Sunday, August 26, 2018

दुईतिहाइ बहुमत कटाक्षकाे विषय हाे ?

प्रजातन्त्र स्थापना भएकाे २८ बर्षमा तीन पटक दल विशेषले बहुमत प्राप्त गरेका छन् । पहिलाे अामनिर्वाचन २०४८ र दाेश्राे अामनिर्वाचन २०५६ मा नेपाली कांग्रेसले एकल बहुम पाएकाे थियाे । गणतन्त्र स्थापना र संविधानसभाबाट निर्मित संविधान अनुसार भएकाे प्रथम अामनिर्वाचन २०७४ मा पहिलाे पटक कम्युनिष्ट पार्टिले करिब दुर्इतिहाइकाे हाराहारीमा सिट जितेकाे छ । नेपालकाे इतिहासमा कम्युनिष्ट पार्टिले लाेकप्रिय निर्वाचनबाट बहुम पाएकाे याे पहिलाे परिघटना हाे ।
तात्कालिन नेपाल कम्युनिष्ट पार्टि (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्ट (माअाेवादी केन्द्र) बीच पार्टी एकीकरण सम्मकाे सहमती सहित बनेकाे कम्युनिष्ट गठबन्धनले गएकाे मङ्सिरमा भएकाे चुनावमा बहुमत हाँसिल भएपछि पहिलाे कम्युनिष्ट एकमना सरकार २०७४ फागुनमा गठन भएकाे छ ।

त्यसकाे नेतृत्व खड्गप्रसाद अाेलीले गरिरहेका छन् । गठबन्धन बनाउँदा संयुक्त घाेषणा-पत्रमा बाचा गरिए अनुसार दुबै पार्टि एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टि निर्माण भइसकेकाे छ । जसकाे नेतृत्वमा सङ्घीय समाजवादी फाेरम नेपालसमेत सहभागी भएर अहिले संसदमा दुर्इतिहाइ बहुमत भएकाे सरकार कृयाशिल छ ।
लामाे समयपछि बहुमतकाे सरकार बनेकाे र त्यसमा पनि अाफुलार्इ क्रान्तिकारी दावी बामपन्थी दलहरूकाे भएकाेले जन अापेक्षा उच्च हुनु स्वभाविक थियाे र छ । त्यसमाथि अघिल्लाे पटक छाेटाे समय प्रधानमन्त्री भएका खड्गप्रसाद अाेलीले काम गर्न नपाइ विस्थापन हुनु परेकाे र उनले माैका पाए केही गर्नेछन् भन्ने खालकाे नेपाली जनताकाे अापेक्षाकाे भारी नै थियाे र छ।

सरकार गठन पश्चात सबैकाे अापेक्षा अनुसार यसले काम गर्न नसकेकाे गुनासाे सबैतिरबाट अाइरहेका छन्। सरकारबाट राम्रा कामहरूकाे अारम्भ अाशा गर्नु र साे नहुँदा गुनासाे वा अालाेचना स्वभाविक हुन्छ । त्याे अन्यथा विषय हाेइन । तर अहिले सरकारकाे अालाेचना हुँदा एउटा फुर्काे कटाक्ष पूर्वक जाेडिने गरेकाे देखिन्छ । त्याे हाे -दुर्इ तिहाइकाे सरकारले, दुर्इतिहाइकाे सरकार भएर, दुर्इतिहाइकाे दम्भ, दुर्इतिहाइकाे स्वेच्छाचारिता अादि इत्यादि । 

हरेकमा दुर्इतिहाइकाे कटाक्ष पूर्ण फुर्काे जाेडाइले कतै बहुमतकाे सरकार हुनु नै गलत त हाेइन ? भन्ने भ्रम सर्व साधारणमा पर्ने सम्भावना छ । कतै अल्पमत या खिचडी सरकार नै ठीक भन्ने मनाेभाव विकास हुने त हाेइन? जस्ता कुराहरू उठेका छन् । लामाे समय पछाडि देशले बहुमत सहितकाे सरकार पाउनुलार्इ राम्राे मानिनु पर्नेमा कटाक्षकाे विषय किन भइरहेकाे छ ? प्रकारान्तरले नेपालमा अस्थिर सरकार र राजनीतिक प्रणाली प्रवर्द्धन गरिरहेकाे छ यसले। याे निक्कै खतरनाक छ देशकाे भविश्यका लागि ।

यसमा मानिसकाे बानीले काम गरेकाे हुन सक्ने मलार्इ लाग्छ । यससँग सम्बिन्धत मानवीय बानीकाे एउटा वास्तविक कथाबाट यसलार्इ हेराैं । खाँदबारीका सिनियर पत्रकार गंगा विष्टले ११ बर्ष पहिले एउटा अनौठो अनुभव मलाई सुनाउनु भएको थियो ! त्यो अनुभव यस्तो थियो ।
तात्कालिन शेरबहादुर देउवा सरकारले २०५८ मङ्सिर ११ गते नेपालको इतिहासमा पहिलो पटक संकट काल लगाए पछि उनलाई सेनाले नियन्त्रणमा लिएर कुट्दै ब्यारेकमा लग्यो । ब्यारेकमा उनलाई आँखामा पट्टी बाँधिएको थियो । हात पछाडि लगेर डोरीले कसिएको थियो । दैनिक लात र मुड्की बजाउँदै यातना दिने काम पनि उनीमाथि सेनाले जारी राख्यो । ट्वाइलेट जाने बेला मात्रै हात खोलिन्थ्यो र उनी अगाडि हात ल्याउन पाउँथे ।
शुरु शुरुमा उनलाई यो निक्कै कष्टकर लाग्यो । हात सधैं पछाडि बाँधिदा दुख्थ्यो । लडाएर राखिएको उनलाई सुत्न पनि गाह्रो हुन्थ्यो । सैनिक हिरासतमा यो क्रममा तीन महिना चल्यो । अब मारिने नै रहेछ भनेर ज्यान माया मारेर र यातनाको वास्ता गर्न पनि छाडे !
पत्रकार गंगा विष्ट
यसबीच बाहिर गंगा विष्ट लगायतका पत्रकार र अधिकारकर्मीको जीवन रक्षाको आवाज राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा उठ्यो । यसको प्रभाव स्वरुप उनीहरुलाई सैनिक हिरासतबाट मुक्त गरेर जिल्ला कारागार लगियो । कारागार लगेपछि उनको हात खोलियो ।
पहिले पछाडि लगेर हात बाँधिदा गाह्रो मानेका उनलाई खुल्ला हात अगाडि ल्याउन गाह्रो लाग्थ्यो । करिब महिना दिन हात पछाडि मात्रै जान्थ्यो । पछाडि लानै सजिलो लाग्थ्यो ।
अहिले नेपाली मनोविज्ञान वा बानी विष्टलाई सेनाले यातना दिँदा पछाडि हात बाँधिदिएर ३ महिनामा परेको बानी जस्तै परेको रहेछ ।
२०५६ सालमा कांग्रेसले पाएको बहुमत सरकार (जुन बाँदरलाई नरिवल बनायो कांग्रेसले) बाहेक सधैं अल्पमत वा मिलीजुली देख्दै आएको थियो । यो १८ बर्षमा यस्तै नौरङ्गी र अनेक बान्कीका सरकार देख्ने, भोग्ने बानी परेका नेपालीलाई बहुमतको सरकार गंगा विष्टलाई हात खोलिँदा १ महिना परेको सकस जस्तै भएको प्रतीत हुन्छ ।
त्यसैले त सामान्य देखि बुद्धिजीवीसम्मका मानिस दुई तिहाइ बहुमतको सरकार भन्दै जे कुरामा पनि कटाक्ष गर्दैछन्। कार्टुनिष्ट, टुइटे, फेसबुके, मिडियाकर्मी सबै सबै पछाडि बाँधिएको हातमा अभ्यस्त छन् । बहुमतको सरकार अभिषाप देखाउन उद्दत छन् ।
तर याद रहनुपर्ने कुरा हाम्रो हात पछाडि होइन, अगाडि नै हुनुपर्छ । पछाडि लगेर बाँधिएको हातले काम गर्न सकिन्न । कुबाटोको यात्राले लक्ष्यमा पुर्याउन्न ।
(अगाडि होइन, पछाडि हात राख्ने बानी परेको नेपाली मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने एक कार्टुन)

No comments:

Post a Comment