Saturday, March 21, 2015

खोक्चिलिप र वेइलिमको कथा (भाग ९ )

photo : from google.com
–आरडी कुलुङ
(कुलुङ जातिको मिथक र सँस्कृति लेखनको प्रयासमा संकलित कुलुङ समुदायमा प्रचलित मानव सभ्यताको विकाससँग सम्बन्धित मिथक श्रृङ्खला)


चाड पर्व र कलाको विकास
खोक्चिलिप र वेइलिमले घर बनाउँदा छोरी गुमाउनु पर्याे । एउटै दुःखमा बारम्बार दुःखी बनेर बस्नु जीवन होइन । दुःख र पीडासँग संघर्ष गरेर अगाडि बढ्नु नै त जीवन हो । खोक्चिलिप र वेइलिमले जीवनको रथलाई अगाडि बढाए । फेरी छोराछोरी जन्मिए, खेतीपाती गरे, शिकार खेले, जीवन सुखमय भयो । जीवनमा फेरि बहार आएकोमा पृथ्वी र आकासलाई, पितृ र पूर्खालाई धन्यवाद दिए । आफ्नो पौरखको केही अंश चढाए । खोक्चिलिप र वेइलिमले धेरै अन्न उत्पादन गरे । घरभित्र अन्न अँटेन । उनीहरुले घर नजिकैको साम्फेलुङ(बिस्कुने ढुङ्गा)मा अन्न थुपार्ने, सुकाउने, कुट्ने, पिस्ने आदि त्यही गर्न थाले । धेरै समयपछि मध्यरातमा त्यो ढुंगा टल्कने र उज्यालो दिने हुन थाल्यो । रातीराती शिरमा मणिसहितको भाले त्यो ढुंगामा बस्ने तर उज्यालो भएपछि हराउने हुन थाल्यो । यस्तो दृष्य पटक पटक देखेपछि खोक्चिलिप र वेइलिमलाई त्यो ढुंगामा देवताले बास गरेको विश्वास भयो । उनीहरुले त्यो ठाउँमा पूजा गर्न थाले । यसरी पूजा गर्ने चलनको शुरुवात भयो । 

मानिस सामाजिक प्राणी हो । सुखसयल भएर पनि एक्लै खुसी हुन सक्दैन । समाज र परिवारको आवश्यकता पर्दछ । सभ्यताको निर्माण हुने समाजबाटै हो । खोक्चिलिपले आफ्नो शत्रु राक्षस(ललदुम)लाई मारी सकेका थिए । खान लगाउन प्रशस्तै पुगेको थियो । आफ्नो इलाकामा खोक्चिलिप वेइलिम राजारानी नै भए । तर खोक्चिलिप र वेइलिपसँग आफ्नो परिवार वाहेकका कोही आफन्त थिएनन् । वेइलिमको माइती टाढा, अनि छिमेकमा थिइन् त एउटी कुटुनी बुढी । खोक्चिलिपको बाबुआमा सानैमा सोक्पाले खाइसकेका थिए । एउटी दिदीको मृत्यु भइसकेको थियो । दुईवटी दिदीहरु उनलाई जंगलमा अलपत्र छाडेर बेपत्ता थिए । घरीघरी मनमा दिदीहरुको सम्झना नआएको होइन । तर एक्लै छाडेर जाने निष्ठुरी दिदीहरु बिर्सने कोशिश गर्दै थिए खोक्चिलिप । त्यसैले उनले वेइलिमलाई दिदीहरुका बारेमा कहिल्यै बताएनन् । 

वेइलिमलाई भने खोक्चिलिपको कोही आफन्त छन् की ! भन्ने लागेको थियो । लोग्नेले केही नबताए पनि एकदिन उनले खोक्चिलिपलाई सोधिन् ­ ‘तिम्रो दाजुभाइ, दिदीबहिनी, आफन्त कोही छैनन् ? छन् भने बोलाऔं, मलाई नि चिनजान गर्न मन लागेको छ ! मान्छे भएपछि आफन्त, नातागोतासँग सम्बन्ध हुनुपर्छ ! सुखमा त ठिकैछ, भोलि साह्रो गाह्रो परेको बेला चाहिन्छ ।’ श्रीमतीको कुरालाई खोक्चिलिपले उति वास्ता गरेनन् । भनिदिए ­ ‘मेरो कोही छैन, म एक्लो टुहुरा हुँ ।’ फेरी श्रीमती दोहोर्याए ­ ‘होइन होला ! मलाई त छ जस्तै लागेको छ । कतै तिमीले ढाँटेको त होइन ?’ श्रीमतीइलाई सँधै ढाँट्ने कुरापनि भएन । त्यसपछि उनले भने ­ ‘आमाबाबुलाई म सानै छँदा सोक्पाले खायो, एउटी दिदी सानैमा मरिन्, दुईजना दिदीहरु लोस र खेवा तरुनीहरु थिए । उनीहरु मलाई मरोस् भनेर एक्लै जंगलमा छाडेर बेपत्ता भए ! म केटाकेटीलाई झण्डै ललदुम(राक्षस बुढी)ले खाएन । मैले कति दुःख पाउनु पर्याे । छाडेर जानेहरुको के कुरा गर्नु ? मेरो कोही छैनन् ।’

यो कुरा सुनेपछि वेइलिमले लोग्नेलाई सम्झाइन् ­ ‘तिमी मरोस् भनेर होइन, अरुसँग लडेर खान सिकोस्, जीवन संघर्ष बुझोस् भनेर छाडेका हुन् ।’ तरुनी भएकी चेली सँधै माइतीमा बस्ने कुरा भएन, आफ्नो घर गरी खानु पर्याे, कुन चेली माइतीको गोठालो भएर जीवनभर बस्न सक्छ ? त्यस्तै त्यस्तै भनेर बुझाइन् । उनले कतै लोस र खेवाले घर गरेर खाइरहेको हुन सक्ने भन्दै खोज्न जान खोक्चिलिपलाई फकाइन् । खोक्चिलिप आफैँ खोज्न नजाने तर अरुलाई खोज्न पठाउन राजी भए । 

अब कस्लाई खोज्न पठाउने त ? फेरी कुन दिशा र देशमा बसेका होलान् ? खोज्न अप्ठ्यारो पर्याे । उनीहरुले विभिन्न प्राणीलाई खोज्न जान राजी गराए । पहिले उपियाँ र जुम्रालाई पठाए । उपियाँले जुम्रालाई बोक्दै खोज्दै गए । कैयौँ दिनको यात्रा पछाडि विवाह गरेर घरजम गरी बसेका लोस र खेवालाई उनीहरुले भेट्टाए । उपियाँ र जुम्रा दिदीबहिनीले तान बुनिरहेका ठाँउमा गए । तर सोधपुछ गर्नुको साट्टो जुम्रालाई किचि मारे, उपियाँ भागेर लुक्दै फर्केर आयो । उनले खोक्चिलिप र वेइलिमलाई सबै बृतान्त सुनाए । त्यसपछि लोस र खेवालाई लिन जान रातो भाले तयार भयो । भाले बाठो थियो । उस्ले दिदबिहिनीलाई अलमल्याउँदै ल्याउने जुक्ति स्वरुप आफुसँग भएको पुछारको लामो प्वाँखमाथि थप प्वाँख थपेर बाँधीदिन र मणिसहित सिउर बनाइदिन अनुरोध गरे । भालेकै सर्त अनुसार खोक्चिलिपले गरी पठाए । 

उपियाँले भनेको दिशातिर भएर रातो भाले उड्दै, उफ्रँदै लोस र खेवाको देश पुग्यो । भाले पुुग्दा उनीहरु घरमुनि कोठेबारीमा तान बुनिरहेका थिए । भुर्रर उडेर लोसको तानमा बस्दै भालेले ‘खोक्चिलिप लो वेइलिम होङ पकाः(खोक्चिलिप र वेइलिम राजारानी भए)’ भनेर करायो (बास्यो) । ‘कस्को कुखुरा रै’छ, चिलको आहारा’ भन्दै लोसले झटारोले हिर्काइन् । भाले भुर्रर उड्यो, उड्दा पुछारको एउटा सुन्दर प्वाँख झारी राख्यो । लोसले हतार हतार प्वाँख टिपिन् । फेरी रुखमा बसेर अघिकै जसरी ‘खोक्चिलिप लो वेइलिम होङ पकाः’ भन्दै भाले करायो । दिदीबहिनीले फेरी झटारो हाने । हान्दा प्वाँख झार्दै भाले उड्यो । उनीहरुले आफ्नो ढुकुटीमा राख्न काम लाग्छ भन्दै प्वाँख टिपे । अर्को रुखमा बसेर अघिकै जसरी भाले करायो । लोस खेवाले झटारो हाने । झन धेरै प्वाँस झार्दै भाले उड्यो । दौडेर हतार हतार प्वाँख टिपे । अझै चर्को स्वरमा भाले कराउँदै उड्न थाल्यो । उनीहरुले मारेर सबै प्वाँख र सिउरको मणि लिने लोभले झट्टी हान्दै पछ्याउँदै गए । 

पुछारको प्वाँख झार्दै भाले भागी रह्यो । एवं क्रमले लोभ्याउँदै भालेले लोस र खेवालाई खोक्चिलिपको घर पुर्याए । भालेको आकर्षक प्वाँख र मणिको लोभमा आफूहरु धेरै टाढा पुगिसकेको उनीहरुले पत्तो पाएनन् । मर्याे भनेर जङ्गलमा छाडेको भाइको घरमा एक्कासी पुग्दा उनीहरु लाजले पानी भए । साथमा उनीहरुलाई पश्चाताप पनि भयो । भाइ जीवितै भएको, उस्ले विवाह गरेर घरगृहस्थी बसाएको थाहा पाएर खुसी भए । तर भाइसँग बोल्न लाज भयो । उनीहरु आकाशमा उडे । दिदीहरु आएको थाहा पाएर भाइबुहारीले बस्न अनुरोध गरे । विभिन्न जंगली जनावरको मासु र मिठोमिठो खानेकुरा राखेर बोलाए तर दिदिहरु आएनन् । अरु अनेक लोभ देखाएर बोलाए र पनि आएनन् । अन्तमा उनीहरुले दुुबै दिदी गर्भवती भएको थाहा पाए । त्यसपछि भकिम्लोको अमिलो झुण्ड्याएर बोलाए । अमिलो देख्दा गर्भवती दिदीहरुले मन थाम्न सकेनन् । उनीहरु भाइको घरमा ओर्लन राजी भए । 

बर्षौअघि छुटेका चेली माइती भेट हुँदा खुसीले रुवाबासी भयो । दिदीहरुले भाइसँग माफी मागे । भाइले दिदीहरुले छाडेपछि पाएको दुःखको, राक्षस बुढीलाई मारेको, आफूले कसरी विवाह गरेको आदि आफ्नो कथा सुनायो । दिदीहरुले पनि आफ्नो सुख दुःखका कथा सुनाए । चेलीहरु आएको अवसरमा खोक्चिलिप र वेइलिमले ठूलो भोजभतेर लगाए । टाढाटाढाबाट छिमेकीहरु बोलाएर रातभरी रमाइलो गरे, गीत गाए, नाचेगान गरे । यसरी खोक्चिलिप र लोसखेवा चेली माइतीको पुर्नमिलनमा नाच गान गर्दा गीत सङ्गीतको उत्पति भएको थियो । कुलुङहरुको चाड चाक्चाकुरको शुरुवात त्यसैबाट शुरु भएको विश्वास पनि गरिन्छ । 

चेलीहरुले माइतीलाई आफ्नो लोग्ने चिनाउने भए । उनीहरु आफ्नो घर गएपछि आ–आफ्नो लोग्ने लिएर माइत आए । माइतीलाई कोसेली स्वरुप लोसले ८ र खेवाले ६ थान भाँडा बुझाए । दिदी केही सम्पन्न थिइ र ८ थान दिइन्, बहिनी केही गरिब भएकाले ६ मात्रै माइतीलाई बुझाइन् । यसरी लोस र खेवाले कोशेली बुझाएपछि विवाहमा चेली रीत कुटुम्बबाट लिने चलन बसेको हो । कुलुङहरुको विवाहमा अहिले पनि रीत स्वरुप ८ वा ६ थान भाँडा अथवा १६ वा १२ रुपैयाँ बुझाउनु पर्ने चलन छ । चेलीतिरका सन्तानहरु अन्य जाति भए । माइतीका सन्तानहरु किरात भए । 

सन्दर्भ श्रोत :
१. पिताः नरबहादुर मोरोखु(६६) र माताः फुलमाया गेप्दुलु(६५)ले सुनाउनु भएको खोक्चिलिप र वेइलिमको कथा 
२. कुलुङ मिथक सम्बन्धमा विभिन्न पुर्खाहरुसँगको छलफल । 

No comments:

Post a Comment