Tuesday, February 5, 2013

किवीको कमाल

(गुणकारी फल किवी खेती सम्बन्धि जानकारी सबैका लागि महत्पूर्ण लागेकाले हिमाल खबरपत्रिकाबाट साभार गरेर यो सामग्री राखिएको छ । –आरडी)
p46
जीवनप्रसाद राई
कृषिसँग जोडिएको नेपाली समृद्धि बुझने उद्देश्यले थालेको नेपाल भ्रमणको क्रममा गएको १५ असारमा महलकाजी यागोललाई भेट्न काभ्रेको धुलिखेल पुग्दा कृषि विकास ब्याङ्कमा लामो समय बिताएका यी विज्ञले नेपाली कृषिको नयाँपन हेर्न डा. सूर्यप्रसाद पाण्डेको किवी फार्म जानुपर्ने सल्लाह दिए। किवीबारे थोरबहुत पूर्व जानकारी पनि भएकोले मलाई यो सूचनाले रोमाञ्चित नगर्ने कुरै भएन, उत्साहित हुँदै धुलिखेलबाट आठ किमी पूर्वको काभ्रेभञ्ज्याङ पुगें। 

फार्ममा मध्यअसारको झ्रीमा ५०–६० ग्रामको किवीका हजारौं दाना किवी हेरिरहौं लाग्ने गरी लहरामा झ्ुलिरहेका थिए। किवीको यो स्तरको व्यावसायिक खेती र यति राम्रो नर्सरी मैले पहिलो पटक देखेको थिएँ। फार्ममा नभेटिएका डा. पाण्डेसँग फोनमा मात्र कुरा हुनसक्यो। उनले लामै सोच राखेर ३० रोपनी जग्गामा किवी फार्म खोलेका रहेछन्। फार्ममा करीब ५००० बिरुवा तयार थिए। अहिले नेपालमा किवीका बिरुवाको माग वार्षिक सरदर २५ हजार छ। 

किवीको नालीबेली   
पहिला–पहिला नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किवी। डा. पाण्डेका अनुसार, जापानको रैथाने यो गुणकारी फललाई 'किवी' चराले चीन, नेपाल र न्युजिल्याण्ड पुर्‍याएको मानिन्छ। किवीको सबभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्याण्डमै छ। न्युजिल्याण्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब अमेरिकी डलरको किवी आयात हुने गरेको बताइन्छ। स्वाद र गुणका कारण महँगो फलमा दरिएको किवी काठमाडौंको बजारमा केजीको रु.५०० भन्दा बढी पर्दछ। 

समुद्र सतहबाट ८०० देखि २००० मिटर उचाइको पहाडी क्षेत्रमा राम्ररी फलाउन सकिन्छ, किवी। निर्यात योग्य किवी उत्पादनका लागि १००० देखि २००० मिटर उचाइको जमिन उपयुक्त मानिन्छ। यसले यो खेतीमा नेपालको सम्भावना पनि प्रष्ट पार्दछ। नेपालको मध्य पहाडमा आलिसन र हे–टोमोरी जातका किवी गज्जबले फल्छन्। एक पटक रोपेको सात वर्षपछि फल्न शुरू गर्ने किवीले ६० वर्ष निरन्तर फल दिइरहन्छ। एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा १०० केजीसम्म फल्छ।  

नेपालको पहाडी भेगको १० लाख हेक्टर जमिन किवीका लागि उपयुक्त छ। प्रतिरोपनी वार्षिक सरदर रु.१ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलोलगायतको मिश्रित खेती गर्न सकिन्छ। किवीमा अहिलेसम्म रोग–कीरा देखापरेको छैन।  

विशेष सरकारी प्राथमिकताका साथ व्यावसायिक रूप दिएर पाँच लाख हेक्टरमा मात्र किवी खेती गर्दा पनि नेपालको पहाडबाट वर्षेनि रु.५ खर्बको किवी निर्यात गर्न सकिन्छ। नेपालसँग भएको तत्काल यथार्थमा बदल्न सकिने संभावनामध्ये पर्छ, किवी खेती। डा. पाण्डे लगायत नयाँ सोचका साथ किवी खेती विस्तार अभियानमा लागेका कृषकहरू पनि यही कुरा भन्छन्। 

सरकारी सेवाबाट अवकाश लिएपछि खास गरेर युवा जमातलाई नयाँ सम्भावना पहिल्याउन उत्पे्ररित गरिरहेका डा. पाण्डेले अहिलेसम्म २५ भन्दा बढी जिल्लामा किवीका बिरुवा वितरण गरेका छन्, न्यूनतम मूल्य र निशुल्क विशेषज्ञ सुझावका साथ। अहिले किवी खेती गर्ने अगुवा किसानमा इलामका तारामणि खतिवडा, दोलखाका श्याम खड्का, ताप्लेजुङका खेलप्रसाद बुढाथोकी, धनकुटाका पाराङ तामाङ, बैतडीका जगन्नाथ जोशी, पाँचथरका सुवास अधिकारी, बाजुराका अम्बर खड्का, म्याग्दीका वामदेव रिजाल, स्याङ्जाका तारा भुषाल, धादिङका राजेन्द्र पाण्डे, सिन्धुपाल्चोकका अमृत बोहरा आदि छन्।  

आर्थिक रूपमा सम्पन्न शहरियाहरूमाझ् हातहातै बिक्री हुने यो फलका लागि बजारको कुनै चिन्ता छैन। नेपालले जति किवी उत्पादन गरे पनि भारत र चीनकै बजारलाई नपुग्ने स्थिति छ। फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु 'सफेनिङ्ग' र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ।  
वाग–बगैंचाबारे सोच्दैमा पनि शरीरमा सकारात्मक प्रभाव पर्छ भन्ने भनाइ छ। अन्य पेशा–व्यवसाय गरेर शहरमा बस्नेहरूले पनि पहाडमा जमिन छ भने यो सुस्वाद र स्वास्थ्यवर्धक फल फलाउने बारे सोचे राम्रो हुन्छ।

No comments:

Post a Comment