Wednesday, March 20, 2013

लोग्ने–स्वास्नी, चारदलीय सिण्डिकेट र लोकतन्त्र

Montaz pic from fb
निःसन्तान अज्ञात लोभी लोग्ने–स्वास्नीको एउटा कथा गाउँघरमा लोकप्रिय छ । कुनै साँझ मासु भात पकाएर उनीहरु खान ठिक परेका थिए । त्यही बेला एक जना पाहुना आइपुग्यो । लोभी न थिए, पाहुना हुँदा हुँदै भान्छा पस्किए बाँड्नु पर्ने पिर । लामो समय भइसक्दा पनि पाहुनाले हिँड्ने छाँट नदेखाएपछि लोग्ने–स्वास्नीलाई उकुसमुकुस भयो । पाहुना पिसाब फेर्न गएको मौकामा ती लोग्ने–स्वास्नीले सल्लाह गरे –‘हेर बुढी ! यो पाहुना त्यतिकै जालान् जस्तो छैन । अब म कुटे जस्तो गर्छु, तिमीले रोएको अभिनय गर्नु ।’ स्वास्नीले ‘हुन्छ’ भनी । पाहुनाभित्र पस्ने वित्तिकै उनीहरुले विवाद गर्न थाले । विवाद चर्किँदै जाँदा लोग्नेले स्वास्नीलाई हात हाले । स्वास्नी डाँको छाडेर रुन लागी ।

लोग्ने स्वास्नीको कुटामार भएपछि पाहुना निस्किए । पाहुना गएको केही बेरमै लोग्ने–स्वास्नी पूर्व अवस्थामा फर्किए । लोग्नेले स्वास्नीलाई भने– ‘हे¥र्यौ बुढी ! मेरो आइडिया ? अब भात पस्काउ, मज्जाले खाउँ ।’ स्वास्नी मुस्कुराइ र खाना पस्कन थाली । स्वास्नीले खाना पस्कन मात्र के लागेकी थिई्, ‘मैले नि गए जस्तो मात्रै पो गरेको थिएँ त !’ भन्दै पाहुना फर्केर आइहाले । किनभने लोग्ने–स्वास्नीबीचको सल्लाह पाहुनाले पहिल्यै सुनिसकेका थिए । लोग्ने–स्वास्नीलाई फसाद प¥यो । आखिर पाहुनालई मासु भात बाँडेर दिन कर लाग्यो । कथा यति हो ।

सन्दर्भ नेपाली राजनीतिमा जोडिन्छ । पछिल्लो समय नेपालका राजनीतिक दलहरु यो कथाका पात्र प्रतित हुन्छन् । प्रमुख सबै पार्टीको अघोषित सहमति र एकीकृत नेकपा(माओवादी) अगुवाइमा २०६९ जेष्ठ १४ गते कार्यभार पुरा नगरी संविधानसभाको अवसान गराइयो । त्यसपछिका १०÷११ महिना अनेक गलफत्ति र प्रपञ्चमा समय गुजारे । डा. बाबुराम भट्टराई सरकार हिसिला यमी र विजय गच्छदारहरुको अगुवाईमा भ्रष्टाचारको कृतिमान कायम गर्दै रह्यो । प्रतिपक्ष भनिएकाहरु आन्दोलनको राग अलाप्न लागे । एमाओवादी महाधिवेशनका नाममा प्रचण्ड–बाबुरामलाई एकपटक महाराज बनाउन राजसभाको हेटौंडा बैठकतर्फ लाग्यो । देशभरि आन्दोलनको नाममा सभाको नाटक गरेर प्रपिक्षीले जनतालाई पङ्गु बनाए ।

एमाओवादीको राजसभा बैठक सकियो, काठमाण्डौं फर्किए । प्रतिपक्षीहरु पनि एकाएक आन्दोलनको मैदान छाडेर काठमाडौं नै आए । अपारदर्शी बैठकहरु भए । एकाएक हिँजो आफैँले विरोध गरे जस्तो गरेको एजेण्डामा एमाओवादीसँगै कांग्रेस–एमाले सहमती गर्न पुगे । लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई तिलाञ्जली दिँदै, तमाम नागरिक, बुद्धिजीवि, पेशकर्मी र आधा राजनीतिशक्तिको विरोधका बावजुद प्रधान न्यायधिशको नेतृत्वमा निर्दलीय सरकार बनाइयो । हिँजोको विरोध, असहमती, आन्दोलन, लोकतान्त्रिक मूल्यमान्यताका कुरा हावा भरिएको बेलुन फुटे जस्तै भयो । वास्तविक झगडा भए पो असहमती वा आन्दोलन हुन्थ्यो ? कुटे जस्तो र रोए जस्तो गजबसँग भयो ।

पछिल्लो राजनीतिक परिघटनाले के प्रष्ट पारेको छ भने एमाओवादी, कांग्रेस, एमाले र गच्छदारको मधेशी मोर्चा आफूहरुलाई देशको सर्वेसर्वा र निर्णायक हौं भन्ठान्छन् । चारदल मिल्यौं भने देशमा राजनीतिक सिण्डिकेट लाद्न सकिन्छ भन्ने अहंकारयुक्त भ्रम उनीहरुमा चढेको छ । यही भ्रमका कारण चारदल बाहिरका राजनीतिक पार्टि, नागरिक समाज, पेशाकर्मी–बुद्धिजीवि र शक्तिहरुलाई पुरापुर वेवास्ता गर्दै अगाडि बढेका छन् । विशेष गरी शीर्ष नेतृत्व भनिएकाहरुमा यस्तो दम्भ र भ्रम बढेको देखिन्छ । केही नेताहरुमा अहिले ‘हामी(म?) नै सर्वेसर्वा हौं, हामीले भनेको सबैले मान्नुपर्छ । संविधान, कानुन र लोक मान्यता हाम्रो बोलीबाट निस्रित हुनुपर्छ’ भन्ने अंहकार चढेको छ । सम्पूर्ण जनमत भनेकै प्रचण्ड–बाबुराम, सुसिल–रामचन्द्र–देउवा, झलनाथ–बामदेव–ओली र गच्चेदारहरुको बोली हो भन्ने भ्रम पारिएको छ । यस्तो हुनु लोकतन्त्रका लागि ज्यादै गम्भिर र खतरनाक छ ।

२०४७ पछि ‘सम्पूर्ण नेपाली भनेकै कांग्रेस हो, कांग्रेस बाहेक अरु केही होइनन्’ भन्ने कांग्रेसी अहंकारले सबैलाई निरास र आक्रोसित बन्न बाध्य गरायो । प्रगतिशिल कार्यmक्रम होइन, भ्रष्टाचार, नातावाद, कृपावाद र नागरिकमा निरासा ल्याउने कांग्रेसी कृयाकर्मकै कारण देशमा हदैसम्मको राजनीतिक असहिष्णृता विकास भयो । त्यसैको मलजलमा देश १० वर्षे त्रासदीपूर्ण रक्तपातमा धकेलियो । द्धन्द्धको दुष्परिणाम र प्रभाव के कस्तो प¥यो, त्यो जगजाहेर छ । ११ वर्षदेखि गाउँ जनप्रतिनिधि विहिन छ । हामी २० औं वर्ष पछाडि धकेलिएका छौं ।
कथित ठूला तीन पार्टी र गच्चदार मोर्चाको वर्तमान सिण्डिकेट यसरी नै जारी रहने, असल कार्यकर्ता र अरु पार्टीको विचारलाई नजर अन्दाज गर्ने हो भने हाम्रा भोलिहरु सुन्दर देखिँदैन । अहिले नै निर्दलीय सरकार त बनाइ सके, भोलि यसले अधिनायकवाद र अस्थिरताको अनन्त मार्ग प्रशस्त गर्नेछ । एमाओवादी या माओवादी त प्रकारान्तरले अधिनायकवादकै खोजीमा छन् । घाटा कांग्रेस–एमाले जस्ता बहुदलीय प्रतिष्पर्धामा भविश्य भएका पार्टीलाई हुनेछ ।

ती अज्ञात लोभी लोग्ने स्वास्नीले जस्तो एउटाले कुटे जस्तो र अर्कोले रोए जस्तो गरेर एक्लै मासु भात खाने सपना नदेखे हुन्छ । चारदलले बाँडेर खान अर्थात सबैको विचारलाई समेटेर लैजान जान्नु पर्दछ । होइन आफैँ मात्र खाने, चारदल बाहिरका शक्तिलाई वेवास्ता गर्ने हो भने अर्को विद्रोहलाई कसैले रोक्न सक्दैन ।

1 comment:

  1. Bado suitable title . ekdamai byangyatmak ra chotilo article lekhnuvo , ghat lagdo ra manasiv chh dear .

    ReplyDelete