महाकुलुङ क्षेत्रमा साँस्कृतिक पर्यटनको विकास
एक ठाउँबाट अर्को ठाउँमा विभिन्न उद्देश्यले केही समयका निम्ति भ्रमणमा जाने विदेशी र स्वदेशी नागरिकहरु पर्यटक हुन् । पर्यटकहरुको सुविधालाई केन्द्रीत गरेर सञ्चालन गरिने सेवकामुलक व्यवसाय पर्यटन व्यवसाय हो । धेरै देशले समृद्धि हाँसिल गर्दै जाँदा स्वदेश र विदेश भ्रमणमा निस्कने पर्यटकहरुको संख्या संसारभर बृद्धि भइरहेको छ । विश्वका धेरै देशले पर्यटन व्यवसायबाटै आर्थिक समृद्धता हाँसिल गरेका छन् । पर्यटन व्यवसायलाई थप विकास र विस्तार गर्न पूर्वाधार विकास एव् प्रवद्र्धनात्मक कार्यक्रममा उत्तिकै लगानी भइरहेको छ । संसारका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुमध्ये नेपाल पनि एक हो । संम्भावना अनुसारको पर्यटन पूर्वाधार विकास र प्रवद्र्धन सरकारले गर्न सकिरहेको छैन । तथापि केही प्रयासहरु हुँदै आएका छन् । सन् १९९८ को नेपाल भ्रमण वर्ष र २०११ को नेपाल पर्यटन बर्ष जस्ता कार्यक्रमहरु यसका उदाहरण हुन् । नेपाल पर्यटन वर्षको अवसरमा सरकारले सञ्चालनमा भएकासँगै नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी, विकास र प्रवद्र्धन गर्नु आवश्यक छ । सरकारसँगै व्यवसायी, स्थानीय नागरिक, संघसंस्था र राजनीतिकर्मीहरुको ध्यान यसमा जानु जरुरी छ ।नेपाललाई समृद्ध मुलुक बनाउने श्रोतहरु भनेको यहाको पानी, पर्यटन, कृषि र वन हो । यहाँको अथाह जलश्रोत दोहन गरेर जलविद्युत, कृषिमा व्यवसायिकीकरण, वनजन्य उद्यम र प्राकृतिक सुन्दरता एव् साँस्कृतिक विविधता अनुसारको पर्यटन विकास नगरी देशले समृद्धता हाँसिल गर्न सक्दैन । यो छोटो लेखमा सबै विषयको भन्दापनि पर्यटन विकाससँग सम्बन्धित केही कुरा चर्चा गर्न खोजिएको हो । अझ यसलाई विषय केन्द्रीत बनाउँदै जाँदा यहाँ सोलुखुम्बू जिल्लाको पूर्वी भाग महाकुलुङ उपत्यका केन्द्रीत साँस्कृतिक पर्यटन सम्बन्धि छोटो चर्चा गरिएको छ ।
भनिरहनु पर्दैन, सोलुखुम्बू जिल्लामा पर्ने सगरमाथा क्षेत्र संसारकै उत्कृष्ठ दशमध्ये एक पर्यटकीय गन्तव्य स्थल हो । सगरमाथाकै कारण सोलुखुम्बुका धेरैले समृद्धि हाँसिल गरेका छन् । अनेक अवसर पाएका छन् । देश विदेशको एक्सपोजरसँगै उनीहरुलाई पहिचान दिलाएको छ । तर देश विदेशमा यसको जति नाम छ, यसबाट आउने प्रतिफलबाट समग्र जिल्लाले समान लाभ लिन सकेको छैन । सबैले बराबर लाभ लिन सम्भव पनि छैन । तर सगरमाथालाई केन्द्रीत गरेर सेटलाइट पर्यटकीय गन्तव्यहरुको विकास गर्ने हो भने यसको लाभलाई विस्तार गर्न सकिन्छ । सोलुखम्बुमा भएका सम्भाव्य पर्यटीय क्षेत्रमध्ये महाकुलुङ उपत्यकालाई त्यस्तो सेटलाइट क्षेत्रको रुपमा विकास गर्न सकिने राम्रो ठाउँ हो । साँस्कृतिक पर्यटनको विकासले आर्थिक, सामाजिक, शैक्षिक र भौगोलिक रुपमा पछाडि रहेको यो क्षेत्रको चौतर्फी सम्भावनाको ढोका खुल्ने विश्वास गर्न सकिन्छ ।
किन साँस्कृतिक वा पर्यापर्यटनको सम्भावना छ ?
सोलुखुम्बूको मध्य भाग भएर बग्ने दूधकोशी नदीको पूर्व र भोजपुर सिमाको कुलुपोङ्खो भञ्याङको उत्तर तथा संखुवासभा सिमा बुकुर–केन्पा भञ्ज्याङको पश्चिममा रहेका पाँच गाविसहरु गुदेल, छेस्काम, बुङ, सोताङ र पावै गाविस ऐतिहासिक महाकुलुङ भूमि हो । हुङ्गु उपत्यकाको नामले पनि चिनिने महाकुलुङमा करिब २५ हजार जनता बस्दछन् । महाकुलुङ उपत्यका किरात वंशका आदिवासी कुलुङ जातिहरुको उद्गम भुमि हो । यसर्थ कुलुङ जातिको धार्मिक, साँस्कृतिक र ऐतिहासिक भूमिका रुपमा महाकुलुङ परिचित छ । विभिन्न विदेशी विद्धानहरुले महाकुलुङ उपत्यकाको जातीय पहिचान र इतिहासको बारेमा खोज अनुसन्धान गरेका छन् । वास्तवमा महाकुलुङ उपत्यका कुलुङ जातिहरुको खुल्ला संग्राहलय हो । यहाँ कुलुङ जातिको जीउँदो सँस्कृति, इतिहास र सभ्यता हेर्न सकिन्छ ।
संसारभरका कुलुङहरुको धार्मिक तथा आत्मिक सम्बन्ध महाकुलुङसँग जोडिएको हुन्छ । यहाँ परम्परागत तोसखमहरु, कुलुङ गढीहरु, मृतात्मालाई विसर्जन गर्ने धार्मिक स्थलहरु, परम्परागत कुलुङ बस्तीहरु, कुलुङ जातिका प्रथाजन्य अभ्यासहरु हेर्न पाइन्छ । पाँच गाविसहरुमध्ये गुदेल, छेस्काम र बुङ सतप्रतिशत कुलुङ जातिको बस्ती हो । गाउँघर(होम स्टे) पर्यटनका लागि नेपालकै उचित बस्तीहरु महाकुलुङमा रहेका छन् ।
प्राकृतिक रुपमा एउटा रमणीय क्षेत्र हो महाकुलुङ उपत्यका । महाकुलुङ उपत्यका वरिपरि मेरापिक, बुकुर, शिलिचोङ, धर्मडाँडा जस्ता विभिन्न सुन्दर पिकहरु रहेका छन् । त्यस्तै पवित्र धार्मिक स्थलहरु साल्पापोखरी, गोभित्ता, पाँचपोखरी आदि छन् । कुलुङ आत्मासँग सम्बन्धित कुलुतोसखम्, हुलुडाँडा, कुलुङगढी कुलुपोङ्खो, पोम्लालुङ, पोम्लाकाउ आदि यहाँको साँस्कृति र धार्मिक आकर्षणको केन्द्र हो । त्यस्तै जंगली मानव ललदुम, आदिम पूर्खाहरुको धर्नुवाण युद्ध, कुलुङ मिथकअनुसार मानव उत्पतिको कथा यहाँ विशेष रुपमा सुन्न पाइन्छ ।
एभरेष्टबाट अरुण भ्याली जाने र अरुण भ्यालीबाट मेरापिक र एभरेष्ट बेसक्याम्प जाने रुट पनि महाकुलुङ भित्रैबाट पर्दछ । अनुसन्धानकर्ताहरुका लागि महाकुलुङ उपत्यका एउटा सुन्दर अनुसन्धान स्थल पनि हो । प्राकृतिक सुन्दरताको अवलोकन, अलौकिक भौगोलिक आनन्दको अनुभूति, साँस्कृतिक, धार्मिक, पदयात्रा, पर्वतारोहण, अध्ययन अनुसन्धान आदिका लागि महाकुलुङ अनुपम ठाउँ हो । यही कुराहरुलाई प्रवद्र्धन गरेर यहाँ साँस्कृति पर्यापर्यटन९ऋगतिगचब िभअयतयगचष्कm०को विकास गर्न सकिन्छ ।
साँस्कृतिक पर्याटन विकास गर्न आवश्यक पूर्वाधार के के छन् र के गर्नुपर्छ ?
महाकुलुङ क्षेत्रको साँस्कृतिक पर्यटन विकास गर्न यहाँको भौतिक पूर्वाधारलाई सुधार गर्नपर्दछ । जसका लागि तुम्लिङटारदेखि मेरापिक र एभरेष्ट जाने रुटलाई स्तर उन्नती नगरी हुन्न । त्यस्तै लुक्ला, फाप्लु र काँगेल एयरपोर्टबाट महाकुलुङ हुँदै मेरापिक, मकालु हिमाल, अरुण भ्याली आदि जाने बाटोहरु निर्माण गर्नु जरुरी छ । अहिले सञ्चालनमा रहेको अरुण भ्याली टे«किङलाई थप प्रवद्र्धन आवश्यक छ । मेरापिक र शेर्पानिकोल जाने पर्यटकहरुलाई लुक्ला नभइ काँगेल एयरपोर्ट प्रयोग गराइएमा यस क्षेत्रको विकासमा टेवा पुग्ने पक्का छ ।
प्रचारप्रसारसँगै पर्यापर्यटन विकासको लागि आवश्यक पूर्वाधार निर्माण आवश्यक हुन्छ । सरकार, स्थानीय निकाय र पर्यटन विकासमा कार्यरत संघसंस्थाले कुलुङ जातिको ऐतिहासिक तथा धार्मिक–साँस्कृतिक आस्थाको केन्द्रहरुलाई संरक्षण, जीर्णोदार, पुनःनिर्माण र प्रचार गरेर सहयोग गर्नुु पर्दछ । कुलुङ साँस्कृति संग्राहलय र साँस्कृतिक केन्द्रको निर्माण गरेर कुलुङ सँस्कृतिको प्रवर्दनात्मक कार्यक्रम गर्न सकिन्छ ।
गाउँघर पर्यटनको अवधारण अनुसार महाकुलुङका घरहरुलाई पर्यटक वस्न आवश्यक व्यवस्था गर्न स्थानीयवासीहरुमा अभियान कार्यक्रम सञ्चालन गरिनुपर्दछ । पर्यटनमैत्री व्यवहार र व्यवसायिक सिप उनीहरुलाई दिने हो भने स्थानीयवासी स्वयम् यसमा अग्रसर हुनेछन् । स्थानीय परम्परागत खाद्य वस्तुहरुलाई पर्यटकका लागि प्रवद्र्धन गर्दै आवासीय सुविधा प्रत्येक घरमा उपलब्ध गराउनु प्राथमिक सर्त हो । बुङ, छेस्काम र गुदेल जस्ता एकल जातीय समाजमा यस्तो कार्यक्रम पक्कै उपयुक्त छ । भौगोलिक हिसाबले बस्तीहरुको बनावट सुगम भएकाले पनि गाउँघर पर्यटन सम्भव छ ।
महाकुलुङ क्षेत्रभित्रका पाँचै गाविसमा कुलुङ जातिको ऐतिहासिक तथा साँस्कृति स्थलहरु रहेका छन् । त्यही आदिवासी कुलुङहरुको ऐतिहासिक स्थलहरुलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन आवश्यक छ । कुलुङ पूर्खाहरुमध्ये छेम्सीको ऐतिहासिक भूमि हुलु डाँडामा कुलुङ स्मारक बनाउन सकिन्छ । त्यस्तै सोताङमा रहेका तोसखमहरुको पुनःनिर्माण र संरक्षण आवश्यक छ । बुङ कुलुङ पूर्खाहरु छेम्सी र ताम्सीले धनुष युद्धबाट विजित भूमि हो । यहाँको तोसखम, रुपिहाङ्छालाई हराएको गढी र कुलुङ मृतात्मालाई पानी खुवाउने पोम्लाकाऊको संरक्षण गर्दै पुनःनिर्माण गर्नु पर्दछ ।
छेस्कामको तोसखम्, छेम्सी गाउँ जस्ता ऐतिहासिक स्थानहरुमा पर्यटकीय दृष्टिले प्रवद्र्धन आवश्यक छ । कुलुङ मृतात्मा गएर बस्ने विश्वास गरिएको गुदेलको पोम्लालुङलाई पार्कका रुपमा विकसित गर्नु पर्दछ । त्यस्तै कुलुङ पूर्खाहरुले ऐतिहासिक युद्ध लडेको कुलुपोङ्खो(कुलुङ गढी)को जिर्णोदार गरेर पर्यटकीय स्थल बनाउनु पर्दछ । पिल्मो वंशका कुलुङहरुको ऐतिहासिक भूमि पिल्मो र सोताङ वंशको सोताङलाई उस्तै ऐतिहासिक भूमिका रुपमा विकास गर्न सकिन्छ । महाकुलुङलाई पर्यटीय गाउँमा रुपमा विकास गर्ने हो भने आन्तरिक पर्यटनको उत्तिकै सम्भावना छ । महाकुलुङबाट विकसित भएका कुलुङ जातिहरु अहिले विश्वभर करिब १ लाख ६० हजारको हराहारीमा रहेको अनुमान छ । संसारको जुनसुकै भूभागमा पुगेको भएपनि कुलुङहरु महाकुलुङलाई आफ्नो ऐतिहासिक पित्तृभूमिको रुपमा आदर गर्छन् । यहाँका ऐतिहासिक वस्तुहरुको जीर्णोदार गर्ने हो भने कुलुङ जातिहरु मात्रै बार्षिक १ हजारबढी यो भूमिको भ्रमण गर्नेछन् । यसका लागि आवश्यक छ त पूर्वाधार विकास र प्रचारको मात्रै ।
कसरी अगाडि जाने ?
महाकुलुङलाई खुम्बूक्षेत्रको सेटलाइट तथा साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सबैभनदा पहिले पूर्वाधार विकास, ऐतिहाँसिक, साँस्कृतिक स्थलको संरक्षण तथा जीर्णोदार र पुनःनिर्माण्को उपयुक्त योजना आवश्यक छ । अर्को तर्जुमा गरिएको योजनाको प्रभावकारी कार्यन्वयन स्थानीयको अगुवाइमा हुनुैपर्छ । सँगै वस्तीको स्तर उन्ती, परम्परागत घरहरुको संरक्षण, पर्यटक राख्न मिल्ने घरकोठाहरु निर्माण आवश्यक छ । त्यस्तै पर्यटन व्यवसायमा हुनेहरुले राष्ट्रिय र अन्तराष्ट्र्रिय स्तरमा भएका आफ्नो सम्बन्धलाई गाउँको विकास लागि आव्हान गर्नु पर्दछ । यो आफ्नो गाउँका लागि सबैले केही गर्ने बेला हो । सरकारले पर्यटन विकासमा लगानी बढाउनुको विकल्प छैन ।
स्थानीय नागरिकहरु आफ्नो गाउँ आफँै बनाउन तत्पर बन्नै पर्छ । अहिलेसम्म बाहिर काम गरेको अनुभवलाई गाउँको विकास प्रयासमा लगाउन आवश्यक छ । महाकुलुङको मौलिकता, विशिष्टता र ऐतिहाँसिकतालाई संरक्षण गर्नु आवश्य छ । विद्युत, खानेपानी, घरघरमा सौचालय, साँस्कृतिक केन्द्र, अध्ययन केन्द्र, सँग्राहलय आदि पूर्वाधारहरुको निर्माणका कार्यहरु अगाडि बढाइनु पर्दछ । सबै महाकुलुङवासीको मुटुमा अबको पाँच या दश वर्षमा यो भूमिलाई कस्तो बनाउने भन्ने नक्सा हुनुै पर्दछ । त्यही नक्सालाई ठोस –योजना बनाएर युवा, महिला, पुरुष, बुढापाका सबैले काम गर्न सके महाकुलुङको मुहार फेर्न गाह्रो छैन । सपनाको नेगेटिभलाई फोटोमा बदल्न पक्कै सकिन्छ ।
No comments:
Post a Comment