Tuesday, April 16, 2013

गुराँस फुल्दा वनै रङ्गिन, मनै रङ्गिन

गुराँस फुल्दा वनै रङ्गिन, मनै रङ्गिन

नेपालमा राष्ट्रिय फुलको सम्मान पाएको गुराँस फुल्दा वन त रातै रमाइलो हुन्छ नै मन पनि रङ्गिन बन्न पुग्छ । गुराँस फुल्दा कति सुन्दर देखिन्छ भनेर प्रष्ट पार्ने एउटा नेपाली लोक कथा गाउँघरमा प्रचलित छ । जुन यस्तो छ – सत्य युगमा एकदिन गुराँस उत्तिसको छोरी माग्न बेसीँ गएछ । सुरिलो उत्तिसले बाङ्गोटिङ्गो गुराँसलाई छोरी दिन अस्वीकार गर्दै बचन लगाएछ –‘तिमी जस्तो अष्ट बक्र(बाङ्खुटे) लाई कसरी मेरो सुन्दरी छोरी दिन सक्छु ?’ उत्तिसको बचनले गराँसको मन दुखेछ । अनि उस्ले पनि जवाफ फर्काउँदै भनेछ – ‘चैत्र–बेशाखमा मेरो रुप हेर्न आइज, म कति सुन्दर छु त्यो त्यतिबेला थाहा पाउनेछौ ।’ अनि गुराँस उत्तिसको छोरी नलिइ लेकतिर फर्किएछ ।

नभन्दै चैत्र–बैशाखमा उत्तिस गुराँसलाई हेर्न लेकतिर गएछ । गुराँसको रुप हेरेर उत्तिस साह्रै पछुताएछ । सत्य युगमा गुराँससँग कुटुम्बेरी गर्न नपाएकाले कलियुगमा लेकसम्म उत्तिस पलाएको रे भन्ने विश्वास छ । पहिले समुद्र सतहबाट २००० मिटर तलको उचाइमा हुने उत्तिस अहिले २९०० मिटरसम्म उम्रि सकेको छ । कथा जे सुकै भएपनि वातावरणवादीहरु विश्व तापमान वृद्धिको प्रभाव यसलाई भन्छन् । ९ वर्ष पहिले संखुवासभा तामाफोक– १ मदामसिंहका ७६ बर्षे तामाङ हजुरबाले आफु तन्नेरी हुँदा तीनजुरे क्षेत्रमा एकै बोट उत्तिस नदेखेको तर अहिले गुराँससँग सराबरी भएको बताउँदै यो कथा सुनाएका थिए । वास्तवमा अहिले ग्लोवल वर्मिङले हिमालसम्मै न्यानो हुँदै गएर हिमरेखा माथिमाथि सरी रहेको छ । लोककथामा नै ग्लोबल वर्मिङ आइसकेको अवस्थामा वातावरण संरक्षण चिन्तित हुन आवश्यक छ नै ।

लालीगुराँस नेपालको १६०० देखि ३६०० मिटर उचाइमा कमन वनस्पति हो । संसारमा पाइने ४३ प्रजातिका गुराँसमध्ये ३० बढी नेपालमा पाइन्छ । तीनजुरे–मिल्के–जलजले नेपालको प्रसिद्ध गुराँस पाइने क्षेत्र हो । त्यहाँ २८ प्रजातिका गुराँस पाइने वनविज्ञहरु बताउँछन् । त्यसपछि मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अर्को धेरै खाले गुराँस पाइने क्षेत्र हो जहाँ २५ प्रजातिका गुराँस पाइन्छन् । यो तस्बिर खिचिएको गुराँस भने सोलुखुम्बूको घुम्नेपानी क्षेत्रको हो । यहाँ साँच्चै सुन्दर गुराँस चैत्रको १५ तिर फुल्ने गर्दछ । अध्ययन नभएपनि यो क्षेत्रमा २० भन्दा बढी प्रजातिका गुराँस पाइने अनुमान छ । यो तस्बिर बहिनी दौलित कुलुङले खिचेकी हुन् । तस्बिर सौजञ्यका लागि उनलाई आभार । यो ब्लगमा पोष्ट गरिएको तस्बिर हेरेर एकपटक गुराँसको सुन्दरता पान गर्नुहोला ।







2 comments: