Sunday, January 11, 2015

खोक्चिलिप र वेइलिमको कथा (भाग ७ )

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

खोक्चिलिपको गृहस्थी जीवन - 
तेश्रो भेटमा कुटुनीले भनि – ‘नाति तिम्रो घरमा घरधन्दा गर्ने त तिम्रो जीवनसाथी हो । उसलाई किन हो, चित्त दुखेको छ ! तिमीले पो केही गरेर चित्त दुखायौै कि ? त्यो राम्रोसँग विचार गर ।’ ‘ममा ! मैले कसैसँग नराम्रो व्यवहार गरेको छैन, कुनै केटीसँग मेरो भेटघाट र बोलचाल छैन, मलाई केही थाहा भएन’ – खोक्चिलिपले भने । त्यसपछि कुटुनी बुढीले खोक्चिलिपलाई भनी –‘त्यसो भए तिमीले कुनै हेला होँचो गर्न पाउँदैनौ, नराम्रो भन्न पाउँदैनौ, म बुद्धि सिकाउँछु ।’ खोक्चिलिपले –‘हुन्छ ममा’ भने । कुटुनी बुढीले खोक्चिलिपलाई भनिन् – ‘नाति ! तिमीले सँधै जस्तै बेला घरबाट निस्किएर गइहाले जस्तो भोलिपनि गर्नु तर नजानु । पप्पौ फपाले बुनेको नाङ्लो छ नि !? हो त्यही नाङ्लोले छेलिएर लुकी बस्नु । कहाँबाट त्यो केटी कसरी आउँछे ? त्यो राम्रो ख्याल राख्नु । निस्केपछि घर बढार्ने छिन्, कुटपिन गर्ने छिन् । त्यो बेलासम्म तिमी लुकेरै बस्नु । जब निफन्ने बेला हुन्छ, तब नाङ्लो खाज्न थाल्नेछिन् । नाङ्लो देखेर तिनी लिन आउँछिन्, हो त्यही बेला ‘ओमी ! ओमी !! ओमी !!! (मेरो ! मेरो !! मेरो !!!)’ भन्दै दाहिने पाखुरामा समात्नु । त्यसबेला ‘कोङ्ने नानुङ्क, कोङ्ने नानुङ्क (म त हुन्न, म त हुन्न)’ भन्दै उसले उम्कन बल गर्ने छिन् तर तिमीले ‘ओमिङ ! ओमिङ !! ओमिङ !!! (मेरै ! मेरै !! मेरै !!!)’ भन्दै छाड्दै नछाड्नु ! उसले धेरै पटक हुन्न भन्ने छिन् तर तिमीले छाड्दै नछाड्नु ! तिनी तिम्रै श्रीमती हुनेछिन् । त्यसपछि तिम्रो भाग्य चम्किनेछ र भविश्य निर्माण हुनेछ ।’ 

खोक्चिलिप कुटुनी बुढीको निर्देशन अनुसार भोलिपल्ट नाङ्लोले छेकिएर घरको एउटा कुनामा लुकेर बस्यो । लुकेको केही समय पछाडि फुर्लुङ भित्रको ढुंगा ‘सल्र्याक–सुर्लुक’ गर्दै हल्लियो, फुर्लुङ भित्रबाट खुर्सानी पिस्न राखेको बगरे ढुङ्गा फुत्तै भूइँमा झ¥यो । भूईँमा झर्ने वित्तिकै त्यो ढुङ्गोबाट एकदमै राम्री, सुन्दरी, जगजगाउँदो आँखा र अनुहार भएकी युवती सृजना भयो । त्यो अद्भुत दृष्य खोक्चिलिपले नाङ्लोको चेपबाट नियाली रहे । आफ्नो अगाडि ठिङ्ग उभिएको, बान्की परेको, जिउडाल मिलेको, कम्मर छिनेको, पुष्ट बक्षस्थल भएको, अनुहार हेर्दै लोभलाग्दो युवती देखेर खोक्चिलिपको मुटुमा कम्पन छुट्यो । लाजले पानी पानी भए । एकातिर डर, अर्कोतिर कुटुनी बुढीले ‘तिम्रै स्वास्नी हो’ भनेर सम्झाएको काल्पनिक युवती आफ्नै सामुन्ने पाउँदा खुसीले गद्गदसँग भए । हिँजो कुटुनी बुढीले भनेकै अनुसार त्यो युवतीले सबैभन्दा अगाडि घरआँगन सफा गरी, जुठोभाँडो गरेर सरसमान व्यवस्थित गरिन् । बिस्कुन झिकेर कुटपिन गर्न थालिन् । खोक्चिलिप सुन्दरीको रुप देखेर लोभिए, यति राम्री तरुनी सामुन्ने पाउँदा एक प्रकार आफूलाई भाग्मानी ठाने । उनले कुटुनी बुढीले बताएको कुरा सम्झिए । आफुभन्दा ठूली र राम्री तरुनी आफूतिर आउँदा हात लगाएर आफ्नो बनाउनु पर्ने थियो । उनी मनमनै डरले काँपे । यति राम्री तरुनीलाई कसरी आफ्नो बनाउँ भन्नेर चिन्ताए । अहिले झम्टि हालौं !? उनलाई आँट आएन । फेरि आफू लुकेर बसेको थाहा भए अलप पो भइजाने हो कि ? कि त रिसाउने पो हो कि ? कतै अपजस पो पाइने हो कि ! या कुनै अबगाल वा कुटाइ पो पाइने हो कि ? यस्तै अनेक तर्कनाले उनको मन खायो । तै उनी कुटुनीले भनेको समयको प्रतीक्षा रहिरहे । 

संसारको कुन मानिस अपरिचित आत्मासँग संकोच मान्दैन होला ! एक्कासी कुनै सुन्दर युवतीलाई मन पराउँछु भन्दै समात्नु आफैँ कति अप्ठ्यारो कुरा ! सिधै अबगाल लाग्ने कुरा ! चिरपरिचित युवतीलाई त ‘तिमीलाई मन पराउँछु’ भन्न कति गाह्रो हुन्छ । कति कोशिश गर्दा प्रेम प्रस्ताव राख्न सक्दैन । प्रेम आफैँमा कति अप्ठ्यारो विषय ! तर प्रेममा डर भएर के भो ? सबैलाई रहर अवश्य हुन्छ । भनिन्छ कर परेपछि वास्तविकता ठहर भइहाल्छ । 

नभन्दै कुटपिँध सकिएपछि युवतीले निफन्ने नाङ्लो खोज्न थाली । यता खोक्चिलिपको हंसले ठाउँ छोड्न थाल्यो । सँधै राख्ने ठाउँमा नाङ्लो नभेट्टाएपछि ‘यो टुहुरा केटाले कता राखेछ’ भन्दै युवती फतफतिइन् । घरमै भएको चिज खोज्दा नभेटिने कुरा भएन । खोक्चिलिप लुकेर बसेको नाङ्लो युवतीले देखि हालीन् । युवती नाङ्लो उठाउन अघि बढिन् । खोक्चिलिपको मुटु कम्पनले फुट्ला जस्तै भयो । श्वास रोकियो ! तर डरले होइन, साहसले नै दुनियामा नयाँ बाटो पहिल्याउँछ । जे परे परोस् भनेर कुटुनी बुढीको उपदेश अनुसार नाङ्लो उठाउँदै गरेकी अपरिचित युवतीको पाखुरामा खोक्चिलिपले समाते । र भने –‘ओमि ! ओमि !! ।‘ 

यसरी खोक्चिलिपले पाखुरा समातेको युवती वेइलिम थिइ । वेइलिमले – कोङ्ने नानुङ्क ! कोङ्ने नानुङ्क (म त हुँदिन, म त हुँदिन) !!, मोन्तोरो मान्नइना होक्सोक मायो (मन नपराएर त्यत्रो फ्याँकेको होइन) ? कोङ्ने नानुङ्क ! भन्दै फुत्कन खोजिन् । उता खोक्चिलिपको ओमि ! ओमि !! र वेइलिमको कोङ्ने नानुङ्क ! भन्दैमा धेरै समय बित्यो । वेइलिमले भन्न थालिन् –‘मलाई मन नपराएर फ्याँक्दा मेरो धेरै गहना घुरिया हरायो, मलाई चोट प¥यो ।’ खोक्चिलिपले ति हराएका सबै गहना घुरिया खोज्ने, चोटपकट लागेको उपचार गर्ने बाचा ग¥यो । आफुले आफ्नो प्रियसी वेइलिम यही हो भन्ने थाहा नपाइ ढुङ्गा सम्झेर फ्याँकेको स्पष्टिकरण दियो । आखिरमा दुईजनाको मिलन हुनु थियो । यतिकैमा कुटुनी बुढी आइपुगिन् । बुढीले वेइलिमलाई सम्झाइन् । खोक्चिलिपको फकाइ र कुटुनीको सम्mभाइले वेइलिम नाइनास्ती गर्न छाडिन् । हुन त वेइलिमले पनि खोक्चिलिपलाई मन नपराएको होइन । तर सृष्टिको शुरुवातमा नै भालेले पोथी फकाउनु पर्ने नियम भइ आउँदा आफ्नो मनको कुरा सिधै खोक्चििलिपलाई भन्न सकिनन् र ढुंगाको स्वरुप धारण गरी नजिक आएकी थिइन् । कुटुनीको अर्ति र खोक्चिलिपको फकाइलाई वेइलिमले स्वीकारिन् । खोक्चिलिप र वेइलिम यसरी लोग्ने–स्वास्नी या जोइपोइ भए । घर व्यवहार सम्हाले । यहीबाट मानव गृहस्थी जीवनको शुरुवात भयो । 

वेइलिम् दिलिबुङमा पनि भनिने येरुकाकी छोरी थिइन् । छुकुहाङ दावाहाङहरु उनका माइती थिए । वेइलिमका बाबु भने नागी वंशका थिए । वेइलिमको पहिलो रजश्वला भएपछि छोरी तरुनी भएको आमालाई पक्का भयो । उनले कुटुम्ब खोज्न छोरीलाई माइती पठाएकी थिइन् । मावलीमा बस्दा माछा मार्न नदी गइरहने खोक्चिलिपलाई उनले देखेकी थिइ । तन्नेरी हुँदै गरेको खोक्चिलिपलाई देखेपछि, उसैसँग विहे गर्ने वेइलिमले सपना देखिन् । बोलाएर आफ्नो मनको कुरा सिधै खोक्चिलिपलाई भन्न नसक्दा ढुङ्गाको स्वरुप ग्रहण गरेर माछा माने पासो(मुनिउ)मा पर्न आइ पुगेकी थिइन् । खोक्चिलिपले यो कुरा थाहा पाएनन् । त्यसैले विहे गर्न वेइलिमले धेरै भाउ खोजिन् । वेइलिम र खोक्चिलिपको विहे हुनुमा कुटुनी बुढीको ठूलो भूमिका थियो । अहिले पनि कसैको विहे गर्नु परेमा अरुको सहयोग चाहिन्छ । कुलुङ समुदायमा यहीबाट कुटुनी वा कल्याको चलन शुरु भएको विश्वास गरिन्छ । 

बाँकी अर्को पटक........

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन
३. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment