Wednesday, February 27, 2013

राष्ट्रवादी नाराको आवरणमा भारतको गुलामी

-राजधन कुलुङ
नेपाली बाम राजनीतिको सदावहार चर्को मुद्दा हो भारतको अन्धविरोध र केटौलो राष्ट्रवाद । नेपालमा भारतको विरोध गर्नुलाई राष्ट्रवादी भएको बुझ्ने चलन छ । एउटा आमधारणा नै बनेको छ, नेपाली बाम पार्टीहरुमा भारतको तथानाम विरोध गर्नु राष्ट्रवादी हुनु हो भन्ने । नेपाललाई भारतको अर्धऔपनिवेशका रुपमा व्याख्या गर्नेले यसैलाई सबै तहमा सर्कुलर गर्दै आएकाले त्यही स्कुलिङ विकास भएको छ । अप्ठ्यारो पर्दा भारतलाई विचरण स्थल बनाउने, उनीहरुकै भिक्षामा जीवन गुजार्ने, अनि नेपाली जनतालाई भेडा बनाउन राष्ट्रवादी नारा लगाउने । यो नेपाली राजनीतिको विड्म्बना हो ।
जो भारतको चर्को विरोध गरिरहेको हुन्छ, उही अदृष्य रुपमा उसको गुलामी गरिरहेको हुन्छ । पछिल्लो अवस्था चर्को राष्ट्रवादको नारा लगाउनेहरु कति भारतभक्त छन् भन्ने कुरा र्सार्वजनिक भइसकेका छन् । एकीकृत नेकपा-माओवादी)का शीर्ष नेतृत्व पुष्पकमल दाहाल र बाबुराम भट्टर्राई बीच को बढी भारत निकट हुने भन्ने, होडबाजीलाई उदाहरणका रुपमा  हेर्न सकिन्छ । हुन त कलेजदेखि विश्वविद्यालय तहसम्मको शिक्षा भारतमा पुरा गरेका भट्टर्राईमाथि लामो समयदेखि भारतपरस्तको आरोप पार्टीबाटै लाग्दै आएको हो । भट्टर्राईमात्र होइन अध्यक्ष प्रचण्डका छोरीहरुको विवाह भारतमा हुनु, पूर्व विदेश विभाग प्रमुख राम कार्कीको कालिपोङमा घर हुनुले पनि भारतसँग माओवादी सम्बन्ध पुष्टि गर्छ ।
दश वर्षे सशस्त्र बिद्रोहमा माओवादीले नौ वर्ष भारतमै बसेर नेपालीभूमिमा युद्ध चलाएको हो । दर्जनौ नेताहरु माओवादीमा कृयाशिल छन्, जसको भारतसँग विशेष सम्बन्ध रहेको छ । प्रचण्ड स्वयम्ले भारत भ्रमणमा दिएका अभिव्यक्तिहरुबाट पनि ऊ कति भारतपरस्त छ भन्ने स्पष्ट हुन्छ । माओवादी शान्तिप्रकृयामा आएपछि दोश्रो भारत भ्रमणका क्रममा समाजवादी जनता दलका नेता शरद यादवले आयोजना गरेको दिल्लीको दिवा भोजमा भावविभोर भएर प्रचण्डले भनेका थिए- ‘तपाईँहरु यत्रो ठूलो चमत्कार कसरी गर्‍यो भनेर चकित हुनुहन्छ, तर मैले तपाईहरुकै काखमा बसेर क्रान्ति गरेँ । तपाईँहरुकै सहयोगमा यहाँसम्म आइपुगेँ ।’ माओवादी र भारतको सम्वन्ध कस्तो छ भनेर देखाउने यी उदाहरण हुन् ।
भारतको चाकडी आफुले गर्नेले र अरुलाई आरोप लगाउने माओवादी चलन हो । गोप्य रुपमा रातोदिन लैनचौर धाउने, बाहिर भारतको विरोध गरेर आफूलाई राष्ट्रवादी देखाउने माओवादी नेताहरुको दैनिकी हो । संविधानसभा निर्वाचनपछि नयाँ सरकार गठन हुन ढिलो हुँदा दिनहुँ राकेश सुदकोमा धाउने प्रचण्डले सञ्चारकर्मीहरुले थाहा पाएपछि ‘आठौं पटकमा एम्बुसमा परिएको’ प्रतिकृया दिएका थिए । थाहा भएकै कुरा हो, २०६४ कार्तिकको पहिलो औपचारिक भारत भ्रमणका बेला प्रचण्डले पाकिस्तानी गुप्तचर संस्था आइएसआइले युद्धका लागि पैसा र हतियार दिने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताएर भारतीय संस्थापनको खुल्लेआम गुलामी गरेको ।
माओवादी भारतसँग कति गुलामी गरिरहेको छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएपछि ०६५ भदौको भ्रमणमका क्रममा नेहरु युनिभरसिटीमा दिएको भाषणबाट पनि स्पष्ट हुन्छ । उनले भारतीय नेता र बौद्धिकहरुलाई सम्बोधन गर्दै १० वर्षे युद्धकालमा आठ वर्ष भारतमा बसेको बताएका थिए । सोही कार्यक्रममा माओवादी क्रान्तिको वर्ग शत्रु भारतीय जनता पार्टी अध्यक्ष तथा कट्टर हिन्दूवादी नेता लालकृष्ण आड्बाणीलाई आफ्नो अभिभावक भनेर सम्बोधन गर्नु अर्को उदाहरण हो । त्यहाँ प्रचण्डले ओलम्पिक हर्न चीन पुगेपनि पहिलो राजनीतिक भ्रमण भारतबाटै भएको भनेर रिझाएका थिए ।  
प्रधानसेनापति प्रकरणमा अनेक अनुनय विनय गर्दापनि भारतले साथ नदिएपछि कुर्सी छाडेका प्रचण्ड, त्यस लगत्तै सत्तारोहणको बाटो खुलाउन उसैको आशिर्वाद लिने प्रयासमा लागेको छिपेको छैन । आफ्नो नेतृत्को सरकार पतन भएको केही दिनपछि भारतीय दैनिक हिन्दुस्तान  टाईम्सलाई दिएको अन्तरवार्तामा प्रचण्डले ‘भारतलाई कहिल्यै उपेक्षा गरेर जान नखोजेको र सेनापति प्रकरणमा पनि उच्चस्तरीय प्रतिनिधिसँग कुरा गर्न चाहेको तर त्यो नभएकाले कतिपय प्रसङ्गमा भ्रम उतपन्न भएको’ भनेर आफ्नो सफाइ दिएका थिए । राकेश सुदसँगको विन्तीभाउले केही नलागेपछि गुप्तचरहरुमार्फत भारतीय संस्थापनसँग सन्देश पुर्‍याउन प्रचण्डलाई लण्डन, कोरिया, हङकङ र सिङ्गापुरसम्म पुर्‍याएको हो ।  
पुस ७ गतेको नयाँ बानेश्वर भाषणबाट त प्रचण्डले नेपाललाई भारतको प्रान्त अर्थ लाग्ने स्तरमा खुल्ला हस्तक्षेपको आव्हान गरेकै छन् । चौरस्तामा गोर्खा जनमुक्ति मोर्चा, दार्जिलिङका महासचिव पुरन गिरीले अबको बार्ता प्रशासनिक नभइ राजनीतिक तहको दिल्लीमा गरिने बताइरहेको भोलिपल्ट प्रचण्डले पनि भारतलाई नेपालको वास्तविक मालिक बताउँदै दिल्लीमै वार्ता गर्ने बताएका थिए । गिरीले त आफ्नो देशमा नेपाली मूलका भारतीयहरुलाई पहिचान दिलाउन गोर्खाल्यण्का लागि दिल्लीसँग वार्ता गर्नु स्वभाविक हो । तर स्वाधिन देशको प्रमुख दलका प्रमुख नेताबाट यो स्तरमा हस्तक्षेपको आव्हान हुनु दूर्भाग्यपूर्ण हो ।
यसअघि नेपाली राजनीतिमा सद्भावना, त्यसपछि फोरम र अन्य मधेसवादी दलहरुलाई भारत परस्तको आरोप लगाइने गरिन्थ्यो । दश वर्षो सशस्त्र युद्ध र संविधानसभा निर्वाचनपछि ठूलो दल बनेको एनेकपा (माओवादी) को गतिविधि हेर्दा मधेसवादी होइन, उ सत्ताका लागि जेपनि गर्ने सबैभन्दा ठूलो भारतीय दलाल प्रतित हुन थालेको छ । मधेसवादी दलहरुको भारतसँग नजिक हुन खोज्नु आफ्नै खाले अवस्था र वाध्यता होलान् । उनीहरुले मैथली र हिन्दी भाषाको नातामा राजनीतिक स्वार्थ हाँसिल गर्न विहार, युपी र दिल्लीका नेताहरु गुहार्नु सामान्य कुरा हो । तर चर्को राष्ट्रवादको नारा उराल्ने, देशभक्त भनेर दाबी गर्ने पार्टीबाट भारतको स्वार्थमा परिचालित हुनु अकल्पनीय कुरा हो ।
लोकतान्त्रिक आन्दोलनको सफलतापछि संविधानसभा निर्वाचनबाट सरकारको नेतृत्व गर्न पुगेको माओवादीले ९ महिनामा भारतसँगको सिमाविवाद र सन्धिसम्झौता परिवर्तनको कुनै ठोस कुरा अगाडि सारेन । तर बैशाख २१ गते अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वबाट राजीनामा दिएसँगै विदेशी प्रभुको नाममा भारतलाई सराप्न पुनः सुरु गरेका हुन् । अहिले सिमानामा सभा गरेर आफुलाई राष्ट्रवादी पार्टी भएको जनतामा भ्रम दिन खोजिएको छ । माओवादी राष्ट्रवादको नारा गम्भिर संशयपूर्ण छ ।
वषौंदेखि उठेको विषय हो भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको छ, त्यसको दुबै पक्षले सहमतीबाट टुङ्गो लगाउनुु पर्दछ भनेर । पक्कै नेपाली भूमिमा भारतबाट अतिक्रमण पचासौं ठाउँमा हजारौं हेक्टर क्षेत्रमा भएका छन् । तर सामान्य कुटनीति बुझेकालाई थाहा छ, दुई देशको सिमाविवाद सडक र सिमानामा आक्रोसित भाषण गरेर समाधान हुँदैन । यसका लागि कुटनीतिक तहमा राजनीतिक संवाद जरुरी हुन्छ । नेपाली राजनीतिमा एउटा प्रवृति सधैं जीवित छ, त्यो के भने सत्ता बाहिर रहँदा सिमाविवाद तथा सन्धिसम्भौताको विरोध र खारेजीको माग गर्ने, तर सत्तामा रहँदा चुइँ नगर्ने । माओवादीमा पनि यही प्रवृति छ । पछिल्लो राष्ट्रवादी मुद्दा माओवादीले सत्तारोहण भर्‍याङ बनाउन बार्गेनिङका लागि उठाएको प्रष्ट छ । माओवादी राष्ट्रवादको नारा सत्तामा पुर्‍याउ भनेर भारतलाई देखाएको घुर्की मात्र हो । नत्र ऊ कसरी देशमा प्रत्यक्ष हस्तक्षेपको आव्हान गरिरहेको छ  ?
अहिले माओवादी भारतीय संस्थापनको आशिर्वाद पाउन पुच्छर ठाडो पारेर लागेको छ भन्दा अन्यथा नहोला । अनेक घुर्की र रुवाइले पार नलागी रहेको अवस्थामा बल्ल माओवादी नेतृत्वले आफ्नो मालिकलाई विन्तीपत्र चढाउन पाएको छ । भारतीय विदेशमन्त्री एसएम कृष्णासँग सवा घण्टाको दर्शन भेटपछि प्रसन्न बनेका प्रचण्डले आफ्नो विन्तीपत्रको सामान्य छनक मिडियाहरुलाई दिएको सबैले हेरेका, सुनेका र पढेका छौं ।
प्रचण्ड त विन्तीपत्र चढाएपछि खुसी भएका छन् । तर हामी सार्वभौम नेपाली जनता यसबाट दूखी छौं । स्वाधिन देशको मुख्य दलले छिमेकी देशको खुल्लम्खुल्ला गुलामी गर्नु कस्तो दूर्भाग्यपूर्ण ? १९७५ को सिक्किम घटना नेपाल दोहोर्‍याउने मलामी राष्ट्रवादको नारा लगाउने माओवादीहरु नबनुन् । आशा गरौं, दशेको ठूलो दल मातृभूमिको नक्सा भूगोलबाट विलिन पार्ने जघन्य अपराधमा सामेल हुने छैन ।
प्रकाशित मिति: February 1, 2010 2:37 am http://www.nepalplus.com/archives/6319

No comments:

Post a Comment