RD KULUNG NEPALI |
–आरडी कुलुङ नेपाली
अहिले नेपाली सञ्चारमाध्यममा दुईवटा समाचार चर्चामा छन् । पत्रकार डेकेन्द्रराज थापाको हत्याराहरुमध्ये ५ जनाको दैलेख र नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको लण्डनमा पक्राउ । स्वदेश र विदेशमा भएका फरक दुई घटनाहरु आपसमा अन्तरसम्बन्धित छन् । नेकपा (माओवादी)ले भारतीय संरक्षणमा सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षसँग दुबै घटनाको पृष्ठभूमि जोडिएको छ । सशस्त्र संघर्षका क्रममा तात्कालिन राज्य पक्ष र विद्रोही पक्षबाट अनगिन्ती मानवता विरुद्धका गम्भिर अपराधहरु भएका छन् । ति अपराधहरुमाथि उचित छानविन र कारबाही सबै शान्ति र न्यायप्रेमीहरुको माग हो । बहालवाला कर्णेल लामा र पत्रकार थापाका हत्याराहरुको पक्राउले मानवता विरुद्ध अपराध गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो बजेको प्रष्ट आभाष मिलेकाछन् ।
मानवता विरुद्ध अपराधहरुमध्येका एक नाइके वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् । दैलेखमा पत्रकार डेकेन्द्रराज थापालाई जिउँदै गाड्नेहरु र ब्यारेकमा धेरै जनताका छोराछोरीलाई गैह्रन्यायिक यातना दिने कर्णेलको पक्राउले भट्टराईको होस उडेको छ । हुन पनि सशस्त्र द्धन्द्धका मानवता विरोधी माओवादी अपराधको न्यायिक छानविन गर्ने हो नेतृत्वकर्ता भट्टराईहरु जेलमा सड्न सक्छन् । माडी काण्ड, मुक्तिनाथ अधिकारीको हत्या यसका सामान्य उदाहरण हुन् । गाउँ गाउँमा बोका जसरी माओवादीद्धारा निहत्था मान्छे काटिएका थिए । जीउँदै खोलामा फ्याँकिएका वा गाडिएका थिए । द्धन्द्धकालमा आफूले गरेको अपराधको सजाय बोक्नु पर्ने डरकै कारण मैना सुनुवारको हत्यारा राजु बस्नेतको बढुवा माओवादी सरकारले तमाम देशवासीको विरोधका बावजुद्ध गराएको थियो । भैरवानाथ गणमा बन्दीहरुलाई बेपत्ता बनाउनेहरुलाई काखी च्यापेको पनि त्यही डरकै कारण हो ।
वास्तवमा माओवादी सशस्त्र संघर्ष कुनै राजनीतिक, सामाजिक परिवर्तन वा न्याय र समानता लागि थिएन । केही ध्र्रुत महत्वकांक्षीहरुको महत्वकांक्ष हाँसिल गर्न भारत सरकारको संरक्षण र तात्कालिन राजसंस्थाको सदासयतामा रचिएको एउटा प्रपञ्च थियो । यो कुनै आरोप होइन, माओवादी र त्यस सम्बद्धहरुले सार्वजनिक गरेका तथ्यहरुले नै यसलाई पुष्टि गरीसकेका छन् । बर्षौंको अविकास, पछौटेपन, अशिक्षा, गरिबी, जनतामा भएको परिवर्तनको चाहना र निम्नपूँजिवादी अधैर्यताका कारण उनीहरुले बेचेको तिलस्मी सपनाको व्यापारमा धेरैले विश्वास गरे । माओवादी तिलस्मी सपनाको नेटवर्किङ व्यापारमा गरिबका छोराछोरी बजार प्रतिनिधि बन्न मञ्जुर भए । जीवन अर्पण गरे । जसरी भएपनि सत्तामा पुग्ने प्रचण्ड–बाबुरामहरुको महत्वकांक्ष सफल भयो । उनीहरुलाई चाहिएको पद, पैसा र पावर थियो, जो पाइसकेका छन् । शान्ति, लोकतन्त्र, विकास र परिवर्तन उनीहरुको एजेण्डा नै थिएन । अनि कसरी गर्छन् हिजो आफ्नो कार्यकर्ताको गैह्र न्यायिक हत्या गर्ने सेनाका अधिकारीहरुलाई कारवाही ? जुन अब आशा गर्नु ‘आकाशको फल आँखा तरिमर्नु’ जस्तै हो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पौष २४ गते पत्रकार डेकेन्द्रराज थापाको हत्याराहरुको पक्षमा सार्वजनिक अभिव्यक्ति दिए । यसले उनी दण्डहिनताको पक्षमा छन् भन्ने थप स्पष्ट भएको छ । राज्य आफैं अपराधीको संरक्षणमा नाङ्गो रुपमा लागेको छ । यो घटनाले नेपाली शीर निहुरिएको छ । समाचार सुनेर अपराधीहरुलाई कानुनले दण्डित गर्ने आशमा रहेकाहरु निरास भएका छन् । पत्रकार थापालाई आफूहरुले जिउँदै गाडेर मारेको बयान दिँदादिँदै राज्य अपराधिहरुकै पक्षमा हुनु जतिको अरु बिडम्बना के हुन सक्छ ?
पत्रकार थापाको हत्याराहरुको पक्षमा डा. भट्टराईले खुल्लेआम अभिव्यक्ति दिनु आफ्नो सपना पुरा भएको संकेत हो । यसले सरकार अपराधिहरु आस्था पुञ्ज भएको पनि प्रमाणित भएको छ । संसारमा प्रधानमन्त्री स्वय् हत्याराको संरक्षण खुल्लमखुल्ला अगाडि आएको घटना संसारमै यो पहिलो हुन सक्छ । अब बाबुरामहरु हिँजो द्धन्द्धमा मानवाता विरुद्ध कुनै अपराध भएकै थिएन, भएको भए त्यो छानविन गर्न आवश्यक छैन भन्ने सोँचमा पुगेका छन् ।
माओवादीको असहमतीकै कारण आजभन्दा पाँचवर्ष पहिले बन्नु पर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोग बन्न सकेन । अहिले सामान्य क्षतीपूर्ति दिएर द्धन्द्धकालका अपराधिलाई उम्काउने दाउमा माओवादी लागेको छ । माथि नै भनि सकिएको छ, ‘आफैँ कारबाही हुने डरले’ माओवादी मानवता विरुद्ध भएको अपराध छानवीन गर्ने पक्षमा छैन । तर सबै न्यायप्रेमी र लोकतन्त्रवादीहरु चुप लागेर बस्न हुन्न । निकम्मा प्रतिपक्ष र निष्कृय नागरिक अधिकारकर्मीहरुका कारण अपराधीहरुको स्वर ठूलो भइरहेको छ ।
सरकार र सरकारको नेतृत्वमा रहेको एमाओवादीले मानवता विरोधी अपराध संरक्षण संरक्षण गरी रहँदा त्यसको आवश्यक विरोध वा प्रतिरोध हुन सकेको छैन । अपराध संरक्षण गर्ने भट्टराई सरकारको सक्दो विरोध हुनु आवश्यक छ । सार्वजनिक यातायातमा विस्फोटन गराएर दर्जनौ माडीवासीको सामुहिक हत्या गर्ने प्रचण्ड हुन् या मैना सुनुवारको हत्यारा राजु बस्नेत सबैलाई अन्तराष्ट्रिय कानुन अुनसार दण्डित गरिनु पर्दछ । रुक्माङ्गत कटवाल, तोरणबहादुर सिंह, बाबुराम भट्टराई, मोहन बैद्य, अग्नी सापकोटा जो सुकै मानवता विरुद्ध आपराध गर्नेहरुमाथि अन्तराष्ट्रिय कानुन अनुसार छानविन र कारबाही गर्नै पर्दछ । द्धन्द्धको नाममा गरिएका यस्ता अपराधले कुनै हालत छुट पाउनु हुन्न । कृष्णसेनका हत्यारा तोरण ंिसह हुन् या डेकेन्द्रराज थापाका हत्याराहरु लक्ष्मीराम घर्ति, हरिलाल पुनमगर, वीरबहादुर केसी, निरकबहादुर घर्तिमगर र जयबहादुर शाही कसैलाई उन्मुक्ति दिइनु हुन्न ।
सशस्त्र संघर्षका क्रममा मानवीय क्षति हुन्छ । तर त्यसका निश्चित नियम र मापदण्ड हुन्छन् । निःशस्त्र व्यक्तिलाई नियन्त्रणमा लिएर हत्य गर्नु मानवता विरुद्धको अपराध हो । अन्तराष्ट्रिय अभिसन्धिले मानवता विरुद्धको अपराधलाई दण्डनीय बनाएको छ । माओवादीहरु आफैँ युद्धकालमा जेनेभा अभिसन्धिको बारम्बार वकालत गर्थे । शान्ति प्रकृया र सत्तामा आएपछि त्यसप्रति उनीहरु गम्भिर छैनन् । कारण नेतृत्वकर्ताहरुको अभिष्ट पुरा भइसकेको छ । सशस्त्र द्धन्द्धको १० वर्षमा ९ वर्ष प्रचण्ड–बाबुरामहरु भारतमा आरामको जीवन विताएर बसे । उनीहरुमाथि कुनै ज्यादती भएन । भयो त सर्वसाधारण जनता वा तिनका बजारप्रतिनिधिहरुलाई भयो । उनीहरुले द्धन्द्धको कुनै मार खेप्नु परेन ।
डेकेन्द्र थापाको हत्याराहरुलाई बचाउने मतैक्यताले ड्यास र क्यास दुबै माओवादी हत्याराहरुको झुण्ड मात्रै भएको थप प्रमाणित भएको छ । उनीहरु खानेभाग बण्डामा नमिलेर मात्रै अलग बसेको यसले देखाएको छ । राजनीतिक दलको नाममा अपराधिहरुले शासन कब्जा गर्नु ज्यादै खतरनाक छ । अहिले नेपालमा राजनीतिक दलको नाममा अपराधीहरुले शासन चलाएका छन् । लोकतान्त्रिक भनिएका दलहरु निकम्मा र निष्कृय छन् । जसका कारण दण्डहिनताले प्रश्रय पाएको छ । गुण्डाराज चलेको छ । यसको अन्त्य आवश्यक छ । दण्डहिनता आवश्यक छ । द्धन्द्धका नाममा मानवता विरोधी अपराध गर्नेहरुमाथि छानविन र कारबाही हुनु पर्दछ । यसका लागि सबै न्याय, समानता, शान्ति, लोकतन्त्र, वाक तथा अभिव्यक्ति स्वतन्त्रता र अमनचयन चाहनेहरु एक पटक जुर्मुराएर उठ्ने बेला भएको छ ।
No comments:
Post a Comment