Saturday, June 28, 2014

कुलुङ मिथकमा सृष्टिको उत्पति

 आरडी कुलुङ (लेखक तथा संकलक )

आकाश र धर्तीको उत्पति हुनु पहिले यो ब्रहमाण्ड पुरा निराकार अन्धकारमय थियो । कुनै चीज अस्तित्वमा थिएनन् । विस्तारै सारा ब्रहमाण्डमा रिमरिम उज्यालो हुँदै गयो । सारा व्रहमाण्ड उज्यालो भएपछि आकाश–धर्ती उत्पति भए । त्यसपछि निनाम्मा(पुरुष) र येम्खुमा(स्त्री) सृष्टि भए । निनाम्मा–येम्खूमाले सुन्मा, सुम्निमे र यादे उत्पति गराए । सुन्माबाट दुई सन्तानहरु फोप्तु र हितिबेइ हिरिबेइ(राक्षस) जन्मिए । सुम्निमेको सन्तान पारुहोङ जन्मिए ।
यादेले विशाल तालको सृष्टि गरे । तालभित्र यादेका आठ सन्तानहरु नागीका रुपमा जन्मिए । उनीहरु क्रमशः तोदुछाप, लुम्दुछाप, पुन्दुछाप, ओसेछाप, पाेसेछाप, हुनुछाप, सुम्निछाप र हुतिलिप थिए । ति आठ भाइ नागीहरुको काम अलग अलग थियो । जेठा तोदुछापले सम्पत्ति, काहिँला ओसेछापले दिछारी(जाँड राख्ने ठाउँ), अन्तरे पोसेछापले देवतालाई बखन्ने शब्द/मन्त्रहरु (रिसिवा) र कान्छा हुतिलिपले मोप्(बिजुवा/स्वास्थ्यकर्मी) को सृष्टि गरे ।

नागीहरूमध्ये कान्छा हुतिलिपको जिम्मा पृथ्वीको रेखदेख गर्ने पनि थियो । पृथ्वीको रेखदेख गर्न बसेका हुतिलिपलाई हितिबेइ हिरिबेइले असाध्य दुःख दिने गर्थे । हितिबेइ हिरिबेइको पीडा खप्न नसकेपछि हुतिलिप पारुहोङसँग गुहार माग्न आकाशमा गए । हुतिलिप आकाश(स्वार्ग)मा पुग्दा पारुहोङ निदाइ रहेका थिए । निदाइरहेका पारुहोङलाई हठाट ब्युझाउँदा रिसाउलान् भनेर उनी खुट्टा नजिकै बसे र ब्युझने समय कुरिरहे । केही समयमा पारुहोङ ब्युझिए । ब्युझँदा आफ्नो खुट्टा नजिकै हुतिलिप बसिरहेको देखेपछि पारुहोङले सोधे – ‘तिम्रो जिम्मा त पृथ्वीको रेखदेख गर्ने थियो होइन ? आफ्नो जिम्मेवारी छाडेर किन यता आयौ ? कि केही भो ?’ । हुतिलिपले दुईहात जोड्दै आफुलाई हितिबेइ हिरिबेइले पृथ्वीको रेखदेख कार्यमा समस्या खडा गरेको पारुहोङलाई बताए । बिन्ती विसाउँदै उनले पारुहोङ भने –‘हितिबेइहिरिबेइले असाध्य दुःख दिएका छन्, उनीहरूको अत्याचार खप्न सकिन, त्यसैले तपाईँसँग सहयोग माग्न आएको हुँ ।’ 

हुतिलिपबाट हितिबेइ हिरिबेइको अत्याचार सुनेर पारुहोङ रिसाए । उनी हितिवेइहिरिवेइको अत्याचार अन्त गर्न हुतिलिपसँगै पृथ्वीमा झर्न तयार भए । पृथ्वीमा झरेपछि पारुहोङ र हुतिलिप दुबै जना लुकेर हितिबेइ हिरिबेइ आउने बाटो ढुकेर बसे । पहिले जस्तै सताउनलाई उनीहरूले हुतिलिपलाई खोज्न थाले । आफ्नो नजिक आउने बित्तिकै लुकेर बसेका पारुहोङ र हुतिलिपले हितिबेइ हिरिबेइमाथि धनुष काँड प्रहार गरे । हितिबेइ हिरिबेइको तत्काल मृत्यु भयो । पारुहाङ र हुतिलिपले मारिएका हितिबेइ हिरिबेइको मासुलाई चोक्टाचोक्टा बनाएर रगतसँग मुछे र तालमा फ्याँकिदिए । हितिबेइ हिरिबेइको मुछिएको रगत–मासुबाट माटोको सृजना भयो । हड्डीबाट ढुङ्गा र पहाड । अनि शरिरको रौंहरूबाट वनस्पति र बोट विरुवा उत्पति भयो । 

यसरी हितिबेइहिरिबेइको रगत, मासु र हड्डिबाट माटो, ढुङ्गा र वनस्पतिको सृजनापछि पारुहोङ र हुतिलिपबीच अब कसरी अन्नको उत्पति गर्ने भनेर छलफल भयो । उनीहरूले त्यसपछि निनाम्मा(परमेश्वर)लाई पुकारे र अन्नको सृष्टि भयो । अन्नको उत्पतिपछि यसको जगेर्ना कसरी गर्ने भनेर फेरि छलफल भयो । उनीहरूले धँजा फाटेको जमिनलाई पुकारे । त्यहाँबाट कुखुराको उत्पति भयो । उनीहरूले कुखुरालाई अन्न संरक्षणको जिम्मा दिए । तर कुखराले संरक्षण नगरी नास गरेको देखेपछि त्यसलाई खोर बनाएर, खोरमा थुनिदिए । त्यसपछि ढाँडलाई पुकारे । ढाँडबाट सुङ्गुरको उत्पति भयो । सुङ्गुरलाई अन्न संरक्षणको जिम्मा दिए । सुङ्गुरले पनि त्यो काम नगरी उल्टो क्षती गरेपछि त्यसलाई पनि खोरमा थुनिदिए । एव् क्रमले तालको पानीबाट भैंसीको उत्पति गराए । त्यसले पनि अन्न संरक्षण गरेन । जंगलबाट गाईको उत्पति गराए । गाईले पनि त्यो काम गरेन । भैसीलाई तालमा र गाईलाई जंगलमा पठाइ दिए ।

अब पारुहोङ र हुतिलिपले ढुंगाबाट अण्डा उब्जाए र हेरे । अण्डामा पनि कुनै चिन्तन मनन् गर्ने क्षमता देखिएन । अनेक परीक्षण गर्दापनि सन्तोषजनक नतिजा नआउँदा पारुहाङ रिसले चुर भए । रिसको झ्वाँकमा पारुहोङले अण्डालाई ढुंगामा पछारिदिए । अण्डा फुट्यो । फुटेको अण्डाको सेतो भागबाट कमेरो माटो र पहेँलो भागबाट पाङ्गो माटोको उत्पति भयो । पारुहोङले माटोको डल्लो बनाई अन्न संरक्षणको जिम्मा दिए । माटोको डल्लाले पनि काम नगरेपछि त्यसलाई फ्याँकी दिए । पारुहोङले फ्याँकेको त्यो डल्लोबाट हिमालय पर्वतको उत्पति भयो । हिमालय र विशाल तालकोबीचमा पाङ्गो माटोलाई राखेर पुकार्दा त्यसले ‘तिमीहरू आफ्नो काममा जाउ, म दिनरात बखानेर अन्न संरक्षण गर्नेलाई सृष्टि गर्नेछु’ भनेर हुतिलिप र पारुहोङलाई आश्वासन दियो ।

नभन्दै पहाड र तालकोबीचमा रहेको माटोबाट बाइरिप्चो(एक प्रकारको वनस्पति) उम्रियो । बाइरिप्चो छिप्पिएपछि त्यसको डाँठमा डल्लो गाँठो पलायो । डल्लो गाँठोको भारले बाइरिप्चो नुहिन पुग्यो । नुहिएको गाँठोसहितको टुप्पा त्यो विशाल तालको पानी डुब्यो । पानीमा डुबेको बाइरिप्चोको टुप्पाबाट दुईवटा डल्ला फोकाहरू बने । ती फोकाहरू फुट्दा एउटाबाट हावा र अर्कोबाट बादलको सृजना भयो । डाँठमा फलेको गाँठो फुटेर होरेम(स्त्री प्राणी) जन्मिइन् । विस्तारै होरेम वयस्क भइन् र सृष्टिको निरञ्तरता दिन गर्भधारणका लागि लोग्नेको खोजी गर्न थालिन् । पूर्व–पश्चित, उत्तर–दक्षिण जता खोजेपनि, जति प्रयास गरेपनि उनले लोगने प्राप्त गर्न सकिनन् । साह्रै गाह्रो भएपछि होरेमले आफुले लगाउन आफैँले बनाएको जिलेम्मा(ओढ्ने)ले चिलाउनेको ठुटोलाई बेर्दै लोग्ने बनिदिन पुकारिन् । अङ्गालो हालिन् । ठुटाबाट लोग्ने सृजना भएन । रुखलाई, ढुङ्गालाई, देखे भेटेका सबैलाई आफ्नो लोग्ने बनिदिन, आफुसँग संभोग गरीदिन पुकारिन । कुनै पुरुष वा जीवनसाथी पाउन, सृजना गर्न नसकेर होरेम निरास निरास थिइन् । उनी निरास भएर बसिरहेको बेला एक्कासी सिरिरि ..... बतास चल्यो । बतासले वरिपरिका रुखविरुवा हल्लायो । रुख विरुवा हल्लिएको देखेर उनले कुनै चिजको अस्तित्व महशुस गरिन् । आफ्नो खोजीको लोग्ने यतै कतै मिलेको ठानेर होरेम खुसी भइन् र ‘म धेरै दिनदेखि प्यासी छु, संसर्ग खोजिरहेकी छु, मलाई पुरुष चाहिएको छ, सन्तान चाहिएको छ, मेरो वरिपरिको वोट विरुवालाई हल्लाउने तिमी जो भएपनि मेरो जीवनसाथी बनिदेऊ, मेरो बज्जर शरिरमा हराभरा पारी देऊ, माया गरीदेउ’ भन्दै बतासलाई पुकारिन । 

पुकारा सुनेर हावा होरेमको संसर्गमा आयो र उनीहरु बीच समागम भयो । हावासँगको समागमपछि होरेम गर्भवती भइन् । महिना पुगेपछि होरेमले क्रमशः केकुवाचाउ, बेगुम्मा, चिन्चोली लागाली र निनाम्रिदुम्लाई जन्म दिइन् । केकुवाचाउ जन्मदै असुद्ध बनाउने, अकालमै मृत्यु गराउने र बेश्या चरित्रको भएकाले सुरुमा नै आमाबाट अलग भएर गइन् । जन्मिएका आफ्ना सन्तानहरुलाई आफुले निर्माण गरेको मुल्य मान्यतामा बस्ने, उपदेश सुन्नेलाई मात्रैसँगै राख्ने र नमान्नेहरु असुद्ध पिशाच हुने र एकान्तमा विलिन हुने होरेमले घोषणा गरिन् । होरेमको घोषणा अनुसार सँस्कृतिको निर्माण भयो । 
निनामरिदुम (ईश्वरीय सँस्कृति) स्त्री थिइन् । आमाले निर्माण गरेको संस्कारलाई निनाम्रिदुमले निरञ्तरता दिइन् । आमा जस्तै उनी पनि एकदिन जवान भइन् । सृष्टिलाई निरञ्तरता दिन निनामरिदुमले सन्तान जन्माउनु आवश्यक थियो । सन्तान जन्माउने दायित्व पुरा गर्न निनामरिदुम पुरुषको खोजीमा लागिन् । पुरुषको खोजिमा उनको पनि आमाकै नियति दोहोरियो । अनेक खण्ड र चार चौदेश खोज्दा लोग्ने नभेटिएपछि उनले पनि आफ्नो जिलेम्मा ओढाएर अङ्गालो हाल्दै ठूटोलाई आफ्नो श्रीमान बनीदिन पुकारिन् । ठुटोबाट पुरुष सृजना हुने कुरा भएन । उनले आफुले ओढाएको जिलेम्मा लोग्ने बन्ने आशमा ठुटैमा छाडिन् । त्यो जिलेम्मा ठुटैमा मक्किएर गयो । सम्भव भएका सबैलाई पुकारिसक्दा पनि केही पार लागेन । आमा जस्तै लोग्नेको खोजीमा थकित भएर बसिरहेकी निनामरिदुमले एकदिन हावालाई सम्झन पुगिन् । उनले हावालाई आकर्षित गर्न सुसेल्न थालिन् । छोरीको सुसेली सुनेपछि होरेम झसङ्ग भइन् र हत्पत रोकिन । ‘यो हावा तिम्रो पिता हो, तिमीले हावासँग समागम ग¥यौं भने पाप हुन्छ, तिम्रो लागि अर्कै लोग्ने मिल्नेछ’ भन्दै सम्झाइन् । होरेमले छोरीलाई सम्झाउँदै भनिन् –‘निनामारिदुम तिमी असाध्य राम्री छौं, तिम्रो लागि योग्य श्रीमान, माथि(आकाशतिर देखाउँदै) निनाम्मा(आकाश)को सोङ्गेर्छा रुवोछा(वृहस्पति) छ । ऊ तिमी जस्तै रूपरङ्गले भरिपूर्ण सुन्दर र मीठो बोलिबचन भएको छ ।’ आमाको उपदेशपछि निनामरिदुमले सुसेल्न बन्द गरिन् । 

छोरीलाई सम्झाई बुझाइ गरीसकेसपछि होरेमले चिन्चोली लागालीलाई बोलाइन् र निनामरिदुमको लागि तारामण्डलमा गएर सोङ्गेर्छा रुवोछा लिएर आउन आदेश दिइन् । आमा होरेमको आदेशअनुसार चिन्चोली लागाली सोङ्गेर्छा रुवोछालाई लिन तारामण्डलतिर गए । तारामण्डलमा पुग्दा चिनचोली लागालीले सोङ्गेर्छालाई भेटेनन् । रूपमा सुन्दर सोङ्गेर्छा परस्त्रीगामी थियो । तारामण्डलका स्त्रीहरूलाई फेरिफेरि उनी प्रयोग गर्थे । उनलाई लिन चिन्चोली पुगेको बेलापनि उनी कतै रोमान्स गर्न गइसकेका थिए । तारामण्डलभरि अनेक खोज्दा पनि सोङ्गेर्छालाई चिन्चोली लागालीले भेट्टाएनन् । सोङ्गेर्छालाई खोज्दा कतै नभेटिएपछि चिन्चोली लागाली थकित भएर यताउता टहलिरहेका थिए । त्यतिकैमा थुन्से बुनिरहेको एउटा बुढोलाई देखे । त्यो थुन्से बुन्दै गर्ने बुढो पारुहोङ थिए । चिन्चोलीले केही जानकारी पाइएलाकी भनेर बुढासँग सोङ्गेर्छा रुवोछाका बारेमा सोधे । पारुहोङले सोङ्गेर्छा कता गए भन्ने आफूलाई थाहा नभएको तर परस्त्रीगामी चरित्रको भएकाले त्यसैमा लीन भइरहेको हुनसक्ने चिन्चोली लागालीलाई बताए । 

पारुहोङले हतपती सोङ्गेर्छा नभेटिने जानकारी दिएपछि चिन्चोली लागानी निरास भए । उनलाई कसैगरी निनामरिदुमका लागि केटा लिएर जानुपर्ने होरेमको आदेश थियो । त्यसपछि चिन्चोली लागालीले आफूलाई पृथ्वीबाट होरेमले निनामरिदुमका लागि सोङ्गोर्छा रुवोछा लिन पठाएको र रित्तो जान नहुने पारुहोङलाई सुनाउँदै सहयोग गर्न अनुरोध गरे । पारुहोङ आफू बुढो हुनुकासाथै थुन्से बुन्ने कामले फुर्सद नभएको बताउँदै सहयोग गर्न नसक्ने चिन्चोलीलाई सुनाए् । सोङ्गेर्छा खोज्दा थकित भएका चिन्चोलीले पारुहोङको कुराले झन निरास बनायो । अरु उपाय नदेखेपछि उनले पारुहोङलाई नै निनमारिदुमको श्रीमान भइदिनका लागि पृथ्वीमा जान अनुरोधसमेत गरे । तर पारुहोङले आफ्नो घाँटीको गलगाँड देखाउँदै आफु कुरूप र बृद्ध पनि भएकाले निनामरिदुमले मन नपराउने भन्दै चिन्चोलीको प्रस्ताव अस्वीकार गरे । 
Mowapa bird (Blue Whistling Thrus)

चिन्चोली लागालीले भने बल्ल भेटिएको यही बुढालाई भएपनि लिएर जानुपर्यो भन्ने मनसायले कर गर्न छाडेनन् र भने –‘मेरो बाध्यता बुझिदिनोस्, निनामरिदुमका लागि पृथ्वीमा गइदिनोस् ।’ चिन्चोली लागालीको पटक पटकको करपछि पारुहोङले एउटा प्रस्ताव राखे । ‘त्यसो भए म जानु अगाडि तिमीले मैले बनाएको मालिङ्गोको काइँयो र थाक्रो निनामरिदुमलाई लगेर देखाउ ! यदि त्यो मनपराइन् भने मलाई लिन आउ’ – पारुहोङले भने । (यहीबाट केटीलाई फकाउन कोशेली वा बैना दिने चलन बस्यो भनिन्छ ।) प्रस्ताव स्वीकार्दै चिन्चोली लागालीले पारुहोङको कोशेली लिएर पृथ्वीमा आए । निनामरिदुमले पारुहोङको कोशेली मनपराइन् । काइँयो र थाक्रो राम्रो कलात्मक देख्दा त्यो बनाउने मान्छे पक्कै सुन्दर हुनुपर्छ भन्ने निनामरिदुमको अनुमान थियो । त्यसैले उनले पारुहोङलाई लिएर आउन चिन्चोली लागाली(पहिलो लमी)लाई अह्राइन् । चिन्चोलीलागालीले पारुहोङलाई तारामण्डबाट पृथ्वीमा बोकेर लिएर आए । तर गलगाँड भएको कुरूप र बृद्ध पारुहोङलाई देखेर निनामरिदम खङ्रङ्ग भइन् । उनले रिसाएर ‘छया ! हेर्न पनि मन नलाग्ने, यस्तो कुरूप बुढालाई मैले लोग्ने बनाउनु ? यस्तालाई किन ल्याएको मेरो छेउमा ? पर–पर लैजाउ, मलाई नदेखाउ, हेर्दै घिन लाग्ने, गन्हाउनेसँग मैले कसरी विहे गर्नु ?’ भन्दै चिन्चोली लागालीलाई गाली गरिन् । 

निनाम्रिदुमबाट पाएको अपमानजनक गालीले पारुहोङ रिसाए । उनले ‘पहिले नै मलाई नलैजाउ भनेको, कर गरेर ल्यायौ र यस्तो अपमान सहनु पर्यो’ भन्दै चिन्चोली लागालीलाई गाली गरे । उनले ‘मलाई तत्काल आफ्नो देश तारामण्डल पुर्याइदेऊ’ भनेर चिन्चोली लागालीलाई आदेश दिए । जबरजस्ती गरेर ल्याउने चिन्चोली नै थिए । तत्काल पारुहोङलाई तारामण्डल पुर्याउन चिन्चोली तयार भए । चिन्चो लागालीले तारामण्डलमा पु¥याउनअघि पारुहोङले आफ्नो वीर्य पिँडालुको पातमा बेरेर चिलाउनेको फेदमा छाडे । त्यसको जानकारी चिन्चोली लागालीलाई दिँदै पारुहोङले घोषणा गरे– ‘मैले छाडेपछि यो पृथ्वीमा उल्का मच्चिनेछ । धर्तीका सबै खोलानाला, पानी पँधेरा सुक्नेछन् । खडेरीले सबै ध्वस्त बन्नेछन् । हाहाकार हुनेछ । सबै पानीको मुहान सुकेपछि निनामरिदुमको पनि मर्ने अवस्था आउनेछ । त्यो बेला तिमीले मैले चिलाउनेको फेदमा पिँडालुको पातमा छाडेको चीज खुवाउनु । तिम्रो लागि भने त्यही रुखको टोड्कामा मैले पानी छाडेको छु, यही पिएर बाँच्नु ।’
चिन्चोली लागाली पारुहोङलाई तारामण्डल पुर्याएर पृथ्वीमा फर्किए । नभन्दै पारुहोङ तारामण्डलमा फर्किएपछि पृथ्वीमा ठूलो खडेरी पर्यो । सबै पानी मुहान सुके । धर्तीका कसैले पानी खान पाएनन् । पृथ्वी मरुभूमिमा परिणत हुँदै गयो । तिर्खाले निनामरिदुमको शरिर पनि सुक्खा भयो । तिर्खाले उनी अचेत अवस्थामा पुगिन् । त्यही बेला चिन्चोली लागालीले पारुहोङले रुखको फेदमा छाडेको वीर्यमा पुछार भिजाएर निनामरिदुमको अनुहारमा छर्किदिए । वीर्यको थोपाले भिज्दा निनामरिदुम बौरिइन् र चिन्चोली लागालीलाई पानी कहाँ छ ? भन्दै चाँडो ल्याइदेउ भन्न थालिन् । ‘यो पानी खाने भए ल्याइदिन्छु’ चिन्चोली लागालीले भने । धैर्य गर्नसक्ने अवस्थामा निनामरिदुम थिइनन् । उनले चाँडो ल्याउन चिन्चोलली लागालीलाई अह्राइन् । चिलाउनेको फेदमा पारुहोङले छाडेको वीर्य चिन्चोली लागालीले ल्याइदिए । हेर्दापनि नहेरी निनामरिदुमले पारुहोङको वीर्य एकै घुट्कोमा स्वाट्टै पारिन् । 

पारुहोङले पिँडालुको पातमा छाडेको वीर्य निनामरिदुमले पिउने वित्तिकै पृथ्वीमा पानी पर्न थाल्यो । खडेरीले सुकेका सबै मुहान पलाए । पृथ्वीमा हरियाली आयो, धरा मण्डलको गतिविधि सामान्य अवस्थामा आयो । पारुहोङको वीर्यपानपछि निनामरिदुम गर्भवती भइन् (त्यसैले अचेल कर्कलाको पात अर्थात पिँडालुको पातमा पानी खानुहन्न भन्ने मान्यता कुलुङ समुदायमा छ ।) । एकदिन दुईदिन हुँदै गर्भ बढ्न थाल्यो । गर्भ बढ्दै जाँदा निनामरिदुम कमजोर बन्दै गइन् । आफ्नो शक्ति घटेर कमजोर बन्न थालेको थाहा पाएपछि निनामरिदुम चिन्तित हुन थालिन् । मलाई यस्तो के रोग लाग्यो ? किन यस्तो पिरलोमा परेँ भन्दै चिन्ता गर्दै गर्दा उनले उभौली उँधौलीमा लेकबेँसी गरिरहने ङेर्को(कर्याङ कुरुङ)लाई आकाशमा देखिन् । उनले ङेर्कोलाई भेटेर आफ्नो हालत सबै बताइन् । ‘तपाईँ त उभौली उँधौली टाढाटाढा यात्रा गरिरहने, कतै जोखाना हेर्ने बिजुवा देखेको, सुनेको छैन ?’ भनेर सोधिन् । निनामरिदुमको बेथा सुनेपछि ङेर्कोले माथिमाथि लेकमा बोक्चेन्दु(एक प्रकारको चरा)ले झाँक्रीको काम गर्ने गरेको देखेको बतायो । 

ङेर्कोबाट यति कुरा थाहा पाएपछि उसैमार्फत निनामरिदुमले जोखाना पठाउने भइन् । लौ तपाईंले नै बोक्चेन्दुकोमा मेरो जोखाना लगिदिनोस् भन्दै निनामरिदुमले आफुले बुनेको अल्लोको कपडा चिनोका रूपमा ङेर्कोलाई पठाइन् । ङेर्कोले निनामरिदुमको चिनो लगेर बोक्चेन्दुलाई देखाउँदै रोग पत्ता लगाउन अनुरोध गरे । तर बोक्चेन्दुले शरिरमा नलगाएको नयाँ कपडामा जोखाना हेर्न नसकिने भन्दै जीउमा लगाएको मैयल परेको कपडा, चुरा, माला वा त्यस्तै केही चिनो लिएर आउन भनेर ङेर्कोलाई फिर्ता पठाए । 
निनामरिदुमले जीउमा लगाइसकेको कपडा लगेर ङेर्कोले बोक्चेन्दुलाई देखाए । जोखाना हेर्दा बोक्चेन्दुले आफुले निनामरिदुमाको रोग पत्ता लगाउन नसकेको र हिमालमा आफ्ना पिता मोवापा धेरै जान्ने विजुवा भएकाले उसैकोमा जान अनुरोध गरे । तर मोवापा कहाँ जोखाना लिएर जाँदा चामल, सुनाखरी, जाँडाको तोङ्बा(जाँडको अविस्कार भएको), फापर, जिउमा लगाएको कपडा जम्मा गरेर लैजानु पर्ने ङेर्कोलाई जानकारी दिए । यो खबर लिएर ङेर्को निनामरिदुम कहाँ गइन् । त्यसपछि बोक्चेन्दुले ङेर्कोलाई भने अनुसारको सामग्री जम्मा गरेर निनामरिदुमले उनलाई नै मोवापाकोमा जोखाना देखाउन पठाए । मोवापाले जोखाना हेर्दै जाँदा निनामरिदुम गर्भवती भएको र पारुहोङको गर्भ बोकेको बताए । यो सत्य भए नभएको निश्चित गर्न पारुहोङलाई नै भेटेर कुरा गर्न उनले सुझाव दिए ।  

मोवापाको सुझावअनुसार ङेर्को पारुहोङलाई भेट्न तारामण्डमा गए । उनले निनामरिदुम बिरामी भएको र धामीझाँक्रीलाई देखाउँदा तपाईको गर्भ बोकेकी छ भन्ने गरेको बताउँदै त्यो सत्य होकी होइन भनेर पारुहोङलाई सोधे । निामरिदुमले आफ्नो गर्भ बोकेको स्वीकार गर्दै पारुहोङले भविश्यबाणी गरे ! निनामरिदुमको गर्भबाट क्रमशः रुद्राक्ष, रिट्ठा, अरारी, कुकुरडाइना, सुनाखरी जन्मिनेछन् । तिनीहरू सबै जमिनमा उम्रनेछन् । त्यसपछि बाँदर, ढेँडु जन्मिनेछन् । तिनीहरू सबै भिरमा गएर बस्नेछन् । त्यसपछि बाघ, भालु जन्मनेछन् र ति पनि जंगल गएर बस्नेछन् । सबैभन्दा अन्तिमा चिन्तनशील मानव तुम्नो जन्मनेछ । तुम्नो जन्मने वित्तिकै उसकी आमाले नाइटो धागोले बाँधेर सुरक्षा देओस् । आफूसँगै राखेर हुर्काओस् । आफूले बुनेको बच्चा राख्ने कोक्रो दिँदै पारुहोङले भने ‘म उसको बाबुलाई पनि यो कोक्रामा राखेर घाममा सुकाउँदा त्यो बच्चा देखाओस् ।’ उनले नानी राख्ने कोक्रोसँगै बच्चाको नाइटो काट्ने हतियार दिएर पठाए ।
Demoiselle crane

पारुहोङको भविश्यवाणी अनुसार निनामरिदुमको कोखबाट रुद्राक्ष, रिट्ठा, अरारी, कुकुरडाइना, सुनाखरी जन्मिए र तिनीहरु सबै जमिनमा उम्रिए । त्यसपछि बाँदर, ढेँडु, थार, घोरल लगायतका जंगली जनावर जन्मिए र तिनीहरु पनि जंगल र भिर पहरामा गएर बसे । अनि बाघ, भालुहरु जन्मिए ति पनि जंगल गएर बसे । अन्तिमा मानव पूर्खा तुम्नो जन्मिए । ङेर्को(Demoiselle crane)  मार्फत पारुहोङले पठाएको निर्देशन अनुसार निनामरिदुमले तुम्नो जन्मिएपछि नाभी काटेर सालनालबाट छुटाइन् । त्यसपछि कोक्रामा राखेर घाममा सेकाएर देखाइन् । (त्यही कारण अहिले पनि ताेरिकाे तेल लगाएर नवजात शिशुहरु घाममा सेकाउने परम्परा चलेको कुलुङ समुदायमा विश्वास गरिन्छ ।) त्यो देखेपछि पारुहोङले शत्रुबाट बच्न आफ्नो सबैभन्दा प्यारो सन्तान तुम्नोलाई धनुषबाण पठाइ दिए । तुम्नो जन्मिएको ठाउँ मिनापोङखो–हाल्कुम्बु अर्थात मानव उत्पत्तिस्थल भयो । तुम्नोले जवान भएपछि तेत्तेरेमसँग विवाह भयाे । उनीहरुको सन्तान होलेन्दा भए । होलेन्दाले दावामीलाई विवाह गरे । दावामीले दिबुरी जन्माइन् । दिबुरीका तीन छोराहरु क्रमशः खुलोम, कुरुपा र पाक्तोछी भए । दिबुरीका कान्छा छोरा पाक्तोछीले येरुकालाई विवाह गरे । येरुकाको गर्भबाट एक छोरा छुनीको जन्म भयो । मानव वंशले निरञ्तरता पायो । छुनीका दाजुहरु खुलोम र कुरुपा मिनापोङ्खो हाल्कुम्बुबाट अन्तै गए ।

छुनिले ङेचेयोम सयाम्मालाई विवाह गरे । ङेचेयोम सायाम्माले एक छोरा छाक्वालाई जन्माइन् । छाक्वाले खोसोवेमलाई विवाह गरे । छाक्वा र खोसोवेमको छोरा मुतिथी भए । मुतिथीले रिङमन्लिमलाई विवाह गरे र छोरा रनु जन्मिए । रनु तन्नेरी भएपछि छुम्पुम्मालाई विवाह गरे । उनले तुनिलुलाई जन्माइन् । तुनिलुले पनि रिङ्मान्लिमलाई विवाह गरे । उनीहरुको छोरा खार जन्मियो । खारले नागी वंशकी दुम्दिलिम् गल्काम्मालाई विवाह गरे । उनीहरुको चार सन्तान जन्मिए । छोरीहरु क्रमशः लोस, खेवा(खेऊ), चिनवा र छोरा खोक्चिलिप थिए । खारकी कान्छी छोरी चिनवाको दिदीहरुसँग कन्दमुल खोज्न जानेक्रममा भिरबाट लडेर सानैमा मृत्यु भयो । खेतीपातीको विकास भएको थिएन । जंगली जनावरको मासु र कन्दमुल खाएर बाँच्ने समय थियो । शिकार गर्ने भालाका लागि लेकको मालिङ्गो(गोपे) बाँस लिन जाँदा खारलाई सोक्पाले खायो । सन्तान पालन पोषण गर्ने जिममा विधुवी दुम्दिलिम गल्काम्मालाई आयो । उनलाई पनि कन्दमुल खोज्ने क्रममा सोक्पाले खायो । त्यसपछि लोस, खेवा र खोक्चिलिप टुहुरा–टुहरी(गेस्कुप–खामेकुप) भए ।

हुने कुरा हुनु नै थियो । टुहुरा–टुहरी चेली–माइतीले पाउन दुुःख पाए । खोक्चिलिप सानै थिए । साथमा उनी उस्तै सुधो स्वभावका थिए । बाबु–आमाको शेषपछि भाइ पाल्ने र हुर्काउने जिम्मा दिदीहरुको थियो । अनेक कष्ट सहेर आफ्नो भाइको पालन पोषण गरे । तर गरी खाको देख्न नसक्ने इष्र्यालुहरुको कमी कहाँ छ र ? पारुहोङको सन्तान खोक्चिलिपलाई मास्न चाहने इष्र्यालु जंगली बुढी (नाचुर्मे) नजिकै थिइन् । खोक्चिलिपलाई फकाएर दिदीभाइको सबै गोप्य कुरा ति बुढीले बुझ्थिन् । खोक्चिलिपबाट गोप्य कुरा फुत्काएपछि बुढीले टुहुरा दिदीभाइलाई अनेक दुःख दिन थाली । आफ्नो गोप्य कुरा कसैलाई नभन्नु भनेर भाइलाई जति सम्झाएपनि पार लागेन । बाँच्नै नसक्ने अवस्था पुग्न आँटेपछि दिदीहरुले भाइलाई सँगै लिएर काममा जान थाले । दिदीहरूले जङ्गलमा अल्लाेकाे पाट र खानेकुरा संकलन गर्दा खाेक्चिलिप खेल्दा खेल्दै निदाउँथे । 

दिदीहरु जवान भइसकेको थिए । उनीहरुलाई भाइकाे मात्रै नभएर आफ्नो विवाह र घरबारको चिन्ता पनि थियो । दिदीबहिनी विवाह र भावी जीवन साथीकाे कल्पनामा अनेक कुरा गर्थे । यस्तैमा उदिग्न भएर एकाेहाेराे गफ गर्दै काम गर्दा उनीहरूले भाइ निँदाएकाे वास्ता भएन । अल्लाेकाे सन्ठी थुपार्दै जाँदा त्यसले भाइलाई पुर्याे । निद्रामा भाइले पुरिएकाे थाहा पाएनन् । न्यायाे हुँदै जाँदा जन मस्त निदाए । जब थाहा पाए भाइ थुप्राे भित्र कतै पुरिएकाे छ । त्यत्राे सन्ठीकाे थुप्राेले पुर्दा पनि भाइ नब्यूझिएकाे र बाेलाउँदा पनि कुनै आवाज नदिएपछि उनीहरूले भाइ मरेकाे ठाने । उनीहरूले थुप्रेमाथि चढेर खाेक्चिलिपा ! खाेक्चिलिपा !! भनेर बाेलाउँदा कुनै आवाज दिएनन् । टेक्दा सन्ठी भाँचिएर कर्याक कुरूक आवाज आयाे । उनीहरूले भाइ मरिसकेकाे र उनकाे हड्डि भाँचिदा त्यस्ताे आवाज आएकाे ठाने । लाेसखेउ जवानीकाे ताप थिए । उनीहरूलाई आफ्नै चिन्ता धेरै भयाे । थुप्राे हटाएर भाइलाई हेरेनन् । उठाएनन् । 

भाइ मरेकाे यकिन गरेपछि उनीहरूले भाइकाे मृतात्माले नबुझ्ने पाल्सी भाषामा सल्लाह गर्न थाले (त्यसपछि संसारमा फरक फरक भाषाको विकास भएको विश्वास गरिन्छ ।) । दिदी–बहिनीबीच यस्तो कुरा भयो –‘हाम्राे भाइकाे भाग्य यति रहेछ । याे भन्दा अगाडि उसलाई लिएर जान सकेनाैं । अब हामी पनि ठूल्ठूलो भइसक्यौं । हाम्रो विहे गर्ने बेला भइसक्यो । भाइको शाेकमा बसेर भएन । खाेक्चिलिपकाे लास निकालेर घरमा सत्गत् गर्ने हाे भने त्यो नाचुर्मेले बढीले थाहा पाउँछे र खाइहाल्छ । भाइकाे शाेक मात्लारै बारी बस्दा हाम्रो घरबार हुँदैन । बरु यहीँ सत्गत् गरेर जाउँ र आ–आफ्नो बाटो लागौं ।‘ त्यसपछि उनीहरुले एउटा हतियार, केराको कोसा, कर्कलाको पातमा पानी र घिचीलोउ(माला) भाइ पुरिएकाे थुप्राे माथि राखे र भाइलाई विदा गरे ।

भाइकाे सत्गत् गरेपछि दिदी–बहिनी सल्लाह गर्छन् । अब हामीले आ–आफ्नो संसार बनाउन लाग्नुपर्छ, जीवन साथी खाेजेर घरबार बसाउनु पर्छ भनेर सल्लाह हुन्छ । उनीहरूले चरा भएर स्वतन्त्र रूपमा आकासमा उडी जाने निर्णय गर्छन् । छुट्टिनु अघि निशानी स्वरूप एक एक बाेट लिम्चाेबुङ राेपि राख्ने र छ छ महिनामा अाएर त्याे फूल हेर्ने, यदि अाेइलाएकाे छ भने बिसन्चाे भएकाे ठानी एकअर्कामा खाेजी खबर र उपचार गर्ने । फूल सही अवस्थामा भए सञ्चाे सुविस्ता रहेकाे सम्झने । त्यसपछि दिदी बहिनी चराकाे स्वरूप लिन्छन् । दिदी लाेसले बिहिनी खेउलाई तिमी पहिले उडेर जाउ, म हेरि पठाउँछु भन्छिन् । तर बहिनी खेउ जिद्दी हुन्छिन् । उनी दिदीलाई पहिले उडेर जाउ, म हेरि पठाउँछु भन्छिन् । अाफ्नाे अनुपस्थितिमा बहिनी कतै भुलेर उडिजान पाे विर्सन्छिन् कि भन्ने लाेसलाई चिन्ता हुन्छ । दिदीकाे चिन्ता र मायालाई नचिनेर उल्टाे दिदीलाई तँ पहिला उडिजा ! म हेरि पठाउँछु !! भनेर झर्किन्छिन् । बहिनीकाे पारा देखेर दिदीलाई मनमा रिस उठ्छ तर देखाउँदिनन् । बहिनीकाे जिद्दीपनदेखि अाजित भए 'ल तँ बसिराख' भनरे लाेस अौल तर्फ उडि जान्छिन् । बहिनी खेउ दिदीकाे छुल (रिसकाे दाेख)ले उड्न सकिनन् । अनेक उड्न खाेज्दा पखेटा भ्यार्र भ्यार्र मात्रै भयाे । उड्न नसकेपछि खेउ भ्यार्र भ्यार्र गर्दै सल्लाह बमाेजिम लेकतिर जाने काेशिश गरिन् तर टाढा जान सकेनन् । पप्पाैंले थुन्से बुनिरहेकाे ठाउँमा पुगिन् । बैंसले मस्त खेउले लाटकाेसेराे (पप्पाै)लाई जिस्काउन थालिन् । लाटाे रिसकाे झाेंकमा पप्पाैले खेउलाई मारि खाए ! 
 
मर्याे भनेर दिदीहरूले जङ्गलमा सत्गत् गरेर छाडेका खोक्चिलिप मरेका थिएनन् । बरु उनलाई न्यानो भएकाले झन मज्जाले निदाएका थिए । जब साँझ पर्याे, खाेच्चिलिप ब्यूझिए र सन्ठीकाे थुप्राेमुनिबाट बाहिर निस्किए । दिदीहरूले छाडेर गएका सबै चिज देखे । दिदीहरुलाई मरीमरी बोलाए, रोए, कराए तर उनलाई माया गर्ने दिदीहरुको कतै चालचुल देखिएन । उनले दिदीहरुले छाडेर गएको सामग्रीको मनमनमा अर्थ लगाए । र उनले एकीन गरे ‘अब दिदीहरुले मलाई छाडेर गएछन्, म आफैँले आफ्नो जीवन जीउन जान्नुपर्छ । म मेरै जिम्मामा आएछु ।’ त्यो रात त्यही कटाएपछि खोक्चिलिप घर फर्किए । 

एक्लै खोक्चीलिप आएको देखेर जंगली बुढी खुसी भए । र आफ्नै घरमा बोलाएर राखिन् । उनले खोक्चिलिपलाई खाने योजना मनमनमा बनाउन थाले । तर समय सँधै एकनास रहँदैन । खोक्चिलिपको बुद्धि आइसकेको थियो । जुक्ति र बुद्धिमा बुढीलाई खोक्चिलिपले पराजित गरेर त्यो ठाउँको राजा भए । उमेर आएपछि खोक्चीलिपले नागी वंशका पाछोक्सी येरुकाकी छोरी वेइलिम्सित विवाह गरे । वेइलिमको अनुरोधमा खोक्चिलिपले पहिला घर बनाए । उनीहरु ओडारबाट मानव निर्मित घरमा सरे । घर बनाउने क्रममा पहिलो सन्तान दुर्घटना मर्यो । (त्यसैले निर्माणाधिन घरमा नवजात शिशु र साना वालबालिकाहरु लानु हुन्न भन्ने मान्यता कुलुङ समुदायमा छ ।) दोश्रो सन्तान रोदु वा किराँत भए । रोदु सन्तान अहिलेका कुलुङहरु लगायत सबै किरातहरु भएको विश्वास गरिन्छ । (खोक्चिलिपको संघर्ष र मानव सभ्यताको उत्पतिबारे अर्को खण्डमा विस्तृत रुपमा चर्चा हुनेछ ।)

(फोटोहरु गुगलबाट सर्च गरेर राखिएका हुन् –लेखक)
 श्रोत तथा सन्दर्भ सामग्री
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको होरेम, पारुहोङ र निनमारिदुमको कथा
२. कुलुङ वंशवली २०५४, कुलुङ भाषा तथा सँस्कृति उत्थान संघ, काठमाण्डौं, नेपाल
३. कुलुचिम रिदुम होदुम् २०६६, नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ, देवीगाउँ, धरान, सुनसरी
४. थोमरोस, भूपध्वज, कुलुङ साँस्कृतिक अध्ययन २०५७, द माउण्टैन इन्स्टिच्युट, काठमाडौं
५. कुलुङ पुर्खा सम्मेलनको अन्तरकृया
  

No comments:

Post a Comment