Friday, October 27, 2017

द्धन्द्धको तनावले पत्रकार बनायो

एउटा गैह्र­सरकारी संस्था(गैसस)को कर्मचारीका रुपमा २०५७ को अन्तिम महिनाबाट मैले सार्वजनिक जीवन सुरु गरेँ ।  त्यो माओवादी विद्रोहले उत्कर्षता लिँदै गरेको समय थियो । माओवादीहरु गैसस र तिनका कर्मचारीहरुलाई राम्रो मान्दैनथे । जता भेट्यो त्यहीँ गाली गर्थे । प्राय माओवादीहरुको गाली गर्ने शब्द एउटै हुन्थ्यो ‘भाडाका टट्टु र साम्राज्यवादीका जासुस् !’ यद्यपी २०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि उति धेरै निर्मम थिएनन् । 

संकटकाल घोषणासँगै तात्कालिन सरकारले माओवादी मात्र होइन, उनीहरुप्रति सदभाव राख्नेहरुमाथि कडा नीति अपनायो । धेरै नागरिकले अनाहकमा राज्यपक्षबाट ज्यान गुमाए, यातना पाए । महासंकट नै झेल्नु प¥यो गाउँघरमा । त्यो समय म संखुवासभाको विकट पावाखोला गाउँमा थिएँ । दुर्गम गाउँ भएकोले संकटकालको त्यहाँ कुनै प्रभाव थिएन । अहिले जस्तो मोबाइल थिएन । तर एफएम रेडियोहरुमा यसको महसुस हुन थालेको थियो । मंसिर १४ गते त्यहाँबाट खाँदबारीतिर बाटो लागेँ । नुम बजार आइपुग्दा संकट कालकोे प्रभाव प्रष्ट महशुस भयो । सबै गाउँलेहरु आत्म सर्मपण गर्न लाम लागेर सदरमुकाम गइरहेका थिए । ‘सेनाले मारी त हाल्दैन ?’ धेरैमा त्रास थियो । आत्म समर्पण नगरे घरघर आएर सेनाले समातेर लैजान्छ भन्ने हल्ला व्यापक रहेछ । आत्म सर्मपण गर्नेहरुको लस्करले बाटो र बास पाउन मुस्किल थियो । वास्तवमा त्यो दृष्य कथामा पढेको भारत–पाकिस्तान विभाजनपछि सिमाना पार गर्ने हिन्दु मुस्लिम भीड जस्तै लाग्थ्यो ।

अन्धाधुन्द सरकारी दमनले विद्रोह थप मौलायो । सरकार जस्तै माओवादीहरु संकटकालसँगै बढी कठोर हुन थाले । गैसस र उनीहरुलाई प्रश्न उठाउनेहरु तारो बने । माओवादीले गाउँ खाली गर्दै सबैलाई काम गर्न रोक लगाउन थाले । जताबाट आएको उतै नर्फिए राम्रो नहुने चेतावनी हुन्थ्यो उनीहरुको । यस्तो थर्काइ दर्जनौं पटक माओवादीबाट मैले पनि पाएँ ।  ‘गोविन्द गिरीलाई जस्तै अरुणमा फाल्छौं’ भन्थे । जिल्ला वन कार्यालय, संखुवासभाका वनरक्षक गिरीलाई माओवादीले सरकारी पक्षको जासुस आरोपमा हातखुट्टा बाँधेर जिउँदै फ्याक्सिन्दा पुलबाट २०५९ जेठको कुनै दिन अरुण नदीमा मिल्काएका थिए । २०५९ असार अन्तिम साता म र मैले काम गर्ने कार्यक्रमको संयोजकलाई माओवादीहरुले अपहरण गरेर लिएर गए । तीन दिन अनकण्टार गाउँमा राखे । अनेक केरकार पछाडि कार्यक्रम रोक्ने चेतावनी दिएर मुक्त गरे । धन्य कुनै यातना दिएनन् । 

सरकारी पक्ष पनि गैससहरुलाई शंकाको दृष्टि हेर्थे । माओवादीसँग मिलेर गाउँमा काम गरेको उनीहरुको आरोप हुन्थ्यो । त्यसैले सेना­प्रहरी गैससका कर्मचारीबारे गोप्य जानकारी लिइरहन्थे । कैयौं पटक मानसिक यातना दिन्थे । आफैँले त्यो अवस्था अनेकौं पटक व्योहोर्नु प¥यो । खाँदबारीको मेरो डेरामा सेनाले खानतलासी लिए । अन्य गैससकर्मीहरुले पनि कति पटक यस्ता मानसिक यातना दुबै पक्षबाट पाए । दुईतिरको चेपुवामा तल्लो तहका गैससकर्मीहरु भित्रभित्रै पिल्सिएका थिए । धेरैमा डिप्रेसन थियो ।

सदरमुकाम वरिपरि काम गर्न धेरै समस्या थिएन । तर म जस्ता ग्रामीण क्षेत्रमा रहेर काम गर्नेहरुलाई ज्यादै गाह्रो थियो । मैले द्धन्द्धका समयमा हटिया, पावाखोला, नुम, मत्स्यपोरी, दिदिङ, बाह्रविसे, सभापोखरी, जलजला, सिद्धपोखरी, सिद्धकाली, नुनढाकी, मावादिन, मादीरामबेनी, मादीमुलखर्क, तामाफोक जस्ता गाविसहरुमा काम गरेको छु । जुन सबैभन्दा संवेदशील क्षेत्र थिए । 

जताततै अँध्यारो छाएको बेला थोरै भएपनि आशाको सन्देश लिएर गाउँगाउँमा पुग्ने गैससका कर्मचारीहरु थिए । उनीहरु भोलि अवश्य राम्रो हुनेछ भनेर जनताकालाई सपना देखाइ रहेका थिए । चुनौति चौतर्फी थियो । बोल्न मन लाग्थ्यो । आफ्ना विचारलाई धक फुकाएर राख्न मन लाग्थ्यो । पीडाहरु पोख्न मन लाग्थ्यो । तर विचार राख्न सजिलो थिएन । सार्वजनिक अभिव्यक्ति दिउँ सरकार र विद्रोही दुबैको भोलि टार्गेट बन्नु पर्ने । अफिसमा छलफल गरौ, कसैसँग केही उपाय थिएन । सकेसम्म जोखिमबाट बच्दै काम गर्नु वा जागीर त्याग्नुको विकल्प थिएन । 

वास्तवमै एउटा उकुसमुकुसको आत्तेश लाग्दो समय थियो त्यो । सबै दलका नेताहरु सातो हराएको मान्छे जस्ता भएका थिए । शेरबहादुर देउवाले प्रजातन्त्र दरबारमा बुझाइसकेका थिए । माओवादी विद्रोह र ज्ञानेन्द्र शाहको तानाशाही दुबै उत्कर्षमा थियो । म लगायत गैससमा काम गर्ने युवाहरु पीडा पोख्ने चौतारीको खोजीमा तड्पिएका महशुस भयो । दुबै पक्षले दिएको ताड्ना र मनमा उठेका तरङ्गहरु पोखाउने थलोको खोजीमा थिएँ । एउटा यस्तो थलो निर्माण गर्न सकियोस्, जुन साँच्चै उन्मुक्तिको प्रतीक बनोस् र त्यसमा स्वतन्त्र मानिसका, स्वतन्त्र र उन्मुक्त विचार राख्न पाइयोस्, कही कसैको नियन्त्रण नहोस् भन्ने कल्पना मनमा पलायो । तर कसरी ? 

अन्तत ः यस्तै कुरा छाप्ने पत्रिका प्रकाशन गर्ने सोंचामा पुगेँ र केही साथीहरुसँग छलफल गरेँ । सबै उत्साहित भए । पत्रिका प्रकाशन हुने भयो । २०६२ मंसिरमा हाम्रो स्वाभिमान मासिक नामको म्यागेजिन जिल्ला प्रशासन कार्यालय, संखुवासभामा दर्ता र पहिलो अंक प्रकाशन गराएँ । 

म गैससमा काम गरिरहेको मान्छे, एकाएक पत्रिका प्रकाशन गर्ने आँट गरियो । पत्रिका प्रकाशन सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकेको थिइन । जब काम थालियो, अनि पो थाहा भयो ‘यो काम त महाभारततै रहेछ !’ यसरी म अनजानमा नै पत्रकार भनिएँ । पत्रिका निकाल्ने भनेपछि त्यसमा केही छापिन पर्यो, छाप्नलाई लेख्नै पर्यो । बाध्यताले लेख्न सिकेँ, मलाई पत्रकारिताप्रति रस भिज्दै गयो । दुःखको कुरा स्वाभिमान मासिक चार अंक बढी बाँचेन । 

२०६२÷०६३ को जनआन्दोलन सफलतासँगै माओवादीहरु शान्तिपूर्ण राजनीतिमा आए । २०६३ चैतबाट मकालु सन्देश साप्ताहिकको सम्पादकको रुपमा म पूर्ण पत्रकार भएँको थिएँ । पहिले म्यागेजिन निकाल्दाको अनुभवले साप्ताहिक पत्रिकामा काम दियो । पत्रकारितामै जीवन बिताउँला भनेर जागिर छाडेर लागेको थिएँ तर जिन्दगी सोंचे जस्तो सरल नहुने । तीनबर्ष मकालु सन्देश साप्ताहिकको सम्पादक भए काम गरेँ (नाम सम्पादक काम सबै गर्नु पर्दथ्यो, हकरसम्म) । त्यसबीचमा केन्द्रीय स्तरका अन्य सञ्चार संस्थाको प्रतिनिधिका रुपमा पनि काम गरेँ । म्यागेजिनहरुमा लेखेँ । नयाँ पत्रिकाले काठमाडौंमै बसेर काम गर्न पनि बोलायो । 

चारबर्षको सकृय पत्रकारिताले के महशुस गराउँदै लग्यो भने म जस्तो गुण भएको प्राणीले पत्रकारिता गरेरै खान गाह्रो रहेछ । (सामान्यतः मोफसलमा पत्रकारिता गरेर जीवन धान्न या पैसा कमाउन अरु नै गुण चाहिने रहेछ ।) म श्रीमती र बच्चाहरु भएको मानिस पत्रिकाले दिने केही हजार तलबले काठमाडौंमा बाँचुला लागेन या मैले पत्रकारिता गरिखानु थिएन । नयाँ अफर स्वीकार गरेर काठमाडौं गइएन ।

जिन्दगी पाल्नै पर्यो । फेरि पत्रकारिता कम गर्दै गैससकै कर्मचारी भएर सोलुखुम्बूको दुर्गम गाउँतिर लागियो । उमेरमाथि चढ्दै जाँदा गैसस पनि असुरक्षित र शोषक लाग्न थाल्यो । तीन बर्ष छ महिना सोलु बसाइपछि अन्तत ः लोकसेवा आयोगको परीक्षा उर्तीण गरेर निजामती कर्मचारी हुन पुगेँ । नेपाल सरकारको कर्मचारीका रुपमा कार्यरत छु तर अझै पत्रकारितामा उस्तै रुचि छ, लेख्न भने सकिरहेको छुइन । 

No comments:

Post a Comment