Sunday, July 15, 2018

‘देखेको देश’ देशलाई चिन्न चाहने र माया गर्नेहरुले पढ्नै पर्ने पुस्तक

लेखक एवं पत्रकार मोहन मैनालीको अलि पुरानै पाठक हुँ म । विशेष गरी हिमाल र कोसेलीमा प्रकाशित हुने उनका लेखहरु पढ्दै आएको छु । अचेल अनलाइनहरुमा बढी पढ्छु । मैनालीद्धारा लिखित तेस्रो पुस्तक ‘देखेको देश’ भरखरै पढेर सकाएँ । यसअघि उनले लेखेका एक पुस्तक पढेको छु । (उपल्लो थलो पढेको छैन र पत्रकारिताका म्यानुअलहरुलाई पुस्तक भनिन ।) मैनालीको पुस्तक ‘देखेको देश’ पढेपछि मनमा आएका केही कुरा लेख्ने जमर्को गरेको छु ।

यात्रा आफैँमा ज्ञानको ठूलो श्रोत हो । देश परिवेश चिन्नलाई यात्रा आवश्यक हुन्छ । यात्राले भूगोल, जलवायु, सँस्कृति, समाज, आर्थिक तथा भौतिक अवस्थाको जानकारी दिन्छ । नीति निर्माता, योजनाविद, पत्रकार, लेखक, शिक्षक, गुरुलाई यात्रा ज्यादै महत्वपूर्ण हुन्छ । सही जानकारी नभए सत्य कुरा बोल्न, लेख्न र भर पर्दो गरी काम गर्न सकिन्न । यस्तै यात्रामा रमाउने र भित्री तहसम्म पुगेर तथ्यमा लेख्ने लेखक हुन् मोहन मैनाली । मेरो जानकारी अनुसार डा. हर्क गुरुङ पछि यात्रामा विभिन्न ठाउँ पुग्ने र गहिराइमा पुगेर ति ठाउँका बारेमा लेख्ने लेखकमध्ये मैनाली एक हुन् ।  

मैनाली यो देशको सुगन्ध र दुर्गन्धलाई राम्रोसँग खुट्ट्याएर लेख्छन् । तीन दशक देखिको पत्रकारितामा उनले देशको प्राय धेरै ठाउँ पुगेका र सबै देखेका छन् । उही देखेको कुरालाई मन मस्तिष्कमा प्रशोधन गरेर तथ्यहरुको कसिमा लेख्नु उनको विशेषता हो । यो पुस्तक त्यसकै श्रृङ्खला हो । लेखक आफैँले पुस्तकको नाम ‘साँच्चैको नेपाल परिचय भाग ३’ राख्न मन लागेको भूमिकामा उल्लेख गरेका छन् । यसको मतलब लेखकको आँखाबाट देखेको नेपालको साँच्चैको परिचय दिने उद्देश्य पुस्तकको हो । नेपाललाई साँच्चै माया गर्ने नेपालीहरुले पढ्न पर्ने पुस्तकको सूचिमा ‘देखेको देश’लाई समावेश मेरो तर्फबाट गरेको छु ।

पुस्तक विभिन्न विषयगत समूह गरेर ९ खण्डमा विभाजित छ । हाम्रो परिवेश, हाम्रो वातावरण, हाम्रो विकास, हाम्रो शासक, हाम्रो किताब, हाम्रो समाज, हामीले भागेको हिंसा, हाम्रो पत्रकारिता र मेरा कुरा गरेर विषय अनुसार रोजेर पुस्तकलाई पढ्न सजिलो बनाइएको छ । आफू जन्मेको देशको उत्पत्ति, भूगोल, प्रकृति, सम्पदा, इतिहास, सम्भावना र त्यहाँ भएको सँस्कृति चिनेपछि मात्रै यसको महत्व बुझिन्छ । माटोको सुवास थाहा पाइन्छ । नेपाली माटोको सुवास पहिल्याउने काम हाम्रो परिवेशमा भएको छ ।

पूर्व र पश्चिमाबाट काठमाडौं सम्मको हवाइ यात्रा मार्फत नेपालको हिमाली भू–दृष्यको वर्णन गरेर प्रकृतिको नजिक लेखकले पुर्याएका छन् । हिमाल हाम्रो प्राकृतिक उत्तरी सिमाना त हुँदै हो । त्यो भन्दा बढी अरु धेरै हो । पानी, पर्यटन, कृषि, जनजीवन अर्थात हिमाल हाम्रो सँस्कृतिको मुहान हो । यसलाई धनगढीदेखि काठमाडौं र पारोदेखि काठमाडौंको हवाइ यात्राको वर्णन शैलीमा ज्यादै आकर्षक एवं तथ्य परक ढंगमा मैनालीले प्रस्तुत गरेका छन् । 

हाम्रो विकास प्रकृया वातावरणमैत्री छैन । विकास मानवीय सुख र सुविधा बढाउन गरिन्छ । तर हाम्रो विकास प्रकृयाले हामीलाई दुःख थपेको छ । हामीलाई झन गरिब बनाएको छ । यो कुराले मैनालीको मन कुँडेको छ । उनी लेख्छन् –‘... त्यसपछि हामीले दिक्क लाग्दो, मन कुँडिने खालको, मानिसले गरेको विनास हेर्नुपर्ने रहेछ । त्यसैले पो अहिलेसम्म औधि सुन्दर प्रकृति देख्न पाएका रहेछौं । .... त्यहाँ सडक खन्ने (बनाउने होइन, खन्ने अर्थात् भत्काउने) निहुँमा भयङ्कर ठूलो राक्षस पसेको रहेछ । खोलाको किनार, डाँडाको बीच र थाप्लोको जङ्गल जताततै स्काभेटरले चिथोरेर ढुंगा, माटो लडाएको थियो । कुनै गाउँमा त बाटो रुपि राक्षस तीनवटा राक्षस पुगेका थिए । जति हेर्दै गयो उति कहाली लाग्दो । बाटो जानै नसक्ने ठाउँमा पनि बाटो । बाटो लैजान नहुने ठाउँमा पनि बाटो । केही किलो मिटरको अन्तरमा बाटोले बनाएको पहिरो !‘ (पेज २४, चिरेर पहाडहरु)

२०५१ सालमा नेकपा (एमाले)ले ‘आफ्नो गाउँ आफैँ बनाऔं’ कार्यक्रममार्फत आफूले चाहेको ठाउँमा खर्च गर्न पाउने पैसा पठाएपछि बाटो बनाउने क्रम तीब्र भएको थियो । अहिले त्यो कार्यक्रम चोला फेरेर ‘आफ्नो गाउँ, आफैँ भत्काऔं’ बनेको मैनाली ठान्छन् । 

हाम्रो यो भद्रगोल विकासे तरिका कति बालुवामा पानी भइरहेको छ भन्ने एउटा उदाहरण हेरौं – २०६९ सम्म सडक र सिँचाइ विभागले पूर्वाधार बनाउन १ खर्ब ९० अर्ब लगानी गरेका रहेछन् । .... तर त्यत्रो लगानी गरेर निर्माण गरेको पूर्वाधारमध्ये १५ अर्बको मात्रै बचेका छन् रे ! हाम्रो लगानीको १० प्रतिशत पनि बचेको छैन । (पेज २५) 

जथाभावी सडक उधिन्ने कार्य कति दशा बनेको छ भने पैसा त सकियो नै, पहिरो बढाएको छ । बाढी र पहिरोले सडक उधिन्दा निस्केको माटो बगाएर कृषिजन्य जमिन सखाप बनाएको छ । उत्पादकत्व स्वात्तै घटेर भोकमरी बढाएको छ । पुस्तकको हाम्रो वातावरणमा यो चिन्ता धेरै गरेका छन् मैनालीले । उनले विश्वको उच्च भूभागमा हुने धानखेती लोप हुन लागेकोमा चिन्तिक छन् । सरकार र स्थानीयवासीको उदासिनता अर्को उदेक लाग्ने विषय बनेको छ । 

विकास निर्माण र वन्यजन्तु संरक्षणका नाममा मानव बस्ती विस्थापन गर्दा त्यसबाट गरिब र आदिवासीहरुलाई नै धेर मार परेको छ । पिता पूर्खादेखि बसिरहेको ठाउँबाट सार्नु रुख उखेल्नु जस्तै हो । पुरानो पदमपुरबाट नयाँ पदमपुरमा बस्ती स्थानान्तरण गर्दा पहाडेहरुले भन्दा थारुहरुले बढी समस्याको सामना गर्नु परेको मैनालीले उल्लेख गरेका छन् । (गाउँ मासी जङ्गल, जङ्गल मासी गाउँ, पेज ३४)

हाम्रो विकास खण्डमा नेपालको ‘विकास’मा हाम्रा छिमेकीहरुको रणनीतिक स्वार्थले कति बर्वाद बनेका छौं भन्ने छ्याङ्ग हुने गरी तथ्यसहित स्पष्ट पारिएको छ । यसले नीति निर्माण गर्ने तहमा हुनेहरु जनताको पक्ष उभिन नसकेको र विदेशीहरुले कसरी आफ्नो स्वार्थ अनुकुल कमजोर देशहरुको प्राथमिकता नै तहसनहस पार्छन् भन्ने उदाहरणलाई छर्लङ्ग देखाउँछ । विगतको दृष्टान्ट दिँदै बहु चर्चित भारतीय र चिनीया रेल काठमाडौं आउने सपना सपनामा नै सिमित त हुँदैन ? मैनाली आशंका गर्छन् । 

यसरी शंका पैदा गर्ने कारण विगतले दिएको हो । ४३ बर्ष पहिले यस्तै दुईवटा सपनाहरु देखिएको थियो । काठमाठौंबाट दोलालघाट हुँदै सुनकोशी नदीको किनारैकिनार ४०० कि.मि. जति लामो सडक बनाएर धनकुटासँग राजधानीलाई जोड्ने । त्यस्तै पोखराबाट पहाडै पहाड ४०० कि.मि. सडक बनाएर सुर्खेतसँग जोड्ने । जसबाट पहाडका जनतालाई आवागमनमा सेवा प्रदान गर्ने । ति दुई सडक निर्माण गर्न क्रमशः मित्रराष्ट्र भारत र चीनले आर्थिक सहयोग गर्ने । यसलाई आर्थिक बर्ष २०३१/०३२ बाट शुरु भएको पाँचौं पञ्च बर्षीय योजनाबाटै थाल्ने र पहिलो बर्ष १५/१५ कि.मि. सडक बनाउने भनिएको थियो ।  (सपनामा देखेका रेलवे, विपनामा हराएको सडक, पेज ५७) 

तर यसको शुरुवात समेत हुन सकेन । किन भएन ? कसैले जवाफ दिएन । बरु छैटौं पञ्च बर्षीय योजनामा आइपुग्दा भाषा परिवर्तन हुन थाल्यो । राजा वीरेन्द्रले आफ्नो भाषणमा पनि भनेको थिए – ‘... दोलालघाट–धनकुटा सडकको सर्वे र निर्माणका लागि मित्र राष्ट्र भारतसँग सैद्धान्तिक सहमती गरेका छौं । त्यसैगरी मित्र राष्ट्र चीनको सहयोगमा पोखरा–सुर्खेत जोड्ने पहाडी राजमार्ग निर्माणका लागि प्रारम्भिक सर्वेक्षण भइरहेको छ ।’ राजाले भाषण गरिसकेको र दुई मित्रराष्ट्रको सहयोगमा निर्माण गर्ने भनिएको सडक बारेमा अहिलेका पुस्ताले देख्न त के, सुनेका सम्म छैनन् । मित्रराष्ट्रहरुको खेलमा यि सडक हराएको छ ।  

अर्को उदाहरण पुस्तकमा राखिएको छ । २००७ सालअघि नेपालको विकासको खाका कोर्न आएको टोनी हागनसमेत संलग्न स्वीस मिसनले भीमफेदी–कुलेखानी–फर्पिङ–काठमाडौंका बीचमा सुरुङसहितको बाटो खन्न प्रस्ताव गरेको थियो । यो सडक २५ कि.मि. सुरुङसहित ४० किलोमिटर लामो हुन्थ्यो । सुरुङ गाडी गुडाउन र जलविद्युतको लागि कुलेखानीको पानी लैजान मिल्ने हुन्थ्यो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा यो सडकको फर्पिङमा शिलन्यास गरेका थिए । 

मैनाली लेख्छन् –... यो सडकको योजना साह्रै छोटो आयु लिएर आएको रहेछ । .. शिलन्यास भएको तीन हप्तापछि शिलन्यासको चिनो ढुङ्गालाई राजा त्रिभूवनका भारतीय सल्लाहकारको आदेशमा हटाउन लगाइयो । त्यसको विकल्पमा भारतीय सरकारले भारतीय सेना लगाएर अर्को सडक बनाइदिने प्रस्ताव गरेको थियो । त्यो थियो –त्रिभूवन राजपथ । .. यो सडक ज्यादै विकट, लामो र असहज थियो । ४० कि.मि.को विकल्पमा १३८ कि.मि., जो कालान्तरमा चल्ने सडक नै थिएन । सुरुङ मार्ग सपनामा नै रह्यो । 

यस्तो अनगिन्ती चर्चा छन् । भारत र शक्ति राष्ट्रको स्वार्थका कारण नेपालको विकास प्राथमिकता बदलिएको । नेपाल पूर्वाधार निर्माणमा पछाडि धकेलिएको देखि केदारी राजमार्ग निर्माणमा भारतीय विरोधसम्म । राजा महेन्द्रले –‘कार चढेर साम्यवाद आउँदैन’ सम्म भन्नु परेको थियो । भीमफेदी–काठमाडौं सडक जस्तै सपनाको रेल बन्न बेर छैन ।

सहरमा घर बन्नु गाउँ उजाडि पक्कै हो । जलविद्युत, सडक, संरक्षण क्षेत्र निर्माण गर्दा विस्थापित भएका जनताप्रति सरकार संवेदनशिल हुनु पर्दछ । उनीहरुलाई मुआब्जा दिएर मात्रै हुन्न । व्यवस्थित पुनःस्थापना, उनीहरुको रीति सँस्कृति, जीविका जस्ता कुरामा ध्यान दिनु आवश्यक छ भन्ने विभिन्न अध्ययनहरुले देखाएको मैनालीले जोड दिन्छन् । जिम्मेवारीको काम नगर्ने चलनप्रति मैनालीको घोर असहमती छ । 

गर्नु पर्ने जिम्मेवार पक्षले समयमा काम नगरी दिँदा सानो काम ठूलो भएको छ । केही किलोमिटर सडक बनाउन बर्षौ लागेको छ । कार्यालयमा एकछिनमा हुने काम घण्टौं वा हप्तौं लागेको छ । सबै ढिला भएका छन् । साना साना काम नहुँदा देशको गति नै रोकिएको छ । (सानो काम ठूलो भयो, पेज ६५)

हाम्रो शासकमा नेपालको कर प्रणाली र राजश्व उपयोगका विसङ्गतिहरु, राजनीतिक दलहरुको आर्थिक श्रोत तथा अपारदर्शिता, विद्यार्थीहरुको अराजकता बारेमा विस्तृत चर्चा गरिएको छ । जनताबाट राज्यले कर उठाएपछि त्यो उनीहरुकै सुविधामा खर्च हुनु पर्ने हो तर त्यस्तो नभएकोमा लेखकको असमती स्वभाविक छ ।

हाम्रो किताब खण्डमा ‘पाठ्य पुस्तकलाई काम नलाग्ने’ दर्जामा राख्ने एउटा गलत धारणाको राम्रो खण्डन गरिएको छ । यो निवन्ध पढेर आफ्नो स्कुलको पुस्तक सम्झेँ । छायाँमा परेका राम्रा पुस्तक, अध्ययनमा रुचि जगाउने पुस्तक, अनुवादको महत्व आदिवारे चर्चा गरिएको छ । यसमा एउटा निवन्ध ‘एउटा यात्राको अविष्कार’ उति रुचिकर बनाउन सकिन र दोहोर्याएर पढ्ने विचार गरेको छु । 

हाम्रो समाज खण्डमा धेरै विषयहरुको चर्चा गरिएको छ । नेपाली समाजलाई चिनाउने महत्वपूर्ण डकुमन्ट्री विविध पक्ष र महत्व मैनालीले चर्चा गरेका छन् । यो खण्डका सबै निवन्धहरु उतिकै महत्वका छन् । तर तिनीहरुमध्ये ‘थरिथरिका स्कुल’, ‘भन्ने एक थोक, गर्ने अर्कै थोक’, ‘सम्झानाको तरेलीमा हुकर’, ‘चरित्रहिनताको प्रमाण–पत्र’ र ‘ कता गए बुद्धिजीवी ?’ मलाई औधि घत पर्याे र महत्वपूर्ण लागे । ‘थरिथरिका स्कुल’ले महगा र सुविधा सम्पन्न विद्यालयमा पढेर डिस्टिङ्सन ल्याएर प्रवेशिका गरेकाहरुले नभइ सामान्य विद्यालयमा पढेर सामान्य श्रेणीमा उतीर्णहरुले देशको सेवा गरेको उदाहरण सहित प्रष्ट पारेको छ । वास्तवमा राम्रो विद्यालय पढेर राम्रो डिभिजन ल्याउनेहरु सबै पराय देश गएर उतै सेवा गरिरहेका छन् । 

‘भन्ने एक थोक, गर्ने अर्कै थोक’ले युवाहरुमा समेत कुरा र कामको तादात्म्यता नदेखिएका उदाहरणसहित चर्चा गरिएको छ । अरुको आलोचना गर्नेले आफू उदाहरण हुन सक्नुपर्ने हुन्छ । त्यस्तै ‘चरित्रहिनताको प्रमाण–पत्र’ पढ्दा सबै मानिस सोँच्न बाध्य हुन्छ । कता गए बुद्धिजीवीले बुद्धिजीवीहरु र नेपाली समाजलाई पक्कै सोँच्न बाध्य बनाउँछ । 

पुस्तकमा १० बर्षे सशस्त्र द्धन्द्धले नेपाली समाजलाई पारेको अनेक नकारात्मक असरहरुको पनि चर्चा गरिएको छ । द्धन्द्ध सकियो तर यसको बाछिटाले नेपाली समाजलाई लामो समय पिरोल्ने लेखकको ठहर छ । बर्वरताको विस्तार, कामिरहेको समाज, मान्छेदेखि मानिस डराएको जुग र खतरा भएकैले काबुल शीर्षक द्धन्द्धका असर बारे उल्लेख छ ।

हाम्रो पत्रकारिताको विङ्गतिहरुका सम्बन्धमा पनि पुस्तकले समेटेको छ । आफ्नो कामको कदर हुँदा प्राप्त हुने खुसी, नेपाली पत्रकारितामा फेक र भ्रमात्मक कुराको जगजगी, पत्रकारिताको ट्रेण्ड जस्ता विषयमा समीक्षा गरिएको छ । मैनालीको अनभवले भन्छ नेपाली पत्रकारिता जे नगर्नु पर्ने, त्यही गर्दैछ । समाजलाई गलत सूचना दिएर एक आफ्नै ओज घटाएको त छ नै, दिग्भ्रमित पनि बनाइ रहेको छ । हृत्तिक रोशन काण्ड  एउटा उदाहरण हो । त्यस्तै प्राथमिकता नदिनु पर्ने विषयमा मरिमेटेर प्राथमिकता दिइरहेको छ । गर्नु पर्ने गहिराइमा पुगेर कुनै क्षेत्रमा काम गरिरहेको छैन । 

एउटा पुस्तक भित्र धेरै विषयहरु छन् । जुन साँच्चै महत्वपूर्ण छन् । देशको अनुहारलाई चिनाउने छन् । पुस्तक पढ्दै जाँदा धेरैको मनमा हलचल ल्याउने पक्का छ । फुटकर रूपमा पत्रिकामा पहिले पढेकै भए पनि पुस्तकमा पढ्दा एक पटक यसले रिफ्रेस गराउने छ ।  

पुस्तक पढ्दै जाँदा मनमा उठेका केही कुराहरु  पनि छन् । (१) खुम्बू र महाकुलुङ(उत्तर र पूर्वी सोलूखुम्बू) क्षेत्रको जनजीवन बारेमा डा. हर्क गुरुङले देखेर लेखेको पढेको छु, अब मोहन मैनालीले लेखेको पढ्न मन छ । (२) संखुवासभाका उत्तरी क्षेत्रका जनजीवन (शिशुवाखोलादेखि किमाथांकासम्म) लेखिदिए हुन्थ्याे । (३) माझ किराँतका जनजीवन बारेमा मोहन मैनालीले किन नलेखेका होलान् ? कि पुग्न पाएका छैनन् कि ! (४) तराई/मधेसका बारेमा थोरै लेखेकाे हो कि ? (५) पश्चिमका पहाड र हिमालतिर लेखकको मन बढी गएको वा जाने मौका मिलेको हो ? किन भने ‘माण्ठा डराएको जुग’ पनि मुलत: उतै केन्द्रीत छ । 

अन्तमा, यो पुस्तक राजनीतिकर्मीले पढ्नु पर्छ । किनभने उनीहरु नै शासकीय पदमा पुग्ने हुन् । देशको भूगोल, प्रकृति, पर्यावरण, सँस्कृति, इतिहास र सम्भावना नबुझेको मानिस पदमा पुगे त्यो अभिसाप हुन्छ । प्रशासक, योजनाविद, राष्ट्रसेवक, जनप्रतिनिधि, युवा, शिक्षक, विद्यार्थी, पत्रकार सबैले पढ्नु पर्छ । धेरै कुराहरु छन् । जस्ले वास्तविक नेपालको परिचय दिन्छ । त्यो परिचयले भावी नेपाल कस्तो बनाउने ? भनेर मनमा नक्सा बनाएर अगाडि बढ्न अवश्य सहयोग गर्नेछ ।

No comments:

Post a Comment