आरडी कुलुङ
सोलुखम्बू जानेक्रममा अरुण उपत्येका–साल्पापास (कुलुपोङ्खो भञ्ज्याङ)को बाटो धेरै पटक हिँडेको छु । संखुवासभाको तुम्लिङटार या खाँदबारीबाट अरुण नदीको कात्तिके पुल तरेपछि शुरु हुने यो बाटो उत्तरी भोजपुरको चर्चित पर्यटकीय पदमार्ग हो । यही बाटो भएर सर एडमुण्ड हिलारी र तेञ्जिङ नोर्गे सगरमाथा आरोहण गर्न गएका थिए रे ! भूगोलविद डा. हर्क गुरुङले पनि ‘मैले देखेको नेपाल’मा यो पदमार्गका बारेमा लेखेका छन् । करिब अढाई वर्षपछाडि पछिल्लो पटक २०७० पौष अन्तिमसाता यो बाटो हिँडेर कुलुपोङ्खो पार गरेँ । यस पटक उत्तरी भोजपुर पहिले भन्दा दुर्गम महशुस भयो । बाटोमा कुनै चहलपहल पाइन । यात्राभरि पुरापुर सुनसान !
दश वर्षे सशस्त्र द्धन्द्धको समाप्तिपछि क्रमशः नेपालका धेरै दुर्गम गाउँहरु विकासित हुँदै गएका छन् । चहलपहल बढेका छन् । उत्तरी भोजपुरका गाउँहरु भने उल्टो अविकासतिर गइरहेको भान हुन्छ । कसैले तीनचार वर्ष पछाडि यात्रा गर्दैछ भने यसको प्रष्ट महशुस हुन्छ । अरुण नदीको कात्तिके पुल तरेपछि कात्तिकेबजार भन्दामाथि खाने बस्ने ठाउँ पाउनै गाह्रो छ । मान्छेको आवागमन घटेपछि नेपालेडाँडाको मझुवा, चालिसे, कुदाककाउलेको नागदह, खाटाम्मा र चौकीडाँडाको गोथेबजार, दोभानेको दोभाने, तेन्दो, साल्पाफेदी, जौबारी, गुराँसे र कुलुङपोङ्खोसम्मका होटल पसलमा अहिले ताला लागेका छन् । कसैले घर भत्काएर गाउँतिर सार्दैछन् । कुलुपोङ्खोदखि गुदेलसम्मको अवस्था उस्तै छ । तीनदिनको यो बाटोमा पहिले दैनिक १०० बढी खच्चड हिँड्थे, अहिले एउटै भेटिन्न । पूर्वी सोलुखम्बूको महाकुलुङबाट तुम्लिङटार झर्ने भरियाको लस्कर उस्तै हुन्थे । अचेल बाटोमा एउटा मान्छे भेटिए अचम्म मान्नु पर्छ ।
सशस्त्र द्धन्द्धले अरुण उपत्यका हुँदै सगरमाथातिर जाने पर्यटन व्यवसाय चौपट बनाएपछि यो बाटोको अधोगति शुरु भएको हो । दुईवर्षअघि सोलुखुम्बूको नेले बजारसम्म सडक जोडियो र महाकुलुङवासीहरु तुम्लिङटार झर्न बन्द भएपछि यो रुटको व्यापार व्यवसाय पुरै ठप्प छ । दोभाने जौबारीकी होटल व्यवसायी फुरी शेर्पा साल्पा मेलाको समयमा मात्र पहिले जस्तो मान्छे हिड्ने बताउँछिन् । स्थानीय स्तरमा आवश्यक सकारात्मक चेतना वृद्धि नहुँदा सडक, विद्युत र सञ्चार जस्ता विकासका पूर्वाधार निर्माण नहुँदा अविकासमा सहयोग पुगेको छ ।
बाटोका होटल पसल बन्द हुँदै गएपछि यो बाटो हिँड्नै कहाली लाग्ने मकालु बरुण राष्ट्रिय निकुञ्जका रेञ्जर मञ्जित विष्ट बताउँछन् । सरकारबाट यो क्षेत्रको विकासमा ध्यान नदिँदा दिनदिनै आफूहरु पछाडि पर्नु परेको खाटाम्माका एमाले कार्यकर्ता जीवन कुलुङ बताउँछन् । स्थानीय बुद्धिजीवि र हुने खानेहरु गाउँ बनाउनमा नभइ छोड्नमा रमाउने प्रवृत्तिले उत्तरी भोजपुर दिनप्रतिदिन कान्तिहिन र निरस बनाउँदै लगेको उनको भनाइ छ ।
सम्भावना नभएर अविकसित भएको भने होइन । कृषि, जलविद्युत, पर्यटन र जडिबुटीजन्य वनपैदार उत्तरी भोजपुरको मुख्य सम्भावना हुन् । दोभानेको शिरमा रहेको प्रसिद्ध धार्मिक स्थल साल्पा–सिलिचुङले स्थानीयवासीको समृद्धि पर्खिरहेको छ । साल्पा–शिलिचुङमा पर्यटन प्रवद्र्धन गर्न सक्दा मात्रै यहाँका १० प्रतिशत जनता रोजगार बन्न सक्छन् । अलैँची धेरै उत्पदान गर्ने भोजपुरको क्षेत्र यही हो । बहुमुल्य रुद्राक्ष यही भेगबाट बढी उत्पादन हुने गरेको छ । नेपाली हातेकागजको कच्चा पदार्थ लोक्ता र अर्गेलीको खानी नै भन्दा हुन्छ । चौकीडाँडा, खाटाम्मा, कुलुङ, कुदाककाउले र दोभानेमा खाद्यन्न बालीसँगै सुन्तला, केरा, किवी आदि फलफूल उत्पादनको अनन्त सम्भावना रहेको छ ।

विद्युत विकास विभागको वेबसाइट अनुसार यही भूमिबाट बगिरहेको इर्खुवाखोलाले १० मेघावाट भन्दाबढी विजुली दिन्छ । स्थानीयको सहभागिता र लगानीमा विजुली निकालेर बेच्न सके जनताको समृद्धि आधार बन्ने पक्का छ । तर समृद्धिको पहिलो ढोका भने सडकले खोल्नेछ । दोभाने–८ साल्पाफेदीसम्म मात्रै सडक पु¥याउने हो भने सोलुखम्बूसँगको व्यापारले पुनः निरञ्तरता पाउँदा यो क्षेत्रमा देख्न लायक परिवर्त आउने पक्का छ ।
कुलुपोङ्खो भञ्जयङसम्म सडक पु¥याए भोजपुर, खोटाङ र सोलुखुम्बूबीच अन्तर जिल्ला व्यापार र सगमाथाको पर्यटनसँग जोडिने छन् । साल्पाफेदीबाट साल्पापोखरीसम्म केवलकार निर्माण वा कुलुपोङ्खो भञ्ज्याङसम्म सडक पु¥याउँदा साल्पापोखरी र सिलिचुङ चुचुरामा वार्षिक हजारौं पर्यटक भित्र्याउन सकिन्छ । कुलुपोङ्खो सडक पुग्नु भनेको पूर्वी तराईसँग सोलुखम्बू जोडिनु हो ।
अहिले गाडी सञ्चालन भइरहेका संखुवासभाको हेलुवाबेँशी वा चेवाबेँशीबाट करिब ४० किलोमिटर सडक निर्माण गर्दा साल्पाफेदी जोडिन्छ । हेलुवाबेँशीबाट बुम्लिङ–कुलुङ हुँदै चौकीडाँडा र दिङ्लाबाट नेपालेडाँडासम्म यसअघि नै सडकको ट्रयाक खुलिसकेको छ । चौकीडाडाँबाट दोभानेको साल्पाफेदी सडक पु¥याउन २५ किलोमिटर जति होला । थप २५ किलोमिटर ट्रयाक खोलेर मोटरेवल बनाउने हो भने सोलु–भोजपुर सिमा कुलुपोङ्खो भञ्ज्याङ सडक पुग्छ । अरुण नदीमा संखुवासभा र भोजपुर जोड्ने पुल तुर्केघाटमा निर्माणाधिन छ । यसबाट नेपालडाँडाबाट सडक सञ्जलामा जोडिनेछ । हेलुवाबेँशीबाट कुलुङ जोड्ने पुल निर्माण हुने हो भने अरु सहज हुनेछ ।
अरुण उपत्यका–साल्पाफेदी–कुलुपोङ्खो सडक निर्माणले भोजपुरको ७ गाविसका २०६३७, पूर्वी सोलुखुम्बूको ५ गाविसका २०९८२ र उत्तरी खोटाङको ३ गाविसका ५८०२ गरी ४७ हजार ४२१ जना जनतालाई प्रत्येक्ष लाभ पुग्ने छ । यस दृष्टिले सडक नै उत्तरी भोजपुरको भाग्य रेखा हो । लघुजलविद्युत आयोजनाद्धारा सामुदायिक विद्युतीकरण गर्न सके गाउँको मुहार फेरिने छ ।
नेपालमा अविकसित र दुर्गम जनाउन ‘कर्णाली’ शब्दको प्रयोग गरिन्छ । यस मानेमा उत्तरी भोजपुर वास्तविक कर्णाली हो । उत्तरी भोजपुरले अहिले सपना, संकल्प, जागरुकता र सम्भावना बुझ्ने दृष्टि भएको भरोसा योग्य नेतृत्व खोजिरहेको छ । अविकासको पहिचानलाई बदल्न स्थानीय बुद्धिजीवि, राजनीतिकर्मी र जनता सबै लाग्न आवश्यक छ । नभए उत्तरी भोजपुरले काँचुली फेर्न धेरै समय लाग्न सक्छ । उत्तरी भोजपुरकै प्रतिनिधित्व गर्ने थुप्रै मेरा मित्रहरु छन् । विश्वास छ, उनीहरुले आफ्नो गाउँको मुहार आउने केही वर्षभित्रै फर्न नेतृत्व गर्नेछन् ।
kulungraj@gmail.com
kulungraj@gmail.com
No comments:
Post a Comment