Tuesday, February 19, 2013

हिउँ खेल्ने यात्रा !

यो वर्ष हिमपात निक्कै पछि अर्थात वर्खा लाग्ने समयमा भयो । समयमा हिमपात नहुँदा स्वभाविक रुपमा हिमाली भेगका ग्रामीण किसानहरुलाई चिन्ता हुन्छ । समयमा हिउँ परेन भने हिउँदे बाली (गहुँ, जौं, आलु, सागपात, उवा आदि) राम्रो हुँदैन । हिउँ नपरेको वर्ष असिनाले बाली नाली सखाप पार्ने हिमाली जन विश्वास छ । यो वर्षै वर्षको अनुभव जन्य कुराबाट निर्मित विश्वास हो । यसैलाई इण्डिजिनिअस नलेज भन्ने गरिन्छ । हिमालका मात्र होइन, सिंचाइको सुविधा विहिन देशका हामी बासिन्दाहरु सबैतिर हिमपातकै प्रतीक्षा
मा हुने गछौं हिउँदमा ।

 किन भने हिमालमा हिउँ पर्दा पहाड र तराईमा वर्षाद हुन्छ । चार पाँच महिना लामो खडेरीले काकाकुल बनाएको धर्तीलाई हिउँदे झरीले तृप्त बनाउँछ । बालीनालीमा जीवन भर्छ । किसानमा अनेकालको चिन्ता हट्छ । एक प्रकार हिमपात र हिउँदे झरी पर्नु भनेको नेपाली किसानमा आशाको सञ्चार हुनु पनि हो ।

हामी नेपाली हिमाली देशका बासिन्दा ! सगरमाथा, मकालु, कञ्चन्जंघा, मनासलु, धौलागिरी, अन्नपूर्ण, निलगिरी, सैपाल जस्ता हिम चुचुराबाट आफूलाई गौरवान्वित ठान्छौं । नेपाललाई धेरै जसो हिमालकै नामबाट संसारमा चिन्ने गरिन्छ । तर बिडम्बना ८० प्रतिशत नेपालीहरुले नजिकबाट हिमाल देख्न र हिउँलाई छुनै पाएका हुँदैनन् । विद्यालय उमेरमा ताना शर्माको निबन्ध पढ्दा कस्तो आफैँलाई नमज्जा लाग्थ्यो । हिमालयको देश नेपालमा जन्मिएका ताना शर्माले बेलायतमा पुगेर मात्रै हिँउलाई नजिकबाट देखेको र छोएको कुरा लेखेका थिए ।
उनी त इलममा जन्मिएका थिए । हिमाल अलि टाढै हुने भयो । शर्मालाई बेलायत पुग्दा भएको पीडादायी वा लज्जाजनक हालत भन्दा उनको निवन्ध पढ्दा मलाई भएको थियो । म पूर्वी हिमाली जिल्ला संखुवासभाको पनि हिमाली गाविस मकालुमा जन्मिएको मान्छे । तर विद्यालय उमेरमा कहिल्यै हिउँ र हिमपातको दृष्य नजिकबाट देख्न पाएको थिइन ।

मेरो गाउँबाट पारी धेरै टाढा देखिने सिम्सा हिमालको हिउँ मात्र १५÷१६ वर्षको उमेरसम्म मैले देखेको थिएँ । हिउँ छुन पाउने त कुरै भएन । धेरै हिमपात हुँदा मेरो गाउँपारी सेदुवाको ओङसिङ र आम्राङको शीर भुसुनेडाँडासम्म हिउँ परेको देखिन्थ्यो । हिमाली गाविस भएर पनि अरुण नदी नजिकै भएकाले मेरो गाउँसम्म कहिल्यै हिउँ आइपुग्दैन ।
त्यही भएर मलाई बाल्यकालमा हिउँ छुने अवसर मिलेन । हिमालय मावि खाँदबारीमा पढ्ने ताका सुकेपातलमा परेको हिउँलाई पहिलो पटक कुल्चिएको थिएँ । थोरै मात्रामा परेको हिउँ धेरैदिन रहँदैन । नजिकबाट हिँउ र हिमाल देख्न पाएको त्यसपछि म्याग्दीको चर्चित पर्यटकीय स्थल पुन हिल जाँदा हो । त्यहाँ पुग्दा पहिलो पटक हिमाललाई आखाँ अगाडि नजिकबाट देख्न पाएँ । 

पछि लाङटाङ जाँदा हिउँ छुन पाएँ । संखुवासभाको पावाखोला, थुदाम हुँदै टिबेट जाँदा हिमाल पार गरेरै गएँ ।
बासी भएको हिउँ र ताजा हिउँमा पक्कै परक हुन्छ । मैलै अघाउँजी ताजा हिउँ खेल्न पाएको थिइन् । २०६६ साल फागुन ११ गते महाकुलुङ जाँदा कुलुपोङ्खो भञ्ज्याङमा हिउँ खेलेको थिएँ । बाटोमा भएकाले हतार थियो, एक्लै पनि थिएँ । धेरै खेलिएन ।

तर यो वर्ष फागुन पहिलो हप्ता परेको हिउँमा खेलेर साँच्चै मज्जा लिन पाइयो । संसारकै उत्कृष्ट पर्यटकीय स्थल सोलुखुम्बूलाई मानिन्छ । सोलु बसराइको तेश्रो वर्ष पुरा भइरहँदा हिउँमा खेल्ने रहर साँच्चै पुरा गरियो । जिल्ला सदरमुकाम नजिकै रातनागे डाँडा छ । सल्लेरी, काँकु र बासा गाविसको संगम स्थलका रुपमा रहेको रातनागे डाँडा चर्चित भ्यू पोइन्ट हो ।
यहाँबाट मौसम सफा भएको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरु हेर्न सकिन्छ । रातनागेडाँमा हिउँ हेर्न र खेल्न प्रजातन्त्र दिवसको अवसरलाई उपयोग गरियो । सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनन्सका साथी ज्ञानदीप राई, भाइहरु केशव र सुजन कुलुङ, महेश कार्कीजी, बहिनीहरु सरस्वती र मनिला कुलुङ सहित यात्रा साच्चै रमाइलो रह्यो । हिउँ खेल्दाका केही दृष्यहरु !

1 comment:

  1. साँच्चिकै सजीव तस्वीरहरु ! एउटा अविस्मरणीय यात्रा । जीवनमा एकपटक फेरि हिउँसंग खेल्न पाइयो । सोलुको सदरमुकाम सल्लेरीमा हिउँसंग लुकामारी खेलेको यो दोस्रो पटक हो । तर हिउँ संग अपरिचित भने पक्कै होइन । जीन्दगी विताउने क्रममा धेरै क्षणहरु मेरो स्मृतिमा रहिरहनेछन् जसमा यो यात्रा वास्तवमा एक अविस्मरणीय हुनेछ । आरडी दाईले हिउँको यात्राको बारेमा आफ्नो अनुभव र हिमाली भूभागमा रहेका मानवीय जीवनशैलीसंग गाँसिएका व्यवहारिक पक्षलाई समेट्नुभएको मैले यस लेखमा पाएँ ।

    ReplyDelete