Tuesday, January 15, 2013

पन्धबर्ष नुपुग्दै विवाह गर्छन् वालिकाहरु

(हाम्रै नेपालमा)
राजधन कुलुङ

सोलुखुम्बूको वाकु–८ वाप्सा, मगर गाउँका अधिकांश वालिकाले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाह कानुनद्धारा बर्जित भएको कुरासँग बालिका र उनीहरुका अभिभावक कसैलाई वास्ता छैन । वाप्सा बदबर टोलकी सुष्मा रजानमगर(१४)को वाकु– ९ लाखुका किशोर हिराकाजी रानामगर(१६)सँग भरखरै विहे भयो । कानुनी रुपमा दुबैको उमेर नपुगे पनि अभिभावकै सहमतीमा उनीहरुको विवाह भएको हो । सुष्मा र हिराकाजी अहिले माइती–ससुराली गरिरहेका छन् ।

एकवर्ष पहिले वाप्सा बलेफाकी कोपिला खपाङ्गी मगर(१४)ले सोमान मगर(२१)सँग प्रेम विवाह गरिन् । ओठ निचोर्दा दूध आउने बालिका कोपिलाले विहे गर्दा उनका अभिभावकले खासै आपत्ति जनाएनन् । आफूलाई मन पराएको भन्दै सोमानले जबरजस्ती गरेपछि बाध्य भएर विहे गर्नु परेको कोपिला बताउँछिन् । विहेपछि ४ कक्षाको पढाई त्यसै रोकिएको छ भने उमेर नआउँदै गहस्थी जीवन सुरुभएको छ । विवाहले पढ्ने धोको समाप्त भएको कोपिला बताउँछिन् ।

कोपिला खपाङ्ीकै उमेरमा हिमाली मगर(१४)ले र गोपाल मगर(१८)सँग गतवर्ष विहे गरिन् । हिमाली र गोपल आफ्नै राजीखुसीले विहे गरेको बताउँछन् । विहेपछि ७ कक्षामा पढ्दै गरेका दुबैको स्कुल छुटेको छ । अहिले हिमाली गाउँमै घरखेती गर्छन् भने गोपाल कहिले गाउँ त कहिले नाम्चे जाने आउने गर्छन् ।

सुष्मा, कोपिला र हिमालीको मात्र होइन गाउँका सबै जसो किशोरीहरुको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ । १५ वर्ष नपुग्दै विहे गर्नेको लस्करमा जोडिन्छिन् बेबिना मगर(१८), जसले ४ वर्ष पहिले गाउँकै अमर मगरसँग विवाह गरेर दुई बच्चाकी आमा भइसकेकी छिन् । उनीहरु आमाबाबससँग छुटिएर बस्दै आएका छन् । १५ वर्षमा टेक्दै गर्दा विवाह गरेकी सुजता मगर(१९)को छोरो ४ वर्षको भइसकेको छ । विष्णु मगर(१५) ले गाउँकै शम्भु मगर(१८)सँग डेडवर्ष पहिले विहे गरिन् ।

करिब १५० घर मगर परिवार रहेको वाप्सा गाउँमा पछिल्लो पटक अरु हेरी उमरे पुगेर विहे गर्ने सुविता मगर(१८) र राजु रानामगर(१८) हुन् । अरुका केटाकेटीले बच्चैमा गरेपनि आफूले उमेर पुगेरै छोरीको विवाह गरिदिएको सुविताकी आमा चिनीमाया रजानमगर बताउँछिन् । ९० प्रतिशत बालिकाहरुको किशोरी अवस्था पार नभइ विहे हुने गरेको स्थानीय गोविन्द थापामगर बताउँन । भन्छन्– कानुनले अवैध मानेको बालविवाह परम्पराकै रुपमा वाप्सामा स्थापित छ ।

पछिल्लो ७ वर्षमा सबैभन्दा धेरै उमेर पुगेर आफूले विहे गरेको सन्ध्या थापामगर(२१) बताउँछिन् । उनले दुईवर्ष पहिले गाउँकै हिरा मगर(२१)सँग विवाह गरेकी हुन् । सन्ध्याका अनुसार पहिलो राजश्वालासमेत नहुँदै वाप्साका धेरै केटीहरुको विवाह भइसक्छ । २०६१÷०६२ यता वाप्साका दुई दर्जनबढीको बालविवाह भएको छ । वालविवाह अन्यत्त्र विकृति मानिएपनि आफ्नो गाउँमा सामान्य बन्दै गएको सन्ध्या बताउँछिन् ।

अरुका छोराछोरीले बालविवाह गरेपनि आफ्नो छोराछोरीलाई त्यस्तो गर्न नदिने स्थानीय अजम्बरी सामुदायिक संस्थाकी कोषाध्यक्ष सीता मगर बताउँछिन् । बालविवाहको चलनले बालिबालिकाको पढाई चौपट भएको कोषाध्यक्ष मगरको अनुभव छ । अहिलेसम्म वाप्साको बदबर, बलेफा, खानी र रोयखोला टोलका कुनै मगर बालिकाले एसएलसीसम्म नगरेको सिता बताउँछिन् । अधिकांश केटाहरुले पनि १८, १९ वर्षमा विहे गर्ने गरेका छन् । सानो उमेरमा विवाह गर्ने चलनले गाउँ शिक्षामा ज्यादै पछाडिएको स्थानीय भक्तबहादुर मगर बताउँछन् ।

बालविवाहले शिक्षा आर्जन तथा व्यक्तित्व विकासमा बाधा परेको र परिवार सञ्चालन गर्न गाह्रो भएको सन्ध्या थापा बताउँछिन् । स्थानीय सगरमाथा मावि कक्षा १० पढ्दापढ्दै विहे गरेकी सन्ध्या स्वयम् त्यसपछि पढाइ छाड्न बाध्य भइन् । बालविवाह हुनुमा अभिभावकहरु नै दोषी भएको सन्ध्या बताउँछिन् । ‘ठूलाहरुले गाउँको विवाह तथा सामुहिक कार्यमा साना केटाकेटीहरुलाइ जुटाइदिने, जिस्काउने, उकास्ने गर्छन्’ भन्छिन्– यसले बालविवाह गर्न प्रोत्साहित गराएको छ ।’ केहीले भने साथीभाइको देखासिखीले सानैमा विहे गरेको बताउँछन् । आफु सानै भएपनि मनमिलेपछि एक्लै बस्न नसकेर विहे गरेको बेबिना मगर बताउँछिन् ।


आर्थिक र शैक्षिक रुपमा पछाडि रहेको वाप्सा मगर गाउँमा बालविवाह रोक्न विशेष सचेतनात्मक अभियान खाँचो भएको गैह्रसरकारी संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालको वाकु हेर्न सामाजिक परिचालक पर्विमाया खालिङ राई बताउँछिन् । पहाडी विकासले वाप्सामा गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक परिचालक राईका अनुसार कार्यक्रममा समेटिएका परिवारहरुको सामुदायिक संस्थामार्फत बालविवाह रोक्न अभियान चलाउन पहल भइरहेको छ ।

अजम्बरी सामुदायिक संस्थाकी अध्यक्ष चिनीमाया रजानमगर केटाकेटीले सानैमा विवाह गर्दा अन्य गाउँकाले हेयका दृष्टिले हेर्ने हुँदा अबको दिनमा यसलाई रोक्न पहल गर्ने बताउँछिन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, सोलुखुम्बूका उपाध्यक्ष नरेन्द्र थापामगर जिल्लाकै पछाडि परेको मगर गाउँमा सुधार अभियान चलाउनु पर्ने बताउँछन् । गाउँ विकास समिति र महिला तथा बालबालिका कार्यालयले वाप्सामा सचेतना अभियान चलाउनु पर्नेमा उनी जोड दिन्छन् ।
(फोटोः १. सानैमा विहे गरेर आमा बनेकाहरुः सन्ध्या, कोपिला र बेबिना मगर । २. सानैमा विहे गरेर वर्षेनी आमा बनेकी एक युवती । तस्विरः राजधन कुलुङ)

No comments:

Post a Comment