Tuesday, January 8, 2013

एउटा सत्य कथा

काल्पनिक तस्विर

कथा
उनकी आमाको सानैमा विहे भएको थियो । विहे हुँदा लोग्ने स्वास्नी १२ वर्षका थिए । ससुराली आएका उनीहरु बाटोमा गट्टा खेल्दै झगडा गर्ने । यो करिब ४० बर्ष अगाडिको कुरा थियो । उमेर बढ्दै जाँदा शारीरिक आकर्षण या प्रेम भयो । उनीहरुले छोरी जन्माए । उमेर बढ्दै जाँदा आमाको लोग्नेलाई अरु नै कोही मन प¥यो । आमालाई त्यसको खास वास्ता थिएन । तर मामाहरु केही जान्ने हुँ भन्ने बल र बुद्धिका घमण्डी । दिदीको लोग्नेलाई बेस्मारी पिटेर चेली खोसेर माइतीमा लिएर आए ।

लोग्नेको घरबाट फिर्ता ल्याइएकी चेली गोठमा वस्तु गोठाला भइन् । उनको बसाइ गोठमै थियो । छोरी ठूली हुँदै थिइन् । गोठालामा उनी एक्लै थिइनन् । नातामा भाइ पर्ने गाउँकै युवक पनि सँगै थिए । रहँदै वस्दै जाँदा एउटै वंशका भएपनि उनीहरुले चेली–माइती विर्सिए । प्रेम सायद शारीरिक आकर्षण हो । वास्नाले उनीहरुलाई जिते । शारीरिक सम्पर्क भयो । उनी गर्भवती भइन् । उनीहरु चेली–माइती नाता पर्ने भएपनि विहे गर्ने निष्कर्षमा पुगे ।

परम्परा अनुसार साइनो लाग्ने विहे गर्नेलाई गाउँबाट निकाला गर्ने चलन थियो । माइती पक्ष केटालाई गाउँ निकाला गर्नेमा लागे । तर अन्तिममा ति दुईको विवाह हुन दिएनन् माइती पक्षले । उनकी आमाले दोश्रो सन्तानको रुपमा उनलाई माइतीमा जन्माइन् । उनको बाबाले आमालाई दिएको सुत्केरी खर्चसमेत मामा पक्षले स्वीकार गरेनन् । उनी बामे सर्दै गर्दा उनकी आमाको मामाहरुले उनी भन्दा निक्कै जेठा विधुरसँग विवाह गरी दिए । आमासँगै नयाँ स्वास्नीको उपहारका रुपमा उनी आमाको तेश्रो लोग्नेको घर पुगिन् ।

एक छोरी र एक छोरा आमाबाट जन्मिएपछि आमाकी लोग्नेको मृत्यु भयो । उनी सानै थिइन् । आमाको कान्छो लोग्ने अर्थात कान्छा बाबा कस्ता थिए भन्ने उनलाई हेक्का छैन । जब उनी १६ वर्षकी भइन् । अनि बल्ल उनले आफ्नो बाबालाई भेट्न गए । बाबा उनलाई माया गर्थे । आमासँगको विछोड पछि उनको बाबाले अर्को विहे गरेका रहेछन् । संयोग वा सामाजिक विकृति ! फेरि आफ्नै नजिकको चेली पर्नेलाई विहे गरेछन् । दुई छोरी जन्माएपछि उनको मृत्यु भइहालेछ ।

कुलुङ संस्कारमा आफ्नो नजिकको चेली माइती पर्ने विवाह गरेर फाप्दैन भन्ने मान्यता छ । त्यही भएर कान्छी आमा अर्थात बाबाको दोश्रो स्वास्नी युवा अवस्थामा नै मरेको अरुहरुले उनलाई भन्छन् । उनको बाबाको पनि त्यति धेरै उमेर नखाइ ६ वर्ष अघि मृत्यु भइसकेको छ । नातामा विहे गरेकै कारण यस्तो भएको होकी भन्ने उनलाई लाग्छ । अर्को उनी आफ्नो मामाहरुको भूमिका खराब रहेको ठान्छिन् । आखिर बाबाको कर्म नजिकै नातामा रहेछ । बरु कुलुङ संस्कार अनुसार दप्स्नीङ परिवर्तन गरेर मान्यता दिएको भए हुने थियो ।

अहिले आमा विधवा जीवन विताइरहेकी छिन् । उनलाई धेरैले आफ्नो वास्तविक पहिचानबाट कमैले चिन्छन् । आमाको कान्छा लोग्नेबाट चिन्छन् । उनलाई पनि अप्ठ्यारो लाग्छ । बाबा पट्टिका आफन्तहरुलाई त्यति चिन्दैनन् । आमाले जन्माएको सन्तान तीन जना लोग्नेबाट ४ जना छन् । उता बाबा पट्टि उनीहरु तीन बहिनी छन् । ऊ र एउटा बहिनीको विहे भइसकेको छ । एउटी बहिनी बाबाको घरमा बस्छिन् ।

अहिले आफ्नो वास्तविकता मान्छेहरुलाई सुनाउन उनलाई अप्ठ्यारो लाग्छ । कसैले कसैलाई जबर जस्ती एक अर्काबाट अलग्याई दिँदा नजिकै गाउँमा भएर पनि आफ्नै बाबा र आमा पट्टिका सन्तानहरु दसतिर भएका छन् । हाडनाता वा नजिकको नातामा विहे गर्नु हुन्न भनेर कुलुङ समाजमा अभिभावकले नसिकाउँदाको परिणाम उनी आफ्नो अवस्थालाई ठान्छिन् ।

(यो महाकुलुङ क्षेत्रमा परिचित एक युवतीको वास्ताविक कथा हो ।)

No comments:

Post a Comment