Monday, May 11, 2020

नेपाली आत्मिक सवलता र सार्वभाैमसत्ता

-आरडी कुलुङ
नेपाल भारत सिमा विवाद निक्कै लामाे छ । यही विवादलाई देखाएर नेपालमा देशभक्तिकाे सञ्चार गराउने काेशिश ५५/६० बर्ष यता हुँदै आएकाे छ । भारतसँगकाे सिमा विवादमा हामी खुब भावुक भइहाल्छाैं र अहिल्यै हतियार बाेकेर युद्धमा कुदिहालाैंला झैं गर्छाैं । सरकारमा जाे भएपनि सिमानामा सेना पठाएर बन्दुक पड्काइहालाेस् भन्छाैं । क्षेप्यास्त्र हानिहालाेस् भन्छाैं ।
हामी यति भावुक भइरहँदा हाम्राे धरातलीय यथार्थता र आत्मिक सवलता के कति छ ? भन्ने विषय पुरै विर्सन्छाैं । मलाई के लाग्छ भने एउटा देश कति शक्तिशाली छ भन्ने कुरा त्यहाँका नागरिकमा रहेकाे आत्मिक सवलताले मुख्य काम गर्छ । इतिहासमा प्रमाणित भइसकेकाे छ कि मानिसकाे मानसिक सशक्तता हतियार भन्दा शक्तिशाली हुन्छ । भियतनाम, इजरायल, कस्मिर सुने देखेका पछिल्ला उदाहरण हुन् ।

नेपाली राष्ट्रिय स्वाधिनता बचाउन हामी साँच्चै कति सक्षम छाैं ? नागरिकसँग त्याे आत्मबल छ कि छैन त ? त्याे गम्भिर रूपले साेँचनीय विषय छ । नागरिककाे आत्मवल नै राज्यकाे शक्ति हाे । स्वाभिमानी वीर नागरिकहरू नभएकाे देश र राज्य हुतिहारा हुन्छ । याे सामुन्नेमा प्रमाणित कुरा हुन् । वीरता र मुर्खता फरक कुरा हुन् । हामी नेपालीहरू मुर्खता देखाएर वीर हुन खाेजिरहेका छाैं ।

नेपालीले २०४ बर्ष भयाे आफ्नाे देशकाे माटाे बचाउन युद्ध नलडेकाे । त्यस यता हामी सधैं परायका लागि वीर भइ आएका छाैं । ठूला ठूला युद्ध लडेका छाैं त अरूकै माटाेका लागि । म भाडाका सिपाही त भन्दिन तर खेताला याेद्धा अवश्य छाैं दुई शताब्द्धी भन्दा लामाे समय देखि । देशकाे माटाे रक्षाका निम्ति हाेइन, खेतालाे गएकाे देशका लागि हजाराैं घनलिटर रगत बगाएका छाैं । लाखाैं ज्यानकाे बलि चढाएका छाैं । उति नै संख्यामा विधवा र अनेकाैं लाख टुहुरा टुहुरी बनाए छाैं ।
हामी खेताला सिपाही हुन छाेराछाेरी पठाइ रहेका छाैं । आफ्नाे सन्तान खेताला सिपाहीमा भर्ना हुँदा आत्म गाैरव गरिरहेका छाैं । विदेशकाे भिसा लाग्दा, डिभि पिआर पाउँदा उपल्लाे दर्जाकाे ठान्दै खुसी मनाइ रहेका छाैं । नेपालीले आफ्नाे हाेइन, पराय देश राम्राे भन्दै आएकाे दुई शताब्द्धी नाघेकाे छ । याे भनेकाे करिब दश पुस्ता हाे । यति लामाे अवधिमा हाम्राे दिमाग गुलाम भइसकेकाे छ । एक प्रकार नेपालीकाे जिनमा गुलाम घुलित भइसकेकाे छ ।
अहिलेकाे युवा पुस्ता अवसर पाए झण्डै सतप्रतिशत विदेश पलायनकाे सपना देख्छ । त्यसकै तयारी र प्रयास गर्छ । त्यहीँकाे नागरिक हुन पाए हुन्थ्याे साेँच्छ । विदेशमै बसेर भावुक देशभक्त बनिरहेकाे छ । अब यस्ताे अवस्थामा हामीसँग राष्ट्रिय आत्मगाैरव कति हाेला ? स्वाभिमान र आत्मवल कति हाेला ? अहिलेकाे धरातलीय यथार्थता नेपालकाे यही हाे ।
राष्ट्रिय सार्वभाैमिकता र स्वाभिमान बचाउने हाे भने नेपाली मनाेविज्ञान परिवर्तन हुनु प्रथम शर्त हाे । मनाेविज्ञान परिवर्तन गर्ने हाम्राे साँस्कृतिक परिवर्तन हाे । हामीले खेताला सिपाही हाम्रा नानीहरूलाई बनाउने काम अब बन्द गर्नै पर्दछ । एउटा सार्वभाैम देशकाे नागरिक अर्काे देशकाे झण्डामूनि बसेर त्याे झण्डाकाे सार्वभाैमिकता संरक्षण गर्ने कसम खाइ रहनु, ज्यान बलिदान गरिरहनु, अरूकाे मुलुकका लागि वीर भइरहनु मानिसका कल्पित सत्य भन्दा बाहिरका विषय हुन् ।
हामी हाम्रै देशकाे झण्डामूनि बसेर वीर हुने, सपुत हुने, सहिद हुने सपनामा जानु आवश्यक छ । अबकाे नयाँ पुस्ताले कलाकार हुन हाेइन, निर्देशक हुन विदेश जाने सपना देख्नु पर्छ । हामीले त्याे सपना देखाउनै पर्छ । विदेशीकाे सेवा गरेर हाेइन, आफ्नै जातिकाे सेवा गरेर वीर हुनुपर्छ । त्यसका लागि अब पुरानाे कथाकाे हाेइन, अहिलेकै कल्पित मानक सृजना गर्नु आवश्यक छ ।
राजनीतिक दलका आधारमा हाेइन, नेपाली नागरिक भएकाे आधारमा हामीले देशकाे सार्वभाैमिकताकाे प्रश्नलाई लिनु पर्दछ । नेपालकाे विडम्बना नै के रही आएकाे छ भने विदेशीले देशकाे सार्वभाैमिकतामा अतिक्रमण गर्दा त्याे देशकाे हाेइन, आफ्नाे सरकारकाे विराेध गर्ने । यसले देशेको स्वतन्त्रता र सार्वभाैमिकताका विषयमासमेत राष्ट्रिय अभिमत विभाजित भइ आएका छन् । जसले नेपाललाई कुटनीतिक मामिलामा थप कमजाेर बनाएकाे पाइन्छ ।
त्यस्तै राष्ट्रिय सेनाकाे सवलता महत्वपूर्ण कुरा हाे । नेपालकाे सार्वभाैम सत्ता सुरक्षाका लागि मुख्य संयन्त्र राष्ट्रिय सेना नै हाे । प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम अबकाे दिनमा आवश्यकता छ । आधुनिक हतियार र व्यारेकहरू आवश्यक छ । शस्त्र र अस्त्रमा सैन्य क्षमता विस्तार हुनै पर्दछ । याे कसरी पनि भन्न सकिन्छ भने इजरायल जस्ताे एउटा सानाे देश दुनियाँकाे शक्तिशाली सैन्यशक्ति हुनुकाे आधार उस्काे आधुनिक अस्त्र र शस्त्रले सेना सम्पन्न हुनु नै हाे ।
इजराय जस्ताे सानाे देश राष्ट्रिय सुरक्षामा विश्वकै उत्कृष्ठ किन भयाे ? यसकाे एउटै कारण हाे उनीहरूकाे आत्मवल र उत्कृष्ठ हुने चाहना । नेपालले पनि त्याे हुन सम्भव छ । इजरायलीहरूमा हामी महान र उत्कृष्ठ छाैं भन्ने विश्वास थियाे, छ र त्यही अनुरूप गरेरहेका छन् । हामीमा विश्वास जाग्नु जरूरी छ । प्रत्येक यहुदी इजरायलकाे सेना हुनसक्छ भने नेपाली हुन नसक्ने हुन्न । हामीले हाम्राे महानता र उत्कृष्ठतामा विश्वास गर्नु पर्दछ ।
नेपालकाे विदेश नीति भनेकाे संयुक्त राष्ट्र संघकाे वडापत्रका सिद्धान्तहरू नै हुन् । असंलग्न र पञ्चशिलका सिद्धान्त नै हुन् । हामी छिमेकीसँग शान्ति र मित्रता चाहन्छाैं । तर यदि त्यसले काम नगरेमा 'झिकी कटक गर्नु त' छँदैछ ।

No comments:

Post a Comment