Monday, July 23, 2018

नीति कथा : प्रख्यात ज्याेतिष र बुढी अामै

एकदिन एक प्रख्यात ज्योतिष एवम् खगोलशास्त्री अबेर आफ्नो कार्यालयबाट घर फर्कँदै रहेछन् । त्यो कृष्णपक्षको रात थियो । मौसम एकदम सफा ! रातमा बाक्लो ताराहरुले आकाश झिलिमिली र रमाइलो देखिएको थियो । आकाशको मोहक दृश्यले ज्योतिषको मन नतान्ने कुरा भएन । उनले आकाशका ताराहरु हेर्दै हिँड्न थाले ! ताराहरु हेर्दै र तिनीहरु बारे मनमा गम्दागम्दै उस्ले तल बाटो हेर्नै विर्से !

एकोहोरो आकाशतिर हेर्दै हिँड्दा बाटो छाडेर अन्तै पुगेको उनलाई पत्तै भएन । उनी एक्कासी एउटा इनारभित्र गुल्टिन पुगे । धन्न इनारमा पानीको सतह उति गहिरो थिएन । उनले इनार भित्रबाट मलाई बचाओ! मलाई बचाओ !! भनेर हार गुहार गरेछन् । सञ्जोगले त्यो बेला गाउँकै एक बुढी आमा इनारमा पानी लिन पुगेकि रहिछन् । उनले ज्योतिषको गुहार सुनिन् र पानी उघाउने बाल्टीको डोरीले तानेर उद्दार गरिन् । 

बुढी आमाले उद्दार गरेर बाहिर ल्याएपछि उनले गफ दिन थालेछन् -´म यो देशको प्रख्यात ज्योतिष फलानो हुँ ! यो देशका ठूला मानिसहरु मेरो कार्यालयमा आफ्नो भाग्य र भविष्य हेर्न आउँछन् !! म सबैको ग्रह दशा र भाग्य भविष्य बताउन सक्छु !!! मेरो कार्यालय फलानो ठाउँमा छ !! आमा तपाईंले मलाई बचाउनु भयो !! म तपाईंको सबै भाग्य भविष्य नि:शुल्क हेरिदिन्छु !!` 

ज्योतिषको गफ सुनेर बुढी आमालाई चल्नु झ्वाँक चलेछ । उनले ज्योतिषलाई भनिछन् - ´आफ्नो अगाडिको इनार नदेख्ने मानिसले मलाई मेरो भविष्य बताउने ? तँ जस्तो वाहियात मानिस को होला ? तँ ठग हुनुपर्छ ! खुरुक्क बाटो लाग्छस् कि फेरि इनारमा गिराइ दिउँ ?` आमैको कुरा सुनेपछि ज्योतिष टाप !!

No comments:

Post a Comment