Thursday, January 8, 2015

खोक्चिलिप र वेइलिमको कथा (भाग ६)

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

खोक्चिलिपको गृहस्थी जीवन - 
‘देखासेखी गरिखा, आरिसे जति मरिजा’ भन्ने सृष्टिको उखान झै खोक्चिलिप शत्रुलाई पराजीत गर्दै बाँच्न सफल भयो । उस्ले नदी नजिकै ओडारमा आफ्नो आफनो बसोबासको व्यवस्था मिलाए । ऊ दिउँसो घरबाट शिकार खेल्न, माछा मार्न जाने गर्थे । साँझ आफ्नै घर(ओडार)मा फर्कन्थे । नदीमा प्रसस्तै माछा पाइने र जोखिम पनि कम भएकोले माछा मार्न जानै उसलाई जंगलको शिकारभन्दा उत्तम लाग्यो । सँधै नदीमा माछा मार्न खोक्चिलिप जाने गर्थे । दिदीहरु उहिल्यै छाडेर गइसकेका थिए । आफूलाई खान खोज्ने बोक्सी बुढीलाई तह लगाइ सकेका थिए । उनी एक्लो, स्वतन्त्र र निडर भएर निस्फिक्री थिए । दिनहरु बित्दै जाँदा उमेर चढ्दै गयो, उनी किशोरबाट क्रमशः युवक हुन थाले । दैनिकी फेरिएको थिएन, उसै गरी नदीमा माछा मारेरै गुजारा गर्दै थिए । एकाएक उनको माछा मार्ने कार्यमा अवरोध आउन थाल्यो । नदीमा गएर मुनिउ(पासो) थाप्यो कि बगरको चिल्लो ढुङ्गा ‘योउलुङ’ पासोमा पथ्र्यो । ढुङ्गा झिकेर फ्याँक्दै खोक्चिलिप पासो थाप्थे फेरि उही नियति दोहोन्थ्यिो । ‘म टुहुरोलाई कुन आरिसेले माछा मारिखान पनि दिएन’ भन्दै खोक्चिलिपले पिरमा माने । जति पटक प¥यो टाढाटाढा पानीमा त्यो ढुङ्गालाई फ्याँक्थे तर मुनिउ खोला डुबाउने बित्तिकै पासोमा उही ढुङ्गा । आजित भएर यो पनि केही काम लाग्ला, त्यसैर त पारुहोङले दिएका होलान् भन्दै खोक्चिलिपले जाबी(एक प्रकारको झोला)मा राखे । ढुङ्गा जाबीमा राख्ने बित्तिकै भटाभट ठूलठूला माछा मर्न थाले । ऊ खुसीले गद्गद् हुँदै घर फर्किए । अघि जाबीमा हालेको योउलुङलाई घरमा ल्याएपछि ‘अचार पिस्न काम लाग्छ’ भन्दै फुर्लुङमा राखे । 

भोलिपल्ट पहिले जस्तै खोक्चिलिप माछा मार्न खोलातिर गए । माछा मारेर घरमा आउँदा कति धेरै परिवर्तन भएको देखे । घर सफा थियो, भातभान्सा सबै तमतयार थियो । उनी तीन छक्क परे, आखिर म टुहुरालाई कसले यस्तो दया गरेको होला ! भन्दै मनमनै सोँचे । अनि खाने बेलामा भने – ‘लौ कस्ले म टुहुरोलाई खाना बनाइ दिनुभयो ! आउनु है बसेर खाउँ !’ भन्दा बिरालो म्याउँ गर्दै आयो, त्यो दिन बिरालोसँग बाँडी खाए । फेरि दोश्रो दिन उसै गरी खोक्चिलिप काममा गइ हाल्दा घरमा भात भान्छा अञ्जान कसैले बनाइ राख्यो । उसै गरी खाने बेलामा निम्तो गरे कुकुर आयो, कुकुरसँगै बाँडेर खाए । आफ्नो दैनिक काममा जानै पथ्र्यौ, खोक्चिलिप गइ रहे । आउँदा घरको कुटपिन, सरसफाइ, भात भन्सा उस्तै तयार हुन्थ्यो । एक दिन, दुई होइन, सँधै यो काम हुन थाल्यो । सोँचे – ‘कतै गएर बसेका दिदीहरुले पो आएर यसो गरी दिएका हुन् की ? कि मरिसकेकी आमा दुम्दिलिम पो आउँछिन् की ? कि घरकै लक्षिनले पो यसो गरिदिन्छ की ? कि उही आरिसे राक्षसनी बुढीको आत्माले पो यसो गर्छ कि ? कोही यस्तो धर्मात्मा छिमेकी पनि छैनन् । एउटी कुटुनी बुढी त छे छिमेकमा । उनलाई यो सबको के मतलब ?’ उनलाई मनमनै यस्ता प्रश्नहरुले सतायो । अदृष्य कसैले घरधन्दा सबै गरिदिएको धेरै भइसक्दा उनले मनमनै सोक्पाले खाइसकेको आमा–बाबु, छाडेर गएका दिदीहरु, राक्षसनी बुढी ललदुमसँगको सघर्ष सबै सम्झिए । कसै गर्दा कुनै टुङ्गोमा पुग्न सकेनन् । 

उनलाई चुपो लागेर अदृष्य कसैको परिश्रम खाइरहन मनले मानेन । केही पार नलागेपछि उही छिमेककी कुटुनी बुढीसँग सम्पूर्ण वृतान्त बताएर, को हुन सक्छ यो भनेर सोध्न पुगे । कुटुनी बुढीले पनि केही बताउन सकेनन् । तर खोक्चिलिपलाई आश्वासन दिँदै भनिन्् –‘पर्ख म चिवा (चियो) गर्छु ।’ त्यसपछि खोक्चिलिपको वर्णन अनुसारको काम गर्ने को रहेछ भनेर कुटुनी बुढीले चिवा गर्न थालिन् । चिवा गर्दा कुटुनीले पत्तो पाइन् । कुटुनी राक्षसहरुबाट पीडित महिला थिइन् । उनको परिवारलाई सोक्पाले खाएको थियो । उनी सोझी थिइन् तर आफ्नो र अर्काको हुनामी(राम्रो हुने) काम गर्न सफल हुन्थिन् । उनलाई केही मानमनितो भने अवश्य चाहिन्थ्यो । छिमेकमा कामकाज गरी दिन गाह्रो मान्दिन थिइन् । यस्तो काममा उनी चलाख पनि थिइन् । खोक्चिलिप कुटुनी बुढीलाई ममा (हजुरआमा) भन्थे । पहिले कुरा भएको केही दिनपछि खोक्चिलिपले कुटुनी बुढीलाई यस विषयमा फेरि सोधे । उनले भनिन्– ‘नाति दिउँसो बाह्रबजेतिर सुनसान कोही नभएको मौका पारेर एउटी युवती तिम्रो घरमा आएर घरधन्दा गर्छे, साह्रै सुन्दरी छे, तिमी घर आउने समय भएपछि कता जान्छे ! अझै पत्तो पाउन सकेकी छैन, जो पाकेको, बनाइ तुल्याइ गरेको चुपचाप खाँदै गर ! कसैसँग हल्ला–खल्ला, कुराकानी नगर ।’ कुटुनीको अर्तिलाई खोक्चिलिपले माने । कुटुनीले चिवा गर्न छाडेकी थिइनन् । तेश्रो पटकमा कुटुनी वास्तविकता बुझ्न सफल भइन्, खोक्चिलिपको भाग्य भविश्य यहीँबाट निर्माण भयो । 

बाँकी अर्को पटक........

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन
३. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment