केशव स्थापित भन्छन्, ज्ञानेन्द्रले झन्डै गोली हानेका -स्थापित
(काठमाडौं महानगर पालिकाका चर्चित तथा लोकप्रिय पूर्व मेयर केशव स्थापितको अन्तरवार्ता नयाँ पत्रिका दैनिकबाट साभार गरेर पोष्ट गरेको छु । नेपालमा सकारात्मक चिन्तन राख्ने र भविश्यप्रति नागरिकलाई आशा जगाउने सक्ने क्षमता स्थापित राख्छन् । उनको काठमाडौं उपत्यका र नेपाललाई विकासित बनाउने आफ्नै योजना छ । स्थापित मेयर भएकै बेला काठमाडौंको सडक फराकिलो बनाउने अभियान शुरु भएको थियो । ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडा’ैं नारासहित उनी मेयर भएका बेला काठमाडौंलाई विकसित शहर बनाउनमा लागेका थिए । धेरैका लागि उपयोगी ठानेर मेरो ब्लगमा यसलाई साभार गरेको छु ।)
काठमाडौ । मान्छेले तपाईंका कुरा बढो चाख मानेर सुन्छन् तर सिरियस्ली लिन्छन्जस्तो लाग्छ कि हावा भन्छन् ?
सिरियस्ली लिन्छन् नि । नत्र फर्कीफर्की पदमा आउ भनेर किन अनुरोध गर्थे ? एमाले, राजा र माओवादी सबैलाई चाहिने मजस्तो मान्छे को छ ?
राजासँग पनि तपाईंको सिरियस कुरा भयो ?
यति सिरियस कुरा भयो कि झन्डै गोली हानेर मारे । मलाई ४० मिनेटको समय दिएर बोलाइएको थियो तर कुरा गर्दागर्दै तीन घन्टा बित्यो ।
राजालाई के योजना सुनाउनुभयो ?
देश विकासको पूरै योजना मसँग थियो, मैले फटाफट सुनाएँ । प्रभावित भएर
राजाले भने, ‘लेट्स वर्क टुगेदर, गिभ मि योर मोबाइल नम्बर ।’ मोबाइल नम्बर
साटासाट भयो, बडो गजबको कुरा भयो ।
गजबको कुरा भएछ, गोली हान्ने कुरा कहाँबाट आयो ?
अन्तिममा राजाले राजतन्त्रको भविष्य के छ भनेर सोधेका थिए, मैले त
भविष्य छैन, सकुन्जेल मिलेर काम गरौँ भनिदिएँ । राजाले ‘किन’ भनेर सोधे,
मैले वीरेन्द्रको वंश विनाश हुनुमा दोष कसको छ थाहा छैन, तर मान्छेहरूले
सरकारलाईर् नै भन्छन्, भनिदिएँ । मेरी आमाले यी राजाको मुख देख्नुसाथ टिभी
बन्द गर्नुहुन्छ । पारसको ताल त्यस्तो छ । अनि कसरी राजतन्त्र टिक्छ
भनिदिनूँ ।
राजतन्त्रको भविष्य सुरक्षित कसरी हुन्छ त भनेर सोधेनन् ?
मैले भनिदिएँ, नागार्जुनलाई लभपार्क बनाइदिनू । दिनमा १० हजार
केटाकेटी मोटरसाइकल लगेर नागार्जुनको जंगलमा लभ गर्न पाए राजाको जयकार
गर्थे । विकास आयोजना पनि नचलाउने, आफ्नो सम्पत्ति पनि च्यापेर राख्ने,
सामाजिक सेवा पनि नगर्ने हो भने राजतन्त्र खत्तम हुन्छ भन्न मात्र पाएको
थिए, अब बोल्ने होइन, बेसी बोल्ने होइन भनेर थर्काए ।
अनि खुरुक्क आउन दिए तपाईंलाई ?
पशुपतिभक्त महर्जनले मलाई सेना लगाएर त्यहीँ झन्डै मार्या । ४०
मिनेटको समय लिएर तीन घन्टा बोल्ने भनेर मलाई हप्कीदप्की गरे । मैले तीन
घन्टा आफैँ बस्या हो र ? तिम्रो राजाले प्रश्न गरे, मैले जवाफ दिएँ, मैले
के बिराएँ भनेर जवाफ दिएँ । अझ राजासँग पनि औँला नचाएर कुरा गर्यो पो
भन्छन् । मैले त जोसमा कुरा गरेको हो, औँला कता थियो थाहा भएन ।
बचाउन आउने तपाईंलाई कोही थिए कि ?
त्यो विवेक शाह थियो । उसले पनि थर्काउन खोज्दै थियो । मैले भनिदिएँ,
‘अस्ति चौरमा बसेर सँगै दारु खाने, अहिले दरबारभित्र बसेर मलाई थर्काउने ?’
ऊ कराउँदै थियो, म हिँडेँ ।
त्यसपछि तपाईंलाई राजाकै पाला पनि मेयर बनाए नि ?
यो त जननिर्वाचित मेयर हुँदाको पाला हो । पछि त उनीहरूले आफैँ बनाए नि ।
आफैँ कसरी बनाए ?
कमल थापा सञ्चारमन्त्री थिए, म एफएमको लाइसेन्स लिन गएको थिएँ । ओ
केशवजी ! सहयोग गर्नुपर्यो भने उनले । मैले भनेँ, ‘मलाई मेयर बनाउनुस्,
राजालाई ढाँट्न काम लाग्छ । म ड्याङडुङ पारिहाल्छु । धुमधाम काम भएको छ
भनेर राजा दंग परिहाल्छन्, अनि तपाईं गरिखानूस् ।’ उनले त्यहीँबाट
प्रधानमन्त्री सूर्यबहादुर थापालाई फोन गरे, अर्को दिन थापाकहाँ
जानबित्तिकै लौ काम गर्ने मान्छेसँग अँगालो मार्नुपर्यो भनेर अँगालो मारे ।
अनि मलाई मेयर बनाए, काम सुरु गरेँ । राजालाई भेट्नै परेन ।
त्यतिवेला माओवादीसँग पनि सम्बन्ध थियो तपाईंको ?
उनीहरूको एफएम मैले नै ल्याइदिएको हो । क्यानडाबाट मैले ल्याइदिएकोले
डोकोमा बोकेर गाउँगाउँ हिँडे । चाइनामा गएर जुत्ताको कुरा गर्ने मै हो,
उनीहरूलाई हरियो बर्दीको लाइन मिलाइदिने मै हो । मैले मिलाइदिएपछि त
उनीहरूले त्यस्तो बर्दी लगाउन थालेका हुन् ।
त्यति धेरै लुगा कहाँबाट ल्याउनुभयो ?
चाइनामा एकजना मान्छे थिए । मैले प्रस्ताव मात्र राखेको थिएँ, मसँग
यस्तो कुरा गर्ने हो भनेर रिसायो । यस्तो कुरा त फलानोसँग गर्नुपर्छ भनेर
अर्काको नाम लियो । मैले कुरा बुझिहालेँ, अर्को मान्छेलाई समातेँ । काम भयो
।
हतियार पनि मिलाइदिनुभयो भन्छन् नि ?
कुरा के हो भने दोस्रोपटक वार्ता टोली आयो, सबैतिर डेरा खोजेछन्,
कहीँ भेटेनछन् । पहिले एमालेमा भएका एकजना मित्रले तपाईंकै घरमा नेताहरूलाई
बसाउनुपर्यो भने, मैले हुन्छ भनेँ । १०/१५ जना गार्डसहित बादल आए ।
बेलुका सँगै थियौँ, मैले भनेँ, ‘मेरो त दारु खाने वेला भयो, तपाईंहरू
खानुहुन्छ ?’ उनीहरूले खान त खाइन्छ तर आज कतै बोलाउन सक्छन्, नखाउ“m भने ।
मैले खाएर गफ दिन थालेँ ।
के गफ गर्नुभयो ?
मैले भनेँ- कि तपाईंहरू टुंगिनुपर्यो, कि जित्नुपर्यो । जित्ने हो
भने झापा विद्रोहजस्तो गरेर आज गर्ने, वर्ष दिनपछि थाहा पाउने हुनुहुन्न,
जनताले तत्काल थाहा पाउनुपर्छ । तपाईंहरूलाई एफएम चाहिन्छ, टिभी चाहिन्छ,
पत्रिका चाहिन्छ, जमानाअनुसारको युद्ध गर्नुस्, जित्नुहुन्छ । नत्र वैदेशिक
रोजगार भन्दै सबै युवा विदेश जान्छन्, तपाईंको युद्ध सकिन्छ भनिदिएँ ।
तपाईंले केके सहयोग गर्नुहुन्छ त भनेर सोधे । मैले रेडियो चाहिए रेडियो,
टिभी चाहिए टिभी, कपडा चाहिए कपडा, हतियार चाहिए हतियार सबै ल्याइदिन्छु,
भनिदिएँ । त्यसको केही समयपछि उनीहरूले दाङ हाने, भूमिगत भइहाले ।
पछि कसरी सम्पर्क भयो ?
उनीहरू युद्धमा गए पनि केही मान्छे त फेरि यतै सक्रिय भए । एफएम चाहियो भनेर आए, म अमेरिका गएँ । त्यसपछि क्यानडा पुगेर
एफएम ल्याइदिएँ ।
अनि, हतियारको कुरा नि ?
मैले यतै एकजना विदेशी दूतसँग कुरा गरेको थिएँ । कमिसन-समिसनका लागि
होइन यो युद्ध हो, कि माओवादी सिद्धिनुपर्यो कि राजा सिद्धिनुपर्यो,
टुंगो छिटो लाउनुपर्यो, हतियार मिलाइदिनूस् भनेँ । उनले यो सम्भव नै छैन
भनेर मलाई पठाए, म उठेर बाहिर आउन नपाउँदै राजाका मान्छेलाई फोन गरिदिएछन् ।
पछि फेरि लफडा भयो ।
लफडा कसले गर्यो ?
आर्मीको खास मान्छेले मलाई दसैँको टीकाको दिन डाकेर भने, ‘ल आज मेरो
हातको टीका भाइले लाउने, भाइको हातको मैले लगाउने ।’ टीका लगाइयो, दारु खान
बसियो । खाँदै गएपछि त अचानक भन्छ, ‘माओवादीलाई एफएम किनिदिने ? हतियार
मिलाइदिने ?’ दारु त भाग्यो । तैपनि भनिदिएँ, ‘माओवादीले दीर्घकालीन
जनयुद्ध भन्छन्, दीर्घकालसम्म यो लफडा कसले सहने ? फैसला छिटो हुनुपर्यो
भन्ने मेरो मान्यता हो ।’
माओवादीले पनि तपाईंलाई थर्काए नि ?
गरे नि । त्यो एकजना छ नि सेनाको बालाजु क्याम्पमा जुत्ताको तुनाले
आत्महत्या गरेको । अँ… साधुराम देवकोटा, हो त्यसले मलाई ज्यान लिन
खोज्याथ्यो ।
के आरोप लगाए तपाईंमाथि ?
सोल्टी होटलमा कार्यक्रम थियो, कार्यक्रममा मोबाइल अफ थियो । पछि दारु
पनि खाइयो । हिँड्ने वेलामा मोबाइल अन गरेको त साधुरामले फोन गरेर भन्छ,
‘ए साला, कुकुरको मुत खाएर बसेको ?’ अनि मैले भनेँ, ‘तँचाहिँ जनताको रगत
खाएर बस्ने ?’ झन् कस्सिएर ‘बाहिर निस्की तलाईं ठोक्छु’ भन्छ । मैले भनेँ,
‘हेर भाइ, तँ पनि कम्युनिस्ट, म पनि कम्युनिस्ट, हतियारले हान्न पाइँदैन,
फाइट खेल्ने भए खेलौँ ।’ अनि पुलिस-सुलिसलाई फोन गर्ने हैन है भन्छ । मैले
भनेँ, ‘फोन नकाटी जाउ“m, पुलिसलाई फोन गर्ने चान्स नै भएन ।’
महाराजगन्ज भेट्ने कुरा भयो, फोनमा गाली गरागर । मेरो ड्राइभर
कापिरहेको थियो, वडाध्यक्षले त झन्डै पाइन्टमै पिसाब फेरेछ । महाराजगन्ज
पुगेपछि चाबहिल जाउ“m भन्छ । मैले भनेँ, ‘ठोक्नचाहिँ पाइँदैन, जहाँ भने पनि
जान्छु ।’ मेरो गाडीका अगाडि-पछाडि उनीहरूका मोटरसाइकल । गालीबेइज्जती त
कति कति Û त्योबीचमा त्यसकोे अर्को मोबाइलमा फोन आयो, उता कुरा गरेर मलाई
भन्छ, ‘तँलाई आज नठोक्नु भन्ने खबर आएकोले बचिस् ।’ म त झसंग भएँ । भनेँ,
‘ए बेइमान, तँैले मार्न पो खोज्याथिस्, फाइट मात्र खेल्ने भनेको होइन ?’
झुक्याएर झन्डै मारेछ ।
तपाईं अहिले कुन पार्टीमा हुनुहुन्छ ?
म बल्खु नजाने एमाले ।
बल्खु किन जानुहुन्न ?
जनकपुर महाधिवेशनमा प्रतिनिधि बनाएर लग्ने-लग्ने भने, अन्तिममा
रेडियोबाट समाचार फुकाए- केशव स्थापित छानिएन भनेर । आफ्नै पार्टीबाट
निर्वाचित महानगरपालिकाको मेयर, अनि त्योचाहिँ पार्टीको महाधिवेशनमा
प्रतिनिधिको रूपमा पनि नजाने ? झोंक चल्यो, तेरा पार्टी तैँ गरिखा भनेर
छाडिदिएँ ।
माओवादी प्रधानमन्त्री भएका वेला जिम्मेवारी कसरी पाउनुभयो ?
सुकुम्बासीको इस्यु लिएर हिसिलालाई भेट्न गा’थेँ । सुकुम्बासीका
घरटहरा उठाउँछौँ भनेर थर्काउने, यो शैली त अमानवीय भयो भनेर मैले भनेँ ।
मैले बाटो विस्तारदेखि सुकुम्बासीका समस्या कसरी समाधान गर्ने भनेर यही
डायरीमा टिपेको थिएँ, हिसिलालाई देखाएँ, हिसिला त डायरी बोकेर कुद्दै गइन् ।
एकैछिनमा बाबुरामलाई लिएर आइन् । केशवले त चमत्कार गरेको छ भनेर
बाबुरामलाई भनिन् । के चमत्कार भनेर उनले सोधे । मैले डायरी पल्टाएर योजना
देखाएँ । उनीहरूले मलाई बेलुका आउनु अनि कुरा गरौँला भने ।
अनि, बेलुका जानुभयो ?
बेलुका जाँदा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र
पौडेललगायत सबै मान्छे थिए । त्यतिवेला लाजिम्पाटमा सडक भत्काउने तयारी
थियो, मैले रोक्नुस् भनेँ । बाबुराम पनि झ्वाँकी मान्छे, तपाईंले भन्दैमा
रोक्छु, तपाईंले भत्काउन हुने, मैले भत्काउन नहुने भनेर सोधे । मैले
भत्काउन त भत्काउने हो तर चाँजोपाँजो सबै मिलाउनुपर्छ भनेर कन्भिन्स गरेँ ।
उनले तत्कालै रोके ।
विकास आयुक्त कसरी बन्नुभयो त ?
करिब एक महिनापछि हावाबाट बिजुली निकाल्ने ‘विन्ड मिल’को कुरा लगेर
गा’थेँ फेरि बेलुका आउनुस् भने । म बेलुका गएँ । जानासाथ बाबुरामले भने,
‘कांग्रेसले यो देश बनाउँदैन, एमालेले बनाउँदैन, राप्रपाले बनाउँदैन, मलाई
तपाईंजस्तै मान्छे चाहियो, तपाईंको फोटोकपी एकजना दिनुस् ।’ दुई/तीनपटक
फोटोकपी फोटोकपी भन्छन् । मैले भनेँ, ‘तपाईंले मुख फोरेर भन्न नसकेको,
फोटोकपी होइन मै चाहिएको हो तपाईंलाई ?’ बाबुराम दंग परेर मलाई सोधे,
‘तपाईं मान्नुहुन्छ ?’ मैले तत्कालै हात मिलाएँ ।
निर्णय त अलि विवादित भयो नि होइन ?
प्रधानमन्त्रीले तत्काल मन्त्रीकहाँ जानुस् भने । हृदयश त्रिपाठीले
‘मान्छे त मलाई तपाईंजस्तै चाहिने हो तर अर्कै मान्छेको नाम सिफारिस
भइसक्यो’ भन्छन् । सचिवकहाँ गएको ‘तपाईं आईए पासले कहाँ हुन्छ’ भन्छन् । म
फेरि घुमेर प्रधानमन्त्रीकहाँ गएँ । यस्तो-यस्तो भयो भनेर मैले सबै
रिपोर्टिङ गरेँ । एक दिन बिहानै मन्त्रिपरिषद् बैठक बस्यो, कताकता
लब्धप्रतिष्ठित पनि राख्ने व्यवस्था रहेछ, त्यही व्यवस्थामा टेकेर
लब्धप्रतिष्ठितका रूपमा मलाई नियुक्ति दिइयो ।
तर, तपाईंजस्तो ँलब्धप्रतिष्ठित’ विकास आयुक्त भएपछि थापाथलीको सुकुम्बासी वस्तीमा डोजर लगाइयो नि ?
यहाँ, द्वैध शासन छ, त्यो त मान्नुपर्यो नि । प्रधानमन्त्री र मैले
वैकल्पिक व्यवस्था गर्न खोज्दै थियौँ, बाग्मतीको किनारमा ढल बनाउने भनेर
प्रहरीले डोजर लगाएछ । केही मान्छेलाई हतारो भएछ, सबै कुरा बिगारे ।
तपाईं जहिले पनि लभ पार्क लभपार्क भन्नुहुन्छ, तपाईंको मन रोमान्टिक भएर हो कि भिजन पनि छ ?
तपाईं १० रुपैयाँको साग किन्न जानुभयो भने कतिपटक ओल्टाइपल्टाई
गर्नुहुन्छ ? कीरा छ कि, प्वाल परेको छ कि, सुकेको छ कि भनेर हेर्नुहुन्छ ।
आज खाएर भोलि मल हुने कुरामा मान्छेले कति बुद्धि लगाउँछन् । अनि, मेरो
छोरीले जिन्दगी बिताउने मान्छे कस्तो छ भनेर बुझ्न नपाउने ? सास गन्हाउँछ
कि, दीर्घरोगी छ कि, जाँडरक्सी खान्छ कि, वेश्यावृत्ति गर्छ कि भनेर बुझ्न
नपाउने ? बाबुआमाको अगाडि उभिएर एकपालि हेर्दैमा थाहा हुन्छ, लभ गर्नु परेन
। पार्कमा बसेर कविता सुन्नु/सुनाउनु परेन । तब पो कुरो बुझिन्छ र आफ्नो
लायकको छानिन्छ ।
लभ त मान्छेले गरेकै छन्, लभ म्यारिज पनि गरेकै छन्, रोकिएको छ र ?
अहो, कस्तो बिजोग छ, हेर्नुस् त । चोभारमा हिमाल सिमेन्टको छेउमा गयो
भने सयवटा मोटरसाइकल हुन्छन् । अलि उतापट्ट िछाता ओढेर बसेर कानमा कुरा
गरिरहेका हुन्छन् । त्यहाँमाथि पुलिसले समातेर गाली/बेइज्जत गरेर, मोबाइल
खोसेर बाबुआमालाई बुझाउँछ । के अपराध गरेको छ, यो अमानवीय समाज भयो । यसलाई
काउन्टर दिन लभ पार्क चाहिन्छ, जहाँ युवायुवतीले वैधानिक रूपमै लभ गर्न
पाऊन् ।
कुरा त धेरै भयो, तपाईंले पछिल्लो नियुक्ति पाएको पनि एक सय २० दिन भइसक्यो, एक/दुई दिनमै गर्छु भन्नुहुन्थ्यो ?
चम्पादेवीमा पार्क बनाउनै थालेको त हो नि । त्यहाँ सबै योजना बन्दै
थियो, तर त्यहाँका स्थानीय अगुवा र अरूबीच ग्याङफाइट भयो । के-के लफडा छ, म
गएँ भने सम्झाउन सक्छु ।
नौ बजे नै रेस्टुरेन्ट सबै बन्द हुन्छन्, काठमाडौं कस्तो महानगर हो ?
मैले उठाएको कुरै यही हो । रेस्टुरेन्ट बार त रातभरि चलाउनुपर्यो नि ।
मापसे गरेर गाडी चलाउन पाइएन, तर ट्याक्सीमा अथवा ड्राइभरले चलाएको आफ्नै
गाडीमा जान्छु भन्नेले खान त पाउनुपर्यो । तर, साँझै रेस्टुरेन्ट सबै बन्द
हुन्छन्, पहिला थियो- अच्युत प्रवृत्ति । अच्युतकृष्ण खरेल आइजिपी भएका
वेला लामो कपाल पालेकालाई समातेर कारबाही गर्ने, डिंगो जुत्ता लगाएकालाई
चोर भनेर समात्ने, त्यस्तो पनि पुलिस हुन्छ ? अहिले मिनिस्कर्ट लगाएर
हिँड्छन्, युवतीहरू, तिनलाई पिट्ने ? यो सब गर्नुहुन्न ।
तपाईं वामदेव गौतमको विश्वासपात्र, सम्बन्ध कस्तो छ अहिले ?
सम्बन्ध ठीकै छ । वामदेवजी सोझो मान्छे हो, तर यो आफ्नो मान्छे हो
भन्नुहुन्न । केपी ओली हेर्नुस् न, जस्तोसुकै भए पनि आफ्नो मान्छे हो
भनेपछि छपक्कै छोपेर राख्नुहुन्छ । वामदेवजीमा त्यो भावना छैन ।
अनि, माधव नेपाल कस्तो मान्छे हुनुहुुन्छ ?
माधव नेपालजी दुईटा डायरी लिएर बस्नुहुन्छ । एउटा कालो, अर्को रातो ।
हरेक व्यक्तिको परिचय दुईवटै डायरीमा लेख्नुहुन्छ । नराम्रा कुरा कालो
डायरीमा, राम्रा कुरा रातो डायरीमा । गाली गर्नुपर्यो भने कालो डायरी
पल्टाउनुहुन्छ, रातो डायरी हेर्दै हेर्नुहुन्न । प्रशंसा गर्नुपर्यो भने
रातो डायरी पल्टाउनुहुन्छ, कालो हेर्दै हेर्नुहुन्न । कालो डायरी हेरेकै
वेलामा मार थर्काउनुहुन्छ । रातो डायरी हेर्दा अहो तपाईंजस्तो कार्यकर्ता
कोही छैन भनेर प्रशंसा गरेरै थाक्नुहुन्न ।
दारु खाने कार्यकर्तालाई माधव नेपालले असाध्यै गाली गर्नुहुन्छ भन्छन्, तपाईं गाली खानेमा पर्नुभयो कि भएन ?
भयानक सम्झना छ, मलाई । एकदिन बोलाउनुभो, अगाडि राखेर ह्याँ गरेर यता
फर्किनुहुन्छ, ह्वाँ गरेर उता र्फकनुहुन्छ, कुनै ताल हो यो भन्नुहुन्छ, अनि
यसरी बन्छ देश भन्नुहुन्छ । घरि टाउको यता बटार्नुहुन्छ, घरी उता
बटार्नुहुन्छ । मैले कुरै बुझिनँ । धेरैबेरसम्म ह्याँ र ह्वाँ गरेर
थर्काउनुभो । कुरा खोल्नुभएन । म उहाँको सामुन्ने कहिल्यै चुरोट नखाने
मान्छे, चुरोट सल्काएर तानिदिएँ । त्यसपछि उहाँ झन् उपि|mनुभो । फेरि
भन्नुहुन्छ, ‘यसरी देश बन्छ ?’ अनि मलाई हाँसो लाग्यो । ‘ए नेतृत्वको अगाडि
हाँस्ने ?’ भनेर फेरि थर्काउनुहुन्छ । ‘के थर्काउनुहुन्छ, भन्नुस् न कुरा
?’ मैले भनेपछि उहाँले एउटा बिल निकाल्दै भन्न थाल्नुभयो, ‘नेकपा एमालेको
कार्यकर्ता भएर १७ हजारको रक्सी खाने, यही हो इज्जत ? यसरी बन्छ पार्टी,
यसरी बन्छ देश ?’
तपाईंले खाएको रक्सीको बिल माधव नेपालकोमा कसरी पुगेछ ?
अहिले साउदी अरबमा राजदूत हुनुहुन्छ नि, उदयराज पाण्डे । उहाँको नयाँ
बजारमा घर, बाउसँग खट्पट् । अहिले त मिल्छ, त्यतिवेला राजनीति नमिल्ने ।
घरको भाडा बाउले महिना मर्नु चार/पाँच दिनअघि नै उठाएर लग्ने, छोरालाई
कहिल्यै नदिने । अति भएपछि उदयजीले डेरामा बस्ने सबैलाई एक दिन भन्नुभएछ,
‘आज मलाई भाडा नदिने हो भने राम्रो हुन्नँ ।’ उहाँले अचानक १७ हजार पाँच सय
उठाउनुभएछ । ‘भोलि बाउ पैसा माग्न आउँछन्, आज यो पैसा कसरी मास्ने ?’
भन्दै उहाँ आउनुभयो । मैले भनेँ, ‘एकै रातमा त्यत्रो पैसा सक्न त दारु
खानुपर्छ, त्यो पनि ब्लू लेबल ।’ साढे आठ हजारमा ब्लू लेबल किनेर हामी आँगन
रेस्टुरेन्टमा गयौँ । मजाले विभिन्न स्न्याक्ससहित खायौँ । बाउलाई
देखाइदिने भनेर रक्सीको बिल पनि रेस्टुरेन्टकै बिलमा लेख्न लगायौँ । साढे
१७ हजार बिल भयो, पाँच सय रुपैयाँ टिप्स दिएर हिँड्यौँ । खाने टोलीमा एकजना
माधव नेपालको खुफिया रहेछ, बिल लगेर दिएछ । माधवजीले कालो डायरीमा बिल
राख्नुभएको रहेछ, पाँच वर्षपछि निकालेर मलाई थर्काउनुभयो ।
तपाईं कसरी उम्कनुभयो त ?
मैले घटना सबै बताएँ । मैले भनेँ, ‘कमरेड तपाईंको अगाडि झुट बोल्दिनँ ।
सानोमा हामीले चिया खाएनौँ, यही खाएर हुर्केको हो, अहिले पनि कहिलेकाहीँ
खाइन्छ ।’ उहाँले कति खानुहुन्छ भनेर सोध्नुभयो । मैले पञ्जा देखाएर ‘पाँच
पेग’ भनेँ । तत्कालै उहाँले भन्नुभो, ‘घटाउनुस्, आजदेखि तीन पेग खानूस् ।’
मैले भनेँ, ‘कमरेडले निर्देशन दिनुभयो, म आजदेखि तीन पेगभन्दा बढी खान्नँ
।’ उहाँले त्यहीबाट भीम रावललाई फोन लगाएर थर्काउन थाल्नुभयो, ‘ए भीमजी,
यस्तो इमानदार कार्यकर्ताको विषयमा पोल लगाउने, तीन पेग खाउभन्दा तीन पेग
मात्रै खाने यस्तो आज्ञाकारी कार्यकर्ता को हुन्छ ? यस्ता कुरा नलगाउनुहोला
।’ मलाई पनि हिँड्ने वेलामा भन्नुभो, ‘लिमिटभन्दा माथि नजानू है ।’ मैले
‘हवस् कमरेड’ भनेर अभिवादन गरेँ ।
तपाईंले त आफू मेयर हुँदा उपमेयर विदुर मैनालीलाई काजमा
कास्की पठाइदिनुभयो, जनप्रतिनिधिलाई पनि काजमा पठाएर अनौठो उदाहरण
देखाउनुभयो नि ?
त्यो वेला एमाले फुट्यो, म मालेमा लागेँ । उपमेयर मैनालीजी, एमालेमा ।
पार्टीको कुरा मिलेन, हाम्रो कुरा कसरी मिलोस् । मैले जे गरे पनि उहाँले
विरोध गर्ने, अवरोध गर्ने । तैपनि मैले पेलेरै काम गर्दै गएँ । तर त्यही
वेला १० दिन जतिको लागि युएनको कार्यक्रममा भाग लिन म बाहिर जानुपर्ने भयो ।
मेयर बाहिर जाँदै छ, हाम्रो पालो बल्ल आउँदै छ भनेर विदुरजीले गोप्य मिटिङ
गर्नुभएछ । मैले वर्षौं लगाएर गरेका निर्णय १० दिनमा उथलपुथल गर्ने तयारी
भएको थाहा पाएपछि मलाई रातभरि निद्रा लागेन । राति महानगरपालिकाको नियमावली
पल्टाएर हेरेँ, त्यहाँ त मेयरले उपमेयरसहित जनप्रतिनिधिलाई पनि काजमा
पठाउन सक्नेछ भन्ने लेखिएको रहेछ । त्यसपछि राति नै ठूलो म्युजिक लगाएर
कोठामा एक्लै हंगामा गरेँ ।
अनि, पत्र के भनेर दिनुभयो त ?
म विदेश जाने हो, तपाईंको काम यही देशमा छ भनेर भनिदिएँ । उनी त
जिम्मेवारी आउने भनेर मख्ख । अघिल्लो दिन मैले कोटको खल्तीबाट खाम निकालेर
भनेँ, ‘पत्र तयार छ, भोलि दिन्छु ।’ उनी खुसी भए । कार्यवाहक दिन पत्र
तयार भएछ भन्ने लाग्यो, उनलाई । उड्ने दिन विमानस्थलमा बिदाइ गर्न पनि आए,
फूलमाला लगाएर मेरो अबिरजात्रा गरे, उपहार पनि दिए । म गेटभित्र छिरेर
बाहिर उभिएका उनलाई पत्र दिएँ, उनी मख्ख परे । मभित्र छिरिसकेपछि खोल्दा त
उनी बेहोसजस्तै भएछन् । सीधै एभरेस्ट होटल गएर दिउँसै दारु खाएछन् । दुःखको
कुरा खल्तीमा पैसा रहेनछ, महानगरपालिकाका कार्यकारी अधिकृतले उद्धार गरेर
घर लगेछन् । कार्यवाहक त मैले आफ्नो पक्षका वडा अध्यक्ष श्याम चित्रकारलाई
दिइसकेको थिएँ ।
तपाईं एकपटक कालभैरव नृत्यमा पनि लाग्नुभएको थियो नि ?
कालभैरव नाच्न त भैरवजस्तो शरीर चाहिन्छ नि । अब जिउ कंकाल भइसक्यो,
नृत्य गर्यो भने कंकाल नृत्य हुन्छ । विकास प्राधिकरणमा आएपछि ज्यान खत्तम
भयो । ७२ किलो पुगिसकेको थिएँ, ८४ किलो पुगेर कालभैरवजस्तो बन्ने योजना
थियो, यता आएपछि यस्तो छ । त्यतिवेला त १८/२० वटा अन्डा खान्थेँ । एक/एक
वटा खान झ्याउ लागेर एकैपटक घोलेर पिउँथेँ ।
सिनेमातिर रुचि छैन ?
मेयरसाब भन्ने फिल्म बनाउने योजना छ, तर तत्काल होइन ।
अनिल कपुरको नायकजस्तै ?
ठ्याक्कै त्यस्तो होइन, पेज थ्री र नायकको बीचको फिल्म बनाउने योजना छ
। अहिले ‘झ्याम्मै’ भन्ने कार्यक्रम टेलिभिजनबाट चलाउन मन लागेको छ,
त्यसमा नेता, तस्कर, घुस्याहा कर्मचारी सबैलाई झ्याम्मै एक्स्पोज गर्ने
योजना छ । अहिले पनि ‘यसो गरे कसो होला’ भन्ने कार्यक्रम त आइरहेकै छ ।
तपाइर्ं आफैँ नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, यसो गरे कसो होला भनेर कसलाई सोध्नुहुन्छ ?
होइन, मेरो दिमागमा भएको कुरा व्यक्ति-व्यक्तिलाई भेटेर भन्यो भने त
वर्षौं लाग्छ, टेलिभिजनबाट एकैपटक भन्यो भने त धेरैले थाहा पाउँछन् ।
त्यसैले जनमत बनाउन मिडिया चाहिन्छ । मेरो कार्यक्रम त राष्ट्रपतिले
हेर्छन्, प्रधानमन्त्रीले हेर्छन्, कर्मचारीले हेर्छन्, सर्वसाधारणले
हेर्छन् । सबैलाई एकैपटक सन्देश जान्छ ।
पत्रकार उमेश चौहानले गर्नुभएको कुराकानी
के सोच्दैछन् प्रचण्डलाई थप्पड हान्ने पदम कुवँर ?
(एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई चड्कन
दिएर चर्चामा आएका पदम कुवँरको विचारोत्तेजक अन्तरवार्ता हालै नेपालको
चर्चित साप्ताहिक कान्तिपुर साप्ताहिकले छापेको थियो । सशस्त्र द्धन्द्धका
समयमा माओवादीमा सबै जना लागेर कुवँर परिवार करिब छिन्नभिन्न अवस्थामा छ ।
उनै पूर्व माओवादी कार्यकर्ता पदम कुवँरको अन्तरवार्ता साभार गरेको छु ।
–आरडी)
गएको मंसिर १ गते नेपालको सबैभन्दा शक्तिशाली दल एकीकृत नेकपा (माओवादी) का
अध्यक्ष प्रचण्डमाथि उनकै युवा कार्यकर्ता पदम कुँवरले थप्पड हाने। ठूलो
सुरक्षा घेरामा रहने प्रचण्डमाथिको यो आक्रमण विश्वकै सञ्चारमाध्यमका लागि
महत्वको समाचार बन्न पुग्यो।
लगत्तै बसेको उक्त पार्टीको बैठकले देशी-विदेशी प्रतिक्रियावादीहरूको
उक्साहट र योजनामा गम्भीर षड्यन्त्र भएको निर्णय गरेपछि उक्त थप्पडको
महत्व थप वृद्धि भयो। थप्पड प्रकरणलगत्तै माओवादी कार्यकर्ताबाट मरणासन्न
हुने गरी पिटाइ खाएका पदम तीन साता लामो हिरासतमा बसे। हिरासतबाट छुटेपछि
पदम अहिले गुमनाम जिन्दगी बिताइरहेका छन्।
थप्पडलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र उक्त दलको कुरा बाहिर आए पनि
थप्पड हान्नुपर्ने कारण के पर्यो भन्ने विषयमा सञ्चारमाध्यमहरू मौन रहे।
त्यति मात्र होइन, पदम अहिले कहाँ के गदैर् छन् भन्ने कुरा पनि बाहिर आएका
छैनन्।
कतिपयले माओवादी सुरक्षा घेरामा रहेको वा सुरक्षाका कारण भूमिगत अवस्थामा
रहेका बताए पनि साप्ताहिकले उनलाई खोजेरै छाड्यो अनि उनको विगत, थप्पड
हान्नुपहिलेको मनोदशा एवं थप्पड हानिसकेपछिको स्थिति तथा भावी योजनाहरूका
सम्बन्धमा जान्ने प्रयास गर्यो । उक्त थप्पड प्रकरणसँग जोडिएको त्यस्ता
अनगिन्ती रहस्य पदम कुवँरकै शब्दमा ।
आखिर पदम कहाँ के गर्दैछन्, यसको खोजबिन गर्दै साप्ताहिक पदम कुँवरको
बासस्थानमा पुगेको थियो। थप्पड काण्डपछि माओवादी कायर् कर्ताको कुटाइबाट
भाँचिएको नाकको उपचारका क्रममा रहेका पदम साप्ताहिक प्रतिनिधि उनको डेरामा
पुग्दा प्रचण्डकै बारेमा समाचार पढिरहेका रहेछन्। दिदी भिनाजुको डेरामा
बसिरहेका पदमले हामीलाई कालो चिया बनाएर ख्वाए पनि खुलेर कुरा गर्न
अप्ठयारो माने।
यद्यपि वास्तविक स्थिति प्रकट गर्न आग्रह गर्दा पदमले भने, 'म माओवादी
सुरक्षा घेरामा त छैन, तर आफ्नो सुरक्षाका कारण चिन्तित छु। कतिपय नखुलेका
नम्बरबाट अनौठा व्यक्तिले बधाइ पनि दिइरहेका छन् र धम्की शैलीका फोन
आइरहेका छन्। यद्यपि बधाई दिए भनेर खुसी पनि भएको छैन भने धम्कीबाट डराएको
पनि छैन।'
अन्तरमुखी स्वभावका पदमबाट कुरा निकाल्न पहिलो दिन निकै गाह्रो भयो। करिब १
घन्टाको बसाइमा उनी थोरै मात्र खुले। व्यक्तिगतभन्दा पनि जनयुद्ध कालमा
आफूले विद्यालयमा संस्कृत विषय हटाउन गरेको संघर्ष, वाईसीएलका रूपमा
जिल्लामा काम गर्दा हात भाँचिएका कुरा मात्र गरे। उनको व्यवहारले हामी
कुनै गलत नियतले आएका हौं कि भन्ने सोचिरहेका छन् भन्ने प्रस्ट हुन्थ्यो।
उनको अप्ठयारो बुझेपछि भो लिपल्ट भेट्ने वाचा गरियो। त्यसपछिका दुई दिन
भने पदम राम्रैसँग खुले। उनले अश्विनी कोइरालासँग थप्पड काण्डका आन्तरिक
कुरा मात्र गरेनन्, मनका सबै पीडा एवं आक्रोश बिनासंकोच व्यक्त गरे।
तपाईंको गाउँको नाम कुटनेता रहेछ, गाउँको नामजस्तै कार्य गर्नुभयो नि ?
गाउँको नाम कुटनेटा हो, सुन्दा कुट-नेता जस्तो सुनिन्छ। गाउँको नाम राख्छु
भनेर थप्पड हिर्काएको होइन, साह्रै चित्त दुखेर हिर्काएको हुँ।
तपाईंसँग मेरो जति पटक कुरा भयो, त्यसमा तपाईको कुरा गर्ने शैली ठ्याक्कै प्रचण्डकै जस्तो लाग्यो, किन ?
थप्पड प्रकरणपछि मलाई भेट्ने प्रहरी, मानवअधिकारवादी एवं पत्रकारहरूले पनि
त्यही भन्नुभयो। मलाई भने त्यस्तो लाग्दैन। कुनै बेला प्रचण्ड हाम्रा
लागि दन्त्यकथाको पात्रजस्तो हुनुहुन्थ्यो। उहाँले बोलेका कुरा नै
हामीजस्ता युवाको ब्रान्ड थियो। मेरा दिदी-दाइ भन्नुहुन्थ्यो, जनयुद्धमा
मरेको सिपाही पनि प्रचण्डले देश र जनताका लागि भए पनि तिमीले बाँच्नुपर्छ
भन्दा लास पनि जुरुक्क उठ्छ। त्यति सम्मान थियो उहाँप्रति। त्यसको प्रभाव
परेको हुन सक्छ।
यस्तो आदर्श व्यक्तिलाई हात उठाउन अप्ठयारो लागेन ?
कुरा मात्र आदर्शको रहेछ, काम त होइन रहेछ। जति बुझ्दै गएँ, त्यति रिस उठ्दै गयो। कसै गर्दा पनि चित्त बुझेन।
कहिलेदेखि प्रचण्डमाथि हात उठाउँछु भन्ने सोच आयो ?
प्रचण्डमाथि नै हात उठाउँछु वा यसै गर्छु भन्ने थिएन। दुई वर्षदेखि
काठमाडौंमा भौंतारिरहेको थिएँ। एक महिनाअघिदेखि जब साथीभाइको कुरा
सुन्थें, नेताहरूको व्यवहार हेर्थें, त्यसै-त्यसै खटपट भएर आउँथ्यो।
हामीजस्ता गरिब जनताका नेता २० करोड पर्ने घरमा बस्छन् भन्ने सुनेपछि त्यो
घर हेर्न गएँ। त्यहाँको तामझाम देखेपछि चाहिँ प्रचण्डलाई नै हान्नुपर्छ
भन्ने लाग्यो।
कोसँग सल्लाह गर्नुभयो ?
म भित्ताको पनि कान हुन्छ भन्ने कुरामा विश्वास गर्छु। माओवादी यस्तो
पार्टी हो, जसभित्र को कसको मान्छे हो भन्ने थाहा हुँदैन। यो कुरा लिक
हुनेबित्तिकै थुनिन सक्छु वा मारिन सक्छु भन्ने मलाई थाहा थियो। सवक सिकाउन
पाइदैन भनेर मनभित्रै राखें।
जुन दिन तपाईंले प्रचण्डमाथि आक्रमण गर्नुभयो, योजनाअनुसार नै भएको थियो ?
यही दिन यसरी नै प्रहार गर्छु भन्ने थिएन। कोठामा ग्याँस थिएन। जाडो
आएकाले ज्याकेट किन्ने योजना थियो, तर पैसा थिएन। तैपनि ज्याकेट हेरेरै
चित्त बुझाउन भृकुटीमण्डपका पसलमा ज्याकेटको दाम सोध्दै थिएँ। त्यहीं
माओवादी कार्यक्रम छ भन्ने थाहा पाएँ। भीड ठूलो थियो र प्रचण्डलगायतका
नेता आउने कार्यक्रम पनि रहेछ। मैले कार्यकर्ताको लाइनमा बसेर नेतासँग हात
मिलाउन जाने योजना बनाएँ। हो, त्यही बे ला आज थप्पड हान्नुपर्छ भन्ने
लागेको हो।
कति थप्पड हान्ने योजना बनाउनुभएको थियो कि घाइते नै बनाउँछु भन्ने सोच थियो ? वा अरू नै केही सोच थियो ?
म थोरै क्षतिमा प्रचण्डलाई सवक सिकाउन चाहन्थें। म उनीजस्तो आफू सत्तामा
जान दुनियाँको जीवन बरवाद पार्नुपर्छ भन्ने सोचको केटो होइन।
सार्वजनिक स्थानमा त्यति ठूलो नेतालाई हात लगाउँदा आफूमाथि आक्रमण हुन्छ, जीवन बरबाद हुन्छ भन्ने डर लागेन ?
मेरो ज्यान पनि जान सक्छ वा अङ्भङ्ग त अवश्य हुन्छु भन्ने थियो। यद्यपि
हाम्रो जीवनमा जे घट्यो, अब त्योभन्दा बढी हुन के बाँकी छ र ?
मतलब ?
मेरो दाइ जिल्लाकै निडर लडाकु हो। जनयुद्धका क्रममा उसको टाउको, कोख, छाति
र खुट्टामा गोली लागेको छ। शरीरमा १२ वटा गोली अहिले पनि छन्। दाजु अहिले
सिकिस्त छन्, उनको शरीरले तातो पनि सहँदैन, चिसो पनि सहँदैन। उनी न बाँच्न
सक्छन्, न त मर्न नै। मेरी दिदी जिल्लाकै चर्चित राजनीतिक कमिसार। उनको
चारवटा करङ भाँचिएको छ, दुईवटा गोली लागेको छ। अहिले पनि उनको शरीरभरि
गोलीका छर्रा छन्। यी २० करोडको घरमा बस्नेले त्यति गोली निकाल्न सक्दैनन् ?
यो समस्या त पार्टीको हो। तपाईंहरूले पार्टीलाई राम्रोसँग बुझाउनुपर्ने होइन ? थप्पड नै हान्नुपर्छ ?
कलम चलाएर बाँच्न जति सजिलो छ, शरीरमा गोली लिएर बाँच्न त्यो भन्दा गाह्रो
हुन्छ। त्योभन्दा पीडा ती सबैलाई कसरी पाल्ने, कसरी घरको व्यवहार मिलाउने
भनेर सोच्दा नै मलाई भाउन्न हुन्छ। कुनै बेला तपाईं मेरो घर आउनुहोला, जब
मेरी आमा तपाईंलाई देख्नेबित्तिकै जुन शैलीमा झम्टनुहुन्छ, त्यो बेला बल्ल
मेरो पीडा बुझ्न सक्नुहोला।
के भएको छ तपाईंकी आमालाई ?
जनयुद्धका बेला हाम्रो घर, घर भएन, माओवादी र सेनाको प्रयोगशाला बन्न
पुग्यो। परिवारका सबैजसो सदस्य भूमिगत, कहिलेकाहीँ दिदी, दाइ वा उहाँका
साथीहरू आउनुहुन्थ्यो। आमाले रातारात खाना पकाएर ख्वाउनुहुन्थ्यो। त्यसपछि
को कता जान्छ, बिचरी आमालाई के थाहा ? छोरा-छोरी सम्झेर रुनुहुन्थ्यो।
भोलिपल्ट सेना आएर टाउकोमा बन्दुक राखेर लछारपछार पार्दै हिजोका माओवादीलाई
कहाँ लुकाएकी छेस् भनेर विभिन्न धम्की दिन्थ्यो। यसरी बाँचेकी मेरी सोझी
आमाले जब दाजु र दिदीहरू घाइते भएको खबर वा मारिएको झूटा खबर पाउन
थाल्नुभयो, उहाँ अचानक मानसिक रूपमा विक्षिप्त हुनुभयो। अहिले अवस्था यस्तो
छ, आफ्ना सन्तानलाई पनि चिन्नुहुन्न। नयाँ मानिस आउने बित्तिकै पुरानो
घटना सम्झना हुन्छ क्यारे, रोएर कोकोहोलो गर्नुहुन्छ। हतियार लिएर
झम्टनुहुन्छ। सहरमा बसेर सुखभोग गर्ने यस्ता नेतालाई मेरो पीडा कसरी थाहा
होस् ?
मेरो घरको अवस्था यस्तो छ भनेर नेताहरूलाई किन भन्नुभएन ?
उनीहरूलाई थाहा छैन र ? सबै थाहा छ। फेरि यो मेरो घरको एक्लो कथा होइन,
कति छन् मजस्ता पीडित ? प्रचण्डका आसेपासेका आफन्तले केही सहयोग पाए होला,
अरू त पीडित नै छन्। जुन पीडा मेरो परिवार र देशले पायो, त्यसको तुलनामा
थप्पड त केही होइन।
अहिले त पार्टीले तपाईंको पीडा बुझ्यो होला, के-कस्तो राहत पाउनुभयो ?
राहत ? (कुटिल हाँसो) तपाई पत्रकार भएर पनि माओवादी पार्टी र प्रचण्डलाई
चिन्नुभएकै रहेनछ। बिस्तारै चिन्नुहुन्छ, तर एउटा कुरा भन्छु। त्यो के भने
जुन बेला मैले थप्पड हानें, त्यो बेला मलाई हिर्काउनेमा कार्यकर्ता मात्र
होइन, बहालवाला मन्त्री पनि थिए। मैले सोचेको थिएँ, मलाई यत्रो बीच सहरमा
मारिहाल्दैनन्। मेरो यथार्थ थाहा नपाउन्जेल समस्या हो। सबै कुरा थाहा
पाएपछि प्रचण्ड आफैं आएर मसँग र समग्र जनयुद्ध पीडितसँग माफी माग्छन्
भन्ने लागेको थियो। त्यसो भएन, उल्टै मलाई हदैसम्मको कारबाही गर्ने निर्णय
गरियो। मैले बुझेको यो हो, प्रचण्डको राजनीति र माओवादी पार्टी ...(फेरि
हाँसो)।
तपाईं बडो मीठो गरी मुस्कुराउनुहुँदो रहेछ, घाइते भएको मान्छे
अस्पताल र प्रहरी हिरासतमा पनि बिना कुनै संकोच हाँस्नुहुन्थ्यो रे, आखिर
यो हाँसोको रहस्य के हो ?
जुन दिन उक्त काण्ड भयो, मैले धेरै कुटाइ खाएँ। मैले सोचेको थिएँ, यथार्थ
थाहा भएपछि सबै कुरा ठीक हुन्छ। तर रेडियोले भन्यो, मेरो थप्पड
देशी-विदेशी षड्यन्त्र र उक्साहटमा भएको रे। त्यस्तो कुरा सुनेर गलल्ल
हाँसेछु। प्रहरीहरू पनि छक्क परे। मलाई भेट्न जनार्दन शर्मा आएका थिए,
उनलाई पनि यी सबै कुरा भनें, तर न त मेरो पीडा बुझ्ने प्रयास भयो, न त
थुनामुक्त नै गराए। बाहिर ठिक्क पार्ने नै हो, यिनीहरूको व्यवहार...।
थुनामुक्त हुन धरौटीबापत प्रचण्डले नै पैसा दिए, कुट्ने युवालाई यसरी छुटाउनु पनि त उदारता हो नि, होइन र ?
देश-विदेशका जनताले मेरो रिहाइका लागि पैसा उठाउन थालेको खवर सुनेपछि
आफ्नो राजनीतिक प्रतिरक्षाका लागि आफू ठीक हुँ भन्ने दे खाउन र प्रेसमा
आएका नकारात्मक खबरबाट मुक्त हुन उक्त नाटक रचिएको हो। यदि मेरो त्यति माया
भएको भए उनले हदैसम्मको कारबाही गर्नू भन्ने आदेश दिँदैनथे। उनले
विजयकुमारले लिएको अन्तरवार्तामा मलाई माफ गरेको बताएका थिए, त्यसपछि पनि म
लामो समय हिरासतमा बसें। यसको अर्थ के हो ? मैले एक थप्पड कुटें, उनका
कार्यकर्ताले त झन्डै मेरो ज्यान नै लिए, के हो यसको अर्थ ?
तपाईं नै भन्नुहोस्, यसको अर्थ के हो त ?
हात्तीका दुईवटा दाँत हुन्छन्, एउटा खाने, अर्को चपाउने। यही नै हो त्यसको अर्थ।
नेता र साधारण मान्छेमा फरक भैहाल्छ नि....?
तपाईंलाई पनि प्रचण्डका विषयमा ठूलै भ्रम परेजस्तो छ। हामीजस्ता सहिद,
घाइते एवं जनयुद्धका सिपाहीहरूले उनलाई ठूलो बनाएका हौं। १० औं हजार
मरेपछि उनी यो अवस्थामा पुगेका हुन्। माओवादीले नै हामीलाई सिकाएको हो,
हामी सबै बराबर हौं भन्ने कुरा ? अलिअलि त फरक हुन्छ नै, तर यति फरक ?
कसलाई चित्त बुझ्छ ?
मैले सुनेअनुसार तपाईंले पार्टीमा खासै काम गर्नुभएन रे, तपाईंको योगदान पार्टीमा खासै छैन भनिन्छ, के भन्नुहुन्छ ?
२०६७ सालमा प्रकाशशरण महत मन्त्री भएका बेला हाम्रो गाउँमा जानुभयो।
पार्टीले उहाँलाई बहिष्कार गर्ने नीति लिएको थियो। कालो झन्डा देखाउने
क्रममा प्रहरीले लाठी चार्ज गर्यो र मेरो हात भाँचियो। मरेको भए पार्टीका
लागि काम गरेको ठहरिन्थ्यो भने ठीकै छ। होइन भने कतारबाट कमाएको पैसा पनि
मैले पार्टीका लागि खर्च गरें। मेरो बुबा बूढो हुनुभयो। दाजु, दिदी अनि
आमाको हालत यस्तो छ। के हो पार्टी लाई गरेको योगदान भनेको ? त्यही भाँचिएको
हातले हिर्काएँ र प्रचण्डलाई केही भएन। अर्को हातले हिर्काउनुपर्ने रहेछ
भन्ने पो लाग्न थालेको छ आजकाल।
अब पार्टीमा त रहनुभएन, के गर्नुहुन्छ ?
जब प्रहरीले मसँग बयान लिन थाल्यो, पहिलो प्रश्न थियो, तपाई कुन पार्टीको ?
कसले उक्सायो ? म बोल्न नसक्ने गरी घाइते थिएँ। बारम्बार आग्रह गरेपछि
मैले खाली कापी मागें र त्यसमा ठूलो अक्षरले लेखें। म नेपाली पार्टी को
हुँ। हामीजस्ता मान्छे कुनै पार्टीका हुँदा रहेनछौ भन्ने कुरा एक वर्षअघि
नै थाहा पाइसकेको छु।
त्यही त, अब के गर्नुहुन्छ ?
थप्पड हिर्काएपछि मेरो परिवारसँग प्रचण्ड र माओवादीले माफी मागेको भए म
उहाँलाई धन्यवाद भन्थें र कमाउन कतार जान्थें। कुनै गुनासो रहने थिएन,
कुरा सकिन्थ्यो। आखिर हामी पहिलेदेखि नै अर्काको देशमा सेवा गर्न जन्मिएका
रहेछौं। म थप एउटा मजदुर हुन्थें। मेरो सामान्य आक्रोशलाई बङ्ग्याएर अरूले
उक्साएको भनेर जसरी कुरा मोड्ने काम भयो, मलाई लाग्यो, नेपालमै बसेर केही
गर्नुपर्छ। हामी जस्ता सीधा मान्छे, राजनीतिमा लागेर केही हुँदो रहेनछ
भन्ने बुझें, अब समाजसेवा गर्छु। - अश्विनी कोइराला
No comments:
Post a Comment