Saturday, May 4, 2013

हिन्दी सिनेमाका सय वर्षः केही वास्तविकता, केही फ्यान्टासी

साप्ताहिक हिमाल खबरपत्रिकाबाट साभारः
भारतीय सिनेमा सय वर्ष पूगेको छ । सन् १९१३ मा बनेको पहिलो ‘साइलेन्ट मूभी’ राजा हरिशचन्द्रदेखि यसै हप्ता रिलिज भएको बम्बे टकिज सम्म हिंदी सिनेमाले लामो यात्रा तय गरेको छ ।

कसैका लागि यी फिल्महरुको गीत संगीत, लार्जर थ्यान लाइफ क्यानभास, वास्तविकता भन्दा परको काल्पनिक संसार र यसको चमकदमक मन पर्छ भने कसैलाई यी सबैभन्दा बेग्लै वास्तविकताकै सेरोफेरोमा जीवनको तितो सत्य देखाउने फिल्महरु ।

धेरै वर्षदेखि अमिताभ बच्चन, शाहरुख, अमिर र सलमान खान जस्ता अभिनेताहरु शुक्रबार सपना बेच्छन र मानिसहरु हातहातै यी सपनाहरु किन्छन पनि, कहिले डन, कहिले बाजीगर त कहिले दबंग बनेर । यो फ्यान्टासीका बीच केही स्थान कुनै ‘दो विघा जमीन,’ ‘अर्धसत्य,’ ‘अंकुर’ या ‘अर्थ’ का लागि पनि हुने गर्छ ।
सय वर्ष पूरा भएको अवसरमा भारतीय फिल्म उद्योगमा उत्सवको माहौल छ । आमिर खानले यसै मौकामा भनेका छन, “मैले पनि यहाँ २५ वर्ष विताएको छु । यती धेरै सक्षम मानिसहरुसँग काम गर्नु गर्वको कुरा हो । अफशोच मैले यस मौकामा कुनै फिल्म बनाउन सकिन ।”

हिन्दी फिल्मले जति प्रशंसा पाउँछ, त्यति आलोचना पनि । निर्देशक अनुराग कश्यप भारतीय सिनेमाको भविष्यप्रति आशावादी छन् । भन्छन, “सिनेमाको भविष्य राम्रै देखिन्छ । अहिलेसम्म हामी बाँधिएका थियौं तर अब हामी र हाम्रो सिनेमा खुला हुँदैछ, स्वतन्त्र हुँदैछ ।”

अनुराग कश्यपको आशासँगै अभिनेता सञ्जय सूरी ती ब्यक्तिहरुमध्ये पर्छन जस्ले हिन्दी सिनेमा पछाडि फर्कदै गरेको र सनसनी धेरै हुने गरेको बताउँछन् ।

किन पछाडि जाँदैछन् फिल्म ?
सञ्जय सूरी भन्छन, “हाम्रो सिनेमा पछाडि जाँदैछ, अहिले हामी सय बर्षको उत्सव मनाइरहेका छौं यो राम्रो हो तर, आउँदा दिनरुका लागि म चिन्तित् छु ।” उनी थप्छन, “फिल्महरु राम्रा बनिरहेका छैनन् भन्ने होइन तर, राम्रा फिल्महरु निकै कम छन् । अहिलेका फिल्महरुमा सनसनी धेरै छ कला थोरै ।”

कुनै बेला हिन्दी सिनेमा भारतका गाउँठाउँ र दिल्ली बम्बै जस्ता शहरसम्म सिमित थियो । तर आज भारतीय फिल्महरु भारतमा मात्रै हैन सात सामुद्र पारी डलर र पाउण्ड कमाइरहेका छन् । हिन्दी सिनेमाको बोली, पहिरन र शैली भारतको आफ्नो भाषा र तौरतरीका भन्दा टाढा पुगेको छ । निर्देशक दिबाकर बनर्जी भारतीय फिल्महरुलाई विश्व सिनेमाका उत्कृष्ट फिल्महरुमा स्थान बनाउनतर्फ जोड दिनुपर्ने बताउँछन् ।

दिबाकर भन्छन, “पछिल्लो ७०–८० वर्षमा भारतीय सिनेमा भारतीयहरुका लागि मात्रै बनेको छ । अब फिल्म विश्वभरकै दर्शकहरुलाई ध्यानमा राखेर बनाउनु पर्छ ।”

पैसा या कला ?
फिल्म एकतिर सिर्जनशिलता र कला देखाउने एउटा माध्यम हो भने यसमा लगानी पनि निकै धेरै हुन्छ । दुबैबीचको यो युद्ध वर्षौंदेखि चल्दै आएको छ । ‘फायर,’ ‘अर्थ,’ ‘बवंडर’ र ‘फिराक’ जस्ता फिल्मकी अभिनेत्री नन्दिता दासलाई अफसोस छ कि आजका फिल्महरुमा पैसा कलामाथि हावी भएको छ ।

नन्दिता भन्छिन, “यी सय वर्षहरुमा हामीले एउटा मौका गुमाएका छौं, त्यो हो हामिले सीमा र अड्चनहरुलाई नाघ्ने प्रयास गरेनौं ।” नन्दिता अगाडि भन्छिन, “हामी फिल्ममा उदार हुन सकेनौं, जसलाई हामी समानान्तर सिनेमा भन्थ्यौं त्यो अचेल करिब करिब समाप्त भइसकेको छ ।

अचेल पैसाले कलामा धेरै नै हस्तक्षेप गरेको र प्रत्येक चिज ब्यवसायिक भएको उनको गुनासो छ ।
गीतकार प्रसून जोशी हिन्दी सिनेमाको हिस्सा हुन पाएकोमा गर्व अनुभव गर्छन । उनका अनुसार, “भारतीय सिनेमाको सय वर्षको यात्रालाई म ठूलो सफर ठान्छु । हाम्रो रहनसहन, पहिरन, बोलचाल, संस्कृति यी सबैमा जति प्रभाव फिल्मको छ, त्यती शायदै अरु कसैको होला ।” सिनेमा बिनाको भारत कल्पना समेत गर्न नसकिने जोशीको भनाई छ । उनी थप्छन, “सोच्नुस त फिल्मको डायलग, गीत नहुँदा हुन त……”
कहिले प्रशंसा त कहिले आलोचनाका बीच सय वर्षको यात्रा त पूरा भयो तर यो लक्ष्य मध्यान्तर मात्रै हो….. आशा छ, हिन्दी फिल्महरु जस्तै यो यात्राको क्लाइमेक्स आउन पनि अँझै बाँकी नै छ ।

No comments:

Post a Comment