Friday, June 13, 2014

नश्ल चेतले प्रभावित संसार

–आरडी कुलुङ
करिब एकवर्ष पहिले साप्ताहिक म्याग्जिन ‘समय’ मा छापिएको बरिष्ठ आख्यानकार कृष्ण धराबासीको एउटा संस्मरण पढेको थिएँ । प्रसङग थियो, हाङ्युग अज्ञात र राजन मुकारुङहरुले साहित्यमा शुरु गरेको ‘अराजक आन्दोलन’ र अन्य आन्दोलनको दार्शनिक या आधारभूत भिन्नता बारे अभियानकर्तासँगको भलाकुसारी । इन्द्रबहादुर राईहरुले थालेको आयमेली आन्दोलन(लिला लेखन)को पछिल्लो पुस्ताका होनाहार प्रतिनिधि धराबासीले लिला लेखनले उठाएका प्रस्तावना र अवधारणसँग वस्तुगत रुपमा के फरक छ त अराजक आन्दोलन ? भनेर राखेको जिज्ञासामा आन्दोलनका प्रमुख ‘थिङ्कर’ हाङयुगले आफूहरुको आन्दोलनको खास मौलिकता वा विशेषता भनेको ‘साहित्यमा नश्ल बोध’ भएको बताएको त्यसमा उल्लेख छ ।

साहित्यमा नश्ल बोधको कुरा यथासमयमा पाठकहरुसँग  उठाउँला । यहाँ उठाउन खोजेको विषय त्यसभन्दा धेरै परको नभएपनि केही फरक हो । वीसौं शताब्द्धीमा सूचना प्रविधिको विकासले ल्याएको अभूतपूर्व परिवर्तन र भूमण्डली– करणले एकल विश्वमा संसारलाई रुपान्तरण गरेको छ । तर यसले सँगै पहिचान, अस्तित्व बोध र बहुलमा बाहुल्यताको विषयलाई पनि एक्काइसौं शताब्दीको प्रारम्भमा लिएर आएको छ । साँस्कृतिक, सामाजिक र आर्थिक रुपमा भूमण्डलीकरणको कुरा उठी रहँदा जातीय, क्षेत्रीय, धार्मिक, महादेशीय पहिचान र अस्तित्वको विषयपनि सँगै आएको छ । यो विषय अन्तर्राष्ट्रिय रुपमा नै नकार्न नसकिने अवस्थामा उठिसकेको छ । नेपालीहरुलाई नै हेर्दा अमेरिका वा वेलायत जहाँ गएपनि स्थायी बसोबास गर्नेहरुले आफ्नै ‘डायस्पोरा’ बनाएका छन् ।
 
युरोप बीसौं शताब्दीमा विकासको चरम अवस्थामा पुग्यो । गर्न बाँकी भौतिक रुपमा रहेन । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, मनोरञ्जन सबैमा विकास भयो । मानिसहरु आर्थिक रुपमा सम्पन्न भए । पारिवारिकबाट व्यक्तिगत जीवन शैलीमा गए । ढिलो विवाह, थोरै सन्तान उत्पादन र सम्बन्ध विच्छेदमा उनीहरु लागे । यसले भौतिक सम्पन्नता बढाएपनि जनसंख्याको संरचनामा ठूलो बदलाव आयो । जनसंख्या घट्न थाल्यो । अहिले युरोपका धेरै देशहरुमा विवाहित भन्दा अविवाहित धेरै छन् । त्यस्तै युवा र बालबालिका भन्दा बुढाबुढीहरु बढी छन् । यसले त्यहाँको जनसंख्या घट्दोक्रममा रहेको प्रष्ट देखाउँछ ।

यसरी नयाँ पुस्ता आउनेक्रम घटेपछि युरोपका धेरै मुलुकवासी केही दशकभित्रै आफ्नो देशमा जातीय र धार्मिक रुपमा अल्पसंख्यक बन्नुपर्ने चिन्तामा पुगेका छन् । यहाँ मलाई एउटा प्रसङ् जोड्न मन लाग्यो । मेरो गाउँको शुभचिन्तक नर्वेजियन नागरिक इङ्गर ग्रेभन दिदीलाई अखबारमा पढेको समाचार उद्धृढ गर्दै सोधेको थिएँ– तपाईँहरुको देशमा धेरै सन्तान जन्माउने दम्पतिलाई सरकारबाट पुरस्कारको व्यवस्था हुन्छ रे हो ? ‘हो’ उनको जवाफ थियो । किन ? जवाफ सहज थियो ‘हामी नर्वेजियनहरुको जनसंख्या बृद्धिदर कम छ । अर्कोतिर मुसलमानहरु संसारभर फैलिरहेका छन् । कुनै दिन हामीहरु हाम्रै देशमा अल्पसंख्यक बन्नु प¥यो भने के होला ? मुसलमानले के गर्लान् ? उनीहरु त परिवार नियोजन पनि गर्दैनन् ।’ इसिमोडको अनुसन्धानकर्ता रहेकी एक डच महिलासँग पनि यस्तै प्रश्न गरेको थिएँ । उनले मोरोक्कन मुसमानहरुसँग डचहरु वाक्क रहेको बताएकी थिइन् । उनको चिन्ता पनि आफ्नै देशमा अल्पसंख्यक बन्न पर्ने दिन आउन सक्नेमा थियो । भुटान पटक पटक गएकी उनले ‘जोङ्खा’ भाषीहरु अल्पसंख्यक हुने अवस्था आएकैले ‘नेपाली मूलका आप्रवासी’हरुलाई खेदिएको उदाहरण दिइन् । दुई उदाहरणले युरोपियनमा नश्ल बोध कतिको भइरहेको छ ? भन्ने स्पष्ट हुन्छ ।

म यहाँ संयुक्त राज्य अमेरिकाको प्रसङ्ग पनि उठाउन चाहन्छु । बेलायतबाट स्वतन्त्र भएको २१९ वर्षमा अमेरिकीहरुले  ५८ पटक राष्ट्रपति छानीसकेका छन् । जसमा ४१ जना व्यक्ति त्यो पदमा पुगेका छन् । तर ‘डेमोक्रेटिक’ अमेरिकामा इसाई गोरा बाहेक कोही राष्ट्रपति बनाइएन । कारण उही नश्ल चेत कै थियो । यो पटक ५९ औं राष्ट्रपतिको निर्वाचन हुँदैछ । २१९ वर्षमा पहिलोपटक ‘रेकर्ड ब्रेक’ भएको छ । स्वाधिन भएयता विभिन्न रुपमा पालैपालो शासन गर्दै आएका दुई पार्टीहरुमध्ये डेमोक्रेटिक पार्टीले अश्वेत उम्मेदवार बाराक ओबामालाई राष्ट्रपतिको उम्मेदवार बनाएको  छ ।

यो पटक ओबामा जितेभने पहिलो पटक अमेरिका साँच्चेै डेमोक्रेटिक प्रमाणित हुनेछ । तर गोरा भोटर कै निगाहमा उनको भविश्य छ । जोड्न चाहेको प्रसङ्ग उही हो । अमेरिकाका गोराहरुमा अल्पसंख्यक बन्ने पिर बढेको छ ।  हालैको अनुसन्धानले के देखाएको छ भने अबको ३४ बर्षपछि त्यहाँपनि उनीहरु अल्पसंख्यक अर्थात अहिलेको ६७ बाट ४६ प्रतिशतमा पुग्ने छन् । अहिलेकै जनसंख्या बृद्धिदर कायम रहेमा दोश्रो संख्याका हिस्पिनसहरु १५ बाट ३०, ५ बाट एशियालीहरु ९ र ९ बाट अश्वेतहरु १६ प्रतिशतमा पुग्ने छन् ।

यदि यो अनुसन्धानको भविश्यबाणी सही साबित भए त्यो बेला अमेरिकामा शासन गर्ने अगोराहरु हुन सक्नेछन् । अहिले आदर्शमा मानिसको अन्तर्राष्ट्रिय जातको कल्पना कोरा हुँदै गएको देखिन्छ । भरखरै एक जना बाहुनमित्रले अरुलाई जातिवादी भएको आरोप लगाउँदै आफ्नो चरम जातिवाद देखाएका थिए । पहिलेभन्दा अहिले झन विकसित देखि अविकसित देशसम्म सबै क्ष्ोत्रमा नश्ल बोध हुँदै गएको छ ।

(यो लेख २०६५ भदौ पहिलो साता आफ्नै सम्पादनमा खाँदबारीबाट प्रकाशित हुने मकालु सन्देश साप्ताहिकका छपाउन लेखेको थिएँ । प्राविधिक कारणले त्यो अंक प्रकाशित भएन र यो लेख त्यतिकै थन्कियो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन भयो र अश्वेत उम्मेद्धवार बाराक हुसेन ओबामाले दुईपटक राष्ट्रपति बनिसके । ओबामाको विजयपछि अमेरिका प्रजातान्त्रिक देश भएकोमा मेरो विश्वास बढेको छ । एउटा सम्झनाका रुपमा अहिले ब्लगमा प्रकाशित गरेको छु । –आरडी)  तस्विरहरु : गुगल

No comments:

Post a Comment