Monday, July 29, 2013

बाइ सोलुखुम्बू ! बाइ महाकुलुङ !

Kulung origin place Mahakulung
करिब ३ वर्ष पूर्वी सोलुखुम्बूको महाकुलुङमा मकालु बरुण राष्ट्रिय निकुञ्जको कर्मचारीका रुपमा काम गरेर गत साल संखुवासभा सरुवा हुँदा लाकपद कुलुङ दाइले मलाई एसएमएस लेखेका थिए – ‘ल है सर ! म त आफ्नै गाउँ फर्किएँ ! बाइ सोलुखुम्बू ! बाइ महाकुलुङ !’ संसार साँघुरिएको बेला संखुवासभाबाट महाकुलुङ आउन कुनै टाढा होइन । जम्मा ३÷४ दिन खर्च गरे पुग्छ । उनले एसएमएस पठाउँदा म सल्लेरीमा थिएँ । उनको एसएमएसले मलाई कता कता छोयेको थियो त्यो बेला !

वास्तवमा केही गरौं भन्ने सोँचका उनी जहाँ बसे पनि सकेको राम्रो गर्नु पर्छ भन्ने मान्छे । ३ वर्षको बसाइमा आफुले सोँचे जस्तो त उनले धेरै गर्न पाएनन् । सरकारको जनअमैत्री नीति, पाखण्डी हाकिम, सिमित श्रोत साधन र अधिकार, आवश्यकता अनुसार सहयोग गर्न तत्पर नहुने समुदाय । पक्कै धेरै गर्न पाएनन् उनले । तथापि नपाएरै धेरै गरेर गए उनले । मकालु बरुण राष्ट्रिय निकुञ्जको बुङ स्थित इलाका कार्यालयलाई व्यवस्थित बनाए, वृक्षारोपण गरे, मध्यवर्ती उपभोक्ता समुहहरुको कार्ययोजना नविकरण गराए । पर्यटन विकासका माध्यमले संखुवासभा र सोलुखुम्बूलाई कसरी जोड्न सकिन्छ भनेर अध्ययन गरे । सबैभन्दा ठूलो नौलेक मेरा क्षेत्रमा निकुञ्जको पोष्ट स्थापना गराए । भवन बनाए । उनले आफ्नो कार्यकालमा गरेको मुख्य सम्झना गर्नु पर्ने कामहरु तिनै थिए । भलै समुदायले सम्झनु नसम्झनु आफ्नै ठाउँमा छ ।

यो हराफ लेख्न बस्दा म उनको एसएमएसको सम्झना गरी रहेको छु । समय कति चाँडै मान्छेलाई बुढो बनाउँदै वित्छ, थाहै नहुँदो रहेछ । म आफू पनि सोलुखुम्बू, विशेषतः महाकुलुङसँग जोडिएको ३ वर्ष ५ महिना भइसकेछ । ३ वर्ष भन्दा धेरै समय नबस्ने भनेर आएको म ५ महिना बढतै बसिसकेछु । अहिले सम्झँदा अचम्म लाग्छ । ख्यालख्यालमै साडे ३ वर्ष विताइएछ । समयको बुढो भइएछ । अहिले समिक्षा गरी रहेको छु । यो अवधिमा मैले के गर्न सकेँ त महाकुलुङ र मैले काम गरेको गाउँका बासिन्दाहरुका लागि ?

म एउटा सपना लिएर सोलुखुम्बूको महाकुलुङ २०६६ फागुन १० गते आएको थिएँ । त्यस यता निरञ्तर यहाँ छु । आउँदा कुलुङहरुको पितृभूमि सम्झेर आएँ । बाबुबाजेको मुखबाट धेरै पटक कथा सुनेको सम्झेर आएँ । मेरो पुर्खाले ३०० वर्ष अघि छाडेर हिँडेको सम्झनाको गाउँ सम्झेर आएँ । संसारका कुलुङ समुदायको उद्गम भूमिमा पक्कै धेरै गर्न सकिन्छ भन्ने उत्साह लिएर आएँ ।

आउँदाको मेरो उत्साह र मैले गर्न सकेको यथार्थ अहिले दाँजि रहेको छु । महाँकुलुङसँग सयौं पुस्ताको सम्बन्ध जोडिएकाले मैले धेरै भावनात्मक भएर काम गरेको छु । काम गर्दा आफ्नो परिवार र नीजि स्वार्थलाई कहिल्यै सम्झिन । जति समय काम गरेँ आफ्नै व्यक्तिगत कम्प्युटरले कार्यालयको काम गरेँ । क्यामेरा, नेटडिभाइस सबै आफ्नै प्रयोग गरेँ । मैले काम गरेको संस्थाले भोलिका दिनमा जस्तो सम्झेपनि सानै भएनी केही योगदान गरेँ भनेर सन्तोष लाग्छ । व्यक्तिगत सम्पत्तिले ३९ महिना कार्यालयको काम गर्नु चानचुने कुरा होइन । म जहाँ काम गर्छु, त्यो संस्था राम्रो हुनु मेरो राम्रो हुनु हो भन्ने मेरो मान्यता छ । तथापि अनुभव बाहेक आर्थिक रुपमा मैले केही पनि कमाइन यो बसाइमा र पनि आत्म सन्तुष्टी मिलेको छ ।

३९ महिनाको अवधिमा मेरो नेतृत्वमा के के काम भयो ? समीक्षा गरी रहेको छु । सोँचे जस्तो गर्न पक्कै सकिएन । यसमा म र मेरो स्टाफको भन्दा गरिबी निवारण कोष दोषी छ भन्ने मलाई लाग्छ । सम्झौता अवधिको अन्तिमा अवस्थामा निकासा दिने र उस्को अस्थिर नीति बढी जिम्मेवार छ भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । यस्तै अनेकों सिमिताबीच मेरो नेतृत्वमा गौरव गर्न लायक धेरै काम भएको सगर्व भन्छु । यसको प्रमाण वाकु, बुङ, छेस्काम र गुदेल गाविसका २०२६ गरिब घरपरिवारमा बस्ने ५४६१ महिलासति ११,५१२ जना व्यक्तिहरु ६७ वटा सामुदायिक संस्थामार्फत संगठित हुनु हो । गठित ६७ सामुदायिक संस्थाका सदस्यहरुमध्ये ७२.८ महिला रहेका छन् । महिलाको नेतृत्वमा गाउँका लक्षित वर्गहरु संगठित भएका छन् ।

आर्थिक वर्ष २०६९÷०७० को पहिलो चौमासिकसम्म गठन भएका ५२ वटा सामुदायिक संस्थामा २ करोड ३ लाख बढीको अनुदान गरिबी निवारण कोषबाट पु¥याएको छु । करिब २७ प्रतिशत क्षमता विकासमा खर्च भएको बाहेक १ करोड ५७ लाख गरिब जनताका सामुदायिक संस्था मार्फत आयआर्जन कार्यक्रममा परिचालन भइरहेका छन् । यो गरिब घरपरिवारको स्थायी वीऊ पूँजीका रुपमा रहेको छ । पछिल्लो अवधिमा गठित १५ सामुदायिक संस्थामा करिब ८० लाख आयआर्जन अनुदान जाने अवस्थामा छ । यसरी यो ३ वर्ष ५ महिनाको अवधिमा गरिब वर्गको आयमुलक कामका लागि मात्रै करिब ३ करोड पुग्ने वातावरण बनाएको छु । यो लगानी पक्कै चानचुने हो जस्तो लाग्दैन । अहिलेसम्म सोलुखुम्बूको महाकुलुङ र वाकु क्षेत्रमा पुगेको सबैभन्दा प्रभावकारी कार्यक्रम नै यही बनेको छ । चिन्ता यसको चीरकालसम्म सही सदुपयोग र व्यस्थापनको मात्रै हो ।

सामुदायिक पूर्वाधार विकास अन्तरगत यही अवधिमा ५ वटा खानेपानी आयोजना बुङ, छेस्काम र गुदेलमा निर्माण भएका छन् । १ करोड ४३ लाख लागतमा निर्माण पुरा भएका यि आयोजनाहरुबाट ४४९ घरका २५०२ जनाले स्वच्छ पानी पिउन पाउने छन् । केही आयोजना साँच्चै मेरो व्यक्तिगत पहलमा निर्माण भएका छन् । वाकु र बुङमा करिब सवा १ करोडको लागतमा निर्माण हुने गरी दुईवटा खानेपानी आयोजनाको विस्तृत सर्भेक्षण र डिजाइन स्टीमेट पुरा भएका छन् । योजना पुरा हुँदा २५० घरका ११०० बढी मानिसले स्वच्छ पिउने पानी खान पाउनेछन् । पक्कै यसले समुदायको जीवन निर्वाहमा सकारात्मक प्रभाव पार्नेछ ।

पशुपालन, कृषि तथा तरकारी खेती, लेखा व्यवस्थापन, नेतृत्व विकास, सिलाइ तथा फेसन डिजाइन जस्ता तालिम १८०० जनाले पाएका छन् । सामाजिक, आर्थिक र साँस्कृतिक विकासमा यसले पक्कै सकारात्मक योगदान पुग्ने छ । यति ठूलो स्केलमा यस अवधिमा बाहेक अन्य समयमा यो विकट क्षेत्रका गरिब जनताले कहिल्यै जीवनोपयोगी तालिम पाएका थिएनन् । फर्निचर, पेन्टिङ, डकर्मी, मेकानिक्स जस्ता तालिम समुदायलाई दिलाउने कार्यक्रम तर्जुमा गरेको छु । म कार्यक्रमको नेतृत्वमा नरहँदा पनि यि तालिमहरु सञ्चालन हुनेछन् । अहिले मैलै स्वीकृत गराएका कार्यक्रमहरु कार्यन्वयन भइसक्दा मात्रै थप करिब ८०० जनाले विभिन्न तालिम पाउने छन् ।

यस बाहेक एक सचेत नागरिक हुनुको नाताले स्थानीय विकासका सम्भवनाहरु बारे बहस, छलफल चलाउने, लेख्ने, प्रचार प्रसार गर्ने काम गरेको छु । जुन यही ब्लगको अघिल्ला सामग्रीहरुले प्रष्ट पार्छन् । एक किसिमले म पूर्वी सोलुखुम्बू विशेषतः महाकुलुङको विकासको चासोमा अभिन्न रुपले गाँसिएको छु । जीवित रहुञ्जेल त्यो कायम रहनेछ ।

शुरुमा सोँचेको अवधिभन्दा ५ महिना बढी बिताएर पूर्वी सोलुखुम्बूमा सञ्चालित ‘स्थानीय श्रोतमा आधारित गरिबी निवारण कार्यक्रम’ को प्रमुखबाट विदा लिएको छु । यति लामो अवधि कार्यक्रमलाई आर्थिक सहयोग गर्ने गरिबी निवारण कोष र सञ्चालन गर्ने संस्था पहाडी विकास तथा संरक्षण समूह नेपाल, बुङले काम गर्ने अवसर दिएकोमा धन्यवाद तथा आभार व्यक्त गर्दछु । मेरो टीममा रहेर, एउटै परिवारका सदस्य जस्तो बनेर हरतरहले काम गर्ने सामाजिक परिचालकहरु पर्विमाया खालिङ, फत्तिमान कुलुङ, अरुणा कुलुङ र भूपेन्द्र कुलुङ तथा सुपरभाइजरहरु शोभितमान कुलुङ र केशव कुलुङलाई सँधै सम्झना गर्नेछु । स्थानीय साथीहरुले आफ्नो गाउँ र समुदायका लागि जिम्मेवार भएर भविश्यमा काम गर्नु हुनेछ भन्ने शुभकामना छ ।

त्यस्तै गरिबी निवारण कोषका अरुण पाण्डेजीलाई र पहाडी विकास तथा संरक्षण समूहका आदरणीय दाजुहरु तथा साथीहरुलाई सम्झन चाहन्छु । कोषले पक्कै आगामी दिनमा आफुलाई समय सापेक्ष सुधार गर्नेछ । अब पनि सम्झौता भएको ८ महिनापछि निकासा पठाउने र काम भएन भन्दै वाहियात कमेन्ट गर्ने छैन । पहाडी विकास तथा संरक्षण समूह केही व्यक्तिको नभइ समुदायको बन्ने विश्वास छ । समयले सबैलाई राम्रो सिकाउने छ र राम्रो गराउने छ भन्ने विश्वास छ ।

हामी आउने दिनमा पृथ्वीको जुनसुकै कुनामा रहेपनि विकास र परिवर्तनको सवालमा एकले अर्कालाई सहयोग गर्ने छौं । मेरो सोलुखुम्बू बसाइका अरु पनि अनेक सम्झना, पात्र र पत्रहरु छन् । सयम सालमा त्यसका बारेमा लेखौंला । पृथ्वी गोलो छ । कुनै दिन मौकाले यही जिल्लामा फेरि काम गर्न आउन पनि त सकिन्छ । अहिलेलाई लाकपद दाइकै शब्दमा ‘बाइ सोलुखुम्बू ! बाइ महाकुलुङ !’

No comments:

Post a Comment