलियन, रातोलाई अमेरिकन र खैरोलाई मलयन । मानव समुदायको विस्तारको इतिहास र सँस्कृतिका आधारमा नभइ शारिरको रंगका आधारमा प्रेडरिकले यो नश्ल विभाजन गरेको देखिन्छ । यो वर्गीकरण आलोचना गर्दै धेरैले मंगोल साम्राज्यबाट प्रभावित र जातीय विभेद प्रेरित पनि भनेका छन् । फ्रेडरिकको वर्गीकरण १९ औं शताब्दीमा व्यापक प्रयोग हुन गयो ।
बीसौं शताब्दीको शुरुमा गोराहरुलाई विभिन्न उप–समूह जस्तैं ः आर्यन÷नर्डिक(रसियादेखि उत्तरी व्रिटेन), अल्पाइन(रुस, फ्रेन्च, इटालियन, अष्ट्रियन, जर्मन, पूर्वी युरोप र वेल्स), मेडिटेरानियन(इटालियन, दक्षिण स्पेन, दक्षिण फ्रेन्च, ग्रिक र माल्टाली) र एङ्लो–सेल्टिक÷गेइलिक(स्कटिस, आइरिस र डच) भनेर विभाजन गरिएको पाइन्छ । यस्तो विभाजन विश्वलाई हेर्ने पूर्वाग्रह प्रेरित थियो भनिन्छ । युरोपियन र एसियन आफू आफू श्रेष्ठ र सुन्दर चाम्राको ठान्दथे ।
बीसौं शताब्दीको मध्यतिर अमेरकिन शारीरिक मानव शास्त्री कार्लटन स्टेभेन्स् कूनले पनि रङ र शारीरिक बनावटलाई हेरेर मानव नश्ललाई पाँच समूहमा वर्गीकरणको प्रयास गरेका थिए । कुनले आफ्नो पुस्तक ओरिजिन अफ रेसेज(१९६२) मा ककेसोइड(गोरा), निग्रोइड (काला), क्यापोइड (दक्षिण अफ्रिकाको केही जनजाति), मंगोलोइड (एसियन र अमेरिकी जाति) र अष्ट्रालोइड (अष्ट्रेलिया र पपुअन आदिवासी) भनेर उल्लेख गरेका छन् । यो विस्तृत जिनेटिक परिक्षण र यात्रा इतिहासको विश्लेषणद्धारा गरिएको वर्गीकरण भने थिएन ।
यो वर्गीकरण बारे चिनिया÷जापानिज उखान÷सुलेखन अनुसन्धान विशेषज्ञ ग्यारी वेस्टर्नग्रिनले टिप्पाणी गर्दे भनेका छन् – पुरातात्विक शब्द मंगोलाइड अब प्रयोगमा छैनन् । मानिसलाई वर्गीकरण गर्ने हतार र विचारले यस्तो नाम दिइयो । उनी अगाडि थप्छन्, मंगोलोइड डाउन सिन्ड्रोम(दशकौं मन्द बुद्धिको हुनु) रोगबाट पीडित व्यक्तिहरु बुझाउन प्रयोग गरिने शब्द हो । यो एउटा क्रृरर पदावली हो ।
मानव उत्पति र बसोबास
होमो सेपिएन्सको पूर्खा लगभग ३००,००० बर्ष पहिले उत्पत्ति भएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । लामो समय मानव विकासले गति लिन सकेन । त्यो बेला मानिस अफ्रिका र अन्य केही क्षेत्रमा सिमित थिए । प्राध्यपक युवल नोआ हरारी भन्छन् – इशापूर्व ७०,००० बर्ष अगाडि होमो सेपिएन्सले संज्ञानात्मक(बौद्धिक) क्रान्ति गर्यो । संज्ञानात्मक क्रान्तिले मानवलाई परिकल्पनाशिल बनायो । त्यसको परिणाम आजका काल्पनिक वास्तविकताहरु सृजना गर्न मानव सफल भयो र पृथ्वीलाई नियन्त्रणमा राखेका छन् । त्यही समय वरिपरि होमो स्यापिएन्स पृथ्वीका विभिन्न भागमा विस्तार भए । हजारौं वर्ष मानिसले पृथ्वीका विभिन्न क्षेत्रमा घुमन्ते जीवन विताउँदै रहे । इशापूर्व १०,००० बर्ष पहिले मानवले क्रृषि गर्न गरे । स्थायी खेतीपाती र पशुपालनको शुरुवात भयो । यसले मानिसलाई स्थायी रुपमा बसोबास गरायो । मानव जातिको एकीकरण, यसै समयमा व्यापक भयो । एक आपसमा अन्तरकृया र ज्ञान आदान प्रदान गरे । सन् १५०० मा आएर वैज्ञानिक क्रान्ति शुरु भयो ।
दक्षिण एसियामा मानव बसोबासको कुरा गर्दा करिब ५५,००० बर्ष पहिले पहिलो होमो स्यापिएन्स भारतीय उपमहाव्दी आइपुगेको थिए । नेपालमा ३०,००० बर्ष पहिलेदेखि आधुनिक मानव बसोबास गरेको पुरातात्विक प्रमाण भेटिएका छन् । इसापूर्व ६५०० बर्ष पहिले खाद्यन्न बाली खेती र घरेलु जनावर पालेको, स्थायी संरचना निर्माण गरेको प्रमाण दक्षिण एसियामा पाइएका छन् । इन्दुस उपल्यकाको सभ्यता त्यसैको प्रमाण मानिन्छ । नेपाल एक प्राचिन देश हो र यहाँको प्रथम राजवंशको स्थापना भएकै ५,००० बर्ष नाघि सकेको छ ।
मानव सभ्यताको अति प्राचिन थलोमध्ये चीनलाई मानिन्छ । आधुनिक मानव होमो स्यापिएन्सको जीवास्म हेनानको फुयान गुफामा भेटिएको छ । पूरातत्वविदहरुले उक्त जीवास्म १२५,००० देखि ८०००० बर्ष पुरानो भएको अनुमान गरेका छन् । अफ्रिका पछाडि चिनमा मानव विकास भएको विश्वास गरिन्छ । प्रथम चिनीया राजवंश सियाको स्थापना इशापूर्व २१०० बर्ष अगाडि भएको उल्लेख छ । दक्षिण पूर्वी एसियाली मुलक म्यान्मारमा करिब २५,००० बर्ष पुरानो होमो स्यापिएन्सको पुरातात्विक जीवास्म पाइएको छ ।
तिब्बतमा २१,००० बर्ष अगाडि मानिसहरु पुगेको विश्वास गरिन्छ । त्यस्तै ४० हजार बर्ष पहिले आधुनिक मानव मंगोलिया पुगेका थिए । मंगोलियामा २१,००० बर्ष पुराना मानव सृजित पुरातात्विक अवशेष पाइएका छन् । तिब्बत र मंगोलिया भन्दा अगाडि भियतनाम होमो स्यापिएन्स पुगेका थिए । चीन र अझ दक्षिण एसियामा अझ धेरै अगाडि मानव आगमन भएको पाएइको छ ।
किरात मङ्गोलियन होइनन्
किरात इतिहासका अध्येताहरु नेपालका आदिवासीलाई मङ्गोलियन हुन् भन्नेमा सहमत छैनन् । लेखक दुर्गाहाङ याखाराईले मङ्गोल शब्दलाई अस्वीकार गर्दै लेखेका छन् – यदि किरातलाई मङ्गोल भन्ने हो भने उनीहरु मुगल(मुसलमान ?) वा मंगोलियाबाट बसाइ सर्दै आइपुगेको जाति हुन्छ । उनले चालीस बर्षको अनुसन्धानपछि डा. स्वामी प्रपन्नचार्यले किरात मङ्गोल नभएको बताएको भनि लेखेका छन् । मङ्गोल शब्द्ध मुगलबाट उत्पत्ति भएको हो (पे.३४८) । डा. स्वामी प्रपन्चार्यका अनुसार किरात र मङ्गोलियाका बासिन्दाहरुको वंश, परम्परा र विश्वास केही पनि कहिल्यै मिलेको पाइन्न । ऋृग्वेद रचना (इसा पूर्व ३००० बर्ष) पहिलेबाटै किरातहरु भारतबर्षमा थिए । भारतका किरातहरु सम्बन्धि वृहत अध्ययन गरेका प्रा.डा.जीपी सिंह पनि किरातहरु मङ्गोल वा मङ्गोलियाबाट आएको मान्दैनन् । आरएन सलेडोरको भनाइ उदृत गर्दै जीपी सिंहले लेखेका छन् ‘किरातहरु प्राचीन मंगोल आदिवासीहरु थिए भन्ने धारणा काल्पनिक र आधारहीन कुरा हुन् ।’ सिंहले किरातहरु भारतीय उपमहादीपमै उत्पत्ति भएका आदिम् वासिन्दा मानेका छन् ।
किरातहरुको उत्पति वा आगमन बारे जोन हेमिलटनको उद्दरण गर्दै याखाराईले लेखेका छन् –ई.पू. ४००० अगाडि पर्सिया(इरान) खाडीको उत्तरी समतल भूभागमा दुईवटा सभ्य जाति बस्दथे । उत्तरी मैदानमा बस्नेलाई आकाद र दक्षिणी मैदानमा शौभार वंश बसोबास गर्दथे । शौभार वंशको एक ठूलो जमातले पूर्वदिशा आइ ई.पू. ३००० मा चीनमा राज्य स्थापना गरेका थिए । त्यसकै एक समूह छुट्टिएर काबुल, पञ्जाब(इन्दुस उपत्यका) भइ गंगा नदीको मैदानमा आएर बसोबास गर्न थाले । कैयौं पुस्तापछि यिनै शौभार वंशका मानिसलाई आर्यहरुले किरात सम्बोधन गर्न थाले । Nepali Kirat Girls |
आफ्नो पुस्तक ब्राह्मणवाद विरुद्ध आदिवासी जनजाति र उत्पीडित वर्ग मा दुर्गाहाङ याखाराई लेख्छन् – किरात पूर्खा मानिएको शम्वर ऋृग्वेद कालमा आर्यवर्तको सम्पूर्ण हिमाली क्षेत्रका शासक थिए । उनका सयवटा फलामे किल्लाहरु थिए । उनलाई साथदिने राजाहरुमा शष्णु, पिप्रु, वर्चिन, धुनि, चुमुरी आदि थिए । शम्बरको प्रमुख शत्रु इन्द्र र दिवोदास थिए । वर्तमान काबुल, कन्दाहारदेखि कश्मिर, हिमाञ्चल, नेपाल हुँदै बर्मासम्मको समस्थ पर्वतीय र मैदानी क्षेत्रहरुमा सुदास, दिवोदास आदिलाई साथमा लिएर इन्द्रले ४० वर्षसम्म शम्बरसँग युद्ध गरे । युद्ध रोकिएको समय आफ्नो किल्लामा निदाइरहेको बेला इन्द्रले शम्बरलाई झुक्याएर मारेपछि युद्ध सकिएको थियो । यसले भारतमा आर्यहरुको प्रवेश पहिल्यै अर्थात ऋृग्वेद काल अगाडि नै पहाड तथा हिमाली क्षेत्रमा किरातहरुको बसोबास रहेको देखिन्छ ।
हिमालय क्षेत्रलाई किरात हिमवत खण्ड पौराणिक साहित्यमा भनिएकोले उनीहरु यहाँको आदिम बासिन्दा भएको देखिन्छ । प्राचीन भारतमा किरातहरु पुस्तकमा प्रोफेसर जीपी सिंह लेख्छन् –‘किरातहरुको उत्पत्ति र प्राचीनत्व अझै पनि रहस्यमय रहेको छ । अन्य प्राचीन भारतीय आदिवासीहरु झैं किरातहरुलाई पनि साधारणत ः आदिवासीको रुपमा वर्णन गरिएका छन् । यिनीहरु मुल रुपमा मध्य देशको गांगेय समतलभूमि, विभिन्न नदी तथा तिनीहरुका शाखा नदीहरुका किनारा, वनजंगल, मानसरोवर पोखरी छेउछाउमा अवस्थित कैलाश पर्वतको फेदी तथा यसका छेउछाउका ठाउँहरु, गंगा नदीका तीरमा अवस्थित प्रदेशहरु, पहाड एवं उपत्यका, पार्वतीय अञ्चल, जंगल, उत्तर र पूर्वी हिमालयका सिमाना इलाका, विन्ध्या अञ्चल तथा उत्तर पश्चिम, मध्य अनि पश्चिम भारत तथा डेक्कनका विभिन्न भागहरुमा बसोबास गर्नेहरु हुन् । किरातीहरु भारतका स्वदेशीहरु नै थिए ।
Mangolian Woman |
किरातहरु भारतवर्षको सर्व प्राचीन जातिहरुमध्येका थिए भन्नेमा करिब सबै इतिहासकार र अनुसान्धानकर्ताहरुको एकमत जस्तो देखिन्छ । नेपालको प्रारम्भिक इतिहासबाटै किरातहरुको चर्चा पाइन्छ । हिमालय पर्वतको दक्षिणी क्षेत्रका पहिलो आवादकर्ताहरु किरातहरु भएको विश्वास गरिन्छ । नेपालको इतिहासमा पहिलो र दोश्रो शासन गर्ने गोपाल र महिषपालहरु पनि किरात वंशकै भएको दावी इतिहास लेखक दुर्गाहाङ याखाराईले दावाी गरेका छन् । उनले नेपालमा यलम्बर पूर्वका गोपाल र आहिर वंशी भनिएका राजाहरु पनि किरात नै थिए भनेका छन् । याखाराईको तर्क छ किम्दन्तीको भर परेर सँस्कृत भाषामा राजवंशवली लेख्दा गाई पाल्नेलाई गोपाल र भैँसी पाल्नेलाई महिसपाल भनिएको उल्लेख गरेका छन् । त्यो बेलाको भूराजनीतिक अवस्थाले पनि किरात बाहेक अन्यको शासन कल्पना गर्न नसकिने उनको तर्क छ ।
नेपालको इतिहासमा पहिलो किरात राजा यलम्बर भएकोमा सबै इतिहासकारको एकमत पाइन्छ । तात्कालिन समयमा नेपाल भनेर काठमाडौंलाई बुझिन्थ्यो । विभिन्न किरात समुदायको भाषामा काठमाडौंलाई यलाखोम भनिन्छ, यसको अर्थ यलम्बरको भुमि हो । सामान्यत ः नेपालमा ३२ पुस्ताका किरात राजाहरुले शासन गरेकोे इतिहासमा उल्लेख छ । प्रेमबहादुर माबोहाङले ३३ जना किरात राजाहरुको नाम उल्लेख गरेको पाइन्छ । कपिय इतिहासकारले २६ पुस्ताले शासन गरेको लेखेका छन् । प्रोफेसर सिंहले लेखेका छन् – समस्त सुत्रहरुको पूर्णतया छानविन पश्चात खृष्टपूर्व ३१०२ मा किरात शासन प्रारम्भ भएको देखिन्छ । माबोहाङले भने कलिगत ४० (इ.पू. ३०६१) मा राजा भूवनसिंहको राज्य विजय गरेर यलम्बरले किरात शासन प्रारम्भ गरेको भनेका छन् । किरातहरुको शासन कहिले शुरु भयो र कहिले अन्त्य भयो भनेर एकीन समय किटान गर्न सकिने अवस्था छैन तर किरात शासन इशापूर्व १७०० देखि ३००० बीचमा शुरु भएकोमा भने एकमत जस्तै देखिन्छ ।
केही इतिहासकार किरातका पूर्खाहरु प्राचीन चीनबाट भारतीय उप महाद्धीप आएको मान्दछन् । एसके चटर्जीका अनुसार ः सिनो–तिब्बती भाषा बोल्नेहरुको अथवा मंगोल जातिको मूल थलो उत्तर–पश्चिमी चीन थियो । तिनीहरु याङ्सी–क्याङ नदीको माथिल्लो भाग अनि ह्वाङ् होउ नदी(यल्लो रिभर) सम्मका फैलिएका थिए । तिनीहरु ब्रह्मापुत्रबाट उत्तरपूर्वी भारत र मेकङ नदी भएर बर्मा हुँदै भारतमा प्रवेश गरे । तिनीहरु क्रमशः असाम, बङ्गालका विभिन्न भूभाग, नेपालको तल्लो हिमाली क्षेत्र तथा गंगा नदीको उपत्यकासम्म छरिएर बसे ।
सिंह लगायतका धेरै इतिहासकारको मतमा किरातहरु प्राचीन भारतका सुप्रसिद्ध आदिवासीहरु थिए । प्राचीन सँस्कृत साहित्यमा यो नाम भारतीय मुलका आदिवासीहरुप्रति प्रयोग गरिन्थ्यो । क्रिश्चियन युग प्रारम्भ हुनुअघि भारतमा सिनो–तिब्बती र तिब्बत–बर्मी परिवार प्रवेश गरेको ऐतिहासिक अभिलेख कतै पाइँदैन । यसले के स्पष्ट गर्दछ भने प्राचीन भारतका प्रथमवासी नै किरात थिए (सिंह, पृ.७५)।
त्यस्तै ग्यारी वेस्टर्नग्रिन भन्छन् – पुरातात्विक शब्द मंगोलाइड अब प्रयोगमा छैनन् । जहाँसम्म उत्पत्ति हो, त्यतिखेर टिपिएको शब्द मात्रै हो, जसले चिनिया, कोरियाली, जापानी, मंगोलियाली र अन्य मिल्दाहरुलाई जनाइयो । लामो समयदेखि मंगोलोइडसँग मिल्दोजुल्दो शब्द ओरिएन्टल थियो । पछिल्लो समय ओरएिन्टल शब्द लोकपृय बन्दै गएको छ । दुःखको कुरा, मंगोलोइड या ओरिएन्टललाई प्रतिस्थापन गर्ने उचित वा राजनीतिक रुपमा उपयुक्त शब्द उलब्ध छैन । राम्रो यो होला कि विशेष गरी चिनियाँ, जापानी, कोरियाली, भियतनामी आदि भन्नु ।
किरात मिथक र इतिहास यो पङ्तिकारको रुचिको क्षेत्र हो । दुबैको अध्ययनका क्रममा प्रष्ट हुन्छ, हिमालय दक्षिण, गंगाको उत्तरी भाग र ब्रहम्पुत्रको वरिपरि नै किरात सभ्यता विकासको क्षेत्र हो । किरात मिथकहरुमा गंगा, ब्रहम्पुत्र र कैलाश (हिमालय) पटक पटक आउँछन् । मङ्गोल या मुगलसँगको सम्बन्ध भने संकेतसम्म कतै भेटिन्न । भाइ अरिक खाँले राज्य विभाजन गरेपछि कुब्लाइ खाँले पूर्वी मंगोल साम्राज्य(चिन)लाई महान युआन साम्राज्य नाम दिए । कुब्लाइ खान हान वंश भन्दा अर्को जातिको पहिलो चिनिया सम्राट मानिन्छ । यसले कुब्लाइ खाँकै पालामा मंगोल शब्द सर्व स्वीकृत नभएको र युआन साम्राज्य भन्न थालेको देखिन्छ । Mangolian people |
निश्कर्ष :
हिमालय दक्षिण भारतीय उपमहाव्दिपमा किरात असाध्यै पुरानो सभ्यता र समुदाय हो । वर्तमान मङ्गोलियामा आधुनिक मानव पूर्खा पुग्नु भन्दा हजारौं बर्ष अगाडि यहाँ आइसकेका थिए । इन्दुस उपत्यकामा शहरी संरचना निर्माण भएकै ८५०० बर्ष नाघेको छ । नेपालमा प्रथम किरात राजवंश स्थापना भएकै ५००० बर्ष भन्दा धेरै भएको छ । मङ्गोलियनहरुको इतिहास पुगनपुग १२०० बर्ष पुरानो छ । जेंगिस खान(तेमुजिन)ले मंगोलका नाममा शासक भएको ८०० बर्ष हुन्छ । जेंगिस खाँका नाती कुब्लाइ खाँले नै मंगोल नभनेर युआन शासक आफूलाई भनेका छन् । जेंगिस खाँको पराक्रमबाट प्रभावित तुर्क मङ्गोल वंशका बाबरले भारतमा मुगल साम्राज्य स्थापना गरेको पाँच सय बर्ष पनि भएको छैन । मुगलहरु मुसलमान थिए । इतिहासका सबै तथ्यहरु विश्लेषण गर्दा प्रष्ट हुन्छ कि किरातहरु मंगोल होइनन् । मंगोलको भन्दा किरातीको हजारौं बर्ष पुरानो सभ्यता र फरक इतिहास छ । नेपालका अन्य जनजातिय समुदायको इतिहास र सभ्यता पनि फरक रहेको देखिन्छ । निश्कर्षमा यो भन्न सकिन्छ कि नेपालमा मंगोल समुदाय छैनन् । नश्लीय वर्गीकरणमा नै राखिएको किन नहोस् ।
सन्दर्भ सामग्रीहरु
१. सिंह, जीपी, १९९०), प्राचीन भारतमा किरातहरू, अनु. टीबी राई, निर्माण प्रकाशन, नाम्ची दक्षिण सिक्किम ।
२. याखाराई, दुर्गाहाङ (१९९६), ब्राह्मणवाद विरुद्ध आदिवासी जनजाति र उत्पीडित वर्ग, धनरानी याखाराई, मैतीदेवी, काठमाडौं
३. थोमरोस् भूपध्वज(२०५७), कुलुङ सांस्कृतिक अध्ययन, टिएमआई, काठमाडौं, नेपाल ।
४. कुलुङ आर.डी, किरात मिथक,
५. खम्बू, सिएम ः२००५, राई को हुन् ? निमपुटी लेप्चा, नाम्ची, दक्षिण सिक्किम ।
६. गुगलको विश्वकोष प्रसस्तै प्रयोग गरिएको छ ।
मौजुदा इतिहास तथा विविध पक्षीय तथ्याङ्कनहरूको गहन अध्ययन पछिको समीक्षागत निष्कर्षमा पुग्नु भनेको एक कुशल अध्येताको लागि चरम माइल खुट्टि पार गर्नु हो।
ReplyDeleteअध्येता आरडी कुलुङज्यूले विभिन्न इतिहासविद्हरुको संदर्भलाई समेटेर मङ्गोल र किरात बीचको पार्थक्यतालाई आफ्नो सुन्दर लेखद्वारा राम्रो केलाउनु भएको छ।
हाम्रो वर्गमा पछिल्लो पीढी मध्ये यस प्राज्ञिक क्षेत्रमा कम अध्ययन भइरहेको महसूस गरिएको बेला यस्ता अनुसन्धानात्मक लेखहरू हेर्ने अवसर पाउनु अहोभाग्य नै मान्नु पर्छ।
मलाई भने किरात र मङ्गोलको निष्कर्ष सान्दर्भिक नै हुन सक्ने लागेता पनि सिनो-तिब्बतीको प्रसङ्गमा इतिहास विद्हरूको विवादित निष्कर्षमा भने हाल सम्मको मेरो अध्ययनमा असन्तुष्ट नै रहँदै आएकोछु।
वस्तुतः पुरातत्वविद्, इतिहासविद् तथा भाषाविद्को एकत्रित निष्कर्षलाई मात्र विज्ञान सम्मत मान्न सकिने कुरा हो। तर, यहाँ भिन्न-भिन्न निकायका विद्वानहरू भने आ-आफ्नो निकायकै दायरा र परिदृश्यको आधारमा नै तटस्थ देखिन्छन्।
उपमाका लागि किराती भाषाहरू निर्विवाद रूपले सिनो-तिब्बती परिवार अन्तर्गतका भाषाहरू हुनुमा वैज्ञानिक कारणहरू छन्। जो, शेफर तथा बेनेडिक्ट जस्ता धुरन्धर भाषा तत्ववेत्ताहरूले वैज्ञानिक पुष्टिकरण दिएर निर्धारण गरेका हुन्। पैत्रिक आद्य भाषाहरूको तुलनात्मक अध्ययन र परीक्षणले कुलुङ भाषा त झनै तिब्बती भाषाको निकटतम अवशेष मान्न सकिने प्रशस्त मापदण्डहरु भेटिन्छन्। यसको विस्तृतिकरण यहाँ साध्य छैन।
जे होस्, आरडीज्यूको यस्ता उत्कृष्ट गवेषणात्मक कलमले निरन्तरता पाइरहोस्। ता कि, हाम्राहरूलाई पनि आफ्नै विरासतमा उभिएर अलिखित इतिहासहरू अनुसन्धान गर्ने प्रोत्साहन मिलिरहोस्।
धेरै बधाई तथा शुभकामना।����
मौजुदा इतिहास तथा विविध पक्षीय तथ्याङ्कनहरूको गहन अध्ययन पछिको समीक्षागत निष्कर्षमा पुग्नु भनेको एक कुशल अध्येताको लागि चरम माइल खुट्टि पार गर्नु हो।
ReplyDeleteअध्येता आरडी कुलुङज्यूले विभिन्न इतिहासविद्हरुको संदर्भलाई समेटेर मङ्गोल र किरात बीचको पार्थक्यतालाई आफ्नो सुन्दर लेखद्वारा राम्रो केलाउनु भएको छ।
हाम्रो वर्गमा पछिल्लो पीढी मध्ये यस प्राज्ञिक क्षेत्रमा कम अध्ययन भइरहेको महसूस गरिएको बेला यस्ता अनुसन्धानात्मक लेखहरू हेर्ने अवसर पाउनु अहोभाग्य नै मान्नु पर्छ।
मलाई भने किरात र मङ्गोलको निष्कर्ष सान्दर्भिक नै हुन सक्ने लागेता पनि सिनो-तिब्बतीको प्रसङ्गमा इतिहास विद्हरूको विवादित निष्कर्षमा भने हाल सम्मको मेरो अध्ययनमा असन्तुष्ट नै रहँदै आएकोछु।
वस्तुतः पुरातत्वविद्, इतिहासविद् तथा भाषाविद्को एकत्रित निष्कर्षलाई मात्र विज्ञान सम्मत मान्न सकिने कुरा हो। तर, यहाँ भिन्न-भिन्न निकायका विद्वानहरू भने आ-आफ्नो निकायकै दायरा र परिदृश्यको आधारमा नै तटस्थ देखिन्छन्।
उपमाका लागि किराती भाषाहरू निर्विवाद रूपले सिनो-तिब्बती परिवार अन्तर्गतका भाषाहरू हुनुमा वैज्ञानिक कारणहरू छन्। जो, शेफर तथा बेनेडिक्ट जस्ता धुरन्धर भाषा तत्ववेत्ताहरूले वैज्ञानिक पुष्टिकरण दिएर निर्धारण गरेका हुन्। पैत्रिक आद्य भाषाहरूको तुलनात्मक अध्ययन र परीक्षणले कुलुङ भाषा त झनै तिब्बती भाषाको निकटतम अवशेष मान्न सकिने प्रशस्त मापदण्डहरु भेटिन्छन्। यसको विस्तृतिकरण यहाँ साध्य छैन।
जे होस्, आरडीज्यूको यस्ता उत्कृष्ट गवेषणात्मक कलमले निरन्तरता पाइरहोस्। ता कि, हाम्राहरूलाई पनि आफ्नै विरासतमा उभिएर अलिखित इतिहासहरू अनुसन्धान गर्ने प्रोत्साहन मिलिरहोस्।
धेरै बधाई तथा शुभकामना।💐🤝
This comment has been removed by a blog administrator.
ReplyDelete