Wednesday, December 17, 2014

खोक्चिलिप र वेइलिमको कथा (भाग ३)

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

बहिनी ब्यूँझेको देखेपछि लोस खुसी भइन् । अनि विस्तारै गाली गर्न थाली – मैले पहिल्यै भनेकी थिएँ, तँ अघि जा भनेर ! मानिनस । तिम्रो बाजे पप्पौलाई जिस्क्याइस् होला ? अनि बहिनीले भनि – तिमी गएपछि मेरो प्वाँख झरिगयो नाना, म उड्नै सकिन । त्यतै डुली हिँड्दा पप्पौलाई थुन्से बुनिरहेको भेट्टाएँ । खै के भो ! उस्लाई जिस्काउन मन लाग्यो । उ जे भन्थ्यो, त्यही भनेर जिस्काउन थालेँ । दिदीले सोधिन् – अनि ऊ के भन्थ्यो ? ‘नजिस्काउ है सोल्टीनी तिम्रो मासु केलाइ खान्छु भन्थ्यो ।’ अनि किन जिस्काएको त ? ‘खोइ नजिस्काउँ भन्दा पनि ऊ कराएको सुन्दा उसै गरी कराउन मन लागिहाल्ने’ – बहिनीले भनि । अनि दिदी लोसले भनि– हेर ! पप्पौले तिम्रो मासु केलाइ खाएर हाडखोर कटुसको टोड्कामा राखेको रहेछ । मैले भेट्टाएर ब्यूझाएको हूँ । म हामीले रोपेको फूल हेर्न गएको थिएँ तर तिमीले रोपेको फूल ओइलाएको थियो । अनि तिमीलाई कति धेरै खोजेर पत्तो लगाएँ । जेहोस तँ बाँचिस्, अब हाम्रो निसाना पनि नराखौं, अब सँगै बसेर आफ्नो संसार निर्माणमा लागौं ।’ त्यसपछि दिदीबहिनीसँगै बस्न थाले ।

खोक्चिलिपको संघर्ष
लोस र खेवाले खिसोमाले थिची कुल्चेर छाडेको खोक्चिलिप उनीहरुले सोंचे जस्तो हातखुट्टा र करङ भाँचिएर मरेनन् । बरु न्यानोमा मज्जाले लामो निद्रा निदाए । दिदीहरुले खिसोमाले थिचि राखेकाले उनलाई झन न्यानो भएको थियो र धेरै बेर निदाएका थिए । ब्यूझिएपछि भाइलाई न्यानो होस् भनेर दिदीहरुले यसरी खिसोमाले पुरेका होलान भन्ने उनले सम्झे । ननिदाएसम्म दिदीहरुले जुम्रा मारिदिएको, माया गरेको सम्झिए । सँधै घरमा एक्लै छाड्ने दिदीहरुले आज किन जंगलमा छाडे भनेर मनमा अनेक तर्कना गरे । घाम डुब्न लागेको थियो । अनेक पर्खँदा नि दिदीहरु देखा परेनन् । खिसोमाको थुप्रो वरिपरि हेर्दा दिदीहरुले छाडेको केरा, माला, कर्द र कर्कलाको पातमा पानी देखे । सायद मलाई नै छाडेर गएका होलान् भनेर सम्झिएर । दिदीहरुलाई पर्खँदा पर्खँदै झमक साँझ प¥यो । गोलसिमल(पोपैवा) एकोहोरो पुकपुक.......... पुकपुक............ कराएको सुनेर खोक्चिलिपलाई डर र विरह लाग्न थाल्यो । साँझपरेपछि रातमा कराउने भूत प्रेत कराउन थाले, चमेराहरु उड्न थाले, हूचिल र चुकुढाउ कराउन थाल्यो । दिदीहरु कता गए भनेर कस्लाई सोध्ने ? यसअघि जीवनमा यस्तो विपत कहिल्यै आइपरेको थिएन । दिदीहरुले छाडेर गएको सामग्री दोहो¥यएर एकपटक हेरे । त्यसपछि अर्थ लगाए – अब दिदीहरु नर्फकने गरी छाडेर गएका रहेछन् । उनलाई पाल्न दिदीहरुलाई कति कठिन थियो । उनकै कारण सबै खाद्यन्नको श्रोत आरिसे बुढीले बन्द गराउँदै लगेकी थिइन् । अब उनले सोँचे म ठूलो भएछु, दिदीहरुलाई पाल्न गाह्रो भयो । आफ्नो जीवन आफ्नै जिम्मामा आएको उनलाई महशुस भयो । 

दुई दिदीले छाडेर गएको केरा कर्दले काटेर खाए । योक्सुम्बोउ (कर्कलाको पात)को पानी पिए । कर्दले काट्दा केराको कोसाभित्र एउटा बियाँ भेटियो । खोक्चिलिपले केराको बियाँलाई जमिनमा रोपे । ‘छिट्टै उम्री हाल’ भन्दा उम्रियो । छिटोछिटो बढिहाल भन्दा बढ्यो । पसाइहाल भन्दा पसायो । अनि त्यही केराको बोटमा चढेर घरिलाई घर बनाएर रात कटाए । खोक्चिलिपको प्रथम घर त्यही थियो । भनिन्छ जहाँ बस्यो, त्यही घर हो । खोक्चिलिपले केराको घरिलाई लामो समय आफ्नो घर बनाए । मानव पहिले रुखको टोड्का, ओडार, गुफा आदिमा बस्दथ्यो । त्यसैलाई स्याहार सम्भार गर्दथ्यो, त्यही उसको प्यारो घर थियो । आरिसको जन्म भइसकेको थियो । राक्षसनीको आरिसबाट खोक्चिलिप त्यहाँ पनि सुरक्षित हुन सकेनन् । ‘आफू पनि बाँचौ र अरुलाई नि बचाऔं’ आरिसले भन्दैन । अनेक तरहले खोक्चिलिप केराको घरिमा घर बनाएर बसिरहेको छ भन्ने थाहा पाएर राक्षस बुढी त्यही चिप्लो घस्दै आइपुगी । लुतोको चिालइ भन्दा आरिसे मनले दिएको दुःख बढी हुन्छ । अरुको प्रगतिमा आरिसले जल्नेको खाएको पच्दैन, निद्रा लाग्दैन । आरिसलाई न उखेलेर फाल्न, न समुद्रमा बगाउनै मिल्छ, न मलजल गरेर फल फलाएर खानै सकिन्छ । धुँदा, पखाल्दा, टकटक्याउँदा केही गरी आरिसेको आरिस मिलाउन सकिँदैन भनिन्छ । र त बुढापाकाले भनेका छन् – देखासिखी गरी खानु, आरिसे मरिजानु । राक्षसनी नाचुर्मेलाई जसैगरी आरिस पुरा गर्नु थियो । खोक्चििलिपले उनको केही खाइ दिएका थिएनन र उसैलाई सिध्याउनु थियो । खोक्चिलिपको दुःखमा उ रमाउन चाहन्थी र हरेक क्षण सिध्याउने बाटोको खोजिमा हुन्थी । 

खोक्चिलिप बस्ने घरमा पुगेकी नाचुर्मे बुढीले चिप्लो लगाउँदै भनी – ‘नाति ! कसरी त्यहाँ चढिस् ? मलाई पनि बाटो सिकाउन ।’ खोक्चिलिपले मनमनै भन्यो – ‘आज पनि मलाई पहिले जसरी दुःख दिनलाई खोज्दैछेस्, किन सिकाउँथे ।’ उनले अनेक अनुरोध गरिन् । पहिल्यै पाउनु दुःख राक्षसनीबाट पाइसकेको खोक्चिलिपले आफ्नो खुट्टामा बन्चरो हान्ने कुरा भएन । उनीहरुबीचको धेरै लामो सवाल जवाफपछि बुढीलाई एक कोसा केरा दिन खोक्चिलिप राजी भयो । फेरि फ्याँकेको होइन, हातले दिएको केरा मात्रै खाने भइ बुढी । हातले केराको बोटबाट दिँदा नभेटिने भएकाले टुप्पीमा बाँधेर खसाली दिए खाने र जाने हातर गरिन् । बुढीले अति नै माग्न थालेपछि लौ खाएर जाओस् त भन्ने खोक्चिलिपलाई लाग्यो । पहिले दिएको दुःख बिर्सिएका त थिएनन् खोक्चिलिपले ‘माग्ने कै रोजी’ भएपछि मान्नै प¥यो । टुप्पीमा बाँधेर एक कोसा केरा झुण्ड्याएका मात्र के थिए, टुप्पीबाट तानेर उनले खोक्चिलिपलाई भुइँमा झारी । त्यसपछि पक्रेर लछार पछार गर्दै धोक्रोमा हालेर घर लिएर गइ । बुढीको घर निक्कै टाढा थियो । बाटोमा बुढीलाई दिसा लाग्यो । बुढी धोक्रो बिसाएर दिसा गर्न गइहाल्दा खोक्चिलिप धोक्रोबाट फुत्किए । खोक्चिलिपले धोक्रोमा आफ्नो सट्टा एक गोला अरिङग र हिलो लगाइ दिएर फर्किए ।

राक्षस बुढी गदगद हुँदै घर पुगी । खोक्चिलिपको मासुसँग भोज खाने भनेर आमा–छोरी रमाए । सबै सर्दाम तयार गरी मारेर खानको लागि धोक्रो खोलेर निकाल्दा अरिङगलको मुस्लोले घर ढाक्यो । आमाछोरीलाई चिलेर सत्यनास बनायो । यहीबाट किरा फट्याङ्ग्राको शुरु भयो । मानवलाई किरा फट्याङ्ग्राले दुःख दिएर हानी नोक्सानी पु¥याउन थाल्यो । यहाँबाट मानवीय रोग ब्याधिको जन्म भयो । दुःखको जन्म भयो भनिन्छ । आज उप्रान्त किरा फट्याङ्ग्राले किसानदेखि सबै मानवलाई दुःख दिएकै छ, हानी नोक्सानी पु¥याएकै छ । सुम्निमेले सृष्टि गरेपनि यसअघि अरिङ्गल शान्त थियो । रोग र किरा फट्याङ्ग्र आ–आफ्नो ठाउँमा बसिरहेका थिए । सुम्निमेले दुःख कष्टको सृष्टि गरेको भएपनि एक ठाउँमा सिमिति थियो । जतासुकै थिएन तर आरिसले गर्दा रोग–व्याधी र दुःखको जन्म र फैलावट हुन गयो । 

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन

No comments:

Post a Comment