Monday, April 15, 2013

बलात्कारले आक्रान्त समाज

Sketch from wikipedai
–राजधन कुलुङ
अहिले नेपाली सञ्चार माध्यममा दैनिक जसो विभिन्न वलात्कारका समाचारहरु आइरहेका छन् । २ वर्षकी बालिकादेखि ७२ वर्षकी बृद्धासम्म बलात्कृत भएको सुनिन्छ । सुन्दै हृदय विदारक र अत्यास लाग्दो बलात्कार र त्यसपछि हत्याका समाचारहरु सुनेर, पढेर, हेरेर दिमागै रिङ्गिन्छ । सहर–बजार, घर–गोठ, भिर–पाखा, कुना–कन्दरा, सार्वजनिक सवारी, विद्यालय, क्याम्पस, कार्यालय जतासुकै बालिका, किशोरी, युवती, महिला, सुत्केरी, बृद्धा बलात्कृत भइरहेका छन् । के प्रतित भइरहेको छ भने पुरुषहरु हिंस्रक जंगली पशु र महिलाहरु निःसहाय तिनका शिकार हुन् । समाचारको कन्टेन्टलाई हेर्दा कुनै महिला एक्लै स्वतन्त्र घुमफिर गर्नै मुश्किल महशुस हुन्छ । 

विगत हप्ता अखबार र अनलाइनमा छापिएका केही समाचार शीर्षक हेरौं ः दुई बालिकामाथि बलात्कार, ७ वर्षीय बालिका बलात्कृत, किशोरीमाथि सामुहिक बलात्कार, डिउटी जाँदै गरेकी महिलालाई अपहरण गरी बलात्कार, प्रेमीलाई पिटेर ६ जनाद्धारा युवती बलात्कृत, घर फर्कँदै गरेकी महिलाको उखुबारीमा सामुहिक बलात्कार, बाल मन्दिरमै बलात्कार, ६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे, बसभित्रै सामुहकि बलात्का, बालिका बलात्कृत, आफ्नै प्रिन्सिपलले छात्राको बलात्कार,  सहकर्मीद्धारा बलात्कार आदि । यी समाचार शीर्षकलाई मात्र नियाल्ने हो भने सबै उमेर समूहका महिला बलात्कृत भइरहेका छन् । उनीहरुका लागि सबै ठाउँ असुरक्षित र सँधै त्रासमा बाँच्चु पर्ने अवस्था छ । कोही मान्छेलाई भरोसा गर्न सक्ने अवस्था छैन । साथी, सहकर्मी देखि आफ्नै अभिभावकसम्मबाट बलात्कृत भइरहेका छन् महिला । एउटा सभ्य र आदर्श समाजका लागि ज्यादै अशोभनीय र चिन्ताजनक यस्तो घटना किन बढिरहेको छ ? गम्भिर विमर्श र न्यूनिकरणका उपायहरु खोज्नु आवश्यक छ । 

अचाक्ली बढेको बलात्कारका घटनाले पछिल्लो समय नेपाली समाज तरङ्गित छ । नेपाल मात्र नभएर अहिले दक्षिण एसियामा नै बलात्कारले स्तब्ध र आक्रान्त छ । विश्व चर्चित दिल्लीको सामुहिक बलात्कार काण्ड, चेन्नइ र फेरि दिल्लीकै सामुहिक बलात्कारले भारत विश्वमा नै महिलाका लागि खतरनाक देश भएको छ । दैनिक जसो हुने सामुहिक र एकल बलात्कारका घटनाले नेपाली समाज महिलामैत्री नभएको स्थापित हुँदैछ । बलात्कार र महिला हिंसा विरुद्ध भएका ‘अुकपाइ बालुवाटार’ आन्दोलनले संसारको ध्यान खिचेको छ । इज्जत जाने गलत सामाजिक धारणाका कारण अधिकांश बलात्कारका घटनालाई लुकाइन्छ । पीडित आफँै त्यस्ता घटना प्रकाशमा ल्याउन चाहँदैनन् । एउटा सवाल प्रवल बन्दै गएको छ त्यो के भने ‘हामी महिलालाई आमा, दिदीबहिनी, साथी वा मानिस नभइ वस्तुका रुपमा मात्रै देख्छौ ?’

बलात्कार र कारण
कसैको मञ्जुरी बिना करकाप, डरधम्की वा बल प्रयोग गरेर जबरजस्ती गरिने यौन सम्पर्क बलात्कार हो । उमेर नपुगेका व्यक्तिलाई ललाइफकाइ वा मञ्जुरीमा गरिएको यौनकार्य बलात्कार नै हुन्छ । सामान्यतः बलात्कारका घटना बृद्धि हुँदै जानुमा खुला समाज, विकृत मानसिकता र पीडितले पीडकलाई कारबाही गर्न नसक्नुलाई कारणका रुपमा लिइन्छ । तर यसमा अन्तरनिहित सामाजिक, मनोवैज्ञानिक र जैविकीय अन्य कारणहरु धेरै छन् ।

पुरुषहरु महिलालाई किन बलात्कार गर्छन् ? भनेर बिबिसि बल्ड सर्भिस ट्रस्टले नेपाली रेडियो श्रोताहरुमा गत वर्ष गरेको मत सर्भेक्षणले ‘तीब्र यौन चाहना’ मुख्य कारण देखाएको थियो । देश भरिबाट सहभागी १३७० मध्ये ८३ प्रतिशतले तीब्र यौन चाहनाले महिलामाथि बलात्कार हुने औल्याएका थिए । रिस फेर्ने विकल्पका रुपमा बलात्कार हुने १० प्रतिशतको धारणा थियो । त्यस्तै साथीको लहैलहैमा हुने बलात्कार ७ प्रतिशत रहेको थियो । यो सर्भेक्षणले बलात्कारको मुख्य जड पुरुषको तीब्र यौन इच्छालाई देखाएको छ । तथापि बलात्कारको यही नै सम्पूर्ण कारण भनेर एकीन गर्न सकिन्न । यौन उत्तेजना बढाउने वातावरणका कारण बलात्कार बढेका छन् । समाजमा खुलापन बढ्दै जाँदा सबै कुरा भड्किलो बन्दै गएका छन् । खानपान देखि बस्त्र, व्यवहार र विज्ञापन उस्तै छन् । हेर्ने, पढ्ने र प्रयोग गर्ने सामग्रीमा यौन विज्ञापित छ । बजारमा यति धेरै सामग्रीहरु छन् जस्ले युवामा यौन आवेग बढाइ रहेका छन् ।

महिलाहरुले सार्वजनिक ठाउँमा लगाउने यौन उत्तेजक बस्त्र, मोबाइलमा सर्वसुलभ बनेका एडल्ट(ब्लू) फिल्म, इन्टरनेटका पोर्न साइटहरु, विश्वब्यापी टेलिभिजन च्यानलहरु, यौन साहित्य, पत्रपत्रिका र यौन केन्द्रीत फिल्महरुले समाजमा हुने बलात्कारलाई मलजल गरीरहेका छन् । स्वभाविक रुपमा युवा अवस्थामा हुने यौन जिज्ञासामा यस्ता सामग्रीले मलजल गराउँछ । सहज बिसर्जन गर्ने उपाय नभेट्दा बलात्कार जस्तो गम्भिर अपराध कर्म गर्न पुग्दछन् । अधिकांश किशोर र युवा अवस्थाका बलात्कारहरु यस्तै सामग्री हेरेर उत्पन्न यौन आवेगबाट हुने गरेका छन् ।

मनोविश्लेषक सिग्मण्ड फ्रेइडका अनुसार ‘सभ्यता, समाज र नैतिकताको सिमाभित्र बााँधिनु परेको कारण मानिसमा यौनको चरम दमन छ । खाने, बस्नेत, सुत्ने, हिँड्ने, पुस्तक पढ्ने, पहाड चढ्ने, सिनेमा हेर्ने जस्ता काम मानिस आफू एक्लै स्वतन्त्र रुपमा गर्न सक्छ । तर मानव जीवनको आधारभूत आवश्यकतामध्ये एक यौन कार्य एक्लै सम्भव छैन ।’ फ्रेइडले भनेका छन् की ‘मानिसका लागि यौन मात्रै त्यस्तो चिज हो जुन कृया गर्न दोश्रो व्यक्तिको जरुरत पर्दछ । जो अरुसँग माग्नु पर्छ त्यो भिख हो । अरुसँग माग्नु पर्ने अवस्था परनिर्भरता हो ।’ उनले यौनका मामिला मानिस परनिर्भर, भिखारी र अतृप्त भएको बताएका छन् । समाज, सभ्यता र नैतिकताले मानिस यौनको दमन गर्न विवश छ । जे लाई लुकायो त्यसैमा केन्द्रीत हुने मनको स्वभाव हुन्छ । यौनको सन्दर्भमा मानिसलाई यस्तै भएको फ्रेइडको मान्यता छ । अर्थात राजनीतिशास्त्रीहरुको भनाइमा ‘जहा दमन, त्यहाँ विद्रोह’ यौनमा भइरहेको छ ।

यौनको पूर्तिका लागि मानिस प्रेमको झमेलामा परिरहेका हुन्छन् । कसैलाई सिधै ‘तिमीसँग सम्भोग गर्न चाहन्छु’ भन्दा प्रतिकृया सकारात्मक हुन्न तर ‘म तिमीलाई प्रेम गर्छु’ भन्दा ढिलो चाँडो सम्भोगको बाटो खुल्छ । मानिस यौन प्राप्त गर्ने घुमाउरो यात्रालाई प्रेम भनिरहेको हुन्छ । जीवनमा प्रेम नभएका वा प्रेमको भ्रान्ति पाल्न नसकेकाहरुको मनमा यौन असिम आवेग हुने मनोविज्ञहरु बताउँछन् । उनीहरु समाजिक संस्कार र नैतिकताको परिधिमा बसुन्जेल आवेगलाई जसोतसो नियन्त्रण गर्छन् । यस्तोलाई मनोवैज्ञानिकहरुले ‘ज्वालामुखिमाथिको बास’ भनेका छन् । तर एकान्त वा अन्धकार भेटिने बित्तिकै वासनाको ज्वालामुखि विस्फोट भइदिन्छ । त्यो बेला मान्छेमा चेतना हराउँछ र बासनाले मुर्छित हुन्छ र बलात्कार गर्छ । हृदयमा प्रेम र करुणा नहुनेले नै बलात्कार गर्ने हो । लुटपाट र हत्या गर्ने हो ।

जैविक रुपमा हेर्दा यौन महिला र पुरुष दुबैलाई आवश्यक पर्छ । तर आक्रामकता पुरुषमा ज्यादी हुन्छ । पुरुषको दाँजोमा ज्यादै न्यून बलात्कार महिलाबाट हुन्छन् । यसो हुनुमा भाले जातिमा हुने जैविकीय गुण जिम्मेवार रहेको प्राणीशस्त्रीहरुको मत छ । आक्रमकता वा अग्रसरता लिने जैविक गुण भाले जातिमा हुने गर्दछ ।

न्यूनिकरण
बलात्कारलाई सबै ऐन कानुन र धर्मशास्त्रमा दण्डनीय बनाइएको छ । प्राचिन धर्मशास्त्रदेखि आधुनिक कानुनमा वलात्कारीलाई हुने सजाय कठोर छ तर सजायबाट मानिस डराएका देखिन्नन् । कानुन वा धर्मशास्त्रका अक्षरले मात्र बलात्कार जस्तो अपराधलाई रोक्न सकिन्न । बलात्कारलाई न्यूनिकरण गराउन सक्षम राज्य संयन्त्र र बलियो नियमन आवश्यक पर्दछ । समाजमा बलियाले निर्धालाई हेप्ने, शोषण गर्ने प्रथा छ । बलात्कार बलियाले निर्धामाथि गर्ने एउटा अत्याचार हो । महिलाले आफूमाथि हुने अत्याचारको डटेर प्रतिरोध गर्ने र स्वःनियन्त्रित हुने हो भने धेरै मात्रामा बलात्कार घटाउन सकिन्छ ।

समाजको भड्किलोपन र यौनजन्य सामग्रीको विगविगीलाई सरकारले नियन्त्रण गर्नु आवश्यक छ । कम्तिमा २१ वर्ष पुरा नभएकाहरुलाई एडल्ट फिल्म र पोर्न साइट हेर्न दिइनु हुन्न । सामाजिक नैतिक शिक्षा उस्तै आवश्यक छ । हामी अनियन्त्रित उपभोक्तावादमा फँसेका छौं । बाह्रबर्ष नपुगेका बच्चाको हातमा भिजुअल हेर्न मिल्ने मोबाइल निर्वाध दिइएको छ तर उस्ले त्यसमा के हेर्छ भन्ने धेरैलाई चासो छैन । यसले समाजलाई नैतिक भ्रष्टिकरण गरिरहेको छ ।

पत्रपत्रिकाहरुले यौनको समाचारलाई रोचक र सनसनी पूर्ण होइन स्वभाविक बनाएर प्रकाशन गर्नु पर्दछ । यौन मानिसको आधारभूत आवश्यकता भएकोमा कसैको दुईमत छैन । तर यसको स्वभाविक उपलब्धता हाम्रो समाजमा छैन । मानिसले यौन आवेगलाई स्वभाविक विसर्जन गर्न नपाउँदा धेरै बलात्कार भएका छन् । त्यसको एउटा विकल्प यौन व्यवसायको वैधानिकीकरण हो । कानुनी रुपमा यौन व्यवसाय सञ्चालन गर्न दिने हो भने समाज एकहदसम्म मर्यादित बन्ने छ । त्यस्तै पुरुषहरुले यौन सन्तुष्टिका वैकल्पिक उपायहरु जस्तै हस्तमैथुन, सेक्स टोय आदिलाई अपनाउन आवश्यक छ । यसले बलात्कार जस्तो गम्भिर अपराधबाट बचाउँछ नै यौन मनोविज्ञ र विशेषज्ञहरु विकल्पका रुपमा सुझाएका छन् ।

बलात्कारीलाई कारबाही गर्ने नेपनलको कानुनी व्यवस्था कमजोर छैन । अपराधीलाई संकोच नमानी कारबाही गरिनु पर्छ । अझ गम्भिर प्रकृतिका घटनामा आजीवन कारावास वा प्राणदण्डको व्यवस्था गरिनु उपयुक्त हुन्छ । महिला–पुरुष सबै बलात्कार जस्तो जघन्य अपराध घटाउन लाग्नु पर्दछ । अपराधिलाई उन्मुक्ति दिइनु हुन्न र महिलामाथि हुने बलात्कार विरुद्ध सामाजिक अभियानहरु तीब्र पारिनु आवश्यक छ । मुख्य कुरा के भने महिलाले अत्याचारको प्रतिरोध सँधै गर्न सक्नु पर्छ ।


No comments:

Post a Comment