Tuesday, January 13, 2015

खोक्चिलिप र वेइलिमको कथा (भाग ८ )

–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)

खेतीपातीको शुरुवात र घर निर्माण
जङ्गली जीवन बाँची रहेका खोक्चिलिप चरा चुरुङ्गी, माछा र जङ्गली जनावरको शिकार गरेर जीवन गुजार्थे । शिकार गर्दा एकदिन कुर्ले ढुकुर पासोमा प¥यो । चिरफार गर्ने गर्दा गाँडमा धान, कोदो र कागुनीको वीऊ भेटियो । चराले खाँदा जीवन बाँच्ने अन्नलाई मानिसे खाए कसो नहोला भनेर खोक्चिलिपले आँगनको छेउमा त्यो बीऊ छरिदियो । त्यही वीऊबाट उम्रिएको बोटमा मान्छेले लगाएको पहिलो अन्न फल्यो । यो नै मानव सभ्यताको पहिलो खेती थियो । आगनमा फलेको पहिलो अन्न खोक्चिलिपले आफ्नो पितृको नाममा चढाए र आफूले पनि खाए । अन्नको स्वाद मिठो लाग्नुकासाथै त्यसले कुनै असर नगरेपछि बीऊ राखेर धान, कोदो र कागुनीको खेती गर्न खोक्चिलिपले शुरु गरे । उनलाई खानाको समस्या पर्न छाड्यो । यही घटनापछि मानिसले खेती गर्न थालेको कुलुङहरुको मान्यता छ । 

यो वेइलिमसँग विवाह हुन अगाडिको कुरा थियो । गृहस्थी जीवन शुरु नगर्दै शिकार र खेतीपाती गर्न खोक्चिलिप सिपालु भइसकेका थिए । विवाहपछि दुईजनाले मिलेर काम गर्दा उनीहरु सम्पन्न भए । बच्चा जन्मियो । पहिले खोक्चिलिप एक्लै हुँदा बस्दै आएको घर साँघुरो भयो । मानव सभ्यता अगाडि बढ्नु थियो । एकदिन वेइलिमले खोक्चिलिपलाई व्यवस्थित घर बनाऔ भनिन् । घर कस्तो हुन्छ भन्ने ज्ञान खोक्चिलिपमा थिएन । श्रीमती घरका बारेमा सम्झाइन् । दुई जनाको घर सल्लाह भयो र खोक्चिलिप खाँबो काट्न जंगल गए । यसअघि खाँबो गाडेर बनेको घर नदेखेका खोक्चिलिपलाई कस्तो काठ ल्याउने समस्या प¥यो । बाल टुहुरा न थिए, कस्ले सिकाउने ? उनले जङ्गलको सुरिलो काठ काटेर ल्याउन थाले । आवश्यक सबै काठ ल्याउँदासम्म एउटा खाँबो नल्याएको देखेर वेइलिमले खै त खाँबो ल्याएको ? भनेर सोधिन ! ल्याएको देखेनै भनेर खोक्चिलिपले जवाफ फर्काए । आफ्नो लोग्नेलाई खाँबो कस्तो हुन्छ भन्ने थाहा नपाएको वेइलिमले बुझिन् । 

उनले वेइलिमले आकासमा उडिरहेको चिबे चरो(चास्कू)लाई देखाउँदै ‘उ त्यो चास्कूको पुछार जस्तो टुप्पोमा खाँबे वा हाँगो भएको १० वटा ल्याउनु !’ भनेर सम्झाइन् । बल्ल खाँबो कस्तो हुन्छ भनेर खोक्चििलिपले बुझे र स्वास्नीले भने अनुसारको खाँबो काटेर ल्याए । खाँबो ल्याइसकेपछि घर कहाँ बनाउने ? ढोका कता फर्काउने आदि सल्लाह गरे । सल्लाह बमोजिम घडेरी तयार भयो । खोक्चिलिपले डोब खनेर खाँबोहरु गाड्दै गए । धुरी खाँबो गाड्न भने उनलाई गाह्रो भयो । जति कोशिश गर्दापनि एक्लैले गाड्न सकेनन् । एक्लैले गाड्न नसकेपछि वेइलिमलाई सहयोग मागे । लोग्ने–स्वास्नी भएर दुई जनाले खाँबो उठाए । वेइलिमले ‘हेम्बारी(पछ्यौराले कुम्लो बनाएर बच्चा बोक्नु)मा छोरी बोकिरहेकी थिइ । गाड्नै लाग्दा वेइलिमको हेम्बारी खुस्किएर बोकी रहेको छोरी खाँबोको प्वाल झरी । सम्हालन नसक्दा त्यही बेला खाँबो पनि प्वालमा छिरिहाल्यो । बच्ची खाबोले किच्चिएर मरी । जति कोशिश गर्दापनि खाँबो उखेल्न सकेनन् । घर बनाउने पहिलो कदममा नै अनिष्ट भयो, उनीहरु सन्तापमा परे । 


एउटा सोकमा झोक्रिएर कति दिन बस्ने ? सृष्टिलाई अगाडि निरञ्तरता दिनु नै थियो । उनीहरुले पहिलो सन्तानको माया मारे । सन्तानसँग साटेर खोक्चिलिप र वेइलिमको पहिलो घर निर्माण भयो । यो एउटा ऐतिहासिक घटना थियो । त्यसपछि मानिसहरुले घर बनाएर बस्न सिके । पहिलो घर निर्माण गर्दा खोक्चिलिप र वेइलिमकी छोरी दुर्घटनामा परेर मरेकीले कुलुङ सँस्कारमा नयाँ घर निर्माणपछि कुखुरा काटेर भोग दिन चलनको थालनी भएको मानिन्छ । घर निर्माण भइरहेको स्थानमा साना नानीहरु जान नदिने चलन त्यहीँबाट बसेको कुलुङ समाजमा विश्वास गरिन्छ ।

बाँकी अर्को पटक........

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. गणेश मेवाहाङ, सिलिको उत्पति, मेवाहाङ प्रकाशन
३. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment