Wednesday, January 7, 2015

खोक्चिलिप र वेइलिमको कथा (भाग ५)

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

खोक्चिलिपको संघर्ष– 

आफ्नै छोरीको मासुको भोज खाएपछि बुढी र उनका माइतीहरु मस्त निदाए । उनीहरु सुतिरहेकको मौकामा खोक्चिलिप त्यहाँबाट भागे । धेरै टाढा पुगिसकेपछि भालेले राक्षस बुढीलाई आफ्नै छोरीको भोज खाइस् भनेर सुनायो । तीन डाकसम्म भालेले यो कुरा सुनाएपछि बुढी खोक्चिलिपको खोजीमा लागिन् र उनको पाइलैपाइला दौडन थाली । बालक खोक्चिलिप र राक्षसनी बुढीको पाइला मिल्ने कुरा भएन । राक्षस बुढी पाइतालासम्म पुग्ने कपाल फिँजाएर घुँडासम्म आउने स्तनको फाँचो काँधमा चढाइ, ठूलठूला आँखा र गोलो मुख बाएर हुरी बतासको बेगमा डर लाग्दो गरी दौडन थाली । उसको आँखाबाट आगोको झिल्का र मुखबाट धूवाँ निकाल्दै केशलाई इन्द्रेणी बनाएर खोक्चिलिप पछ्याउँदै गइन् । दौँिडदा उनको पछाडि विजुली चम्किँदै मेघ गर्जन्थ्यो । 

यस्तो भयानक राक्षस (ललदुम) को प्रतिरोध गर्न खोक्चिलिपलाई सजिलो थिएन । भेट्टाउनै लाग्दा तुतुमाको काइँयो बाटोमा फ्याँकी दिए । काइँयो टिपेर ऊ विलौना गर्दै रुन थाली, छोरीको सम्झनामा बेहोस भइ । रोएर मात्र भएन, ऊ सम्हालिइन् र फेरि खोक्चिलिपलाई पछयाउन थाली । त्यतिबेलासम्म खोक्चिलिप धेरै पर पुगी सकेको थियो । पहिलेकै गतिमा डौडिएर टाढा पुगेको खोक्चिलिपलाई भेट्टाउनै लाग्यो । खोक्चिलिपले तुतुमाको लाछी छाडिराखे । ललदुम बुढी टिपेर उसैगरी बिलौना गर्दै मुर्छा परिन् । होसमा आउँदा खोक्चिलिप धेरै पर पुगिसकेको थियो । जसै गरी बदला लिनु थियो राक्षस बुढीलाई । पछ्याउन छाडेनन् । भेट्न लाग्दा उसै गरी तुतुमाको अन्य सामान बाटोमा खसाउँदै खोक्चिलिप भाग्दै गए ।

खोक्चिलिपको दिन सकिएको थिएन, मानव सृष्टि फैल्याउनु थियो, समयको घडिपला पर्खनु थियो । मृतक छोरीको सम्झनामा मुर्छा पर्दै धेरै समय गयो । खोक्चिलिपलाई भेट्टाएनन् । अन्तिममा तुतुमाका सबै सामान सकिएपछि राक्षसनी ललदुम बुढीले खोक्चिलिप भेट्टाउनै लागे । खोक्चिलिपले आफूसँग भएको अन्तिम चिज अण्डालाई जपेर ‘यसले राक्षस बुढीलाई अन्त्य गरोस्’ भनेर बुढीतिर फ्याँकिदिए । अण्डा फुटेर नदीको सृष्टि भयो । खोक्चिलिप नदी पारी र ललदुम बुढी वारी भए । अनेका बहाना गरेर फकाउँदै नदी तर्ने उपाय खोक्चिलिपलाई सोधिन् । खोक्चिलिपलाई आफनो विनास गर्नु थिएन । बुढीको विनास नभइ आफ्नो भविश्य पनि थिएन । खोक्चिलिपले कुटिल उपाय सिकायो –’ममा (बजु) हात खुट्टा लहराले कसेर आँखा बन्द गरी फाल हानेको म त वारी आइपुगेँ ।’ ललदुम बुढीले त्यसै गरी खोलामा फाल हानिन् । उनलाई खोलाले बगाएर लग्यो । खोक्चिलिपको जीत भयो । 

बाँकी अर्को पटक........

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन
३. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment