Sunday, December 21, 2014

खोक्चिलिप र वेइलिमको कथा (भाग ४)

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)
खोक्चिलिपको संघर्ष– 
बोराबाट फुत्किएर भागेको धेरै पछाडि एकदिन खोक्चिलिप पिन्तुक्सी (लप्सी) टिप्न चढिरहेको बेला राक्षस बुढीले फेला पारिन् । रुखको फेदमा आएर ‘नाति ! मलाई नि लप्सी झारी दे ! सुकेको सुकेको हाँगा समात, मकेको मकेकोमा टेक !’ भन्न थाली । धेरै चोटी यो शब्द भन्दै रुखको फेदमा बसिरही । उसको कुरा नसुनी सर्तकतासाथ खोक्चिलिप लप्सी टिप्दै थिए । अचानक एक हाँगाबाट अर्कोमा जाँदा सुकेको हाँग र मकेको डाला प¥यो । राक्षसनीको अगाडि खम्य्राङ खुम्म्रुङ खोक्चिलिप झरे । बुढीको खुसीको सिमा रहेन । जे चाहेकी थिइ त्यही भयो । नसोँचेको सफलता हात लाग्दा को खुसी हुँदैन । नाचुर्मे बुढीसँग पहिले कै धोक्रो हाजिर थियो । पक्डेर धोक्रोमा हाली र घरतिर बोकेर लगी । बाटोमा दिसा लागेपनि आज नगरीकनै घर पुग्ने प्रण गरी । घर पुगेपछि छोरी तुतुमालाई खुसीको कुरा सुनाउँदै अह्रायी –‘आज गेसकुप्पा (टुहुरा)लाई नबिसाई धोक्रोमा घर ल्याएकी छु, म कोक्पा(मामा)हरु लिन जान्छु, भरे मिठो भोज खानुपर्छ, खानपिनको राम्रो तयारी गर ।’ तुतुमाले ‘कसरी मार्ने ?’ भनेर सोधी । बुढीले भनि– ‘धोक्रो खोलेर छुम्बो (ओख्ली) मा लानु, र भन्नु दाजु तिम्रो टाउको कत्रो छ ? छुम्बोमा नापौंना, अँट्छकी अँटदैन ? भन्नु । उसको टाउको छुम्बोमा लगाउने बित्तिकै कोङ्खी (मुस्ली) ले हिर्काउनु, अनि मरिहाल्छ ।’ फेरि छोरी तुतुमाले सोधी – ‘अनि त्यसपछि के गर्नु ?’ आमाले सविस्तार अह्रायी – ‘उसको ठाउको उसिनेर ओख्लीमा राख्नु, हातखुट्टा तख्तामा झुण्ड्याउनु, आन्द्राहरु आँगनदेखि सिकुवा, संघार गर्दै घरभित्र वरिपरि घुमाउँदै टाँग्नु, मुटु कलेजो नाङ्लोमा राख्नु, रगत आरीबाट बलेसीमा राख्नु, जीउको मासु पकाएर तीन भाग गरी राख्नु । खान मन लागे जति खाँदै गर्नु ।’ तुतुमाले सोधी –‘कोक्पाची (मामाहरु) कति बेला आउनु हुन्छ ?’ ‘कोक्पाहरु घरमा छन् कि छैनन्, घरमै भेटे सबेरै आउँछौं नभए साँझतिर हुन्छ होला । हामी आउनु भन्दा अगाडि नै खबर पठाउँछौं । खबर पर्खिँदै बस्नु, डाँडामा निस्केपछि म बाक्बाखोखो ! भन्छु । अनि हामी आइ पुग्यौं भन्ने जानेर सबै तयारीमा राख्नु ।’ बुढी यति भनेर माइतीहरुलाई लिन गइन् । 

आमा मामाहरुलाई लिन हिँडेपछि तुतुमाले बोराको मुख फुकाएर खोक्चिलिपलाई बाहिर निकाले । खोक्चिलिप र तुतुमा मिल्दोजुल्दो उमेरका थिए । उनीहरुको भाषा र मनोविज्ञान मिल्यो । साथी साथी जस्तै नजिक भएर कुरा गरे । तुतुमालाई खोक्चिलिपले भनेको कुरा मन प¥यो । हात, खुट्टा, कपडा दाँजादाँज भए । अनुहार हेराहेर भयो, केशको रुपरङ््ग मन परापर भए । खोक्चिलिपको लामो लामो कपाल तुतुमाले मन पराइ र माया गरी । तर आमाको आदेशको पालना गर्नु पर्ने थियो । बोक्सी बुढीले तुतुमालाई अह्राएको खोक्चिलिपले अधोपान्त धोक्रोभित्रबाट सुनेकै थिए । तुतुमासँग गरगहना र कपडा साटेर लगाउने खोक्चिलिपले प्रस्ताव ग¥यो । तुतुमाले मानी । तुतुमालाई नमारे आफू मारिने कुरा खोक्चिलिपलाई थाहा थियो । उनले तुतुमालाई मार्ने जुक्ति निकाले । आमाको आदेश अनुसार ओख्लीमा टाउको नाप्न तुतुमाले खोक्चिलिपलाई अनुरोध गरिन् । खोक्चिलिपले तुतुमालाई पहिले नापेर देखाउन अनुरोध गरे । उनले तुतुमाले नापेको हेरेपछि उसै गरी आफूले नाप्ने पनि बताए । तुतुमाले ओख्लीमा टाउको नाप्न थाली, खोक्चिलिपले मुस्लीले हिर्काएर तुतुमालाई मारी दिए । खोक्चिलिपले बुढी राक्षसनीले अह्राए जस्तै गरी भोजको तयारी गरे । टाउको ओख्लीमा राख्न, आन्द्रा टाँग्न, रगत आरीमा जमाउन, खानपिनको व्यवस्था गर्न सबै भ्याए । उनको एउटै ध्याउन्न थियो – बोक्सी बुढीलाई कसरी फन्दामा पारेर समाप्त पार्ने ? बुढीले छोरीलाई भनेको अनुसार सेवा टहल गर्न कमी गराएनन् । 

भोलिपल्ट साँझ पर्ने बेलामा जोडले हुरिबतास आयो । यसअघि यस्तो भएको थिएन । खोक्चिलिपले सोँचे मामाहरुसँग आउँदै गरेको खबर यहीँ होला ! यहीबाट हुरी बतासको सृटि भएको थियो । हुरि बतासले कसैलाई सुख दिँदैन, यो आरिस र राक्षसी कामबाट सृष्टि भएको हो । हुरि बतास आएको केही समयपछि निक्कै टाढा डाँडामा ‘बाक्बाखोखो, बाक्बाखोखो, बाक्बाखोखो’ भन्ने आवाज तीन पटक सुनियो । अब एकीन भयो राक्षस बुढी माइतीहरुलाई लिएर आइपुगी भन्ने । विवाहमा बरियात आउँदा भतेरेहरु व्यस्त हुन्छन् उसै गरी खोक्चिलिपले आफूलाई तयार पारे । अह्राए बमोजिम सबै काम ठीकठाक पाउँदा बुढी र उस्का माइतीहरु खुसीले गद्गद् भएर चिच्याए । ‘ङम–ङम (मिठो स्वादिलो जनाउने शब्द)’ गर्दै आन्द्राभूँडी, जमाएको रगत, हातपाउ लगायत साजएर राखिएको सम्पूर्ण खानेकुरा खाए । बाहिर टाँगिएको खानेकुरा खाइसकेपछि जीउको मासुबाट बनेको परिकारको भोज खाने बेला भयो । खानपान पस्किन याङ्मा आफैँ लागिन् । नक्कली तुतुमाले मामाहरुलाई खाना दिने भई । जेठा मामालाई देऊ भन्दा कान्छा मामा र कान्छा मामालाई देऊ भन्दा जेठा मामालाई तुतुमाले दिने गर्थी । यो देखेर बुढीले छोरीको नादानीपन सम्हाल्न लागी ‘यो यस्तै छे, मामाहरुलाई नि चिन्दिन, लाटी’ भन्दै । खोक्चिलिपलाई यसको के मतलब, ऊ एक छिनको भाञ्जी हुनु परेको छ । ज्यान खुकुरीको धारमा थियो । बुढीले थाहा पाए जिउँदै खान्छे । राक्षसकै छोरी मारेर राक्षसकै भोजमा भान्छे हुनु कम्ति डर लाग्दो कुरा थिएन । खोक्चिलिप यस्तै गर्दै थिए । त्यही भएर त खोक्चिलिपलाई साहसको प्रतिमुर्ति मानिन्छ ।

बाँकी अर्को पटक........

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन
३. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment