Tuesday, January 15, 2013

उज्यालोतिर महाकुलुङ




Fulwatti Hydro Project, Chheskam
राजधन कुलुङ, सोलुखुम्बू
 जिल्लाकै पिछडिएको क्षेत्रको पर्याय मानिने सोलुखुम्बूको महाकुलुङमा धमाधम विद्युत बल्न थालेपछि पुरानो पहिचान फेरिन लागेको छ । महाकुलुङका पाँच गाविसहरुमध्ये आर्थिक वर्ष ०६७÷०६८ मा सोताङ र छेस्कामका १२५५ घरमा बत्ती बलेपछि पहिचान फेरिन शुरु भएको हो । २०६८ पुस दोश्रो साता ८८ किलोवाट क्षमताको भूवाखोला लघुजलविद्युत आयोजना निर्माण पुरा भएपछि बुङ गाविसको ८१८ घर उज्यालो पारेको छ । भूवाखोला जलविद्युत आयोजना सम्पन्न भएसँगै महाकुलुङको २०७३ घर उज्यालो बनेको छ । बाँकी करिब दुईहजार घर उज्यालो बनाउन १०० किलोवाटको बुदुमखोला, गुदेल र ७६ किलोवाटको माथिल्लो रोकखोला लद्युजलविद्युत आयोजना, पावै निर्माण क्रममा रहेका छन् । विद्युत निर्माण र बल्ने क्रमले महाकुलुङलाई नमुना गाउँ बनाउँदै लगेको छ ।

प्रारम्भिक सर्भेक्षण अध्ययन सँगसँगै शुरु भएपनि सोताङले ७०. २ कलिोवाटको रोकखोलालाई पहिलो आयोजनाका रुपमा सम्पन्न ग¥यो । २०६७ कार्तिकमा सम्पन्न रोकखोला लघुजलविद्युत आयोजनाले सोताङको ६९८ घरधुरीमा बत्ती बलेका छन् । २०६७ पुसमा सम्पन्न ४२ किलोवाटको फुलवात्तीखोला लघुजलविद्युत आयोजनाले छेस्कामको ७५० मध्ये ५५७ घर उज्यालिएका छन् । जिल्लाकै पिछडिएको गाविसको रुपमा रहेको छेस्काममाले विद्युत आयोजना सफल बनाएपछि अन्य गाविसवासीमा उत्साह थपिएको बुङका पूर्व गाविस अध्यक्ष जीतबहादुर कुलुङ बताउँछन् । अधिकांशले नेपाली भाषा बोल्न नजान्ने छेस्कामवासीहरुको जलविद्युत बाल्ने सफलता प्रेरणादायी भएको जिल्ला विकास समिति सोलुखुम्बूका योजना तथा प्रशासकीय अधिकृत तुलराज सुनुवारकोे भनाइ छ । जिल्ला प्रशासनको बृहत घुम्तिशिविरमा महाकुलुङ पुगेका सुनुवार अन्य क्षेत्रमा पछाडि रहेपनि यो क्षेत्र जलविद्युतमा अग्रणी भएको बताउँछन् ।

महाकुलुङको तेश्रो जलविद्युत आयोजना भूवाखोला कुलुङहरुको चाड मिनारी दाचाम चाक्चाकुरको उपहार स्वरुप २०६८ पुस १५ बाट बालिएको अध्यक्ष जीतबहादुर कुलुङ बताउँछन् । बुङको ८१८ घरमा विद्युत बलेपछि कुलुङ जातिको उद्गमभूमि महाकुलुङको आधाबढी बस्तीबाट अन्धकार हटेको छ । गुदेल र पावैका लागि दुईवटा आयोजनाहरु निर्माण भइरहेका छन् । गुदेलको ८६२ घरको लागि १०० किलोवाटको बुदुम खोला लघुजल विद्युत आयोजना निर्माण भइरहेको छ । महाकुलुङको पाँच आयोजनामध्ये बुदुम सबैभन्दा ठूलो हो । आउने डेढवर्षमा गुदेललाई उज्यालो बनाइने अध्यक्ष सञ्चराम कुलुङ बताउँछन् । आयोजनाको क्यानल र पावर हाउस निर्माण पुरा हुने क्रममा रहेकोछ ।

पावै र सोताङको केही गाउँका लागि माथिल्लो रोकखोला निर्माण भइरहेको छ । ७६ किलोवाटको माथिल्लो रोकले दुई गाविसका ६७६ घरमा उज्यालो बनाउने अध्यक्ष बीरकुमार राई बताउँछन् । ३० किलोवाटको रोकखोला तेस्रो सोताङको विस्तृत सर्भेक्षण भइरहेको छ । रोक तेस्रोले २७५ घरमा उज्यालो पु¥याउनेछ । रोकखोला तेस्रो पहिले विद्युत पाउनबाट बन्चित सोताङको बस्तीलाई लक्षित गरेर निर्माण हुने अध्यक्ष हिम नाछिरिङ बताउँछन् ।

दुईवर्षमा महाकुलुङ उज्यालो
निर्माण पुरा भएका सोताङ, छेस्काम र बुङको तीन आयोजनाले महाकुलुङको करिब ५२ प्रतिशत घरमा उज्यालो पुगेको छ । अबको डेढदेखि दुई वर्षमा महाकुलुङ पुरै उज्यालो हने कुलुङ संघका केन्द्रीय कोषाध्यक्ष एवं् विकासकर्मी भलाकाजी कुलुङ  बताउँछन् । सबै घरमा बत्ती बलेसँगै यो क्षेत्रले विकासमा एउटा फड्को मार्ने कुलुङ बताउँछन् । निर्माण पुरा भएका तीन आयोजनाको उत्पादन क्षमता २००.२ किवा रहेको छ । दुई निर्माणाधिन र पाइपलाइनमा रहेको एक गरी तीन आयोजनाले थप २०६ किवा विद्युत उत्पादन गर्नेछ । ६ वटा आयोजना निर्माण सम्पन्न हुँदा ४०६.२ किवा विद्युत उत्पादन हुनेछ । यसले ४ हजार घरलाई उज्यालो दिनेछ ।
 

निर्माणाधिन र पाइलाइनमा रहेका आयोजना पुरा हुँदा त्यसले थप १८१३ घरमा बत्ति बल्नेछ । सबै आयोजना पुरा हुँदा महाकुलुङको ९७ प्रतिशत घरमा बत्ति बल्नेछ । महाकुलुङको पाँच गाविसमा ४ हजारबढी घरधुरी रहेकाछन् । लघुजलविद्युत आयोजनाले नसमेट्ने परिवारलाई पेल्ट्रिक सेट र सौर्य प्रणालीबाट विद्युत पु¥याइने यसका अभियन्ताहरु बताउँछन् । पावै, बुङ र छेस्कामको केही वडामा यसअघि नै पेलिट्रक सेट र लघुजलविद्युत सञ्चालनमा छन् । अहिले उत्पादन भएको विद्युतसमेत पुरै खपत नभएकाले बाँकी घरलाई दिन सकिने फुलवात्ती लघुजलविद्युत आयोजना, छेस्कामका कोषाध्यक्ष दुतिशंकर कुलुङ बताउँछन् । कुलुङका अनुसार फुलवात्तीको ४७ किवा उत्पादनमध्ये १७ किवा मात्रै उपभोग रहेको छ ।

विजुलीले गाउँको जीवन फेरिएको छ
गाउँमा विद्युत बलेपछि नागरिकको जीवन शैलीमा फेरिएको छ । छेस्कामका अधिकांश महिला अहिले पनि नेपाली राम्रोसँग बोल्न सक्दैनन् । तर विद्युतले स्याटेलाइट टेलिभिजनमा पहुँच पु¥याएको छ । महिलाहरुले अबेरसम्म घरेलु सिपका काम गर्न पाएका छन् । गाउँमा कम्प्युटर इन्स्टिच्युट, फोटोकपि, हाइभिजन हल, रेफ्रिजिरेटर पुगेका छन् । धेरै बृद्धबृद्धासँग जीवनकै अकल्पनीय परिवर्तन आँखा अगाडि देख्न पाएको अनुभव छ । ५० वर्ष पहिले दार्जिलिङ र ४५ वर्ष पहिले धरानमा देखेको विजुली आफ्नै घरमा बलेको देख्दा खुसीको सिमा नरहेको छेस्कामका गौरीशंकर कुलुङ(७४) बताउँछन् । छेस्कामकै अर्का बृद्ध अमृतबहादुर कुलुङ यो जुनीमा आफ्नै गाउँमा बिजुली बल्ला भनेर नसोँचेको बताउँछन् ।

सोताङ बजारका होटल व्यवसायी सर्की शेर्पा बत्तीलेपछि गाउँको मुहारै फेरिएको अनुभव सुनाउँछन् । उनी शहरमा जस्तै फ्रिज राख्न, घरैमा बसीबसी टेलिभिजन हेर्न पाइएको र सामुदायिक रेडियो सञ्चालन हुने क्रममा रहेको बताउँछन् । महाकुलुङ प्रावि छेस्कामकी शिक्षिका कल्पना कुलुङ विद्युतले युवा वर्गलाई सूचना प्रविधिसँग नजिक्याउन सहयोग पु¥याएको सुनाउँछिन् । विद्युत आएपछि हेल्थपोष्टको इन्जेक्सन र औषधि रेफ्रिजिरेटरमा राख्न सजिलो भएको छ । सुधारिएको फलामे चुल्होको प्रयोगले गृहिणीमा उल्लेख्य स्वास्थ्य सुधार भएको छेस्कामकी स्वाथ्यकर्मी तिर्सना कुलुङ बताउँछिन् । छेस्कामककै सामाजिक कार्यकर्ता अरुणा कुलुङको अनुभवमा गाउँमा मिल सञ्चालनपछि धेरै महिलाहरुको जाँतोबाट मुक्ति पाएका छन् ।

गाउँमा विद्युत बलेपछि ९० प्रतिशत मट्टितेलको प्रयोग घटेको उनी बताउँछिन् । विद्युतमा अगुवा बनेपछि वारिपारि गाउँका मानिसहरुले महाकुलुङलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको रोकखोलाका अध्यक्ष हिमबहादुर नाछिरिङ बताउँछन् । पहिले यो क्षेत्रलाई नै हेपिएको नजरले हेर्थे, अहिले सिक्न आउँछन्, उनी भन्छन्–  महाकुलुङ उजयालो भएपछि सबैको हेर्ने आँखा परिवर्तन भएको छ । पहाडी विकास तथा संरक्षण समूह बुङका अध्यक्ष श्रीध्वज राई बीसबर्ष पहिलेसम्म हरियो सागका रुपमा सुर्ती मात्रै उत्पादन हुने महाकुलुङको गाउँगाउँमा विजुली बल्नुलाई ‘साँच्चैको परिवर्तन’ मान्छन् । सामाजिक जागरणमा पहाडी विकासको अग्रणी भूमिका रहेको उनी बताउँछन् । पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङले महाकुलुङमा स्थानीय श्रोतमा आधारित गरिबी निवारण कार्यक्रम सञ्चालन गरी रहेको छ । गरिबी निवारण कोषको सहयोगमा सञ्चालित यो कार्यक्रमले ४२ सामुदायिक संस्थामार्फत १ करोड ७० लाखबढी आयआर्जनका लागि लगानी भइसकेको छ । १ करोड १० लाखको लगानीमा ५ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । कार्यक्रमले महाकुलुङ क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने शिक्षक सुरेन्द्र बास्तोला बताउँछन् ।

महाकुलुङका बुद्धिजीविहरु जलविद्युतलाई स्थानीय नागरिकको आयआर्जनसँग कसरी जोड्ने भन्ने सोँचमा रहेको सगरमाथा माविका शिक्षक पर्खिधन राई बताउँछन् । पहाडी विकासले सञ्चालन गर्ने कार्यक्रमले यसमा सहयोग पुग्ने उनको धारणा छ । कार्यक्रम अन्तरगत किसानहरुलाई पशु पालन, फर्निचर उद्योग सञ्चालन, जडिबुटी खेती तथा उद्योग, तरकारी खेती  सञ्चालन गराउनु पर्ने उनको धारणा छ । अब साँस्कृतिक पर्यटन र सडकको विकासमा महाकुलुङले जोड दिनु पर्ने कुलुङ संघका केन्द्रीय कोषाध्यक्ष भलाकाजी कुलुङ बताउँछन् । विद्युतीय सुविधासँगै कृषि र पशुलापन तथा आयआर्जनद्धारा जनताको जीवनस्तर उकास्न पहाडी विकास तथा संरक्षण समूह बुङ र गरिबी निवकारण कोषले कार्यक्रम सञ्चालन गरिहेको छ ।

देशमा शान्ति स्थापनासँगै गाउँमा लघुजलविद्युत निर्माणको अभियान शुरु भएको हो । सम्पन्न आयोजनाको सरदर प्रति किलोवाट उत्पादन लागत ३ लाख छ । लागतको करिब ५० प्रतिशत इसापले अनुदान उपलब्ध गराएको हो भने बाँकी गाविस, जिविस, स्थानीय जनता, जनश्रम र विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाइएको यसको अगुवाहरु बताउँछन् । -तस्विरहरुः फुलवात्ती खोला लघु जलविद्युत आयोजना, छेस्कामको पावर हाउस । तस्विर ः+ राजधन कुलुङ_


No comments:

Post a Comment