Monday, August 27, 2018

पिताजीले सुनाउनु भएकाे कथामा याेगमाया

योगमाया न्यौपाने (बि.सं. १९२४-१९९८) बारेमा छास्छुस् केही सुन्दै र पढ्दै आएको थिएँ । तर मैले योगमाया बारेमा उति ध्यान दिएर आजसम्म पढेको छैन । सङ्खुवासभाका लेखक मात्रिका तिम्सिनाले योगमायाको बारेमा पुस्तक लेखेको आज भन्दा १५ बर्ष पहिले नै देखे जस्तो लाग्छ । स्थानीय विभिन्न प्रकाशनहरुमा पनि योगमाया बारेमा लेख लेखेको र महिला अधिकारका कार्यक्रममा गरेको भाषण देखेको, सुनेको थिएँ । र पनि मलाई योगमायाले खासै छोएको थिएन । यसको एउटा खास कारण २८ बर्ष पहिले मेरो पिताजीले सुनाउनु भएको एउटा कथा मेरो दिमागमा गढेर बसेकाले होला । त्यो कथा यहाँहरुसँग शेयर गर्छु र निलम कार्की निहारिकाको योगमाया बारेमा मेरो कुरा राख्नेने छु ।
राम न्वमी मेला हेर्न बाबुु-आमाको पुछारे लागेर २०४६ चैत्रको अन्तिम हप्तातिरको कुनै दिन भोजपुरको दिङ्ला जाँदै थिएँ । मेरो गाउँ वालुङबाट दिङ्ला जाँदा अरुण नदीको उत्तरी किनारै किनार जानुपर्छ । अरूण नदीमा मिसिनु अघि करिब ४ किलाे मिटर जतिकाे दुरिमा सङ्खोवा खोला भाेजपुर र सङ्खुवासभाकाे प्राकृतिक सिमा भएर बग्दछ । सङ्खाेवा खोला तरेर बुम्लिङ प्रवेश गर्ने बित्तिकै केही मन्दिर कुटीहरु अाउँछ । त्यसकै नजिकबाट बाटाे हिँड्नु पर्दथ्याे । त्यो कुटी र मन्दिरका बारेमा जानकारी गराउँदै मेरो पिताजीले मलार्इ योगमायाको कथा सुनाउनु भएको थियो । जतिबेला म करिब ११ बर्षको थिएँ ।
पिताजीले सुनाउनु भएको कथा यस्ताे थियाे : धेरै अघि योगमाया नामकी एउटी वाल बिधवा बाहुनी थिइन् । उनले धर्मविरुद्ध विधवा विवाह अजातसँग गरेकी थिइन् रे ! (बाहुन महिलाले विधवा विवाह गर्न हुन्न भन्ने त्यही बेला थाहा पाएको थिएँ।) सामाजिक मान्यता विरुद्ध विहे गरेकी उनलाई गाउँमा बस्न नमिल्ने भएछ । त्यसैले देश छाडेर आसाम पुगेर बसिन् । आसाममा उनको बच्चा जन्मिएछ । बच्चा जन्मेपछि उनको श्रीमान बितेछन् (तथ्य थाहा छैन) । फेरि उनले उतै क्षेत्रीसँग विहे गरिछन् । त्यसपछि उनले आफूलाई भक्तिनी बताउन थालिन् । उनले आफूमा अलौकिक शक्ति प्रवेश गरेर भक्तिनी भएको भनेर अरुलाई प्रवचन दिन शुरु गरिछन् । यो क्रम बढ्दै जाँदा उनी आसाममा आलोचित भइन् । त्यसपछि अब आफ्नै देशमा गएर आफूले अलौकिक शक्तिद्वारा प्राप्त ज्ञान बाँड्ने भन्दै नेपाल फर्किछन् । उनले गाउँमा आएर विधवाले विवाह गर्न पाउनुपर्ने, बाल विवाह गर्न नहुने, जात खस्ने प्रथा हट्नु पर्ने, महिलाले पनि गुरु हुन पाउनु पर्ने जस्ता कुरा उठाइ छिन् । उनको यस्तो कुरा त्यो बेला मन पराइएन । त्यसैले योगमायाले धर्म विरुद्ध समाज भड्काएको उजुरी राणा प्रधानमन्त्री कहाँ गरिएछ ।
राणा प्रधानमन्त्रीले योगमायालाई नियन्त्रणमा लिई कारबाही गर्न आदेश दिए । याेगमायालाई पक्राउ गरियो । उनले आफूले धर्म, सरकार र समाज विरुद्ध कुनै काम नगरेको बताउँदै श्री ३ सरकारसँग भेट्न माग गरिछन् । जुद्धसमसेरलाई उनको कुरा सुनाइएछ । जुद्धसमसेरले दर्शन भेट दिएछन् । भेटमा योगमायाले राणा प्रधानमन्त्रीलाई प्रभाव पार्न सकिन् । परिणाम स्वरूप उनलाई मझुवावेँशीमा कुटी बनाएर ध्यान र तप गरेर बस्न दिइएछ । त्यसपछि उनले त्यहाँ कुटी बनाएर प्रवचन दिन थालिन् । योगमायाको कुरा सुनेर धेरै जना महिला पुरुष उनको भक्त भए ।
याेगमायाकाे काल्पनिक तस्विर
उनको प्रसिद्धि बढेर जान थाल्यो । भक्तहरु बढ्दै गए । योगमायाले आफ्ना विचारहरु सबैलाई सुनाउँँदै गइन । त्यसबीच अझ कडा तपस्या गरेर सिद्धी प्राप्त गर्ने र आफूले भनेको जस्तो व्यवस्था स्थापना गर्ने कुरा योगमायाले भक्तहरुलाई बताइन् । भक्तहरु गुरु आामाले भने अनुसार कडा तपस्या गर्न तयार भए । उनीहरूले त्यस्तो उच्चस्तरको तपस्या गर्मी ठाउँमा नहुने ठहर गरे । अब तपस्या गर्ने पवित्र स्थान कैलाशको खोजी भयो । त्यस्तो ठाउँ सङ्खोवा खोलाको शीर, मकालु हिमालको फेदीमा (तोङ्राफु?) उपयुक्त भएको निष्कर्ष निस्किएछ ।
अब योगमाया दर्जनौं महिला पुरुष भक्तहरुसहित मकालु हिमालको फेदमा तपस्या गर्न जाने भइन् । आवश्यक बन्दोबस्त सहित उनीहरु हिमाल तिर लागे । त्यहाँ तपस्या स्थल निर्माण गरेर उच्चस्तरको सिद्धि प्राप्त गर्न सबै जना ध्यानमा बसे । हिमालको ठाउँ, चिसो थियो । आगो बाल्ने पर्याप्त दाउरा र आवश्यक न्याना कपडा तपस्वीहरुसँग थिएन । त्यसैले न्यानोका लागि महिला पुरुषकाे सँगै तपस्या र सुत, उठ भयो । यस्ताे बेला उनीहरुले आफ्नो काम बासनालाई नियन्त्रण गर्न सकेनन् । धेरै तपस्वी महिला गर्भवती हुन पुगे ।
यो खराब खबर राणा प्रधानमन्त्रीसम्म पुग्यो । सबै तिर धर्म नष्ट गरेको हल्ला फैलियो । यसले गर्दा सरकारले मृत्यु दण्ड दिन सक्ने र अरु मानिसबाट अपहेलित हुने अवस्था आयो । समाज कठोर र पुरुष प्रधान थियो । यस्तो अवस्थामा योगमायाले आफ्ना भक्त महिलाहरुको भावी दिन राम्रो देखिनन् । लाेकलाज र मृत्यु दण्डबाट बच्ने विकल्प याेगमायाले खाेज्न थालिन् । विकल्पमा उनले अरुण नदीमा सामुहिक आत्मदाहको प्रस्ताव ल्याइन् । गर्भवती भक्तिनीहरुले यसमा मञ्जुरी जनाए । अनि उनीहरु बुम्लिङ झरे । बुम्लिङबाट सयौंका संख्यामा रहेका महिलाहरूले योगमायाकाे नेतृत्वमा अरुण नदीमा जिउँदै आफूलाई समाधिस्थ गरे !
योगमायाकाे बारेमा पिताजीले सुनाउनु भएको कथा यही थियो । लामो समय योगमायालाई पिताजीले सुनाउनु भएको कथाको पात्रकै रुपमा बुझ्दै आएको थिएँ । निलम कार्की निहारिकाको ´योगमाया`ले मदन पुरस्कार पाएपछि मलाई अरुहरुले बयान गरेको योगमाया बुझ्न, पढ्न मन लागेको छ ।

No comments:

Post a Comment