Saturday, August 22, 2020

कुलुङ भाषाका दुई प्रकार

सिएम खम्बू (साम्पाहो-सिरिहो)

दुई प्रकारले प्रयोग हुने भाषालाई अङ्ग्रेजीमा ‘डाइग्लोसिया’ (Diglossia) अर्थात द्वैरूपायित/दोहोरो भाषा भनिन्छ। यस्ता किसिमले प्रयोग हुने भाषा विश्वमा कतिपय भाषिक समूहमा पाइने गरेको बारे भाषा विज्ञानको Bidialectalism मा वर्णन गरेको पाइन्छ। उदाहरणका लागि; एउटै भाषिक समुदायमा द्वैरूपायित भाषा (Diglossic language) प्रयोग गर्ने भाषाहरू मध्ये ग्रिसेली भाषामा classical Greek- ‘Katharevusa’ काथारेवुसा भाषिकालाई सम्मानित भाषिका (Prestige dialect) को रूपमा ‘High variety’ मान्छन् भने प्रचलित ‘Demotic’ डेमोटिक भाषिकालाई Low variety को रूपमा प्रचलन गरेकाछन्।

भारतीय सन्दर्भमा; तामिल भाषाको ‘सेन्टामिज’ भाषिकालाई सम्मानित (H/variety) भाषिका र प्रचलित ‘कोतुन्तामिज’ भाषिकालाई (L/variety) को रूपमा प्रयोग गर्छन्। उसै गरी, बङ्गाली भाषाको ‘साधु’ भाषिकालाई सम्मानित (H/variety) भाषा र प्रचलित ‘चोलित’ भाषिकालाई (L/variety) भाषाको रूपमा प्रयोग गर्छन्। यस्तो चलन हरेक भाषामा हुँदैन।

वस्तुतः कुलुङ समुदायको भाषा प्रयोगमा पनि दुई प्रकारको भाषा प्रयोग हुने चलन चल्ति हुनाले यो भाषा द्वैरूपायित (Diaglossic) भाषा भनी ठहर गर्न सक्छौं। साँस्कृतिक भाषिका (Classical dialect) अर्थात, मुन्दुमी भाषा (सुम् रिङ/दप्सरिङ) कुनै पनि सम्मानित तथा साँस्कृतिक कार्यहरू; देदाम, नागीपूजा, विहे बटुल, मरौ-परौ, सेलेवा, मोबो, आरावा, छेक्छेवा तथा पितृ शुद्धि कार्य जस्ता सम्मानित कार्यहरूमा बिजुवा (मोप्/नोक्छो/सातिपुस् इत्यादि) तथा बुढौली (साकुम्बु)द्वारा छुट्टै भाषिका प्रयोग गर्ने गर्छन् भने सामान्य चलन-चल्तिमा छुट्टै साधारण भाषा (नरिङ/इरिङ) भनेर प्रयोग गर्छन्। उदाहरणः

*(एकरूक्त दप्सरिङ)*

(क) नेपाली (सम्पर्क भाषा)
(ख) नरिङ/इरिङ (चल्ति कुलुङ भाषा)
(ग) सुम् रिङ/दप्सरिङ (सांस्कृतिक कुलुङ भाषा)

1.(क)पानी=(ख)काउ=(ग)सुबुवा,
2.(क)बतास= (ख)हिक्=(ग)कुहुमा,
३(क)घर=(ख)खिम=(ग) खुवागो,
४(क)गाई-गोरू=(ख)पिः= (ग)हादि ,
५(क)भैंसी=(ख)मेस्= (ग)बारा,
६(क)भेंडा=(ख)लुस् =(ग)गोदिलिङसा,
७(क)बाख्रा=(ख)छारा=(ग)साप्दोसा,
८(क)सुङ्गुर=(ख)भो=(ग)छोबो,
९(क)कुख्रा=(ख)वा=(ग)पोवा,
१०(क)मृग=(ख)खिस=(ग)चकेसा,
११(क)दुम्सि=(ख)खास=(ग)मोदिसा,
१२(क)झारल=(ख)यास्=(ग)दार्तोसा,
१३(क)भालू=(ख)मोक्स्=(ग)बुयेम्,
१४(क)कालिज=(ख)तूउ=(ग)सिलाङ्वा,
१५(क)चिभे=(ख)चासकुउ=(ग)खोसोवा,
१६(क)पदुवा चरा=(ख)चिपुर्के=(ग)चिन्चोलागालि,
१७(क)चामल=(ख)सेर=(ग)हमेल्कुचाम्,
१८(क)रोटी=(ख)सबेइ=(ग)फुम्बाचाम्,
१९(क)डालो=(ख)बुखो=(ग)मिरिखोङ,
२०(क)मकै=(ख)खोबप्=(ग)दोकोसिजा,
२१(क)कोदो=(ख)लिस्=(ग)बामुसिजा,
२२(क)कागुनी=(ख) पेस्=(ग)कुक्सुम्मेजा,
२३(क)फाफर=(ख)भाम्=(ग)दुम्दुसिजा,
२४(क)गहूँ=(ख)दोचेर=(ग)मेलेलेम्जा,
२५(क)उवा=(ख)जेउ=(ग)थुर्सुलाजा,
२६(क)सकरकन्द=(ख)पाल्कोक्ति=(ग)पेल्मुलाजा,
२७(क)पिंडालु= (ख)योक्सि=(ग)खिम्तोलाजा २८(क)हँसिया=(ख)बेलो=(ग)सिकिसेल्। इत्यादि।

*द्वैरूक्त दप्स् रिङ* *(Reduplicative)*
१(दप्स्निङ) २(चल्ति)
३(सम्पर्क)

(क)1.याताला-योम्ला= -2.लिङोक्सि -3.केरा 

(ख)1.छेचिलि-खेरिलि= -2.बुर् -3.हिमाल -

(ग)1.मिलिलिङमा-लिङमाबउ= -2.वाबम् -3.चिण्डो,

(घ)1.सोमोलाबुर-मचिलाबुर= -2.सोमोरि -3.व्यथा,
(ङ)1.सुप्तुलुङ- थुङमालुङ= -2.सुक्तुलुङ -3.चुल्हा,
(च)1.पोसिलिङ्खो -निनैखोङ= -2.साल्खोङ-3.काठको आरी,
(छ)1.सुबुयुङ्मा-युङमाबउ= -2.कलवा -3.लोटा,
(ज)1.पोवादाम्-लोलिबुङ= -2.वादि -3.अण्डा,
(झ)1.ङायाङ्मा-फोयोङ्मा= -2.ङा -3.माछा,
(ञ)1.खोङ्मे-बेङ्मे= -2.लु -3.पाहा,
(ट)1.चउतुखेर्-लुम्तुखेर= -2.चउ-लुम खेर -3.मुटु-कलेजो दुख्ने बिमार,
(ठ)1.सानिनाम्रे-नाम्रे नना= -2.सानिवा नतो -3.राम्रो भावनाले। इत्यादि।

द्वैरूपायित भाषा (Diglossia) प्रणाली अन्तर्गत कुलुङको मौलिक चलन-चल्तीमा फूलनाम (Hypocoronym) मानिस तथा स्थानको ‘चार दप्स्निङ’ (Toponym) को नामाकरण गर्ने प्रथा रहीआएको हो। यी दुई अवस्थाका नाम निम्न स्थितिमा सिर्जना गरिन्थ्यो।

*फूलनाम (बुङनिङ) Hypocoronym:*

कुलुङ समाजमा पूर्व प्रथा अनुसार न्वारानको नाम बाहेक फूल नाम भनेर वैकल्पिक नाम लगाउने चलन रहेको थियो। वयस्क उमेरमा आए पछि तरूणी-तन्देरीहरू घाँस-दाउरा, गोठाला-खेताला तथा हुरी पर्म-पातमा भेला भएर एकार्कामा फूल नाम लगाउने प्रथा रहेको थियो। विशेष पर्म-पात र हुरी खेतालाहरूमा ‘दम्के जुवारी’ खेल्ने प्रथा रहेको थियो भने जुवारी बीच एकार्कामा सदाशयका साथ छेडखानी तथा फूल नाम लगाउने जस्ता प्रथाले आत्मीय निकटता ल्याउने वातावरण तयार हुन्थ्यो। फूलनाम लागाउनुलाई स्वभाषामा ‘बुङनिङ तिःलम्’ भनिन्थ्यो। उदाहरणः

*केटाः केटीः*
-निस्मारे -बोल्मारी
-मेक्मारे -गम्मारी
-जल्मारे -चान्मारी
-सिरन्ते -मलन्ती
-रिमन्ते -रिमन्ती
-मलिन्ते -सिरन्ती
-झिलमे -घारिम
-रसमे -रिसम
-हासिमे -हासनी
-मारिमे -खेलनी
-रिजमे -दिलनी
-छाक्किमे -छप्कनी। इत्यादि।

तरूणी-तन्देरी बीच आफूले तयार गरेको हस्तकौशल सीपलाई साटासाट गर्ने चलन मध्ये केटाद्वारा तयार गरिएको सीपहरूमा बुट्टादार मुर्चुङ्गा, बिनायोको खोल, खुर्पाको दाप, काँगियो, जगरको कुची, बरिया नाम्लो हुने गर्थ्यो भने केटीले तयार गरेको सीपहरूमा सुनाखरी जडित सेक्मारी फुर्का, बुट्टे गाम्सा, बुट्टे रुमाल, बुट्टे झोली, ऊनी टोपी जस्ता चिनोहरू साटासाट गर्थे। एकार्काको सीप र लग-चलनको आकर्षणमा सामाजिक छुट अनुसार प्रेम प्रस्ताव राख्ने सम्मको जमर्को हुन्थ्यो भने आपस्तको हार्दिक सहमति रहे भगाएर विवाह गर्न सम्म तयार रहन्थे। त्यसलाई चोरी विवाह भनिन्थ्यो।

*चार दप्स्निङ (Toponym):*

कुनै पनि सम्मानित तथा साँस्कृतिक कार्य सम्पन्न गरिँदा आफू बस्ने भूमिको नाम पनि आफ्नै भाषामा पुकार्नु पर्ने चलन रहेकोले बुढा-पाका (साकुम्बु) द्वारा जमघटको समय आफ्नो गाउँको स्थिति, इतिहास र भौगलिक पिरिवेश हेरेर पुकार्ने नामलाई ‘चार दप्सनिङ’ भनिन्थ्यो। विशेषतः भूमे पूजा, देवी तथा शिकारी पूजा गरिँदा अनिवार्य आफ्नो भाषामा भूमिको नाम पुकार्नु पर्ने हुँदा आफ्नै भाषिक समुदाय भित्रको सीमित प्रयोगमा भूमिको दपस्निङ लगाइन्थ्यो।

1.सिक्किम/सुक्खिम -(साम्पाहो-सिरिहो),
2.संघनाथ -(आल्मारी-लुङचारी),
3.तिन्किताम -(साप्तोवा-तुतोवा),
4.ओम्चु -(वापुदो-छेर्कुम्दो),
5.नन्दुगाउँ -(नागाहो तेल्तु, लाप्चाहो चारीकु),
6.दार्जीलिङ -(वालिखा-सान्मा; सापिखा-बिरिखा)
7.गुरुबथान -(गोनुबु-रिङमुने; छाप्कुवा-रुथोमा),
8.मधेश-तराइ/ भारत -(बाजुहो-थारूहो),
9.वल्लो किराँत -(लोङ्लेहो-पाताहो),
10.दोक्बेवा -(छिङ्खोवा-रिमुवा),
11.छिङ्खा -(चेखोङ्सा-खोङ्दोक्सा),
12.याफ -(तमुवा-रिमुवा)
13.कुलुङ भोजपुर -(वापोसा-फिवोसा),
14.अरूण खोला पारी, माझी गाँउ -(सलाम्हो-पेन्दाम्हो),
15.तुम्लिङ टार -(खादीहो-युप्युहो),
16.धरान -(नेवाखा-निम्तुखा; देवादो-दोनिदो)
17.काठमाडौ -(येलाखोम्- चारिकुउ फोलोङमा),
18.छेम्सिङ -(छेम्दो- मुयुगो),
19.छेस्काम -(ताम्दो-दुबेगो),
20.गुदेल -(लामाकुउ-चारिकुउ),
21.पिल्मोङ -(सापिल्मो-पिल्मोदो; देवादो-रिङ्मुदो),
22.सोताङ -(सोन्दोरो-दोरोखा),

23.चाचालुङ -(सुम्बुवा-बालाम्वा),

24.नाम्लुङ -(वास्दोवा-चारिकुउ) इत्यादि।

No comments:

Post a Comment