Sunday, August 2, 2020

लाेस-खेउ (होङ्रायो र धनेश)

(सिक्किम निवासी विद्वतवर्ग डा. सिएम खम्बू आफ्नाे कुलुङ समुदायकाे सँस्कृतिप्रति गहिराे ज्ञान राख्नु हुन्छ । वहाँले अभिलेखिकृत गर्नु भएकाे कुलुङ समुदायकाे सुप्रसिद्ध लाेक कथा 'लाेस र खेवा')

-सिएम खम्बू

(विशेष, धनेश चरा (Hornbill) बारे हामीसँग मात्रै नभएर संसारका अन्य जातिहरूको पनि आ-आफ्नो किसिमको लोक कथाहरूसित जोडिएको कुराहरु जान्न पाउछौं। हाम्रो प्राचीन लोक कथाको पात्र-पात्राको रूपमा होङ्रायो दिदी (लोस्), धनेश बहिनी (खेउ) तथा लाट्कोसेरो सोल्टी (खोतो पप्पउ) हुन्। जो, मानव सभ्यताको पाषाण युगमा हाम्रो युगपुरुष पुर्खा 'खोक्चिलीप' का दुई बहिनी चेली र सोल्टी भनेर लोक विश्वास रहिआएको छ। हाम्रो किराती जातिको कुलुङ समुदायमा पाइने होङ्रायो र धनेश मनुष्य देखि चरा हुन पुगेको लोक कथा बारे भने कथा यस्तो छ।):-

कुनै एक समयको कुरा हो, लोस् र खेऊ नाम गरेकी दिदी र बहिनी होङ्रायो (Rufous necked hornbill) र धनेश जङ्गलमा बस्ने गर्थ्यो। बाल्यकालमा टुहुरो भएको दुई प्राणी, आफ्नो परिवारसित वञ्चित हुनु परेकोले कष्टकर बाल्य जीवन जङ्गलमा डुलेर आहार खोजी खाने गर्थे। परिवारमा दिदी र बहिनी मात्र रहेकोले एक आपसमा गहिरो माया बसेको थियो। बहिनी धनेश (खेऊ) उमेरमा कान्छी हुनाले दिदीसित केही पुल्पुलिने र सानै देखि अलि चञ्चली र हठी स्वभावकी थिइन्।

दिदी लाेसकाे प्रतिक हाेङ्रायाे (धनेश प्रजाति)

दुवै बैनी मस्त तरूणी अवस्थामा पुगेको हुनाले जवानीको छटपटाहट र उद्विग्नता बीच चरा भएर कता कता स्वतन्त्र खुल्ला आकाशमा उडी जाने विचार गर्छन्। निष्कर्षमा दिदी बहिनी बीच, छह महिनाको लागि लेक र औल छानी एकलै-एकलै छुट्टिएर चर्न जाने सल्लाह बन्छ। त्यसो हुँदा, दुवै बहिनीले आ-आफ्नो चिनो, बाबरी फूल रोपि राख्ने र छह महिना पछि फर्केरर भेट्न आउँदा कसैको फूल मुर्झाएको भेटिएमा रोप्नेलाई अनिष्ट भएको थाह लाग्ने वाचासित मनुष्यबाट सुन्दर आकारको चराको रूपमा फेरिन्छन्।

सधैं दिदी र बहिनी बीच असाध्य मायामा बाँधिएकोले हुँदा एकले अर्कालाई उडी गएको हेरी पठाउने होडबाजी चल्न थाल्छ। यसो हुँदा, बहिनी धनेशको जिद्दीको कारण दिदी होङ्रायो नै हार्न वाध्य बन्छिन्। बहिनीप्रति मायालु भाव भएपनि आवेशमा आएर “ल, त्यसो भए, तँ नै मुन्टिबस्!” भनेर दिदी होङ्रायो (लोस्) औल तर्फ उडी गइन्। सत्य युगको प्रथानुसार सुनिश्चित रुपले जस्तो सोंच्यो वा भन्यो, त्यस्तै हुने भएकोले श्रापित हुन पुगेकी बहिनीले लेक तर्फ उड्ने आफ्नो पालोमा अनेक कोसिस गर्दा पनि उड्न सकिनन्।

उड्न नसकेपछि खेउ (धनेश) वरपर जङ्गलतिर टोलाइरहँदा लाटकोसेरो (पप्पउ)ले आफ्नो धुनमा थुम्से बुन्दै गरेको देखीपाउँछे। छेउमा गइ परिचय साट्दा साइनोले सोल्टी पर्ने ठहर भयो। एक्ली धनेश, घनघोर जङ्गल बीच शून्य समय कटाउने मेलो थिएन। समय कटनी, दिनौ दिन सोल्टीसितको भेटमा जिस्किने क्रम सुरू हुन्छ्। कल्कलाउँदो जवानीले भरिएकी तरूणी सोल्टिनीले सोल्टीलाई चिमोट्ने, चिथोर्ने, टोक्ने जस्ता क्रियाकलाप सुरू हुन्छ। सुरु-सुरुमा सोल्टीले सोल्टी्नीको ठट्टा भनेर स्विकारे। ज्यादै हुँदै पछि आफ्नो धुनमा सीप गरिरहेको लाट्कोसेरोलाई पनि झर्को लाग्न थाल्यो। “सोल्टिनी! बेसि नजिस्काइ बस, खाइ मार्छु है!” भनिदिँदा खेउले जिस्किने क्रममा नै उतारो दिन्छे- “सोल्टी! के तिमी मलाई खान्थ्यौ? तिमी त मेरो पिताको पालामा, झोर्लेङ तिहुन त हौ नि! बरु म तिमीलाई पो खाइदिउँला” भनिदिएपछि लाट्कोसेरोलाई असाध्य रिस उठ्न गयो। लाटो रिसको आवेसमा उडी आइ धनेशको पखेटा काखी भित्र छिरेर मारी खाए।

समय बितेर जान्छ। उभौलीको छह महिना पछि जब औल-मधेस तर्फबाट दिदी फर्केर आइन्, बहिनीले रोपेको बाबरी फूल मुर्झाइराखेको पाउँछिन्। मनमा ढ्याङ्ग्रो बज्न थाल्यो, मुटु ढुकढुकियो। यताउति हेर्छे, कोही देख्दिनन्। जङ्गलभरि “ए! नेछो खेवा!” भन्दै अनेक खोज्छिन्, बोलाउँछिन्, रुनछिन्, कराउँछिन् कतै भेट्दिनन्। त्यही लाट्कोसेरो मात्र जहिल्यै आफ्नो सीप गरिराखेको पाउँछे। लाट्कोसेरोलाई घरि-घरि सोध्छे तर, नदेखेको र थाह नभएकै कुरा बताउँछन्।उसको मनमा भने बहिनीको नादानी चरित्रको कारण लाटो लाट्कोसेरोले नै खाइमारेको शंका उब्जिरह्यो। फकाएर भए पनि लाट्कोसेरोलाई नै सोध्ने विचार गरिन्। 'बहिनी चञ्चली थिई, सोल्टीज्यु! दया गरेर बताइदिनु नी, तिमीलाई रिस उठाएको हुन सक्छ, मारीखाएकै हौ भने पनि ठीकै छ; मेरो आपत्ति हुने छैन। तर, उस्को एउटै सानो दसी-चिन्ह भए पनि देखाइदिए पुग्छ भनेर बारम्बार आग्रह दोहर्याइ रहीन।

अन्तमा, विवश लाट्कोसेरोले साह्रै झिजो गर्यो भन्ठानी बहिनीले ज्यादै रिस उठाएको कारण आफूले साँच्चै नै मारी खाएको पोल खोलिदिए । लाट्कोसेरोले खाइमारेको प्रमाण भएपछि उनकै इसारा अनुसार खोजि गर्दै जाँदा साँच्चै नै एक कुनामा मृतक बहिनीको हड्डीको टुक्रा फेला पारीन्। त्यही हड्डी टुक्रालाई काठको (केवा) फुरुमा हाली मुन्दुम-रिसिवा गर्दै जप्दै लाँदा अन्तमा आफ्नो शीरमा चिहान बोकेर अर्कै धनेश चराको अवतार लिएर उत्पन्न हुन्छिन्।

यसरी धनेश चरा एकपटक मरिसकेर बौरी उठेको हुनाले आफ्नो शीरमा चिहान बोकेका कारण दुर्इवटा खप्टिएको चुच्चो शीरमा रहेको विश्वास गरिन्छ । नत्र, अघिल्लो जन्ममा दिदी होङ्रायो जस्तै एउटै रुपको चुच्चो रहेको लोक विश्वास रहिआएकोछ।🙏🏻😷

[अझै पनि जो कोही चञ्चले स्वभाव रहेको नारी जाति तथा तरुणीहरूलाई "खेउ" भनेर नै पुकारिन्छन्, जो अन्य भाषिहरूले पनि व्यापक रुपमा यो कुलुङ तत्सम शब्दलाई प्रयोग गरी चञ्चली नारीलाई “खेउ” नै प्रयोग गर्छन्।]

टिप्पणीः
[भारतको उ.पू. प्रान्तका नागाहरूले वार्षिक रूपमा “हर्नबिल फेस्टिबल” (Hornbill Festival) भनेर सप्ताहव्यापी मेला लगाउने गर्छन्। आफ्नो सांस्कृतिक नाचहरूमा धनेश (Hornbill) ‘खेउ’ को प्वाँख शीरमा लगाएर देखाउँदै थरि-थरिका (Horn bill Dance) नाचहरू देखाउने गर्छन्। उसरी नै कुलुङ जातिले पनि छोरी-चेलीको रीत छिनाइसके पछि चुल्हो वरिपरि 'अवाङ-वाङ!' 'अवाङ-वाङ!' भन्दै लोस्-खेउको नकल गर्दै नारी-पुरुष, rhythm सित झ्याम्टा बजाउँदै नाच्ने चलन थियो/छ। यसलाई 'Toucan Dance’ या ‘Toucan Festival' नाम दिएर विकसित गर्न सकिने कुरा हो।

(ज्ञात रहोस्, नागा जातिहरू किराती ‘राई’ समूह जस्तै विविध भाषिक तथा 96% ख्रिष्ट धर्म सम्प्रदाय रहेर पनि आ-आफ्नो भाषा-संस्कृति प्रति अत्यन्त सजग , सक्रिय र सम्वेदनशील छन्।] चेतना भया।🙏👍💪😷)

1 comment:

  1. धेरै पहिले सुनेकाे थिएँ मेराे हजुरबा (फपा) र बुवा (आपा) बाट पढ्न पनि पाएँ । ओलाेनुव लेखकद्वय आदरणीय RD Kulung दाई

    ReplyDelete