Monday, February 26, 2024

चुरे संरक्षणका दुःख

-आरडी कुलुङ नेपाली

चुरेका बारेमा प्रायः दैनन्दिन सञ्चारमाध्यमदेखि जनसाधारणसम्म चर्चा भइरहेको देखिन्छ । हेर्दा सबैलाई चुरेको चिन्ता परेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादव हुन् या पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । 

तराई मधेशका नेता, सांसद, स्थानीय नेता होऊन् या चुरे संरक्षणको चिन्तक हुँ भन्नेहरू । धेरैको भनाइ के सुनिन्छ भने चुरेमा उत्पात विनाश कार्य चलिरहेको छ, केही वर्षमा चुरे सबै सकिँदैछ, बर्बाद भइरहेको छ, चुरे र तराई मधेशमा प्रलय आउनेवाला छ । तर, त्यसलाई रोक्न कोही अघि सरेका छैनन् । आफू त्यो बर्बादीको साक्षी हुनु परिरहेको छ आदि । के वास्तविकता त्यस्तै हो ? कि भ्रमको खेती र राजनीतिक हल्लाखल्ला ज्यादा भएको हो ? त्यसरी सबै बर्बाद भएको देख्नेहरूले चुरेको साँच्चै संरक्षण चाहेका हुन् या सेन्टिमेन्टमा खेल्ने अभिप्राय ? यो लेखमा चुरे संरक्षणमा भइरहेका वास्तविकतालाई केही फरक कोणबाट चर्चा गर्ने प्रयास गरिएको छ । 

चुरे के हो, किन संरक्षण गर्नुपर्छ ?

तराईको मैदानी भूभाग सकिनेबित्तिकै उत्तरतर्फ पूर्व-पश्चिम फैलिएर रहेको कमलो पहाडी श्रृंखला नै चुरे पहाड हो । यसलाई शिवालिक वा सब-हिमालय पनि भन्ने गरिन्छ । चुरे महाभारत पर्वत श्रृंखला र तराईको बीचमा रहेको उच्च भूभाग हो । हिमालयको उत्पत्ति हुने क्रममा नदीजन्य पदार्थ थुप्रिएर करिब डेढ करोडदेखि १० लाख वर्षअघिको अवधिमा चुरे पर्वत श्रृंखला बनेको थियो । पृथ्वीमा यसलाई कान्छो र कमजोर पर्वत श्रृंखला मानिन्छ । पाकिस्तानको इन्दस नदीदेखि भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखलाको करिब ८०० किलोमिटर खण्ड नेपालमा पर्छ । नेपालमा चुरेको चौडाइ १० देखि ५० किलोमिटर रहेको छ ।

चुरे क्षेत्रले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ । जसको ७३.५६ प्रतिशत क्षेत्र वनजंगल रहेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (राचुतमसंविस), खुमलटारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २०७७ पुस २ गते गरेको पत्रचारअनुसार ३८ जिल्ला र १३७ स्थानीय तहमा चुरे क्षेत्र फैलिएको छ । चुरे क्षेत्र र त्यसभन्दा तल रहेको तराईमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस बसोबास गर्छन् । चुरे क्षेत्रमा आउने सकारात्मक र नकारात्मक परिवर्तनको प्रत्यक्ष प्रभाव मानिसहरूमा पर्छ । तराईको भूमिगत जल भण्डार चुरे क्षेत्र नै हो । चुरे पहाडले तराईमा वाटर टावरका रूपमा काम गरिरहेको छ । चुरे जैविक विविधताको भण्डार पनि हो । नेपालको २० संरक्षित क्षेत्रमध्ये ७ वटा चुरे–तराईमा पर्छन् । नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा पाइन्छन् । नेपालमा पाइने सङ्कटापन्न ४९३ प्रजातिमध्ये ३१९ यही क्षेत्रमा पाइन्छ । चुरे क्षेत्रलाई नेपाल सरकारले २०७१ असार २ गते निर्णय गरेर वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो । उल्लेखित तथ्यले चुरेको महत्व र संरक्षणको आवश्यकता दर्साउँछ । 

चुरे संरक्षणको प्रयास

चुरे क्षेत्रको संवेदनशीलता र वातावरणीय विनाशले तराईमा पारेको नकारात्मक प्रभावलाई ध्यानमा राखेर सरकारले अलि ठूलो स्केलमा चुरे संरक्षण कार्यक्रम शुरू गरेको १४ वर्ष हुन लागेको छ । आर्थिक वर्ष २०६६/०६७ लाई चुरे संरक्षण कार्यक्रमको प्रस्थान मान्न सकिन्छ । सोही आर्थिक वर्षबाट नेपाल सरकारले भू तथा जलाधार संरक्षण विभागमार्फत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शुरू गरेको थियो । चुरे संरक्षण कार्यक्रमले मूर्त पाउनुमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भू तथा जलाधार संरक्षण विभागका तत्कालीन महानिर्देशक भरतप्रसाद पुडासैनीको विशेष भूमिका रहेको मानिन्छ । आर्थिक वर्ष २०७०/०७१ देखि सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा समावेश गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनालाई मन्त्रालयको विभागअन्तर्गत सञ्चालन गर्दा अपेक्षित नतिजा प्राप्त हुने नदेखिएको भनेर सरकारले चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न २०७१ असार २ गते राचुतमसंविस गठन गरेको थियो । रामेश्वर खनाल अध्यक्षताको सोही समितिले समग्र चुरे क्षेत्रको गुरूयोजना तयार गरी सोअनुरूप कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको थियो । चुरे-तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना तयार भइ २०७४ असार ४ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । गुरूयोजनाले प्राथमिकीकरण गरेका नदी प्रणालीहरू स्तरीय एकीकृत स्रोत व्यवस्थापन योजनामा आधारित भइ चुरे संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । गुरूयोजनाले पहिचान गरेका चुरे क्षेत्रबाट बग्ने १६४ नदी प्रणालीमध्ये पहिलो ५ वर्षमा ६४ वटालाई चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न प्राथमिकीकरण गरेको छ । त्यस्तै पहिलो १० वर्षमा १०४ नदी प्रणाली, पहिलो १५ वर्षमा १३४ नदी प्रणाली र २० वर्षमा १६४ नदी प्रणाली नै व्यवस्थापन गर्ने लक्ष्य गुरूयोजनाले राखेको छ ।

चुरे संरक्षणमा क्रियाशील संस्थागत संरचना

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश, २०७१ अनुसार गठित समिति केन्द्रीयस्तरमा रहेको छ । समितिमा एक अध्यक्ष र ४ सदस्य गरी पाँच जना रहने व्यवस्था छ । सदस्य सचिवका रूपमा वन मन्त्रालयको सहसचिव (प्रा) रहने प्रावधान छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा व्यवस्था भएअनुसार समिति मातहत पाँच वटा कार्यक्रम कार्यान्वयन इकाइ सलकपुर (मोरङ), जनकपुर (धनुषा), भरतपुर (चितवन), बुटवल (रूपन्देही) र लम्की (कैलाली)मा रहेका छन् । जहाँ इकाइ प्रमुखमा वन सेवा (स्वायल एण्ड वाक र जनरल फरेष्ट्री)को राप द्वितीय (प्रा) सहित मल्टीडिस्सिप्लिनरी कर्मचारी टीम रहन्छन् ।


कार्यक्रम शुरू भएको वर्ष २०६६/०६७ देखि २०७०/०७१ सम्म भू तथा जलाधार संरक्षण विभागमार्फत, आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्म जिल्लास्थित भूसंरक्षण, वन, जल उत्पन्न प्रकोप नियन्त्रण, पशुसेवा, कृषि सेवा आदि सरकारी कार्यालय र आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय तहमार्फत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भएका थिए । देशमा संघीयता कार्यान्वयनपश्चात जिल्लास्थित केही कार्यालय खारेजी र केही कार्यालय प्रदेशअन्तर्गत समायोजन भएको हुँदा राष्ट्रिय गौरवको आयोजना एक साल स्थानीय तहमार्फत कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ देखि समिति स्वयंले कार्यान्वयन इकाइहरूमार्फत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । लाभग्राहीहरूका अनुसार त्यसपछि चुरे संरक्षण कार्यक्रमको गुणस्तर र प्रभाव बढेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाहेक वन मन्त्रालयअन्तर्गत बागमती नदी पूर्वका जिल्लाहरूमा उत्थानशील चुरे आयोजना कार्यान्वयनमा रहेको छ । उत्थानशील चुरे आयोजना केन्द्रमा एक र फिल्ड स्तरमा तीन वटा कार्यालयमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । त्यसबाहेक वन मन्त्रालयअन्तर्गत बृहत जलाधार व्यवस्थापन केन्द्र, राष्ट्रिय निकुञ्ज र आरक्ष कार्यालयहरू, प्रदेशअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयहरूले पनि चुरे क्षेत्र संरक्षणमा काम गरिरहेका छन् ।

नेतृत्वमा खड्किएको जिम्मेवारी अभाव

राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको वित्तीय र भौतिक प्रगति अग्रस्थानमा रहने गरेको देखिन्छ । चुरे संरक्षण कार्यक्रमको लागि हरेक वर्ष विनियोजन हुने बजेटमा वित्तीय प्रगति ९० प्रतिशत र भौतिक प्रगति ९२ प्रतिशत माथि रहेको पाइन्छ । अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा थोरै बजेटमा चुरेले प्रभावकारी काम गरिरहेको छ ।

तर, जिम्मेवार नेतृत्वबाट कामको दायित्वबोध र अपनत्व लिएको नदेखिनु राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रमको विडम्बना हो । राचुतमसंविस (गठन) आदेश, २०७१ को दफा ५ ले तोकेको काम, कर्तव्य र अधिकारबाट समिति नै विमुख जस्तो देखिन्छ । गठन भएको १० वर्ष पूरा हुन लाग्दा सरकारको अनुदानबाहेक समितिले एक रूपैयाँ पनि अन्य स्रोत जुटाउन सकेको देखिन्न । जबकि गठन आदेशको दफा ५ को उपदफा (१) को खण्ड (च) मा चुरे क्षेत्रको संरक्षण गर्न आवश्यक पर्ने प्राविधिक र वित्तीय स्रोत जुटाउने जिम्मेवारी समितिलाई छ । दफा १५ को उपदफा (१) मा समितिको नाममा एउटा छुट्टै कोष रहने र उपदफा (३) खण्ड (क), (ख), (ग) र (घ) मा नेपाल सरकारबाट प्राप्त रकम, स्वदेशी व्यक्ति, संघसंस्था वा निकायबाट प्राप्त रकम, विदेशी सरकार, संघसंस्था, व्यक्तिबाट प्राप्त रकम, अन्य स्रोतबाट प्राप्त रकम कोषमा रहने व्यवस्था छ । स्थापनाको दशक पूरा हुन लाग्दा पनि नेपाल सरकारको अनुदानमा मात्रै निर्भर रहिरहनुलाई समितिको सक्षमता मान्न सकिन्न ।

समितिको नेतृत्वमा बस्नेहरू नै चुरे संरक्षणमा केही काम नभएको भनेर सार्वजनिक टिप्पणी गर्दै हिँडेको देखिन्छ । एक अध्यक्षसहित पाँच सदस्य रहने समितिमा कतिपय अयोग्य र असक्षम मानिसले समेत स्थान पाउने गरेको विगत तीन पटकको राजनीतिक नियुक्तिले देखाउँछ । समिति सदस्यहरूबीच नै गुटबन्दी गर्ने, समिति गठनको उद्देश्य र गुरूयोजनाको लक्ष्यबाट विमुख हुने गरेको देखिएका छन् । नीतिगत र व्यवस्थापकीय जिम्मेवारीको काम गर्नुपर्ने सदस्यहरू स्वार्थ प्रेरित भइ फिल्ड स्तरका ससाना योजनाको कार्यान्वयनमा केन्द्रित हुने, जनतामा आश्वासनमात्रै बाँड्ने, कर्मचारी र स्थानीय जनप्रतिनिधिसँग अवैधानिक लाभको माग गर्ने गरेको आरोप लागेको सुनिन्छ । त्यस्तै राजनीतिक नियुक्ति पाएर आउनेहरूले कर्मचारीप्रति गहिरो पूर्वाग्रह राख्ने गरेको देखिन्छ । जसले द्वन्द्व सृजना गर्नेबाहेक सकारात्मक नतिजा दिने कुरै भएन । 

आर्थिक र प्राविधिक क्षमता वृद्धिमा परिणाम देखिने भूमिका समितिले देखाउन सकेको छैन । पूर्वसचिव रामेश्वर खनाल अध्यक्ष हुँदा तयार भएको गुरूयोजनाले दोस्रो पाँच वर्षका लागि प्रस्ताव गरेको ६७ अर्ब १ करोड ३५ लाख ३९ हजार रुपैयाँलाई पुनरवलोकन गरेर वर्तमान समितिले १५ अर्ब रुपैयाँमा झारेको चर्चा छ । सात वर्ष अगाडिको प्रस्तावित क्षमतामा ७८ प्रतिशतले गिरावट ल्याउनु समितिको सक्षमता मान्न सकिन्न । नेतृत्वले लिनुपर्ने अग्रसरता, गर्नुपर्ने दायित्वबोध र जिम्मेवारी बहनमा उचित ख्याल नपुग्दा चुरे संरक्षण कार्यक्रमले पाउनुपर्ने प्राथमिकता, लिनुपर्ने गति र हासिल गर्नुपर्ने ओज पाइरहेको छैन । समिति नेतृत्वले राम्रोसँग बुझाउन नसक्दा वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेर आउने मन्त्रीहरूसमेत चुरे संरक्षण कार्यक्रमप्रति नकारात्मक हुने गरेको देखिन्छ । जसले चुरे संरक्षण कार्यक्रमको अभिभावकत्व लिनुपर्ने हो, त्यसको विस्तार र प्रभावकारितामा नेतृत्वकारी भूमिका खेल्नुपर्ने हो, उनीहरू नै चुरेले केही काम नगरेको भनेर सार्वजनिक आलोचना गर्न पुग्छन् । त्यो एक किसिम विडम्बना नै हो । 

चुरे संरक्षण कार्यक्रम सञ्चालनमा सरकारी निकाय नै बाधक

विकास समिति ऐन, २०१३ को दफा ३ लाई टेकेर जारी भएको राचुतमसंविस (गठन) आदेश, २०७१ अनुसार राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन भएको हो । वन तथा वातावरण मन्त्रालयमार्फत समितिले नेपाल सरकारसँग सम्पर्क गर्छ । यसलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतकै निकायका रूपमा लिने गरिन्छ । नेपालको वातावरणसम्बन्धी कानूनहरू, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद र आर्थिक ऐनहरूसँग चुरे संरक्षण कार्यक्रमले सीधा सम्बन्ध राख्छ । त्यसबाहेक गुरूयोजना २०७४ र नदी प्रणालीस्तरीय स्रोत व्यवस्थापन योजनाहरू काम गर्ने मार्गदर्शन हुन् । नेपाल सरकारले चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न स्थापना गरेको निकाय राचुतमसंविस नै हो । उसले पाएको जिम्मेवारी चुरे संरक्षणसम्बन्धी काम गर्ने हो ।

प्रस्ट कानूनी मार्गदर्शन र क्षेत्राधिकार किटान नहुँदा नेपाल सरकारकै निकाय वन र निकुञ्ज कार्यालयहरूले चुरे संरक्षण कार्यक्रममा अवरोध पु¥याउने गरेको देखिन्छ । प्रदेशका डिभिजन वन अधिकृतहरू चुरे क्षेत्रमा काम गर्न आफूसँग अनुमति लिनुपर्ने बताउँछन् । तर, अनुमति हत्तपत्ती दिन मान्दैनन् । जसका कारण चुरे क्षेत्रका सीमसार संरक्षण, जल पुनः भरण पोखरी निर्माण, गल्छी खहरे रोकथाम जस्ता योजनाको रकम फ्रिज या रकमान्तर हुने गरेको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष कार्यालयहरूबाट पनि अवरोध नै हुने गरेको देखिन्छ । निकुञ्जका संवेदनशील कोर एरियाबाहेक अन्य स्थानमा संरक्षण कार्यक्रम सञ्चालन गर्न कानूनी बाधा देखिन्न । तर, चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्न चुरेले नै अरू निकायबाट अनुमति लिनुपर्ने परिस्थिति छ । यसमा समितिले वन मन्त्रालय र सरकारसँग उचित समन्वय र पहल गर्न सकेको देखिन्न । यो अचम्मलाग्दो अवस्थाको निदान स्पष्ट कानूनी व्यवस्था नै हो । 


अहिले चुरे संरक्षण ऐन तर्जुमाको चर्चा छ । त्यसको प्रारम्भिक मस्यौदामा अहिलेको गञ्जागोल, क्षेत्राधिकार विवाद र कानूनी अस्पष्टतालाई फुकाउने बाटो पहिल्याउन सकेको देखिन्न । मस्यौदामाथि व्यापक बहस हुन जरूरी छ । गुरूयोजनाले पनि चुरे संरक्षणका लागि एकीकृत ऐनको आवश्यकता औंल्याएको छ । गुरूयोजनाले भनेको छ- चुरे संरक्षण क्षेत्र वातावरण संरक्षण ऐनअनुसार घोषणा गरिएको भए तापनि यो गुरूयोजनाका कतिपय क्रियाकलापहरू सञ्चालन गर्न अन्य ऐन, नियमहरू आकर्षित हुन्छन् । कतिपय ऐन, नियमहरू गुरूयोजना कार्यान्वयनमा बाधक वा अलमल्याउने खालका भएकोले चुरे संरक्षणका सबै पक्ष समेटिने एकीकृत ऐन आवश्यक छ । यस्तो ऐनमा चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीको संरक्षण तथा सम्बर्द्धन, दिगो विकास, वातावरणीय सेवाको भुक्तानी, वन क्षेत्रको सुरक्षा तथा व्यवस्थापन, जैविक विविधता संरक्षण, नदी प्रणाली तथा नदीजन्य पदार्थ व्यवस्थापन, संवेदनशील क्षेत्रका बसोबास व्यवस्थापन जस्ता विषय समेटिनु पर्छ ।

चुरे संरक्षणमा लगानीको अवस्था

गुरूयोजना २०७४ ले २० वर्षका लागि चुरे संरक्षण कार्यक्रमको लागत कार्यक्रम खर्चतर्फ २ खर्ब ४० अर्ब ९ करोड ६३ लाख ४२ हजार र प्रशासनिक खर्चतर्फ ९ अर्ब ६० करोड ३८ लाख ५४ हजार गरी कुल २ खर्ब ४९ अर्ब ७० करोड १ लाख ९६ हजार अनुमान गरेको छ । गुरूयोजनाले पहिलो ५ वर्षमा ८० अर्ब ८५ करोड ६२ लाख ५३ हजार खर्च हुने अनुमान गरेको छ । जबकि गुरूयोजना कार्यान्वयनको ५ वर्ष अर्थात आव २०७८/०७९ सम्म ७ अर्ब ४२ करोड ६४ लाख ३० हजार अर्थात लागत अनुमानको ९.१८ प्रतिशतमात्रै चुरे संरक्षण कार्यक्रममा सरकारले लगानी गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/०८० मा २ अर्ब १७ करोड र चालू आर्थिक वर्ष २०८०/०८१ मा ९३ करोड चुरे संरक्षण कार्यक्रममा बजेट विनियोजन भएको देखिन्छ । यो भनेको गत आर्थिक वर्षभन्दा ५७ प्रतिशत बढी बजेट कटौती भएको अवस्था हो । गुरूयोजनाले कार्यान्वयनको प्रथम ५ वर्षभित्र ६४ नदी प्रणालीलाई चुरे संरक्षण कार्यक्रमले समेट्ने लक्ष्य राखेको थियो । तर, बजेट अभावले गुरूयोजना कार्यान्वयनको सातौं वर्ष चलिरहँदा पनि सबै नदी प्रणालीमा नियमित कार्यक्रम पुग्न सकेको छैन । गुरूयोजनाले गरेको लागत अनुमानको अत्यन्त सानो अंश लगानी गरेर चुरे संरक्षणमा उत्पात परिणाम खोज्नु आफैंमा काउकुती लाग्ने विषय हो ।

ख्याल राख्नुपर्ने विषय के भने संरक्षण कार्य आफैंमा निरन्तर गरिराख्नु पर्ने प्रक्रिया हो । संरक्षण कार्य विशेषतः वातावरणको बचाउ र सुरक्षासँग सम्बन्धित हुन्छ । चुरे प्रकृतिको एक विशेष वातावरणीय क्षेत्र हो । मानव सभ्यता रहुञ्जेल आफ्नो लाभका लागि यसको संरक्षण प्रक्रिया जरूरी छ । केही वर्षको थोरै लगानीबाट चुरे संरक्षण कार्यमा धेरै प्रतिफल खोज्नु तर्कसंगत कुरा होइन । बरू चुरे संरक्षण कार्यमा लगानी र जनशक्ति थप गर्नु आवश्यक छ । प्रतिफलको कुरा गर्ने हो भने हामीले पचासौं वर्षदेखि २० वटा संरक्षित क्षेत्रमा राज्यको खर्बौं खर्च गरिसक्यौं । अझै कैयौं वर्ष त्यसमा लगानी भइरहने छ । निकुञ्ज र आरक्षमा भएको लगानीको प्रतिफल खोज्ने हो त ?

चुरे क्षेत्रको नदीजन्य सामग्री प्रयोग

अहिले चुरेका सन्दर्भमा सार्वजनिक भइरहेका विचार अतिवाद प्रेरित छन् । धेरैको भनाइ छ- चुरे क्षेत्रका प्राकृतिक स्रोत चलाउनै हुन्न । त्यहाँ विकास निर्माणको काम त झन् गर्नै हुन्न । सम्भव भए मानवीय गतिविधि नै हुनु हुन्न किसिमका । के त्यो सम्भव छ ? चुरे क्षेत्रमा चालीसौं लाख मानिसको स्थायी बसोबास छ । उनीहरूका वस्तुभाउ छन् । तिनीहरूलाई स्थानान्तरण गर्न राज्यको ल्याकत छ ? छैन । तब उनीहरूलाई सडक, विद्युत, पानी, सार्वजनिक भवनलगायत अनेक थोक चाहिन्छ । त्यसका लागि आवश्यक प्राकृतिक स्रोत नियमसंगत ढंगबाट उपयोग गर्न उनीहरूले पाउने हक राख्छन् । त्यस्तै तराईमा बसोबास गर्ने ५० प्रतिशत मानिसका लागि पनि निर्माण सामग्री चाहिन्छ ।

अर्कोतिर माथिल्लो जलाधार क्षेत्रबाट बगेर आउने थेगर थुप्रिएर तराईमा खोलाको सतह बर्सेनी बढेर धार परिवर्तन हुने, धार परिवर्तन हुँदा कृषियोग्य जमिनको कटान र खोलाको चौडाइ वृद्धि हुने भइरहेको छ । त्यस्तै नदीको सतह बढ्दा पुलहरू जोखिममा पर्दै आएका छन् । सप्तरीको महुली, गङ्गाजली, सुन्दरी, बलान, सुनसरीको सर्दु-सेउतीलगायतका खोलाको सतह बढ्दा पुल र दायाँको क्षेत्रमा बाढी पस्ने, चौडा फैलावट हुने भइरहेको छ । तराईका सयौं खोलामा सतह वृद्धिको समस्या छ । त्यसको न्यूनीकरण गर्ने उपाय भनेको वार्षिक बढ्ने सतहको मूल्याङ्कन गरेर, सो बराबरको मात्रामा नदीजन्य पदार्थको उत्खनन नै हो । त्यसको प्रक्रियागत व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको हो ।

गुरूयोजना २०७४ मा पनि व्यवस्थित र वैज्ञानिक ढङ्गले निश्चित ठाउँबाट निश्चित परिमाणमा नदीजन्य सामग्री उत्खनन गर्न सकिने भनिएको छ । गुरुयोजनामा लेखिएको छ- ‘माथिल्लो तटीय जलाधार क्षेत्रबाट बगेर आएको थेगर थिग्रेर नदी सतहमाथि उठेको स्थलबाट उत्खनन गर्नाले एकातिर निर्माण सामग्रीको रूपमा ती वस्तु प्रयोग गर्न सकिन्छ भने अर्कोतर्फ नदी बगर फैलावट नियन्त्रण गर्न सकिन्छ ।’ गुरूयोजनाको सर्त के भने त्यसरी उत्खनन गरिने वस्तुको परिमाण वार्षिक रूपमा थिग्रने थेगरको परिमाणभन्दा बढी हुनुहुँदैन ।

गुरूयोजनाले औंल्याएका र अध्ययनबाट उत्खनन गर्न आवश्यक देखिएका स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरी निरीक्षकको निगरानीमा नदीजन्य पदार्थको वार्षिक उत्खनन गराउँदा निर्माण सामग्रीका साथै राज्यलाई राजस्वसमेत प्राप्त हुन्छ । त्यसबाट नदी बगर फैलावट नियन्त्रण हुनेछ । व्यवस्थित उत्खनन गराउँदा अहिले अत्यधिक दोहन भइरहेका मोरङको गछिया र चिसाङ, रूपन्देहीको तिनाउ, बाराको बिजौरे र चुरे, महोत्तरी र धनुषा सिमानाको रातु खोलालगायतको समस्या पनि समाधान हुन्छ । रोजगारी, राजस्व र निर्माण सामग्री पनि प्राप्त हुन्छ । चुरेका विज्ञहरू पनि वैज्ञानिक रूपमा उत्खनन हुनुलाई अन्यथा ठान्दैनन् ।

स्वार्थ प्रेरित हल्लाले पीडित चुरे

नेपालमा स्वतन्त्र चिन्तन र निष्पक्ष विचार प्रवाह कल्पना बाहिरको विषय हो । चुरेका विषयमा प्रवाहित सार्वजनिक विचार निष्पक्ष छैनन् । सञ्चारमाध्यम, लेखक–पत्रकार, विज्ञ, पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू पूर्वाग्रह राखेर विचार राखिरहेका छन् । उदाहरणका लागि चुरेमा सडक निर्माणले तराईमा प्रलय ल्याउँछ भन्ने भाष्यलाई लिन सकिन्छ । यो भाष्य निर्माण गर्नेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको देन छ । यसमा गहिरो राजनीतिक अर्थ लुकेको देखिन्छ । उनीहरूलाई कुनै राजमार्गको नाम मन परेको छैन । सडक बनेकोमा भन्दा सडकको नाम र पहलकर्ता मन नपरेकाले चुरेको उत्पात चिन्ता उहाँहरूमा जागेको देखिन्छ । त्यस्तै कुनै निश्चित राजनीतिक समूहको सरकार हुँदा गिटी, बालुवा उत्खननको विषयलाई पूरै प्रोपोगाण्डा बनाइन्छ । फेरि अर्को राजनीतिक समूहको सरकार हुँदा गिटी, ढुङ्गा, बालुवा उत्खननलाई चुपचाप समर्थन गरिन्छ । दलगत पक्षधरता राखेर चुरे संरक्षणसम्बन्धी धारणा बनाउने विज्ञ, मिडिया र राजनीतिकर्मीको अभाव पटक्कै छैन । विगत तीन आर्थिक वर्षको बजेटपश्चातका चुरे संरक्षणसम्बन्धी सार्वजनिक धारणाबाट यो स्पष्ट देख्न सकिन्छ ।

अर्को अति के छ भने चुरे खत्तम भइसक्यो भनेर व्यापक हल्ला गरिएको छ । टाढा बसेर सुन्ने पढ्नेलाई पूरै भयावह लाग्ने गरी यस्तो मनोविज्ञान सञ्चार गरिएको छ । जसको अगुवाइ चुरे नबुझेका पत्रकार र चुरेको नाममा सेन्टिमेन्टको राजनीति गर्ने स्वार्थी समूहले गरिरहेका छन् । वास्तविक अवस्था त्यस्तो हो त ? होइन । सरकारी प्रतिवेदनकै कुरा गर्दा पनि पछिल्लो समय चुरेमा हरियाली बढेको र वन विनाश घटेको छ । गुगल म्यापले पनि सोही कुरा बताउँछ । काठ चोरी भएको होला । तर, वनै फाँड्ने घटना छैनन् भन्दा हुन्छ । केही खोलाबाहेक गिटी, बालुवा उत्खनन कमै भएका छन् । यद्यपि, वातावरणीय प्रभाव अध्ययन गरेर गिटी, बालुवा उत्खनन गर्न सकिने प्राकृतिक स्रोत हुन् ।

त्यस्तै चुरे संरक्षणमा कुनै काम नभएको भन्ने हल्ला असाध्यै ठूलो छ । चुरे संरक्षणको प्रयास नभएका होइनन्, भएका छन् । तर, अपर्याप्त अवश्य छ । सरकारले विकास समिति बनाएर चुरे संरक्षण कार्यक्रम शुरू गरेको दशक पनि नाघेको छैन । बजेट र जनशक्ति परिचालन साह्रै सानो छ । संरक्षण भन्ने काम आफैंमा जटिल र दीर्घकालीन विषय हो । त्यसैले अहिले नै व्यापक नतिजा खोज्नु हतारो हुन्छ । भएका कामहरू प्रभावकारी छन् कि छैनन् भन्नेमा भने छलफल हुनैपर्छ ।

अन्त्यमा,

चुरे संरक्षण कार्यक्रममा जनसहभागिता नभएको गुनासो गैरसरकारी संस्थाबाट दीक्षित मानिसहरूको रहेको सुनिन्छ । त्यसलाई राज्यले उचित सम्बोधन गर्ला नै । तर, सरसर्ती हेर्दा भने त्यस्तो देखिँदैन । चुरेको अधिकांश वन सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन भइरहेका छन् । चुरे क्षेत्रको वनमध्ये २४ प्रतिशत संरक्षित क्षेत्र र बाँकी ७६ प्रतिशत सामुदायिक वन, कबुलियती वन र सरकारद्वारा व्यवस्थित वनका रूपमा व्यवस्थापन हुँदै आएका छन् । चुरेको प्राकृतिक स्रोत (वन पैदावर) व्यवस्थापनको जिम्मेवारी राज्यले कानूनी रूपमा दिइसकेपछि सामुदायिक वनलाई चुरे संरक्षणका लागि थप भूमिका दिइरहनु पर्छ जस्तो लाग्दैन । वन समूहको अनिवार्य जिम्मेवारीमा पर्ने विषय हो चुरे संरक्षण । वन समूहले आफ्नो आयको निश्चित प्रतिशत चुरे संरक्षणमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था हुनु जरूरी छ । त्यस्तै उनीहरूले खुला चरिचरण नियन्त्रण गर्नेबित्तिकै भूक्षयको दरमा उल्लेख्य सुधार हुनेछ । प्रदेश र स्थानीय सरकारले पनि चुरे संरक्षणमा ध्यान दिनु जरूरी छ ।

गुरूयोजना २०७४ को निर्धारण गरिएका उद्देश्यहरू

(१) भौगर्भिक, भौगोलिक अवस्था र पारिस्थितिकीय प्रणाली अनुकूल चुरे पहाड (खोंचसहित) र भावर क्षेत्रका प्राकृतिक स्रोतहरू (भूमि, पानी, वनस्पति र जैविक विविधता)को दिगो व्यवस्थापन सुनिश्चित गरी त्यहाँ बसोबास गर्ने व्यक्ति तथा समुदायको जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने,

(२) चुरे पहाड, दून र तराई मधेशमा जल उत्पन्न प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणको साथै वातावरणीय सेवा प्रवाहको निरन्तरता दिने र

(३) गार्हस्थ ऊर्जा उपयोगमा सुलभताका साथै राष्ट्रिय वनबाट टाढा रहेका बासिन्दा (खासगरी तराई मधेश) लाई काठ, दाउरा र अन्य इन्धन स्रोतको उपयोगमा पहुँच वृद्धि गर्ने रहेका छन् ।

उक्त उद्देश्यहरू पूरा गर्न गुरूयोजनाले नौ वटा मुख्य कार्यक्रम पहिचान गरेको छ । ती कार्यक्रमहरू:

(क) प्राकृतिक स्रोत क्षय/ह्रास न्यूनीकरण,

(ख) वातावरण स्थिरीकरण र उत्पादकत्व वृद्धि,

(ग) जलवायु परिवर्तन तथा जल उत्पादन प्रकोप जोखिम प्रभाव न्यूनीकरण,

(घ) एकीकृत नदी प्रणाली स्रोत व्यवस्थापन पूर्वाधार,

(ङ) उपल्लो जलाधार क्षेत्रका भू-स्खलनग्रस्त क्षेत्र स्थिरीकरण,

(च) नदी कटान तथा डुबानबाट हुने क्षति न्यूनीकरण,

(छ) वन क्षेत्र बाहिर वन विकास,

(ज) नवीकरणीय ऊर्जा प्रविधि विस्तार र

(झ) बहुविषयगत क्षेत्र तथा संस्थागत विकाससँग सम्बन्धित कार्यक्रमहरू प्रभावकारी कार्यान्वयनका लागि थप वित्तीय र प्राविधिक स्रोत परिचालन आवश्यक छ । गुरूयोजनाले अनुमान गरेको लागतको ९ प्रतिशतभन्दा तलको वित्तीय लगानीमा देख्न चाहेको स्तरमा चुरे संरक्षण हुने आशा राख्न हुँदैन ।

तस्विरहरू

१) अमाह सिमसार, सुनसरी

२) रङ्गीधामी सिमसार, चाैदण्डीगढी- ५, उदयपुर

३) रातु खोला कटान, बर्दिबास, महोत्तरी

४) सत्रापत्रा खोला कटान, फत्तेपुर, सप्तरी

(२०८० माघ ९ गते नेपाल प्रेसमा प्रकाशित https://www.nepalpress.com/2024/01/23/421838/)


Monday, October 31, 2022

राजनीतिक पार्टीको उमेर कति ?

-आरडी कुलुङ

नेपालमा अहिले केही कुरा आम रूपमा आव्हान भइरहेका छन् । त्यो के भने पुराना दल र बुढा नेतालाई भोट नदिइ मतदाताले राजनीतिबाट विस्थापन गर्नु पर्ने । निर्वाचनको माहोलमा सबैलाई राजनीतिक चस्का लाग्नु स्वभाविकै हो । विगतको पर्फर्मेन्सका आधारमा राजनीतिक दल र तिनका नेताको समीक्षा हुनु स्वभाविक हो । नेपाली राजनीतिमा साँस्कृतिक रूप ग्रहण गरेर बसेका कुराहरू पर्दछन् - सरकारको कमजोर कार्य सम्पादन, नेताको स्वार्थ केन्द्रित अराजनीतिक गुटबन्दी एवं स्खलित देशप्रेम, जनमैत्री संस्कारको अभाव, राष्ट्रियहित संरक्षणमा उदेकलाग्दो उदासिनता, देश निर्माणको राष्ट्रिय सङ्कल्प र प्रभावकारी अभियानको अभाव आदि । मानिसहरू आक्रोशित हुनु, विरक्तिनु र निरास बन्नु उपरोक्त कारण काफी छन् ।

मानिसका यिनै मनोभावमा टेकेर विभिन्न समूहहरू वितृष्णाको खेतीमा लागिरहेका छन् । कोही No Not Again, कोही स्वतन्त्र उम्मेद्वारको मुल फुटाउने, त कोही पुराना दलहरुबाट अब केही हुन नसक्ने ठोकुवा गर्ने अभियान चलाई रहेका छन् । यसमा उच्च बबोैध्दिक ठान्ने मान्नेहरू नै अग्रसर छन् । र उनीहरूको हिर्काइको केन्द्रमा छ - बुढ्यौली उमेर । धेरै नेपाली बुज्रुक अचेल के ठान्छन् भने 'म कहिल्यै ६० बर्ष पुग्ने छैन, पुगेँ भने म त्यो बेला सार्वजनिक जीवन जिउने छैन । अथवा ६० पुगेकाहरू घरैमा आराम गरिबस्नु पर्छ । त्यसैले ६० बर्ष नाघेका नेता र पुराना दललार्इ भोट नदिउँ !'
प्रश्न जन्मिएको : अजेण्डा होइन, उमेर हेरेर भोट दिनुपर्ने हो ? सामाजिक सञ्जालमा व्यापक बनेको यस आव्हानले उमेरका आधारमा प्रत्यक्ष विभेद र धेरैमा भ्रम उत्पन्न गरेको छ । के भोट दिने, पाउने मापदण्ड उमेर हो ? ६० बर्ष नाघेकाले केही गर्नै नसक्ने हुन् ? उनीहरूले राजनीति मार्फत देशको सेवा गर्छु भन्न नपाउने हो ? के राजनीतिक दलहरूले धेरै पुरानो भएपछि भोट माग्न नहुने हो ? पार्टी र नेता अजेण्डाले युवा हुने हुन् या उमेरले ? मानिसको प्राकृतिक आयु हुन्छ तर पार्टिमा किन जोडियो ? प्रश्नका खात छन् । यसलाई थोरै प्रष्ट बनाउन नेपालको राजनीतिमा प्रभाव राख्ने केही देशका दल बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । विश्वमा कति बर्ष पुराना दलहरू क्रियाशिल छन् ? धेरैको मनमा जिज्ञासा हुनसक्छ । नेताको उमेर सम्बन्धि चाहिँ अर्को पटक चर्चा हुनेछ ।
बेलायतमा राजनीतिक दल
संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा सन् १२१५ मा संसद स्थापना गरिएको मानिन्छ । हेनरी तृतीयको पालामा राजालाई सल्लाह दिन निकायका रुपमा चर्चका प्रमुखहरु लगायतको महापरिषदलाई नै शुरुमा संसदको नाम दिइएको थियो । एकल सदनका रुपमा स्थापना भएको संसदलाई पछि दुई सदन बनाइयो । संसद स्थापना भएको ४६३ बर्ष पछाडि सन् १६७८ मा राजनीतिक दल अस्तित्वमा आए टोरी र ह्विग । आजभन्दा ३४४ बर्ष अगाडि स्थापना भएका टोरी र ह्विगलाई विश्वको पुरानो राजनीतिक दल मानिन्छ ।

आठसय बर्ष भन्दा पुरानो संसदीय व्यवस्था भएको बेलायतमा दल स्थापनाको समयमा जस्तै हाल दुई दलीय व्यवस्था कायम छ । बेलायतमा हाल सकृय पार्टिमध्ये कन्जरभेटिभ पार्टि सबैभन्दा पुरानो राजनीतिक दल हो । सन् १८३४ मा स्थापना भएको कन्जरभेटिभ पार्टि १८८ बर्ष पुगेको छ । अहिले बेलायतको सत्ता सञ्चालन गरिरहेको कन्जरभेटिभ दल एक्काइसौं शताब्द्धीको पछिल्लो १२ बर्ष लगातार सत्तामा छ । बाह्र बर्षमा पाँचौं प्रधानमन्त्रीका रुपमा ऋृषि सुनक कार्यरत छन् ।
कन्जरभेटिभ पार्टि अस्तित्वमा आउनु भन्दा १५६ बर्ष अघि स्थापना भएका टोरी र ह्विग अहिलेका आधुनिक पार्टि संगठित राजनीतिक दल नभएर विचार समूह जस्ता थिए । टोरीको आधुनिक संस्करणका रुपमा कन्जरभेटिभलाई लिइन्छ । यस हिसाबले कन्जरभेटिभ पार्टि ३४४ बर्षदेखि बेलायती राजनीतिमा कुनै न कुनै रुपले कृयाशिल छ । त्यस्तै ह्विग दल सन् १८५९ आएर लिबरल पार्टिमा मर्ज भयो । उन्नाइसौं शताब्द्धीको उत्तरार्ध र बीसौं शताब्द्धीको पूर्वाधमा ब्रिटिस सरकारमा रजगज जमाएको लिवरल पार्टि सन् १९२२ पछाडि सत्तामा फर्कन सकेन । एकसय त्रिसट्ठी १६३ बर्षेको इतिहास भएको लिवरल पार्टि अहिले इतिहासको गर्तमा विलिन छ ।
फेबुअरी २७, १९०० मा स्थापना भएको १२२ बर्षे लेबर पार्टि अहिले प्रमुख विपक्षी दलका रुपमा क्रियाशिल छ । लेबर पार्टिले बीसौं शताब्द्धीमा ७ पटक सत्ताको नेतृत्व गर्दा ५ जनाले प्रधानमन्त्रीको कार्यभार सम्हाले । त्यस्तै एक्काइसौं शताब्द्धीको शुरुवाती १० बर्ष सत्ताको नेतृत्व गरेको लेबरबाट दुईजना प्रधानमन्त्री भए । त्यसमा सन् १९९७ बाट सत्ताको नेतृत्व गरेका टोनी ब्लेयर दोहोरिएका थिए ।

आधुनिक राजनीतिक पार्टिहरु स्थापना भएपछि बेलायतको सत्ता धेरै पटक सम्हाल्न पाउनेमा कन्जरभेटिभ देखिन्छ । बीसौं शताब्द्धीभर १४ पटक सत्ताको नेतृत्व गर्दा ११ जना कन्जरभेटिभ नेताले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । त्यस्तै लिवरल दलबाट बीसौं शताब्द्धीमा ४ जना प्रधानमन्त्री भए । हुन त बेलायतमा प्रमुख दुई दल कन्जरभेटिभ र लेबर बाहेकका अरु पार्टि नभएका होइनन् । तर तिनीहरु जनमत प्राप्त गरेर अगाडि आउन सकेका छैनन् । लिवरल दलको आत्मा मिसिएको पार्टिका रुपमा ३४ बर्ष अगाडि सन् १९८८ मा स्थापना भएको लिवरल डेमोक्रेटिक पार्टि अहिले दुःखले तेस्रो दलमा कायम छ । अन्य पार्टिहरुको अवस्था नगन्य मानिन्छ । संयुक्त अधिराज्य बेलायतको सत्ता बागडोर १८८ बर्षको कन्जरभेटिभ पार्टि र १२२ बर्षको लेबर पार्टिकै वरिपरि एकसय बर्षदेखि घुमिरहेको छ ।
अमेरिकामा राजनीतिक दल
जुलाई ४, १७७६ मा अमेरिका स्वतन्त्र हुँदा राजनीतिक दल अस्तित्वमा थिएनन् । प्रान्तहरुबाट चुनिएका प्रतिनिधिहरुबाट गठित कन्फेडेरेसन कंग्रेसले नै विधायिका र कार्यकारीको काम गर्दथ्यो । जुन २१, १७८८ मा पारित भएर मार्च ४, १७८९ बाट संविधान कार्यान्वयनमा आएपछि राजनीतिक दलहरु अस्तित्वमा आए । सबैभन्दा पहिले सन् १७८९ मा द फेडेरलिस्ट पार्टि गठन भयो । त्यसपछि द डेमोक्रेटिक रिपब्लिकन पार्टि सन् १७९४ र १८२८ मा द डेमोक्रेटिक पार्टि अफ द युनाइटेड स्टेट, नेशनल रिपब्लिकन पाटि र एण्टी–मेसोनिक पार्टि तथा १८३४ मा द ह्विग पार्टि अफ युनाइटेट स्टेट गठन भए । मार्च २०, १८५४ मा आएर विभिन्न पाँच साना पार्टि मिलेर द रिपब्लिकन पार्टि स्थापना भएको थियो ।

अमेरिकाको जेठो पार्टि द फेडेरलिस्ट सन् १८०० को चुनावमा पराजयपछि उठ्न सकेन र कालान्तरमा विघटन भयो । द डेमोक्रेटिक रिपब्लिकन पार्टिले सन् १८०१ देखि १८२५ सम्म शासन गर्यो । अन्तमा आन्तरिक विवाद र विभाजनको शिकार भयो । द डेमोक्रेटिक रिपब्लिकन पार्टिका एन्ड्र्यु ज्याक्सन पक्षधरहरुले जनवरी ८, १८२८ मा द डेमोक्रेटिक पार्टि अफ द युनाइटेड स्टेट गठन गरे । जुन अहिले विश्वकै सबैभन्दा जेठो जीवित दलको रुपमा कृयाशिल छ । नेशनल रिपब्लिकन, एण्टी–मेसोनिक र द ह्विग पार्टि आन्तरिक विभाजन र विवादले कुनै विघटन भए । ह्विग रिपब्लिकनमा विलिय भयो ।
संविधानले पार्टिहरुका सम्बन्धमा प्रष्ट नबोले पनि अमेरिकामा दुई दलीय प्रणाली कायम छ । सन् १८५२ देखि डेमोक्रेटिक पार्टि र रिपब्लिकन पार्टिमध्ये एकले पालैपालो राष्ट्रपति निर्वाचन जित्दै आएका छन् । त्यस्तै संसदमा पनि सन् १८५६ पछाडि दुई दलकै आलोपालो बर्चस्व कायम हुँदै आएको छ । अमेरिकाको संविधान कार्यान्वयन भएको २३३ बर्षमा जर्ज वाशिङ्टन र जोन एडम्स् बाहेक यि दुई दलले नै शासन गर्दै आएका छन् भन्न सकिन्छ । अहिले १९४ बर्षको डेमोक्रेटिक पार्टि शासनमा र १६८ बर्षको रिपब्लिकन प्रतिपक्षमा छन् । दुई पार्टिको झण्डै दुईसय बर्षे शासनको विकल्प खोज्ने प्रयास पनि भइरहेका छन् । अमेरिकी समाज डेमोक्रेट र रिपब्लिकनमा अति ध्रुवीकृत भएकाले त्यसबाट बचाउन र निर्वाचन प्रणालीमा सुधार गर्ने भन्दै एन्ड्र्यू याङ र क्रिश्चियन टड ह्विटम्यानले अक्टोबर ५, २०२१ मा फरवाडी पार्टि गठन गरेका छन् । चाँडै अमेरिकी राजनीतिको केन्द्रमा फरवार्ड पुर्याउने भनेका छन् । तर अब पनि यो अवस्था फेरिएला भन्न गाह्रो छ ।

भारतमा राजनीतिक दल
वर्तमान भारतको जन्म हुनु ६२ बर्षअघि सन् १८८५ मा भारतीय राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । त्यस्तै २२ बर्ष अगाडि सन् १९२५ मा भारतीय कम्युनिष्ट पार्टि गठन भएको थियो । नोभेम्बर २६, १९४९ मा संविधान जारी भएपछि (अक्टोबर २५, १९५१ देखि फेबुअरी २१, १९५२) विभिन्न चरणमा भएको प्रथम आम निर्वाचनमा ५४ दलले भाग लिएका थिए । त्यसमध्ये राम्रो मत पाउने चार पार्टिमा दोस्रो भएको समाजवादी पार्टि र जनमतमा तेस्रो किसान मजदुर प्रजा पार्टि अहिले अस्तित्वमा छैनन् । चौथो बनेको कम्युनिष्ट पार्टिको अस्तित्व त छ तर साह्रै बुरा हालतमा छ । प्रथम आम निर्वाचनमा ४५ प्रतिशत लोकपृय मतसहित झण्डै ७३ प्रतिशत सिट जितेको कांग्रेसको हाल पनि उत्साहजनक छैन । सत्रौं लोकसभा निर्वाचन (अप्रिल ११ देखि मे १९, २०१९)मा खसेको मतको १९ दशमलब ४६ प्रतिशत मत पाएको भारतीय राष्ट्रिय कंग्रेस ५२ सिट(९.५४ प्रतिशत) लिएर दोस्रो स्थानमा खुम्चिएर बसेको छ । झण्डै विभिन्न असी दलले भाग लिएको निर्वाचनबाट कुनै नयाँ राष्ट्रिय दल बनेको वा अगाडि आएको देखिन्न । अप्रिल १६, १९८० मा स्थापना भएको भारतीय जनता पार्टि(भाजपा) लगातार दुई निर्वाचन जितेर सत्ताको चलाइरहेको छ । लोकपृय मत ३७ दशमलब ३० प्रतिशत पाएको भाजपा ३०३ सिट अर्थात संसद संख्याको ५५ दशमलब ५९ प्रतिशत होल्ड गरेर सत्तामा छ ।

भारतले स्वतन्त्रता प्राप्त गरेको ७५ बर्षमा ५४ बर्ष १४९ दिन कांग्रेसले सत्ता चलाएको देखिन्छ । लामो समय कांग्रेसको विकल्पमा प्रतिष्पर्धी राष्ट्रिय पार्टि निर्माण हुन सकेनन् । साना क्षेत्रीय दलहरु जनता पार्टि, जनता पार्टि (सेकुलर), जनता दल (नेशनल फ्रण्ट), समाजवादी जनता पार्टि (राष्ट्रिय) र जनता दल (युनाइटेड फ्रण्ट)ले आक्कल झुक्कलमा अवसर पाएका छन् । तर ति दलहरुले राष्ट्रिय हैसियत पाउन सकेको देखिन्न । क्षेत्रीय दलहरुले आजसम्म ५ बर्ष ३४७ दिन केन्द्रीय सत्ता सम्हालेको देखिन्छ ।
स्थापनाको १६ बर्षमा १६ दिनका लागि पहिलो पटक सत्तामा पगेको भाजपाले अर्को पटक सत्तामा पुग्न ६५६ दिन पर्खनु पर्यो । मार्च १३, १९९८ देखि अटल बिहारी बाजपेयी नेतृत्वमा ६ बर्ष ६४ दिन सत्ता चलाएको भाजपालाई फेर सत्तामा पुग्न १० बर्ष ४ दिन कुर्नु पर्यो । मे २६, २०१४ बाट शुरु भएको नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार अहिले आठौं बर्ष पुरा गरेर नवौंमा चलिरहेको छ । स्थापनाको ४२ बर्षमा भारतीय जनता पार्टिले आजका मितिसम्म १४ बर्ष ८ महिना शासन गरिसकेको छ । अठारौं लोकसभा निर्वाचनबाट पनि १३७ बर्षे कांग्रेस र ४२ बर्षे भाजपामध्ये कुनै एकको हातबाट सत्ता बाहिर जाने सम्भावना छैन ।
नेपालमा राजनीतिक दल
बेलायतमा राजनीतिक दल स्थापना भएको २५८ बर्ष पछाडि जुन २, १९३६ मा नेपाल प्रजा परिषद नामको राजनीतिक दल स्थापना भएको थियो । धर्मभक्त माथेमा र टङ्कप्रसाद आचार्यहरुले स्थापना गरेको प्रजा परिषद, सबैभन्दा पुरानो आधुनिक राजनीतिक पार्टि द डेमोक्रेटिक पार्टि अफ द युनाइटेड स्टेट भन्दा १०८ बर्ष कान्छो थियो । सन् १९४१ को हिउँदामा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई प्रजा परिषद मार्फत राणा शाही विरुद्ध कार्य गरेको अभियोगमा मृत्यु दण्ड र टङ्कप्रसाद आचार्य, गणेशमान सिंह लगायतलाई पक्राउ गरिएपछि प्रजा परिषद करिब विघटनको अवस्थामा पुग्न गयो ।

प्रजा परिषद गठन भएको दशबर्ष पछाडि जनवरी २५, १९४६ मा नेपाल राष्ट्रिय कांग्रेस नामको पार्टि नेपाललाई लक्षित गरेर तात्कालिन ब्रिटिस–इण्डियामा नेपालीहरुद्धारा स्थापना भएको थियो । नेपाल राष्ट्रिय कांग्रेस गठन भएको करिब २ बर्षपछि अगष्ट ४, १९४८ मा नेपाल प्रजातान्त्रिक कांग्रेस नामको अर्को राजनीतिक दल भारतमै गठन भएको थियो । त्यसको अर्को साल सेप्टेम्बर १५, १९४९ मा नेपाल कम्युनिष्ट पार्टि नामको राजनीतिक दल भारतमै स्थापना भएको थियो । श्री ३ राणाहरुको प्रधानमन्त्रीय पारिवारिक शासनको उत्तरार्ध चलिरहेको समय नेपालमा वाक तथा राजनीतिक स्वतन्त्रता आपेक्षा बाहिरको कुरा थियो । विश्वभरि खुला राजनीतिक व्यवस्था र एकदलीय कम्युनिष्ट क्रान्तिको ह्वीम चलेको समय राजनीतिमा चासो राख्ने शिक्षित युवा पुस्ता त्यसबाट अछुतो थिएनन् । कतिलाई नेपालको राणा शासन हटाएर राजा सहितको प्रजातन्त्र स्थापना गर्नु थियो भने कतिलाई साम्यवादी क्रान्ति सम्पन्न गर्नु थियो । विभिन्न कारणले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेका दलहरुको कार्यक्षेत्र नेपाल थियो । तिनीहरुले विस्तारै राणा विरुद्ध जनताका कान सञ्चार गर्न थाले ।

नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर अप्रिल ९, १९५० मा नेपाली कांग्रेस पार्टि कलकत्तमा स्थापना भयो । त्यसपछि नेपाली कांग्रेसले भारतीय सहयोगमा राणा शासन हटाउन सशस्त्र संघर्ष शुरु गर्यो । सशस्त्र संघर्ष चर्किँदै जाँदा भारत सरकार, राणा पक्ष र कांग्रेसको दिल्लीमा छलफल पश्चात दिल्ली सम्झौताद्धारा नेपालमा १०४ बर्षे राणा शासन २००७ फागुन ७ गते अन्त्य गरियो । राण शासनको अन्त्यपछि नेपालको सरकारमा कांग्रेस र भारतले प्रवेश पाए । आम निर्वाचनबाट नयाँ सरकार गठन हुनुअघि संक्रमणकालिन समयमा नेपाली कांग्रेसले १ बर्ष २८४ दिन, राणाले २७० दिन, त्रिभूवन र महेन्द्र राजाले १ बर्ष २२८ दिन, राष्ट्रिय प्रजा पार्टिले १ बर्ष ३०६ दिन, नेपाल प्रजा परिषदले १ बर्ष १८१ दिन र संयुक्त प्रजातान्त्रिक पार्टिले २९३ दिन सरकारको नेतृत्व गरेका थिए । कांग्रेस नेता मातृकाप्रसाद कोइराला दोश्रो पटक प्रधानमन्त्री राष्ट्रिय प्रजा पार्टिबाट बनेका थिए ।
फेबुअरी १८, देखि अप्रिल ३, १९५९ (वि.सं. २०१५ फागुन ७ देखि २०१५ चैत्र २१)मा सम्पन्न प्रथम आम निर्वाचनबाट नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाएको थियो । जम्मा १०९ सिटमध्ये ७४ स्थान जितेको नेपाली कांग्रेसका नेता विशेश्वरप्रसाद कोइराला २०१६ जेठ १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले १ बर्ष २०३ दिन सरकारको नेतृत्व गरे । वि.सं. २०१७ पुष १ गते राजा महेन्द्रबाट कोइरालालाई प्रधानमन्त्रीबाट हटाइ राजनीतिक बन्दी बनाइएको थियो । त्यसपछि २९ बर्ष निर्दलीय व्यवस्था कायम रह्यो । प्रथम महानिर्वाचनमा नौवटा पार्टिले भाग लिएका थिए । जसमा नेपाली कांग्रेस पहिलो, नेपाल राष्ट्रवादी गोर्खा परिषद दोश्रो, संयुक्त प्रजातन्त्र पार्टि तेस्रो र नेपाल कम्युनिष्ट पार्टि चौथो भएका थिए । त्यसैगरी प्रजा परिषदका दुई घटकमध्ये आचार्यले २ र मिश्रले १ सिट ल्याएका थिए । ति नौ दलमध्ये कांग्रेस र कम्युनिष्ट बाहेकका अरु दल इतिहासको पानामा सिमित भइसकेका छन् ।
पञ्चयात अन्त्य पछाडि
बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात २०४८ बैशाख २९ गते सम्पन्न आम–निर्वाचनमा १८ वटा दलले भाग लिएका थिए । त्यसमध्ये आठ वटा दल मात्रै स्थान हासिँल गर्न सफल भए । वि.सं. २०५१ कार्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा झण्डै दुई दर्जन दल सहभागि थिए तर त्यसमा पाँच वटा दल मात्रै सिट हासिल गर्न सफल भए । राष्ट्रिय प्रजातन्त्र पार्टिले उल्लेख्य सुधार गरे पनि अरु साना दलहरुले राम्रो गर्न सकेनन् । प्रमुख दलका रुपमा नेपाल कम्युनिष्ट पार्टि (एमाले) र नेपाली कांग्रेस नै स्थापित भए । अझ २०५६ बैशाख २० र जेष्ठ ३ मा सम्पन्न आम निर्वाचनमा सहभागी दलको संख्या स्वाट्टै घट्न गयो । सहभागी नौ दलमध्ये सात दलले स्थान ल्याउन सफल भए तर साना दलहरुको अवस्था सुधार भएन । अधिल्लो निर्वाचनहरुमा जस्तै कांग्रेस र एमाले नै ठूला दल भए । ऐतिहासिक संविधानसभा निर्वाचन, २०६४ मा ७४ वटा पार्टिहरु निर्वाचनमा सहभागी भएका थिए । सिट संख्या बढाएर ६०१ पुर्याइनु, समानुपातिक निर्वाचन प्रणाली समेत अवलम्वन गर्नुले यो निर्वाचनमा अघिल्ला निर्वाचनहरुमा भन्दा धेरै दलले संसदमा पुग्न पाए । प्रथम संविधानसभामा पच्चीस दलको प्रतिनिधित्व थियो । अझ रोचक कुरा त भरखरै सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टि(माओवादी) २२९ सिट सहित पहिलो दल हुन पुग्यो । नेपाली कांग्रेस र नेकपा (एमाले) ११५ र १०८ सिटसहित दोश्रो तथा तेश्रो हुन पुगे । त्यस्तै ५४ सिप प्राप्त गरेको मधेसी जनअधिकार फोरम र २१ सिट पाएको तराई मधेश लोकतान्त्रिक पार्टि जस्ता नयाँ क्षेत्रीय दल चौथो र पाँचौं हुन आइपुगे । यो निर्वाचनको नतिजा एक राजनीतिक उथलपुथल नै थियो ।
२०७० मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा १२० बढी दलहरु सहभागी थिए । तर ३० वटा दल मात्रै सिट जित्न सफल भए त्यसमा पनि आठ वटा दलले मात्रै दोहोरो अङ्कमा सिट ल्याए । रोचक कुरा त अघिल्लो निर्वाचनको दोश्रो पार्टि नेपाली कांग्रेस पहिलो, तेस्रो स्थानमा रहेको नेकपा (एमाले) दोस्रो र पहिलो स्थानमा रहेको एकीकृत नेकपा (माओवादी) तेस्रो हुन गयो । चौथो, पाँचौं र छैटौंमा क्रमश ः राप्रपा, नेपाल, फोरम लोकतान्त्रिक र राप्रपा हुन पुगे । अघिल्लो चुनावमा चौथो स्थानमा रहेको मधेसी जनअधिकार फोरम, नेपाल सातौं हुन पुग्यो । नयाँ संविधान जारी भएपछिको प्रथम आम–निर्वाचन, २०७४ मा पुरानै दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । चौथो र पाँचौं मधेसवादी दलहरु रहे । क्षेत्रीय र साना दलको प्रगति यसमा पनि देखिएन । गठबन्धन गरेर ठूला दलहरु चुनाव लडेकाले वास्तविक ट्रेण्ड पत्ता लगाउन कठिन पनि रह्यो । त्यस्तै आश्चर्यजनक ढङ्गले राष्ट्रिय प्रजातन्त्र पार्टिले उक्त निर्वाचन भोट पाएन ।
नेपालमा क्रियाशिल राजनीतिक दल
नेपालमा क्रियाशिल रहेका प्रमुख पार्टिहरुमा नेपाल कम्युनिष्ट पार्टि (एमाले), नेपाली कांग्रेस (नेका), नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टि(राप्रपा) र जनता समाजवादी पार्टि (राजपा)हरु नै हुन् । त्यस बाहेक लोकतान्त्रिक समाजवादी पार्टि (लोसपा), राष्ट्रिय जनमुक्ति पार्टि, जनमोर्चा लगायतका पुराना तथा नयाँ दलहरु पनि त्रियाशिल छन् । निर्वाचनमा प्राप्त जनमतको टे«ण्ड हेर्दा मतदाताको विश्वास पुराना साना दल र नयाँ दलप्रति बढेको देखिँदैन । अप्रिल ९, १९५० मा दुई कांग्रेस पार्टि मर्ज भएर बनेको ७२ बर्षको दल नेपाली कांग्रेसको स्थिर मत निरञ्तर कायम देखिन्छ । डिसेम्बर २६, १९७८ मा संगठित ४४ बर्षको नेपाल कम्युनिष्ट पार्टि (एमाले)को मत थोरै बृद्धिसहित निरञ्तर स्थिर नै देखिन्छ । २०४८ बैशाख २९ गते सम्पन्न आम–निर्वाचन यता कांग्रेस र एमालेको मत प्रतिशतमा धेरै तलमाथि भएको देखिन्न ।
सन् १९९४ मा गठित २८ बर्षको दल माओवादी केन्द्रको मत भने पछिल्लो तीन निर्वाचनमा घट्दै गएको देखिन्छ । संविधानसभा निर्वाचन, २०६४ मा पहिलो बनेको यो पार्टि दोश्रो संविधानसभा निर्वाचन, २०७० तेश्रो हुन पुग्यो । हाल कांग्रेसको सहयोगीका रुपमा क्रियाशिल माओवादी केन्द्रले गठबन्धनको घटक भएर चुनाव लड्दै आएकाले वास्तविक कति मत घटेको भन्ने एकीन छैन । तथापि निरञ्तर जनमत घटेकोमा सबै सहमत भेटिन्छन् । परम्परागत संवद्र्धनवादी राजनीतिक मुद्दा बोक्ने राप्रपाको मत उल्लेख्य मात्रामा अस्थिर देखिन्छ । कहिले अवस्था केही सुधार भएको त, कहिले सर्लक्कै घटेको देखिन्छ । मधेसवादी दलको पहिचान बनाएका जसपा, लोसपा, सद्भावना जस्ता पार्टिको मत २०६४ को तुलनामा २०७० पछि निरञ्तर घट्दो छ । ति दलका नेता स्वयम् आफ्नो राजनीतिक भविश्य देखिरहेका छैनन् र दल अदलबदल छ । नेपाल मजदुर किसान पार्टि (नेमकिपा), राष्ट्रिय जनमुक्ति पार्टि (जनमुक्ति), राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल कम्युनिष्ट पार्टि (माले) जस्ता पुराना साना पार्टिहरुको प्रत्येक निर्वाचनमा अस्तित्व बचाउनै धौधौ देखिन्छन् । वैबल्पिक राजनीतिक पार्टि निर्माण गर्ने भन्दै गठन भएका दलहरु गत निर्वाचनमा खराब पराजय भोगपछि तितरबितर छन् ।
निश्कर्ष :
अमेरिकाले राष्ट्रपतीय प्रणाली अपनाएको २३३ बर्ष भयो । विगत १७० बर्षदेखि डेमोक्रेट र रिपब्लिकनको आलोपालो शासन चल्दै आएको छ । डेमोक्रेट नेता फ्र्याङ्कलिन पियर्स (मार्च ४, १८५३–मार्च ४, १८५७) राष्ट्रपति निर्वाचित भएयता यो निरञ्तर जारी छ । यो अवधिमा ३३ जना राष्ट्रपति भइसके । राजतन्त्रसहित संसदीय प्रजातन्त्र अपनाएको बेलायतमा राजनीतिक पार्टिले सत्ताको नेतृत्व गरेको ३४४ बर्ष भइसक्यो । सन् १६७८ मा टोरी र ह्विग दल स्थापना भए । शुरुदेखि दुई दलीय प्रणाली अपनाएको बेलायतमा अपवाद बाहेक तिनै टोरी र ह्विग पार्टिका नेताले १८० बर्ष सरकारको नेतृत्व गरे । सन् १८३४ मा टोरी कन्जरभेटिभ पार्टिमा रुपान्तरण भयो भने ह्विगहरु १८५९ मा लिवरल पार्टिमा मर्ज भए । फ्रेबुअरी २०, १८५८ मा कन्जरभेटिभ नेता इडवार्ड स्मिथ स्टेन्ली प्रधानमन्त्री नियुक्ति भएदेखि अक्टोबर १९, १९२२ मा लिवरल पार्टिका नेता डेविड लियोड जर्जले प्रधानमन्त्रीबाट अवकास नपाएसम्म ६४ बर्ष दुई दलको आलोपालो चल्यो । कन्जरभेटिभ नेता बोनार ल अक्टोबर २३, १९२२ मा बेलायतको प्रधानमन्त्री नियुक्त भएदेखि १०० बर्षको बीचमा लेबर पार्टि र कन्जरभेटिभ पार्टिले आलोपालो सरकारको नेतृत्व गरिआएका छन् । अहिले कन्जरभेटिभ पार्टिका नेता ऋृषि सुनक प्रधानमन्त्री छन् ।
संसदीय प्रणाली अपनाएको भारतमा लामो समय भारतीय राष्ट्रिय कांग्रेसको प्रतिष्पर्धी पार्टि खडा हुनै सकेन । स्वतन्त्राको ७५ बर्षमा कांग्रेसले ५४ बर्ष १४९ दिन शासन गरेको छ । छोटो समय विभिन्न साना दलहरु जस्तै जनता पार्टि, जनता पार्टि (सेकुलर), जनता दल (नेशनल फ्रण्ट), समाजवादी जनता पार्टि (राष्ट्रिय) र जनता दल (युनाइटेड फ्रण्ट)ले सत्ता नेतृत्वको अवसर पाए र करिब ६ बर्ष केन्द्रीय सत्ता सम्हाले तर राष्ट्रिय प्रतिष्पर्धी हुन सकेनन् । स्थापनाको १६ बर्ष पछाडि भारतीय जनता पार्टि मे १६, १९९६ मा सत्ताको नेतृत्वमा पुगेको थियो । चारपटक सत्ता नेतृत्वमा पुगेको भाजपाले पार्टि गठनको ४२ बर्षमा करिब १५ बर्ष शासन गरिसकेको छ । अहिले भाजपा नेता नरेन्द्र दामोदर मोदी प्रधानमन्त्रीको दोश्रो कार्यकाल सम्हालि रहेका छन् । देशकै पुरानो पार्टि कांग्रेस करिब नौ बर्षदेखि सत्ता बाहिर छ । भाजपा सशक्त राष्ट्रिय पार्टिका रुपमा स्थापित भएको छ । आउने अठारौं लोकसभा निर्वाचनबाट पनि कांग्रेस र भाजपामध्ये कुनै एकको हातबाट सत्ता बाहिर जाने सम्भावना छैन । भारतको केन्द्रीय राजनीति भाजपा भर्सेस कांग्रेस भएको छ ।

भारत जस्तै नेपालले संसदीय प्रणाली अपनाएको छ । वि.सं. २०१५ साल फागुन–चैत्रमा सम्पन्न प्रथम आम–निर्वाचनमा बाहेक नेपालका प्रमुख प्रतिस्पर्धी पार्टि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टि नै रहँदै आएका छन् । उनान्तीस बर्षको पञ्चयाती व्यवस्थामा त्रिभूवन विश्वविद्यायलयले गराउने स्वतन्त्र विद्यार्थी युनियन चुनावमा समेत कांग्रेस र कम्युनिष्टकै प्रतिस्पर्धा हुने गर्दथ्यो । वि.सं. २०४६ चैत्र २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात भएका चारवटा आम निर्वाचन, दुईवटा संविधानसभा र तीनवटा स्थानीय चुनावमा कांग्रेस–कम्युनिष्ट नै मुख्य प्रतिस्पर्धी देखिएका छन् । संविधानसभा निर्वाचन, २०६४ बाहेक सबै निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टि (एमाले) अन्य दलभन्दा ठूलो मतान्तर सहित पहिलो र दोश्रो हुँदै आएका छन् । दोश्रो संविधानसभा निर्वाचनदेखि नेकपा(माओवादी–केन्द्र) र मधेसवादी क्षेत्रीय दलको जनमत निरञ्तर घटेको देखिन्छ । अन्य दलसँगको गठबन्धन र मिश्रित निर्वाचन प्रणालीका कारण उनीहरु राष्ट्रिय दल कायम छन् । वैकल्पिक शक्ति निर्माण गर्ने भनेर स्थापना भएका पार्टिहरु जनमत नपाउँदा विघटनको संघारमा देखिन्छन् । सम्वद्र्धनवादी शक्तिहरुले कतिको उभार ल्याउने छन् भन्ने भविश्यकै गर्भमा छ । पार्टिहरु गठबन्धन नगरी एकल एकल निर्वाचनमा गए कांग्रेस र एमाले सधैं प्रमुख दलका रुपमा रहने दुई दलीय प्रणाली तिर नेपालको राजनीति जाने देखिन्छ । दलहरु उमेरले नभइ अजेण्डाले युहा हुन्छन् ।

Saturday, August 22, 2020

कुलुङ भाषाका दुई प्रकार

सिएम खम्बू (साम्पाहो-सिरिहो)

दुई प्रकारले प्रयोग हुने भाषालाई अङ्ग्रेजीमा ‘डाइग्लोसिया’ (Diglossia) अर्थात द्वैरूपायित/दोहोरो भाषा भनिन्छ। यस्ता किसिमले प्रयोग हुने भाषा विश्वमा कतिपय भाषिक समूहमा पाइने गरेको बारे भाषा विज्ञानको Bidialectalism मा वर्णन गरेको पाइन्छ। उदाहरणका लागि; एउटै भाषिक समुदायमा द्वैरूपायित भाषा (Diglossic language) प्रयोग गर्ने भाषाहरू मध्ये ग्रिसेली भाषामा classical Greek- ‘Katharevusa’ काथारेवुसा भाषिकालाई सम्मानित भाषिका (Prestige dialect) को रूपमा ‘High variety’ मान्छन् भने प्रचलित ‘Demotic’ डेमोटिक भाषिकालाई Low variety को रूपमा प्रचलन गरेकाछन्।

भारतीय सन्दर्भमा; तामिल भाषाको ‘सेन्टामिज’ भाषिकालाई सम्मानित (H/variety) भाषिका र प्रचलित ‘कोतुन्तामिज’ भाषिकालाई (L/variety) को रूपमा प्रयोग गर्छन्। उसै गरी, बङ्गाली भाषाको ‘साधु’ भाषिकालाई सम्मानित (H/variety) भाषा र प्रचलित ‘चोलित’ भाषिकालाई (L/variety) भाषाको रूपमा प्रयोग गर्छन्। यस्तो चलन हरेक भाषामा हुँदैन।

वस्तुतः कुलुङ समुदायको भाषा प्रयोगमा पनि दुई प्रकारको भाषा प्रयोग हुने चलन चल्ति हुनाले यो भाषा द्वैरूपायित (Diaglossic) भाषा भनी ठहर गर्न सक्छौं। साँस्कृतिक भाषिका (Classical dialect) अर्थात, मुन्दुमी भाषा (सुम् रिङ/दप्सरिङ) कुनै पनि सम्मानित तथा साँस्कृतिक कार्यहरू; देदाम, नागीपूजा, विहे बटुल, मरौ-परौ, सेलेवा, मोबो, आरावा, छेक्छेवा तथा पितृ शुद्धि कार्य जस्ता सम्मानित कार्यहरूमा बिजुवा (मोप्/नोक्छो/सातिपुस् इत्यादि) तथा बुढौली (साकुम्बु)द्वारा छुट्टै भाषिका प्रयोग गर्ने गर्छन् भने सामान्य चलन-चल्तिमा छुट्टै साधारण भाषा (नरिङ/इरिङ) भनेर प्रयोग गर्छन्। उदाहरणः

*(एकरूक्त दप्सरिङ)*

(क) नेपाली (सम्पर्क भाषा)
(ख) नरिङ/इरिङ (चल्ति कुलुङ भाषा)
(ग) सुम् रिङ/दप्सरिङ (सांस्कृतिक कुलुङ भाषा)

1.(क)पानी=(ख)काउ=(ग)सुबुवा,
2.(क)बतास= (ख)हिक्=(ग)कुहुमा,
३(क)घर=(ख)खिम=(ग) खुवागो,
४(क)गाई-गोरू=(ख)पिः= (ग)हादि ,
५(क)भैंसी=(ख)मेस्= (ग)बारा,
६(क)भेंडा=(ख)लुस् =(ग)गोदिलिङसा,
७(क)बाख्रा=(ख)छारा=(ग)साप्दोसा,
८(क)सुङ्गुर=(ख)भो=(ग)छोबो,
९(क)कुख्रा=(ख)वा=(ग)पोवा,
१०(क)मृग=(ख)खिस=(ग)चकेसा,
११(क)दुम्सि=(ख)खास=(ग)मोदिसा,
१२(क)झारल=(ख)यास्=(ग)दार्तोसा,
१३(क)भालू=(ख)मोक्स्=(ग)बुयेम्,
१४(क)कालिज=(ख)तूउ=(ग)सिलाङ्वा,
१५(क)चिभे=(ख)चासकुउ=(ग)खोसोवा,
१६(क)पदुवा चरा=(ख)चिपुर्के=(ग)चिन्चोलागालि,
१७(क)चामल=(ख)सेर=(ग)हमेल्कुचाम्,
१८(क)रोटी=(ख)सबेइ=(ग)फुम्बाचाम्,
१९(क)डालो=(ख)बुखो=(ग)मिरिखोङ,
२०(क)मकै=(ख)खोबप्=(ग)दोकोसिजा,
२१(क)कोदो=(ख)लिस्=(ग)बामुसिजा,
२२(क)कागुनी=(ख) पेस्=(ग)कुक्सुम्मेजा,
२३(क)फाफर=(ख)भाम्=(ग)दुम्दुसिजा,
२४(क)गहूँ=(ख)दोचेर=(ग)मेलेलेम्जा,
२५(क)उवा=(ख)जेउ=(ग)थुर्सुलाजा,
२६(क)सकरकन्द=(ख)पाल्कोक्ति=(ग)पेल्मुलाजा,
२७(क)पिंडालु= (ख)योक्सि=(ग)खिम्तोलाजा २८(क)हँसिया=(ख)बेलो=(ग)सिकिसेल्। इत्यादि।

*द्वैरूक्त दप्स् रिङ* *(Reduplicative)*
१(दप्स्निङ) २(चल्ति)
३(सम्पर्क)

(क)1.याताला-योम्ला= -2.लिङोक्सि -3.केरा 

(ख)1.छेचिलि-खेरिलि= -2.बुर् -3.हिमाल -

(ग)1.मिलिलिङमा-लिङमाबउ= -2.वाबम् -3.चिण्डो,

(घ)1.सोमोलाबुर-मचिलाबुर= -2.सोमोरि -3.व्यथा,
(ङ)1.सुप्तुलुङ- थुङमालुङ= -2.सुक्तुलुङ -3.चुल्हा,
(च)1.पोसिलिङ्खो -निनैखोङ= -2.साल्खोङ-3.काठको आरी,
(छ)1.सुबुयुङ्मा-युङमाबउ= -2.कलवा -3.लोटा,
(ज)1.पोवादाम्-लोलिबुङ= -2.वादि -3.अण्डा,
(झ)1.ङायाङ्मा-फोयोङ्मा= -2.ङा -3.माछा,
(ञ)1.खोङ्मे-बेङ्मे= -2.लु -3.पाहा,
(ट)1.चउतुखेर्-लुम्तुखेर= -2.चउ-लुम खेर -3.मुटु-कलेजो दुख्ने बिमार,
(ठ)1.सानिनाम्रे-नाम्रे नना= -2.सानिवा नतो -3.राम्रो भावनाले। इत्यादि।

द्वैरूपायित भाषा (Diglossia) प्रणाली अन्तर्गत कुलुङको मौलिक चलन-चल्तीमा फूलनाम (Hypocoronym) मानिस तथा स्थानको ‘चार दप्स्निङ’ (Toponym) को नामाकरण गर्ने प्रथा रहीआएको हो। यी दुई अवस्थाका नाम निम्न स्थितिमा सिर्जना गरिन्थ्यो।

*फूलनाम (बुङनिङ) Hypocoronym:*

कुलुङ समाजमा पूर्व प्रथा अनुसार न्वारानको नाम बाहेक फूल नाम भनेर वैकल्पिक नाम लगाउने चलन रहेको थियो। वयस्क उमेरमा आए पछि तरूणी-तन्देरीहरू घाँस-दाउरा, गोठाला-खेताला तथा हुरी पर्म-पातमा भेला भएर एकार्कामा फूल नाम लगाउने प्रथा रहेको थियो। विशेष पर्म-पात र हुरी खेतालाहरूमा ‘दम्के जुवारी’ खेल्ने प्रथा रहेको थियो भने जुवारी बीच एकार्कामा सदाशयका साथ छेडखानी तथा फूल नाम लगाउने जस्ता प्रथाले आत्मीय निकटता ल्याउने वातावरण तयार हुन्थ्यो। फूलनाम लागाउनुलाई स्वभाषामा ‘बुङनिङ तिःलम्’ भनिन्थ्यो। उदाहरणः

*केटाः केटीः*
-निस्मारे -बोल्मारी
-मेक्मारे -गम्मारी
-जल्मारे -चान्मारी
-सिरन्ते -मलन्ती
-रिमन्ते -रिमन्ती
-मलिन्ते -सिरन्ती
-झिलमे -घारिम
-रसमे -रिसम
-हासिमे -हासनी
-मारिमे -खेलनी
-रिजमे -दिलनी
-छाक्किमे -छप्कनी। इत्यादि।

तरूणी-तन्देरी बीच आफूले तयार गरेको हस्तकौशल सीपलाई साटासाट गर्ने चलन मध्ये केटाद्वारा तयार गरिएको सीपहरूमा बुट्टादार मुर्चुङ्गा, बिनायोको खोल, खुर्पाको दाप, काँगियो, जगरको कुची, बरिया नाम्लो हुने गर्थ्यो भने केटीले तयार गरेको सीपहरूमा सुनाखरी जडित सेक्मारी फुर्का, बुट्टे गाम्सा, बुट्टे रुमाल, बुट्टे झोली, ऊनी टोपी जस्ता चिनोहरू साटासाट गर्थे। एकार्काको सीप र लग-चलनको आकर्षणमा सामाजिक छुट अनुसार प्रेम प्रस्ताव राख्ने सम्मको जमर्को हुन्थ्यो भने आपस्तको हार्दिक सहमति रहे भगाएर विवाह गर्न सम्म तयार रहन्थे। त्यसलाई चोरी विवाह भनिन्थ्यो।

*चार दप्स्निङ (Toponym):*

कुनै पनि सम्मानित तथा साँस्कृतिक कार्य सम्पन्न गरिँदा आफू बस्ने भूमिको नाम पनि आफ्नै भाषामा पुकार्नु पर्ने चलन रहेकोले बुढा-पाका (साकुम्बु) द्वारा जमघटको समय आफ्नो गाउँको स्थिति, इतिहास र भौगलिक पिरिवेश हेरेर पुकार्ने नामलाई ‘चार दप्सनिङ’ भनिन्थ्यो। विशेषतः भूमे पूजा, देवी तथा शिकारी पूजा गरिँदा अनिवार्य आफ्नो भाषामा भूमिको नाम पुकार्नु पर्ने हुँदा आफ्नै भाषिक समुदाय भित्रको सीमित प्रयोगमा भूमिको दपस्निङ लगाइन्थ्यो।

1.सिक्किम/सुक्खिम -(साम्पाहो-सिरिहो),
2.संघनाथ -(आल्मारी-लुङचारी),
3.तिन्किताम -(साप्तोवा-तुतोवा),
4.ओम्चु -(वापुदो-छेर्कुम्दो),
5.नन्दुगाउँ -(नागाहो तेल्तु, लाप्चाहो चारीकु),
6.दार्जीलिङ -(वालिखा-सान्मा; सापिखा-बिरिखा)
7.गुरुबथान -(गोनुबु-रिङमुने; छाप्कुवा-रुथोमा),
8.मधेश-तराइ/ भारत -(बाजुहो-थारूहो),
9.वल्लो किराँत -(लोङ्लेहो-पाताहो),
10.दोक्बेवा -(छिङ्खोवा-रिमुवा),
11.छिङ्खा -(चेखोङ्सा-खोङ्दोक्सा),
12.याफ -(तमुवा-रिमुवा)
13.कुलुङ भोजपुर -(वापोसा-फिवोसा),
14.अरूण खोला पारी, माझी गाँउ -(सलाम्हो-पेन्दाम्हो),
15.तुम्लिङ टार -(खादीहो-युप्युहो),
16.धरान -(नेवाखा-निम्तुखा; देवादो-दोनिदो)
17.काठमाडौ -(येलाखोम्- चारिकुउ फोलोङमा),
18.छेम्सिङ -(छेम्दो- मुयुगो),
19.छेस्काम -(ताम्दो-दुबेगो),
20.गुदेल -(लामाकुउ-चारिकुउ),
21.पिल्मोङ -(सापिल्मो-पिल्मोदो; देवादो-रिङ्मुदो),
22.सोताङ -(सोन्दोरो-दोरोखा),

23.चाचालुङ -(सुम्बुवा-बालाम्वा),

24.नाम्लुङ -(वास्दोवा-चारिकुउ) इत्यादि।

Tuesday, August 18, 2020

किराँतहरु सम्बन्धमा केही कुरा

आरडी कुलुङ

किराँत को हुन् ? को होइनन् ? भन्ने विषयमा लामो समयदेखि केही बहस हुँदै आएको देखिन्छ । कतिले किराँतलाई एउटा वृहत्तर सभ्यताका रुपमा लिने गरेका छन् । कतिले एक सिमित समुदाय वा जातिका रुपमा मात्रै । पछिल्लो अढाइ दशकामा किराँत एउटा राजनीतिक पदावलिका रुपमा पनि बहसमा छ । नेपालको इतिहासमा किराँत एक प्राचीन शासक वंश पनि हो । गोपाल र महिषपाल पछाडि शासन गर्ने शासक किराँत वंशका थिए । किराँत वंशका ३२ पुस्ताले १६०० बर्ष नेपाल (काठमाडौं पउत्यका)मा शासन गरेको इतिहासकारहरुले लेख्दै आएका छन् । अध्ययनले देखाउँछ कि तेश्रो शाताब्द्धीमा लिच्छवीहरुद्धारा पराजित नभइन्जेल २९ जना किराँत वंशका राजाले नेपालमा शासन गरेका गरेका थिए । वर्तमानमा नेपाल र भारतको ठूलो समुदायले आफूलाई किरातका रुपमा स्वीकार्दछन् । त्यस भित्र अनेकौं आदिवासी समुदायहरु समाहित छन् । किरात एक वृहत्तर पहिचान र सभ्यता सूचक शब्द्धका रुपमा रहेको छ । 

मिथक र इतिहास फरक कुरा हुन् । तर कहिलेकाहीँ मिथक र इतिहासलाई सर्लकक छुट्याएर हेर्न सकिन्न । ठोस प्रमाणहरु उपलब्ध नभएको अवस्थामा इतिहास र मिथक मिसिन पुग्छन् । किराँतहरु दक्षिण एसियाका प्राचीन आदिवासी हुन् भन्नेमा विवाद छैन । यद्यपि उनीहरुको प्राचीनत्व एवं् सभ्यताका संवन्धमा चर्चा गर्दा ठोस प्रमाणको अभाव छ । त्यसैले प्राचीन ग्रहन्थहरु वेद, पुराण, काव्य कृति र लोककथाहरुको सहारा लिनु परेको अवस्था छ । किरातहरुको मात्रै नभएर विश्वका अन्य सभ्यताहरुले पनि यस्तो गरेको पाइन्छ । किरातहरुका सम्बन्धमा उल्लेखित श्रोतहरुलाई आधार लिँदै गरिएको अध्यनको यो लेखमा केही चर्चा गर्ने प्रयास गरिएको छ । 

वेद, पुराण र इतिहासमा किराँतहरु :

प्राचीन भारतीय, ग्रीक तथा रोमन साहित्यमा उल्लेख गरिएको आदिम जातिहरुमा किराँतले मुख्य स्थान ओगटेको छ । प्राचीन समयका लेखक, भूगोलशास्त्री र इतिहासकारले भारतवषर््ाका तात्कालिन जातिहरुको विषयमा जे जति लेखेका छन् त्यसमा किरातहरुलाई ठूलो महत्व दिएका छन् । हिमालय दक्षिण र भारतका पार्वतीय इलाका, जंगल एवं गंगा नदीको तट, मुहान, उपत्यका एवं हिमाली तथा निम्न हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जातिहरुमध्ये किरातहरु मुख्य थिए (सिंह, १९९०) । सिंहले लेखेका छन – वैदिक कालपूर्वदेखि सातौं शताब्दीबीच प्राचीन समयको सबैभन्दा ठूलो आदिवासी जाति किरातहरु नै थिए । गंगा नदीको मैदानी भागबाट उत्तर र पूर्वी हिमालय क्षेत्रको गुफा एवं् पर्वत क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका आदिवासीहरुलाई वैदिक कालमा भारतवर्षमा प्रवेश गरेका आर्यहरुले पहिलो पटक ‘किरात’ नामले सम्बोधन गरेका थिए । 

वाल्मिकी रामायणको किष्किन्धा काण्डमा ‘किरातहरु टापुमा बसोबास गर्ने, काँचो मासु खाने र उग्र स्वभावका थिए’ भनिएको छ । रामायण अनुसार किरातहरु प्राचीन आसामका आदिवासीहरु थिए र जो जंगलको गुफा तथा पूर्व वंगालसम्म फैलिएको समूद्र किनारको दलदले भूमिमा बस्थे । उनीहरु स्वर्णिम रङ भएका, साहसी, एकै ठाउँमा बसोबास नगर्ने, नरभक्षी र तीखो तीखो कपाल भएका सुन्दर मोहडाका थिए । किराँतहरु धेरै अघिदेखि ब्रह्मापुत्र (लौहित्य) नदीको दुबै किनारामा बसोबास गर्दथे (सिंह, पृ.५१) । किराँतहरु ब्रह्मापुत्र (लौहित्य) नदीको दुबै किनारामा बसोबास गर्थे भन्ने कुरा कुलुङ समुदायमा प्रचलित किरात उत्पत्तिको मिथकसँग मिल्दो देखिन्छ । कुलुङ लोक कथामा किराँतहरुको उत्पत्ति समुद्र र जमिनको मिलन हुने ठाउँ मिनापोङ्खो हाल्कुम्बुमा भएको थियो । एसके चटर्जीले ‘किरात जन कृति’ मा लेखेका छन् ‘ख्रृष्टपूर्व ५०० वर्ष ४०० इश्वीबीच महाभारत र रामायण रचना कालमा किरातहरुले हिमालयको सम्पूर्ण दक्षिण भाग, पुरै उत्तर पूर्वी भारत, नेपाल नजिक विहार र गंगाको उत्तरी क्षेत्र तथा वङ्गालको खाडिमाथि गंगा बग्ने क्षेत्र लगायत बङ्गाल र असामको क्षेत्र किरातले ओगटेका थिए ।’ चटर्जी थप्छन् – यसको अतिरक्ति ख्रृष्टपूर्व १००० वर्षतिर उत्तर भारत, नेपाल उपत्यका, सिक्किम, भूटान र तल्लो हिमाली क्षेत्रका पश्चिम गडवाल, कुमाउ, सतलज र यसबीचका पहाडी खण्डमा किरातहरु बस्दथे (ऐजन, पृ.१०३) ।

आर्यहरु आउनु अघि किरातहरु भारतीय उपमहाद्धीपका मूल बासिन्दा थिए । किरात शब्द्धको पहिलो प्रयोग ऋृग्वेदमा गरिएको इतिहासकारहरु बताउँछन् । तर मन्त्रहरुमा भने ‘किलात’ शब्द्ध उल्लेख भएको पाइन्छ । यजुर्वेदमा भने किरात नै लेखिएको पाइन्छ । डा. स्वामी प्रपन्नचार्यका अनुसार ‘किरात’ शब्द्ध प्रकृत भाषाको किर र अत मिलेर बनेको हो । किर को अर्थ समुद्रपर्यन्त भूभाग र अत को अर्थ निरञ्तर गमन गर्नु हो । अर्थात समुद्रबाट हिमालय(नेपालसमेत)सम्मको भूभागमा निरञ्तर गमन वा विचरण गर्नेहरु नै किरात हुन् । प्रपन्नचार्यले  लेखेका छन कि ‘नेपालदेखि समुद्रसम्म जसले पराक्रमले जितेर शासन गरे ति किरात हुन् ।’ उनले आफ्नो बल, बुद्धि र पुरुषर्थले हिमालयदेखि समुद्रसम्म जितेर शासन गरेकाले उनीहरुलाई ’किरात’  नाम दिइएको हो भनेका छन् (याखाराई, १९९६) ।

अर्को कथानुसार शम्वर ऋृग्वेद कालमा आर्यवर्तको सम्पूर्ण हिमालीक्षेत्रका शासक थिए । उनका सयवटा फलामे किल्लाहरु थिए । उनलाई साथ दिने राजाहरुमा शष्णु, पिप्रु, वर्चिन, धुनि, चुमुरी आदि थिए । शम्बरको प्रमुख शत्रु इन्द्र र दिवोदास थिए । वर्तमान काबुल, कन्दाहारदेखि कश्मिर, हिमाञ्चल, नेपाल हुँदै बर्मासम्मको समस्थ पर्वतीय र मैदानी क्षेत्रहरुमा सुदास, दिवोदास आदिलाई साथमा लिएर इन्द्रले ४० वर्षसम्म शबरसँग युद्ध गरेका थिए । युद्ध रोकिएको समय पर्वत क्षेत्रको आफ्नो किल्लामा निदाइरहेको बेला इन्द्रले शम्बरलाई झुक्याएर षड्यन्त्रपूर्वक मारेपछि युद्ध सकिएको थियो (याखाराई) । शम्बर किराँत वंशका भएको विश्वास गरिन्छ । 

किरातहरुको उत्पति वा आगमन बारे जोन हेमिलटनले यसो भनेकाछन् –ई.पू. ४००० अगाडि पर्सिया(इरान) खाडीको उत्तरी समतल भूभागमा दुईवटा सभ्य जाति बस्दथे । उत्तरी मैदानमा बस्नेलाई आकाद र दक्षिणी मैदानमा शौभार वंश भनिन्थ्यो । शौभार वंशको एक ठूलो जमातले पूर्वदिशा आइ ई.पू. ३००० मा चीन राज्य स्थापना गरेका थिए । त्यसकै एक समूह छुट्टिएर काबुल, पञ्जाब भइ गंगा नदीको मैदानमा आएर बसोबास गर्न थाले । कैयौं पुस्तापछि यिनै शौभार वंशका मानिसलाई आर्यहरुले किरात संबोधन गर्न थाले (याखाराई, पे.३४९) । हिन्दू धर्मशास्त्र योगीनीतन्त्र अनुसार किरातको उत्पत्ति काबुलको उत्तर कुशद्धीपबाट बसाइ सरेर आएकी कङ्कती नामकी सुन्दर कन्या र महादेवबीच सहबास भइ एक स्वस्थ पुत्र लाभ भयो जसको नाम ‘किरात’ रह्यो र त्यसैबाट भएको हो । डा. स्वामी प्रपन्चार्यले त्यसलाई अस्वीकार गर्दै खण्डन गरेका छन् । 

यसको अर्थ भारतमा आर्यहरुको प्रवेश पहिल्यैबाट अर्थात ऋृग्वेद काल अगाडिदेखि पहाड तथा हिमाली क्षेत्रमाहरुमा किराँतहरुको बसोबास रहेको प्रष्ट हुन्छ । हिमालय क्षेत्रलाई ‘किरात हिमवत खण्ड’ पौराणिक साहित्यमा भनिएकोले उनीहरु यहाँको आदिम बासिन्दा भएको देखिन्छ । ‘प्राचीन भारतमा किरातहरु’ पुस्तकमा जीपी सिंह लेख्छन् –‘किरातहरुको उत्पत्ति र प्राचीनत्व अझै पनि रहस्यमय रहेको छ । अन्य प्राचीन भारतीय आदिवासीहरु झैं किरातहरुलाई पनि साधारणत : आदिवासीको रुपमा वर्णन गरिएका छन् । यिनीहरु मुल रुपमा मध्य देशको गांगेय समतलभूमि, विभिन्न नदी तथा तिनीहरुका शाखा नदीहरुका किनारा, वनजंगल, मानसरोवर पोखरी छेउछाउमा अवस्थित कैलाश पर्वतको फेदी तथा यसका छेउछाउका ठाउँहरु, गंगा नदीका तीरमा अवस्थित प्रदेशहरु, पहाड एवं उपत्यका, पार्वतीय अञ्चल, जंगल, उत्तर र पूर्वी हिमालयका सिमाना इलाका, विन्ध्या अञ्चल तथा उत्तर पश्चिम, मध्य अनि पश्चिम भारत तथा डेक्कनका विभिन्न भागहरुमा बसोबास गर्नेहरु हुन् । वास्तवमा किरातीहरु स्वदेशीहरु नै थिए (सिंह, पे.४९)’ । सिंहले किरातहरु भारतीय उपमहाव्दीपका अती पुराना जाति भएको ठहर गरेका छन् । 

किरातहरु भारतवर्षको सर्व प्राचीन जातिहरुमध्येका थिए भन्नेमा करिब सबै इतिहासकार र अनुसान्धानकर्ताहरुको एकमत जस्तो देखिन्छ । नेपालको प्रारम्भिक इतिहासबाटै किरातहरुको चर्चा पाइन्छ । हिमालय पर्वतको दक्षिणी क्षेत्रका पहिलो आवादकर्ताहरु किरातहरु भएको विश्वास गरिन्छ । नेपालको इतिहासमा पहिलो र दोश्रो शासन गर्ने गोपाल र महिषपालहरु पनि किरात वंशकै भएको दावी लेखक दुर्गाहाङ याखाराईले दावाी गरेका छन् । उनले नेपालमा यलम्बर पूर्वका गोपाल र आहिर वंशी भनिएका राजाहरु पनि किरात नै थिए भनेर लेखेका छन् (याखाराई, पे.३६५) । याखाराईले यसलाई किम्दन्तीको भर परेर सँस्कृत भाषामा राजवंशवली लेख्दा गाई पाल्नेलाई ‘गोपाल’ र भैँसी पाल्नेलाई ‘भैँस वा महिसपाल’ अर्थात ‘अहिर वंशी’ भनिएको उल्लेख गरेका छन् । त्यो बेलाको भूराजनीतिक अवस्थाले पनि किरात बाहेक अन्यको शासन कल्पना गर्न नसकिने याखाराईको तर्क छ ।  

नेपालको इतिहासमा पहिलो किरात राजा यलम्बर भएकोमा सबै इतिहासकारको एकमत पाइन्छ । तात्कालिन समयमा नेपाल भनेर काठमाडौंलाई बुझिन्थ्यो । विभिन्न किरात समुदायको भाषामा काठमाडौंलाई ‘यलाखोम’ भनिन्छ । यसको अर्थ यलम्बरको भुमि हो । सामान्यत ः नेपालमा ३२ पुस्ताका किरात राजाहरुले शासन गरेको नेपालको इतिहासमा उल्लेख गरेको पाइन्छ । प्रेमबहादुर माबोहाङले ३३ जना किरात राजाहरुको नाम उल्लेख गरेको पाइन्छ (याखाराई, पे. ३६८) । कपिय इतिहासकारले २६ पुस्ताले शासन गरेको लेखेका छन् । एक ठाउँ सिंहले लेखेका छन् – समस्त सुत्रहरुको पूर्णतया छानविन पश्चात खृष्टपूर्व ३१०२ सालमा किरात शासन प्रारम्भ भएको हो (सिंह, पे.३०९, ३१०) । माबोहाङका अनुसार कलिगत ४० (इ.पू. ३०६१) मा राजा भूवनसिंहको राज्य विजय गरेर यलम्बरले किरात वंशीय युगको प्रारम्भ गरेका थिए (याखाराई, पे.३६८) । विभिन्न इतिहास लेखकहरुले किरात कालको प्रारम्भको मिति बेग्ला बेग्लै उल्लेख गरेका छन् । किरात वंशका २९ जनाले शासन गरेको सरदर १३०० वर्ष र त्यस अघिको गोपाल र महिषपाललाई किरातै मान्दा इसापूर्व १७०० तिरबाट उनीहरुको शासन शुरु भएको मान्न सकिन्छ । तर किरातहरुको शासन कहिले शुरु भयो र कहिले अन्त्य भयो भनेर एकीन समय किटान गर्न सकिने अवस्था छैन । यसो हुनुमा किराँतहरु बारे ठोस जानकारी दिने शिलालेख वा अन्य प्रमाण नहुनु नै हो । 

लामो अनुसन्धानपछि किरात इतिहासका विज्ञ जीपी सिंहले नेपाल उपत्यकामा २९ जना किरात राजाले शासन गरेको निश्कर्ष निकालेका छन् । यलम्बर पहिलो राजा थिए । जस्ले किरात राज्यको स्थापना गरे । त्यसपछि क्रमशः उनको राज्य पूर्वमा टिस्टा, दक्षिणमा मोरङ, पश्चिममा त्रिशुली नदी र उत्तरमा हिमालसम्म थियो (सिंह, पृ.३१०) । दोश्रो किरात राजा पबि थिए । उनको शासनकालमा द्वापार युग अन्त भएर कलियुग शुरुवात भएको मानिन्छ । त्यसपछि उनेको छोरा स्कन्धर तेश्रो राजा भए । तिनीपछि छोरा बलम्ब÷बलहाङ, बलम्ब पछाडि हुमति राजा भए । हुमतिको पालामा पाण्डवहरु वनबास बसेको बेला अर्जुनले किरातको रुप धारण गरेका महादेवसँग युद्ध गरेर आफ्नो कौशलद्धारा तिनलाई मुग्ध पारेका थिए (सिंह, पृ..३११) । हुमतिको छोरा जितेदस्ती सातौं किरात राजा भए । उनको शासनकालमा महाभारतको युद्ध भएको विश्वास गरिन्छ । अर्जुनको आग्रहमा पाण्डवहरुको पक्षमा महाभारत युद्ध लड्दा उनले प्राण गुमाएका थिए । भगवानलाल इन्द्रजीका अनुसार पाँचसय एक्काइस बर्ष नेपालमा शासन गर्ने गोपाल वंशले राज्य हारेको पाँचसय छत्तीस बर्षपछि जितेदस्तीले गद्दी आरोहण गरेका थिए (सिंह) । उनको मृत्युपछि गलिञ्जा राजा भए । गलिञ्जापछि पुष्क वा हुर्मा, त्यसपछि सुयार्मा, पर्व, बुंका र स्वानन्द(थोमु)ले किरात शासन चलाए । 

बौद्ध परम्पराको किम्वदन्ती अनुसार सातौं किरात राजा जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल(काठमाडौं) भ्रमण गरेका थिए । त्यसै बेलाबाट काठमाडौंमा बुद्धधर्मको प्रवेश भएको विश्वास गरिन्छ । (बुद्धले नभइ उनको चेला आनन्दले काठमाडौं भ्रमण गरेका थिए भनिन्छ । बुद्धले जीवनकालमा काठमाडौं आएको प्रमाण छैन ।) चौधौं किरात राजा स्थुङ्को राजा भएको समय ईसापूर्व २५० सालमा नेपाल एक पवित्र भूमि भएको प्रख्याती सुनेर मौर्य सम्राट अशोकले आफ्नो अध्यात्मिक गुरु उपगुप्त भिक्षुको सल्लाह लिइ आफ्नो परिवारसहित ठूलो संख्यामा प्रजाहरु साथ लिएर नेपालको भ्रमण गरे । अशोकले त्यही बेला अनेक गुम्बा र चैत्यको निर्माण गराए । बुद्धको जन्मस्थल लुम्बिनी सोही समय अशोक स्तम्भ खडा गरिएको थियो । त्यसमा अशोकले आफ्नो आदेशहरु शिलालेखका रुपमा लेखाए (सिंह, पे.३११) । सम्राट अशोकले त्यही बेला आफ्नी छोरी चारुमतीको देवपालसँग विवाह गरिदिए । चारुमतीले पशुपति मन्दिर नजिकै बसोबास गरिन् र आफ्नो लोग्नेको नाममा देउपाटन शहर बसाइन् । उनले चारुमती विहार निर्माण गरिन् । चारुमतीकै नामबाट वर्तमान चाबहिल बनेको हो भनिन्छ । सम्राट अशोक नेपालबाट फर्किएपछि स्थुङ्कोले अशोक स्तम्भ र स्तम्भसँगै राखिएको मौर्य सम्राटको घोडाको मुर्तिलाई नष्ट गराएका थिए । यसलाई भारतको नेपाली भूमिमा भएको अतिक्रमणको प्रतिरोधका रुपमा जीपी सिंहले उल्लेख गरेका छन् । उनले बुद्ध धर्मको अस्वीकारको रुपमा पनि यसलाई अथ्र्याएका छन् । किरात राजवंशमा बुद्ध धर्मको प्रभावबारे कुनै चर्चा गरिएको छैन ।

पन्ध्रौं किरात राजा गिधरी भए । गिधरी पछि नाने(नन्याहाङ), ल्युक, थोर, बरमा, गुजा, पुश्कार, केशु, सुजा, सन्सा, गुनान र खिम्बु राजा भए । यलम्बरले किरात राज्य स्थापना गर्दा मातातिर्थमा राजधानी थियो । पछि उनले गोकर्णमा सारेका थिए । खिम्बुका छोरा अट्ठाइसौं किरात राजा पटुकाको पालामा सोमवंशी राजपुतहरुले गोकर्णमा पटक पटक आक्रमण गरे । त्यसपछि उनले गोकर्ण छाडेर शंखमुलमा नयाँ राजधानी बनाए । सोमवंशीहरुको पटक पटक आक्रमणबाट आजित भएका उन्तीसौं किराती राजा गस्ती शंखमुलको दरबार छाडेर पूर्वतिर लागे (सिंह, पे.३१४) । सोमवंशीहरुबाट भएको पराजय किरात राजत्वकालको पूर्ण पतन नभएर पतनको शुरुवात थिया् भनेर सिंहले लेखेका छन् ।  

खम्बू र लिम्बू विभाजन :

काठमाडौं उपत्यकाको राजधानी गुमाएपछि किरात राजवंशका सन्तानहरु आफ्नै राज्यको पूर्वी भागतिर सरेर बस्न थाले । यलम्बरकै पालादेखि पूर्वमा टिष्टा र दक्षिणमा मोरङसम्म किरात राज्य रहेको थियो । तेश्रो शताब्द्धीमा किरात राजा गस्ती सोमवंशी लिच्छवीहरुबाट पराजित भएपछि उनका सन्तानहरुले काठमाडौंको पूर्वतिर पर्ने बनेपा गएर आफ्नो शासनलाई निरञ्तरता दिए । लिच्छवीहरु नजिकै भएकोले उनीहरुमा असुरक्षाभाव कायम रह्यो । गस्तीको मृत्यु पश्चात अझ आफ्नो राज्यलाई सुरक्षित बनाउन पूर्वतिर राजधानी सार्ने विषयमा उनका छोराहरुबीच छलफल भयो । जेठा लोलिमले राखेको प्रस्तावमा छलफल हुँदा कान्छा भाइ खामसोसो र उनका पक्षका भाइ भरदारले बनेपामा नै बसेर लिच्छवीहरुसँग युद्ध गरी यलाखोम फिर्ता लिने विचार अघि सारे । त्यो कुरा लोलिमहाङलाई मान्य भएन । उनी आफ्नो पक्षका भाइ भरदार र कुल कुटुम्ब लिएर पूर्वतिर लागे । तमोर नदी तरेपछि सुसुवादेनमा किल्ला बनाइ बस्न थाले । उनले मोरङको विजयपुरलाई अर्को राजधानी बनाएर किरात शासन चलाउन थाले । लिबुक राजा भएको बेला भाइ भरदार र जनताहरुको चाहना बमोजिम लोलिमहाङले स्थापना गरेको राज्यलाई १० प्रान्तमा विभाजन गरी रायहरु नियुक्त गरेर शासन चलाउन थाले (याखाराई, पृ.३७४) । यसरी विभाजन भएको प्रान्तहरु नै कालान्तरमा दश लिम्बुवान भएको मानिन्छ ।

लोलिमहाङ पूर्वतिर लागेपछि खाम्सोसोले बनेपाको शासन सञ्चालन गरे । तर उनले शासन सम्हालेको ६ वर्षमै केही विश्वास घाती भरदारहरु प्रलोभनमा फसेर लिच्छवीहरुसँग मिल्न पुगे । यसले यलाखोम फिर्ता गर्ने उनको योजना तुहियो । खाम्सोसो पनि बाँकी भाइ भरदार, सैनिकहरु र बालवच्चा लिएर बनेपाबाट पूर्व लागे । दुधकोशी किनारको मुक्ली देरेपु भन्ने स्थानमा आएर आफ्नो किल्ला बनाए । उनले स्थानीय देवीदेवतालाई इष्टदेव मानी उक्त स्थानको नयाँ नाम दिवालपुर राखेर ‘खम्बुक–यक’ किल्ला खडा गरेर त्यस भेगमा शासन गर्न थाले । बनेपाबाट पूर्व लागेपछि लोलिमहाङ र खाम्सासो वंशका दुई अलग किरात शासन स्थापना भए । 

खाम्सोसोले स्थापना गरेको राज्य चलि नै रहेको थियो । खम्बोकहाङ राजाको राज्यकालमा लिम्बुवानमा जस्तै खम्बुक यकबाट प्रशासित राज्य विभाजनको कुरा आयो । एउटा राज्यलाई १२ टुक्रामा विभाजन गरियो । त्यसपछि १२ प्रान्तमा १२ वटै राजाले शासन गर्न थाले (याखाराई, पे.३७४ र ३७५) । खम्बू किन भनियो भन्ने सवालमा खम्बुक दरबारबाट विभाजन भएको र खम्बोकहाङ राजाको जनता भएकोले खम्बू वा खम्बूवान भनिएको हुन सक्ने अनुमान गरिन्छ । खम्बोकहाङको राज्यबाट अगल भएका १२ प्रान्तमा विस्तारै फरक किसिमको किरात सभ्यता विकास भए । जुन वर्तमानमा फरक पहिचानबाट परिचित बनेका छन् भन्ने विश्वास गरिन्छ । 

किरात मङ्गोल हुन् ? 

धेरैले नेपालका किरात लगायत अन्य आदिवासीहरुलाई मङ्गोल भन्ने गरेका छन् । यसको अर्थ मुगल(मुसलमान ?) वा मंगोलियाबाट बसाइ सर्दै आइपुगेको मङ्गोल मुलको जाति हुन्छ । किरातीहरु मङ्गोल हुन् भन्नेमा किरात इतिहासका अध्येताहरु सहमत देखिन्नन् । चालीस बर्षको अनुसन्धानपछि डा. स्वामी प्रपन्नचार्यले किरात मङ्गोल नभएको बताएका छन् । उनले किरात र मङ्गोलियाका बासिन्दाहरुको वंश, परम्परा र विश्वास केही पनि नमिल्ने बताएका छन् । मङ्गोल शब्द्ध मुगलबाट उत्पत्ति भएको हो । यो शब्द्ध प्रयोगमा आएको लगभग ७५० बर्ष हुन्छ (याखाराई) । मङ्गोल शब्द्ध प्रचलनमा आएको चङ्गेज खान(१२६२–१३२७)को पालादेखि हो । उनी शुरुमा बौद्ध अनुयायी आदिवासी भएपनि पछि तुर्कहरुको संगतले मुसलमान बनेका थिए (विकिपेडिया, हिन्दी) । 

उनै चङ्गेज खानका नाती कुब्लाइ खाँले आफूलाई मङ्गोल भनेको इतिहासमा पढ्न पाइन्छ । चङ्गेज खाँले विश्वको २२ प्रतिशत भूभागमा दिग्विजय पाउनेक्रममा चीन, रुस, पूर्वी युरोप, अरब, पाकिस्तान, आफगानिस्तानदेखि भारतलाई आफ्नो राज्यमा गाभेका थिए । तिनै मङ्गोल शासक चङ्गेज खाँको पराक्रमबाट प्रभावित तुर्क मङ्गोल मिश्रित मुसलमान वंशबाट सन् १५२६ मा स्थापना भएको साम्राज्यलाई मुगल साम्राज्य भनियो । जो भारतलाई अंग्रेजहरुले सम्पूर्ण कब्जा गर्नुअघिसम्म कायम रह्यो । 

धेरै इतिहासकारको मतमा किरातहरु प्राचीन भारतका सुप्रसिद्ध आदिवासीहरु थिए । प्राचीन सँस्कृत साहित्यमा यो नाम भारतीय मुलका आदिवासीहरुप्रति प्रयोग गरिन्थ्यो, सिनो–तिब्बतीहरुप्रति होइन । क्रिश्चियन युग प्रारम्भ हुनुअघि भारतमा सिनो–तिब्बती र तिब्बत–बर्मी परिवार प्रवेश गरेको प्रमाण पाइँदैन । अध्ययनले के स्पष्ट गर्दछ भने प्राचीन भारतका प्रथमवासीहरु किरात थिए (सिंह., पृ.७५) । भारतका किरातहरु सम्बन्धि वृहत अध्ययन गरेका डा. जीपी सिंह पनि किरातहरु मङ्गोल वा मङ्गोलियाबाट आएको मान्न तयार छैनन् । आरएन सलेडोरको भनाइ उदृत गर्दै जीपी सिंहले लेखेका छन्­ ‘किरातहरु प्राचीन मंगोल आदिवासीहरु थिए भन्ने धारणा काल्पनिक र आधारहीन हुन् ।’ यस सम्बन्धि एक छुट्टै लेख यसअघि नै लेखेको छु (http://kulungraj.blogspot.com/2020/04/blog-post.html) ।

आजका किरातहरु :

किरातहरु लिच्छवीबाट यलाखोममा पराजित भएपछि मात्रै पूर्वी प्रदेशमा फैलिएका होइनन् । उनीहरु प्राग ऐतिहासिक कालबाटै पूर्वी क्षेत्रमा बसोबास गर्दथे । यलम्बरको राज्य टिष्टा र मोरङसम्म फैलिएको थियो । नेपालको वर्तमान किरातहरु विकसित हुनु पहिले पूर्वी नेपालमा नागा जातिका मानिसहरुको सघन बसोबास थियो । उनीहरु किरात मुलकै थिए र राज्य उनीहरु कै थियो । धेरैले यलम्बर र उनका सन्तानहरुकै शासनलाई मानेनन् । जस्का कारण अरु किरातहरु र नागाबीच द्धन्द्ध हुँदा धेरै नागा किरातहरु विस्थापित भएको र केही अन्य किरातीहरुमा विलय भएको विश्वास गरिन्छ भनेर याखाराईले लेखेका छन् ।

पूर्वी नेपाललाई इतिहासको पछिल्लो खण्डमा किराती देश नामाकरण गरिएको छ । हड्सनका अनुसार, किरात देशमा बस्ने किराँतीहरु तीन भागमा विभक्त छन् । क) अरुणदेखि मेची नदी र सिंहलिलासम्मको पल्लो किरातमा बस्नेहरु लिम्बू, याक्खा र लोहरुङ आदि । ख) लिखुदेखि अरुण नदीसम्म अर्थात माझ किरातमा बसोबास गर्नेहरु बान्तावा, दुङ्माली, खालिङ, दूमी, साम्पाङ, बाहिङ, थुलुङ, कुलुङ, रोदोंग(चाम्लिङ?) आदि र ग) लिखुदेखि सुनकोशी नदीसम्मको भूभाग अर्थात वल्लो वा नजिकको किरातमा बसोबास गर्ने चौरासे(वाम्बुले), सुनुवारहरु आदि हुन् (सिंह, पृ.९१ र ९२) । 

हड्सनले पूर्वी नेपालमा पर्ने किरात देशको पुरानो नाम ‘नौ लाख किरात’ थियो भनेका छन् । हड्सनका अनुसार उत्तर पूर्वमा खम्बूहरुको देशलाई महाकुलुङ भनिन्थ्यो । नेपालको लडाकु जातिहरुमा तिनीहरु पनि थिए । डिआर रेग्मीका अनुसार क्रिश्चियन युग शुरु हुनुभन्दा पूर्व प्राचीन कालमा नेपाल उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुको शक्तिशाली शाखा अहिलेका कुलुङ, थुलुङ आदि हुन् । राजी, चेपाङ, थाडुस वा थारुहहरु पनि किरात नै हुन् (सिंह) । जनकलाला शर्माका अनुसार किरातीहरु हिमाली खण्डमा बसोबास गर्ने सर्वाधिक प्राचीन जाति हुन् । हाल किरातहरुको मुल थलो नेपालको पूर्वी भाग हो । किराँती भन्नाले मुलरुपमा राईलाई भनिन्छ र यदाकता तिनीहरुलाई जिम्दार पनि भनिन्छ । यदाकदा लिम्बुहरुले पनि किरात शब्द्ध प्रयोग गर्दछन् (राई, २०६८) । चाल्र्स म्याकडुगलका अनुसार राई र लिम्बूहरु प्राचीन किरातीका सन्तान ठानिन्छ । आज पनि उनीहरु आफूबाट र अरुबाट किराती नै भनिन्छ (म्याकडोगल, १९७९) । हड्सन्ले करिब २६०० वर्षभन्दा पहिले किरातीहरु वर्तमान बासस्थानमा आएको अनुमान गरेका छन् (राई) ।

प्राचीन किरातका सन्ततीहरुको वर्तमान अवस्था सम्बन्धमा शोधकर्ता जीपी सिंहले ग्रियर्सनलाई उदृद गर्दै लेखेका छन् ः प्राचीन किरातहरु भारतको इतिहासबाट विलुप्त भएका छैनन् । नेपालको सुदुर पूर्वी अञ्चलका वर्तमान किरातीहरुले भौगोलिक, जातीय तथा भाषिक रुपमा तिनीहरुको एक शाखाले प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै अर्को अनुच्छेदमा लेखेका छन् ः नेपालको दुधकोशी र कोशी नदीको बीचमा अवस्थित किरात देश अथवा पार्वतीय देश वा हिमालको फेदमा बस्नेहरु नै निःसन्देह किराँतहरु हुन् । तिनीहरु साधारणतः खम्बू, लिम्बू र याखा जनजातिहरु हुन् (सिंह, पृं.९०) । 

पिसि भट्टाचार्यका अनुसार वर्तमान आसाम, नागाल्याण्ड, नेफा(अरुणाञ्चल), मणिपुर, त्रिपुरामा बसोबास गर्ने बोरो, रभा, गारो, लालुङग, मिरि(मिसिंग), मौन्पा, अका, डाफ्ला, अबोर, मिकिर, खासी, सिन्टेग, डिमासा, मैथी, तिप्रा, हाजोंग, मिजो(लुसाई), नागा, मिस्मि, सिंफगो, अपतानी, नोक्ते, वान्चो, कुकी–चीन, खाम्ती तथा पहाड र तराई क्षेत्रमा धेरै संख्यामा रहेका जनजातिहरु किरात हुन् (ऐ., पृ.८८) । चाल्र्स म्याकडुगलका अनुसार राई र लिम्बूहरु प्राचीन किरातीका सन्तान ठानिन्छ । आज पनि उनीहरु आफूबाट र अरुबाट किराती नै भनिन्छ (म्याकडोगल, १९७९) । प्रा. माणिकलाल श्रेष्ठका अनुसार करिब ८० प्रतिशत नेवार पनि किराती छन् (राई,पृ.५) ।  

इमानसिंह चेम्जोङ, माणिकलाल श्रेष्ठ, डोरबहादुर विष्ट, हर्षबहादुर बुढामगर लगायतका विभिन्न लेखकहरुले नेपालका सबै आदिवासी जनजातिलाई किराती नै हुन भनेका छन् । तर हिन्दू धर्मावलम्बी मगरहरु, बुद्ध धर्म मान्ने गुरुङ, तामाङ, थकाली र तिब्बतीय मुलका शेर्पा, भोटे लगायतका हिमाली जातिले किराँत भनेर स्वीकार गरेको देखिन्न । लेखक टंकबहादुर राईले पनि गुरुङ, मगर, थकाली, तामाङ, शेर्पा आदिलाई किरात हुन् कि होइनन् भन्नेमा लामो विवाद देखिने बताएका छन् (राई ः पृ.१३) । वर्तमान नेपालमा बसोबास गर्ने चाम्लिङ, खालिङ, थुलुङ, कुलङ, साम्पाङ, बाहिङ, बान्तावा, मेवाहाङ, लोहरुङ, जेरो, वाम्बुले, याम्फू, आठपहरिया, कोयी, दूमी, पुमा, नाछिरिङ, किरातराई भनिनेहरु, थामी, धिमाल, सुनुवार, जिरेल, सुरेल, हायु, चेपाङ, लिम्बू, याक्खा, लेप्चा, कोचे, मेचे र उत्तर पूर्वी भारतमा बसोबास गर्ने नागा लगायतका आदिवासीहरु सबै किराती हुन् भन्न सकिन्छ । किनभने तिनीहरुमध्ये धेरैले आज पनि आफूलाई किरात वंशी भन्दै आएका छन् ।

सन्दर्भ सामग्री

१. सिंह, जीपी, १९९०, प्राचीन भारतमा किरातहरु, एफआरएस, लण्डन, अनु. राई टीबी

२. याखाराई, दुर्गाहाङ, १९९६, ब्राह्मणवाद विरुद्ध जनजाति+उत्पीडित वर्ग, धनरानी खायाराई, 

३. राई, टंकबहादुर, २०६८, किरात इतिहास, उत्तरकुमार चाम्लिङ, 

४. शर्मा, जनकलाल(२०३९), हाम्रो समाज, साझा प्रकाशन

५. Mcdougal Charles, (1979), the Kulunge Rai, Ratna Pustak Bhandar, Kathmandu,