Wednesday, February 13, 2013

प्रणय दिवस !

-अारडी कुलुङ
फ्रेबुअरीको १४ तारिख । संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेहरुका लागि एउटा विशेष उत्सवको दिन । आफूले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन । अर्थात प्रणय दिवस ! भ्यालेन्टाइन डे !

प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्दछ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे ! यो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । सिमा रेखाहरु मेटाउँछ र दुईमुटुहरुलाई एकाकार गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ ।

भनिन्छ प्रेमले नै संसारको सृजना गरेको हो । प्रेमले नै संसारलाई सुन्दर बनाएको छ । संसारमा प्रेम नरहेको दिन मानव सभ्यता अन्त हुनेछ । संसारका सबै मानिस कहिँ न कहिँ प्रेम खोजिरहेका छन् । प्रेम गरिरहेका छन् । प्रेम चाहिरहेका छन् । प्रेम सबैको आकांक्ष हो, लक्ष्य हो, सपना हो, कल्पना हो । मानिस मृत्युपर्यान्त प्रेमको भोको हुन्छ । प्रेम वा प्रणय मानव जातिको कहिल्यै नमेटिने तिर्खा वा भोक हो । त्यसैले प्रेमकाे अर्काे पाटाे पीडा पनि हाे ।

म यहाँ भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको कुरा गरिरहेको छु । युवायुवती र प्रेमी–प्रमिकाहरुका लागि प्रतिक्षित दिन हो भ्यालेन्टाइन डे । अन्य बेलामा आफ्नो मनको कुरा भन्न नसकेका युवायुवतीहरुका निम्ति प्रेम प्रस्ताव राख्ने उपयुक्त अवसर भ्यालेन्टाइन डे हो । भलै त्यो स्वीकृत, अस्वीकृत जे होस् । यस दिन आफूले मन पराएकोलाई प्रेम प्रस्ताव राख्नु अन्यथा मानिन्न । पुरानै प्रेमी–प्रेमीकाहरुका लागि पनि नयाँ ढंगबाट प्रेमालाभ गरेर फरक महशुस गर्ने दिन हो भ्यालेन्टाइन डे ।

भ्यालेन्टाइन डे काे इतिहास :
यो दुखद कहानी बोकेको दिवस हो । अहिले संसारका सबै समुदायको साझा दिवस रहेको भ्यालेन्टाइन डे शुरुमा रोमन क्याथोलिकहरुको पर्वका रुपमा थियो । रोमका राजा क्लाउडियस युद्धमा जानु पर्ने सेनाहरुले विवाह गर्नु हुन्न भन्ने मान्यता राख्दथे । विवाह र यौन सम्बन्धले पुरुषलाई कमजोर बनाउने र यसले युद्धमा प्रतिकुल प्रभाव पर्ने सम्राट क्लाउडियसको धारणा थियो । उनले रोमन साम्राज्यको सेनामा काम गर्ने सैनिकहरुलाई प्रेम र विवाह गर्न प्रतिवन्ध लगाए । सैनिकहरुकालाई महिलासँगको सम्बन्ध बर्जित गरियो । कसैले महिलासँग शारीरिक सम्बन्ध राखेकाे वा विवाह गरेकाे पाइए मृत्युदणड दिने व्यवस्था राजाले गरे । राजाकाे याे निर्णयबाट हजारौं लाखौं युवा सैनिकहरु विवाह गर्नबाट बञ्चित भए ।

क्लाउडियसको यो कदमप्रति सैनिकहरु सन्तुष्ट थिएनन् । तर मृत्युदण्डको डरले यसको कसैले प्रकट रुपमा विरोध गर्न सकेन । एकजना धर्म गुरु सेन्ट भ्यालेन्टाइनले राजाको यस्तो कार्यको विरोध गरे । युवाहरुलाई प्रेम र विवाहमा प्रतिवन्ध लगाउनु ठूलो अपराध भएको उनको धारणा थियो । विवाह र प्रेममा प्रतिवन्ध लगाए संसार कुरुप हुने र मानव सभ्यता नै टुट्ने भ्यालेन्टाइनको विचार थियो । राजाको कदमको विरोध गर्दै सन्त भयेन्टाइनले युवाहरुलाई प्रेम र विवाह गर्न प्रोत्साहित गरे ।

धर्म गुरुको प्रोत्साहनले राजाको आदेश उन्लङ्घन गर्न सैनिकहरु तयार भए । भ्यालेन्टाइनको नेतृत्वमा ३०० सैनिक र तिनका प्रेमिकाहरुले राजाज्ञाको अस्वीकार गर्दै सामुहिक विवाह गरे । राजाज्ञाको अवज्ञा गरेको अपराधमा सेन्ट भ्यालेन्टाइनसहित विवाह गर्ने सबै सैनिकलाई १४ फ्रेबुअरी सन् २६९ का दिन फाँसीमा झुण्ड्याइयो । त्यसरी प्रेम र विवाह गर्दा फाँसीमा झुण्ड्याइएकाहरूकाे स्मृति दिवस प्रत्येक वर्षको फ्रेबुअरी १४ मा सेन्ट भ्यालेन्टाइनका समर्मथकहरूले मनाउन थाले । प्रेममाथिको प्रतिवन्ध विरुद्ध विद्रोह गर्ने उनै सेन्ट भ्यालेन्टाइनको स्मृति दिवस नै कालान्तरमा प्रणय दिवसका रूपमा प्रख्यात हुन पुग्याे ।

१७५० वर्ष पहिले भ्यालेन्टाइन र उनका समर्थकहरुलाई सामुहिक फाँसी दिइएपनि सैनिकहरुबाट विवाह र प्रेम गर्ने क्रम रोकिएन । राजा यो प्रविन्ध हटाउन बाध्य भए । प्रेमका पक्षपाती भ्यालेन्टाइनहरुको जीत भयो । यसर्थ प्रेम गर्नेहरुको जीतको दिवस हो भ्यालेन्टाइन डे । १४ फ्रेबुअरीलाई अहिले संसारभरी माया र रोमान्स्को पर्वका रुपमा मनाइन्छ । विश्वमा कुनै समुदाय छैन प्रणयलाई अस्वीकार गर्ने । 

नेपालमा कहिलेदेखि प्रणय दिवस मनाउन थालियो ? थाहा छैन । कसैको संगठित प्रयासबाट शुरुवात नभएकाले आधिकारिक रुपमा भन्न सकिने कुरा पनि भएन । तर शुरुमा पश्चिमा सँस्कृतिको प्रभावका रुपमा यसले प्रवेश पाएको निश्चितसाथ भन्न सकिन्छ । पञ्चायातको अन्तपछि नेपाली समाज खुलापनमा प्रवेश ग¥यो । पत्रपत्रिका प्रकाशित हुन थाले । पत्रिकाले १४ फ्रेबुअरीका दिन प्रणय दिवसको चर्चा लेख्न थाल्यो । यसबाट नेपाली समाजमा यसले व्यापक स्थान पाएको हो ।

सन् १९९७ मा पहिलो पटक प्रणय दिवसको बारेमा मलाई पनि पत्रिकाबाटै थाहा भएको थियो । शुरुमा मैले पश्चिमा सँस्कृतिको नक्कलका रुपमा यसलाई बुझेको थिएँ । इतिहास थाहा पाएपछि मात्र यसको महत्वबोध भयो । विद्यालयको अन्तिम वर्षतिर पढ्दै गरेको मैले त्यति बेला केही साथीहरुसँग प्रणय दिवसका बारेमा छलफल चलाएको स्मरण गर्छु । स्वभाविक रुपमा धेरै साथीको मत पश्चिमा सँस्कृतिको नक्कल भन्नेमा थियो । सन् १९९८ को मध्यदेखि २००० को मध्यसम्म वनविज्ञान अध्ययन संस्थान हेटौंडामा पढ्दाकाे दुईसाल प्रत्येक फ्रेबुअरी १४ का दिन हामी 'भ्यालेन्टाइ डे स्पेसियल’ भित्तेपत्रिका प्रकाशत गर्थ्याैं । जस्काे अगुवाइ कर्तामध्ये एक म थिएँ । सन् २००२ देखि २००४ सम्म बरुण क्याम्पस, खाँदबारीमा स्नातककाे विद्यार्थी रहँदा पनि ‘भ्यालेन्टाइन डे स्पेसियल’ भित्तेपत्रिकाकाे इतिहास दाेहाेर्याइयाे । भ्यालेन्टाइन डे स्पेसियलबाट शुरु भएर बरुण क्याम्पसमा लामो समय ‘प्लेटफर्म’ नामको भित्तेपत्रिका प्रकाशन भएकाे थियाे ।

कलेज पढ्दा भ्यालेन्टाइन डे स्पेसियल प्रकाशन गरियो । यसले भ्यालेन्टाइ डे को अर्थ, महत्व र इतिहास के रहेछ भनेर जान्न मद्दत गर्याे। कुनै पनि सँस्कृतिको अन्धा नक्कल गर्नु हुन्न  । कलेज टाइमकाे हाम्राे ‘भ्यालेन्टाइन डे स्पेसियल’ धेरैका लागि मन पराएकालाई आफ्नो कुरा भन्ने चौतारी भयो । थुप्रै साथीहरुको अफेयर यसैबाट शुरु भयो । कतिपय जीवन साथी भए, कति भएनन् । एउटा सम्झना भने पक्कै बन्यो । कलेज टाइमा भ्यालेन्टाइन डे काे एक प्रकार प्ररचारक भइयाे तर आफ्नै भने यो दिनसँग जोडिएको त्यस्तो घटना विशेष छैनन् ।

अरु कुरा तपसिलका भए । महिला र पुरुषबीचको आकर्षणको कथा, गाथा र इतिहास नै हो प्रेम । तथापि समय अनुसार प्रेमको शैली र अभिव्यक्त गर्ने माध्यम फरक भएकाछन् । मानव जातिको उत्पत्ति भएदेखि यता लगातार महिला र पुरुषको आकर्षण जारी छ । उनीहरु आपसमा कहिल्यै अघाएका छैनन् । यसैलाई प्रेमको अनेक रङ्ग र रुपमा लेखिएका, वर्णन गरिएका वा चर्चा गरिँदै आएका छन् । अक्षरको आविस्कार हुनु पहिले आफुले बनाएका चीज वस्तुहरुको आदान प्रदानबाट प्रेम साटिन्थ्यो, अभिव्यक्त हुन्थ्यो । पारुहाङ र निनामरिदुमहरुले यसरी नै प्रेमको शुरुवात गरेका थिए । हिँजो अस्ती हाम्रा बा–आमाको पालासम्म यो तरिकाले निरञ्तरता पायो । अक्षरको आविस्कारपछि प्रेम अभिव्यक्त गर्ने माध्यम पत्राचार बन्यो । धेरै युग यसरी नै चल्यो । धेरैको प्रेमगाथा यही शैलीबाट अमर बने । मेरो पुस्ता, अझ म भन्दा पछिल्लो पुस्तासम्म पत्राचार शैली जीवित थियाे । अहिले मोबाइन र नेट प्रेम लोकप्रिय छ । अवको प्रेम प्रविधिको प्रेम हो । प्रविधिले प्रेम गर्नलाई छिटो र सजिलो बनाएको छ । फास्टफुड प्रेम ।

प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन्, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम पकट गर्ने दिन । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको पूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डेको अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

रातो गुलाफ : यसलाई शान्ति, प्रेम र क्षमताको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले दिएको रातो गुलाव स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु हो ।

गुलाफी गुलाफ : यसलाई मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले गुलाफी रङको गुलाफ दिनुको अर्थ, अब मेरो मुटुको ढड्कन तिम्रै लागि भन्नु हो ।

सेतो गुलाफ : यसलाई साँचो माया र स्वच्च हृदयको प्रतीक मानिन्छ । कसैप्रति स्वच्च हृदयले साँचो प्रेम गरिएको भए भ्यालेन्टाइन डे मा सेतो गुलाफ दिनु पर्दछ । भावुक वातावरणको प्रतीक पनि सेतो गुलाफलाई मानिन्छ ।

पहेँलो गुलाफ : यसलाई मित्रताको प्रतीक मानिन्छ । खास गरी फ्रेण्डसिप डे मा यसको प्रयोग हुन्छ । तर कसैले भ्यालेन्टाइन डे का दिन पहेँलो गुलाफ दिएमा मित्रताको प्रस्तावका रुपमा बुझ्नु पर्दछ ।

कालो वा गढा रङको गुलाफ : यसलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणबस प्रेम सम्बन्धलाई निरञ्तरता दिन नसक्ने अवस्था भएमा भ्यालेन्टाइन डेका दिन कालो गुलाफद्धारा सम्बन्ध टुङ्ग्याउन सकिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डेमा कसैले यस्तो गुलाफ साट्न नपरोस् ।

प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी बनाइरहेको हुन्छ । समय, अवस्था र परिस्थितिमा पनि भर पर्दछ । सबैकाे प्रेम सफल हुन्छै भन्ने छैन । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । यी कुराहरु भएनन् भने अर्थहिन हुन्छ । भ्यालेन्टाइन डे पक्कै आयातित सँस्कृति हो । तर यसको सन्देश गलत छैन । अहिले विश्व एउटा गाउँमा परिणत भइरहेको बेला यो सबै जाति, वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । यसलाई स्वीकार नगर्ने सचेत वर्ग कमै होलान् । यसको सकारात्मक पक्षलाई लिउँ । भद्दा नक्कल नगर्रौ । यो वर्षको भ्यालेन्टाइन डे सबैको शुभ रहोस । ह्याप्पी भ्यालेन्टाइनस् डे २०१८ !


2 comments:

  1. Rajdhan Daai, ma mero Premikalai Kun Rangko Gulab Diu Vannu ta.....Maile ta Gulab tayar pareko pani chhaina. Samagrama Ramro chha hai tapaiko article...

    ReplyDelete
  2. great article dai ! padera derai ramaye . ma ekdam ranavullama thiya taki yo din kasari yeti utsavko sath manaenchh vanera tara tapaiko jun lekh padera clear vaye . thanks dai .

    ReplyDelete