Achyuta Wagle |
(कान्तिपुर दैनिकबाट पत्रकार अच्युत वाग्लेको लेख साभार गरेर पोष्ट गरेको छु । समसामयिक परिस्थितिमा यो लेख सान्दर्भिक छ । – आरडी)
वर्तमान नेपालको संवैधानिक र राजनीतिक बहसलाई एकैछिन परै राखेर
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी मन्त्रीमण्डललाई
हेरौं । सबै योग्यहरू मात्रले बनेको नेपालको इतिहासमा यो पहिलो सरकार हो ।
सरकार प्रमुख र मन्त्रीहरू कोही पनि एमएभन्दा कम पढेका छैनन् । दस-बाह्र
देश नघुमेको र दुई-चार गतिला भनिएका पुस्तक नपढेको पनि कोही छैन । उनीहरूमा
भएको सुशासन बारेको ज्ञान र अनुभवको त झन् कुरै भएन, सबै पूर्वप्रशासकहरू
भएपछि । अनुशासन पालनाको पनि आपmनै पक्ष छ । सेता दौरासुरुवाल र ग्रेकोट
फेरी सरकारी कार्यालयभित्र छिरेका छन्, जसले प्रचण्डपथले नेपालमा गरेको
सांस्कृतिक क्रान्तिको एक चक्र पूरा भएको जस्तो लाग्न थालेको छ । कम पढेका र
विकास, अर्थतन्त्र, प्रशासन, कूटनीति आदिबारे कखरा नै नजानेका मानिसहरू
प्रधानमन्त्री र मन्त्रीहरू बन्ने गरेकोले नेपालले आर्थिक उन्नति गर्न
नसकेको आम गुनासो दसकौंदेखि रहँदै आएको छ । अहिलेको सरकार यी दोषमुक्त छ ।
यस्तो योग्य सरकारले मुलुक सञ्चालन गरेका बेला मुलुकको आर्थतन्त्रले
सकारात्मक दिशा लिने अपेक्षा गरिनु स्वाभाविक हो । आम जनताको दैनिक जीवनलाई
अलिकति भए पनि सहज बनाउन, व्यवसाय-योग्य वातावरण पुनःस्थापना गर्न, निजी
सम्पत्ति अधिकारको भविष्यबारे रहेको आशंका कम गर्न र पुँजी पलायनको गतिलाई
थोरै भए पनि घटाउनसक्यो भनेमात्रै पनि नेपाली अर्थतन्त्रले ठूलै राहत पाउँछ
। डेढ दसकदेखि औसत वाषिर्क साढे तीन प्रतिशतमा टाक्सिएको मुलुकको आर्थिक
वृद्धिदर अलि बढ्नेछ । तर दुर्भाग्यवश, संकेतहरू भने पटक्कै राम्रा देखिएका
छैनन् । पहिलो, चार दलले यो सरकार निर्माणका लागि गरेको एघारबुँदे सहमतिमा
अर्थतन्त्रलाई तत्काल राहत दिन तत्काल गर्नुपर्ने कदमहरूबारे केही उल्लेख
भएन । कम्तीमा समयमै बजेट ल्याउने, आर्थिक कूटनीतिलाई दल विशेषको होइन,
मुलुकको साझा रणनीतिका रूपमा सञ्चालन गर्ने र अहिले हतास अवस्थामा पुगेको
निजी क्षेत्रको मनोबललाई ढाडस दिने विषयमा दलहरूले बोल्नैपथ्र्यो । त्यसले
अहिलेको सरकारलाई यस दिशामा अगाडि बढ्न एउटा मार्ग प्रदान गथ्र्यो । त्यो
हुनसकेन । निजी क्षेत्रले यसमा असन्तुष्टि देखाइसकेको छ ।
दोस्रो, यो सरकारको जिम्मा 'चुनाव गराउनेमात्र' भएकोले आर्थिक पक्षमा धेरै
अपेक्षा नगएकिो निराशावादी प्रचार जसरी ठूला दलका नेताहरूले नै गरिरहेका
छन्, त्यो झन् आपत्तिजनक छ । र समस्याको चुरो पनि त्यहीं छ । राजनीति
संक्रमणमा रहेको बेला अर्थतन्त्र व्यवस्थापनको चुनौती सामान्य समयमा भन्दा
बढी हुन्छ र यस्तै बेला सबभन्दा बुद्धिमतापूर्ण र प्राविधिक दृष्टिले
सम्पुष्ट निर्णयको आवश्यकता हुन्छ । द्वन्द्वपछिको अर्थतन्त्रलाई विशिष्ठ
प्राविधिक शैलीमा व्यवस्थित गर्ने आवश्यकता शान्ति सम्झौता भएयता राज्य
सञ्चालनको जिम्मा लिने राजनीतिक दलहरूले पटक्कै महसुस गरेनन् । अहिले
चुनावी सरकारले अर्थतन्त्रको अवस्थालाई ध्यान दिनु पर्दैन भन्नु पनि त्यही
गैरजिम्मेवारीपनको निरन्तरता हो । यस्तो बेला अन्य क्षेत्रको जत्तिनै
क्षमतावान भए पनि अर्थतन्त्र र आर्थिक एवं वित्तीय वित्तीय विषयमा
प्राविधिक ज्ञान नभएको व्यक्तिलाई अर्थमन्त्री बनउँदा अर्थतन्त्र उँभो
लाग्दैन भन्ने कुरा ताजा विगतले प्रमाणित गरिसकेको छ । अहिले ती सबै गल्ती
चुनावी सरकारको नाममा फेरि दोहोर्याइएको छ ।
तेस्रो, सिङ्गो मुलुकी प्रशासन, खासगरी अर्थतन्त्र 'कर्मचारी मानसकिता'को
सिकार हुने सम्भावना प्रबल छ । प्रशासकहरू राजनीतिक नेतृत्वको निर्देशनमा
काम गर्न अभ्यस्त भएका हुन्छन् । कसैले नअह्राए काम नगर्ने प्रवृत्ति
नोकरशाहहरूको विश्वव्यापी चरित्र हो । अहिले प्रशासकहरू नै मन्त्री भएपछि
सिङ्गो प्रशासन संयन्त्रको उत्पादकत्व न्यून हुने र त्यसको असर
अर्थतन्त्रमा पर्ने सम्भावना प्रबल छ । त्यसमाथि भाग्योदय चिरुा परेर पाएको
यो मन्त्री पदमा असफल भए पनि भोलि चुनाव लड्नु वा कसैप्रति जिम्मेवार हुनु
नपर्ने र पेन्सनपट्टा बोकेर आरामको जीवन चलाउन पाउनेहरूलाई अहिले जोखिम
उठाएर सिर्जनात्क र परिणाममुखी काम गर्ने ऊर्जा कसरी प्राप्त होला भन्ने
प्रश्न पनि यहाँ उत्तिकै सान्दर्भिक छ ।
अहिले 'बिनाकाम' सिंहदरवार प्रवेश गर्नेहरू स्वात्तै घटेका र मन्त्रीको
सचिवालयमा काम गर्ने कर्मचारीहरूले ठूलो राहत महसुस गरेका जस्ता समाचारहरू
आएका छन् । सतहमा यस्तो गतिविधि वा घर्षण शून्यता निकै राम्रो पक्षजस्तो
देखिए पनि अर्थशास्त्रीय दृष्टिले यो डरलाग्दो पक्ष हो । अर्थतन्त्र दुईवटा
घर्षणहरूले चल्छ— एक, माग र आपूर्ति बीचको घर्षण र दुई, आर्थिक दर्शनहरू
बीचको घर्षण । सिंहदरबार भित्रिनेहरूको संख्यामा कमी आउनु भनेको प्रशासन
सेवाको मागमा कमी आउनु हो । यतिखेर सबै शासकीय अधिकार सिंहरदरबारले मात्र
प्रयोग गरेर राज्य सञ्चालन गरिरहेको छ । जनताले आफूले पाउनुपर्ने सेवाहरूको
माग राख्ने अन्य कुनै निकाय राज्यमा व्यवहारतः ज्यँुदो छैन । यस्तो
अवस्थामा जनता त्यहाँ पनि जान छाडेपछि सेवा आपूर्ति संयन्त्रलाई काम
गरिरहने झन्झट नै नआउने अवस्था पैदा भएको छ । त्यस्तै नेपालमा आर्थिक
दर्शनहरू बीचको घर्षण अव्यवस्थित छ । यसको चर्चा यो लेखको सन्दर्भभन्दा
अलि बाहिरको विषय हो । तैपनि संक्षेपमा, मुलुकले आर्थिक विकासका दीर्घकालीन
आवश्यकता, लक्ष्य र कार्ययोजनाहरूको पहिचान गर्छ । तिनलाई प्राप्त गर्ने
माध्यम र मार्गबारे विभिन्न राजनीतिक दर्शनहरूका फरक अवधारणाहरू हुन्छन् । र
तिनको कार्यान्यवनका लागि जनअनुमोदन गराउने क्रममा पैदा हुने घर्षण दोस्रो
प्रकृतिको हो । यसबारे अहिले यत्ति नै । तर सार के हो भने अहिलेकै
अवस्थामा सिंहदरबार सुनसान भएपछि मुलुकले उन्नति गर्छ भन्ने मानसिकता
विलकुलै सत्य होइन । यसलाई सत्य बनाउन आम मानिसको पहुँच पुग्ने तहसम्म
राज्यको सेवाप्रदाय सञ्जाल पुगेको र क्रियाशील हुनुपर्छ । त्यसैले अहिले नै
सिंहदरबारभित्र देखिएको घर्षणशून्यता प्रत्युत्पादक हो, सन्तोषको कारक
होइन । यो वास्तविकता अहिलेको सरकारले सायद आत्मसाथ गर्न चाहेको छैन ।
संसारका प्रायः सबै विख्यात राजनीतिक—प्रशासनका सिद्धान्त विश्लेषकहरूको
'जनताप्रति प्रत्यक्ष उत्तरदायी हुनु नपर्ने नोकरशाहहरूले चलाउने प्रशासनले
मुलुकको उन्नति गर्न सक्दैन' भन्ने समानप्रायः निष्कर्ष छ । अहिलेको
नेपालको सरकारलाई यो अवधारणा विपरीतको वास्तविकता प्रमाणित गर्ने अवसर भने
प्राप्त भएको छ । किनभने अरु कसैलाई समावेश नगरिएको, शुद्ध प्रशासकहरूको
मात्र यस्तो मन्त्रीमण्डल संसारको विरलै मध्येको हो । बङ्गलादेश र एक-दुई
अफ्रिकी मुलुकहरूमा यस्तो सरकार गठन गरिएको उदाहरण अक्सर दिइन्छ । तर
त्यहाँ बनेका यस्ता मन्त्रीमण्डलहरूमा स्वतन्त्र पेसाकर्मी र प्राविधिकहरू
समेतलाई समावेश नगरिएको उदाहरण छैन । तर चाखलाग्दो पक्ष के छ भने राजनीतिक
दलहरू समावेश नभएका यस्ता धेरैवटा सरकारहरूको औचित्य पुष्टि गर्ने
आधारचाहिँ उनीहरूले राजनीति निरपेक्ष भएर अर्थतन्त्रलाई पुर्याएको टेवा
हुने गरेको छ । उदाहरणका लागि, बङ्गलादेशको यस्तै प्रकृतिको सरकार त्यहाँको
गार्मेन्ट उद्योगलाई डुब्नबाट बचाउने आर्थिक कूटनीति गर्न सफल भयो ।
मन्त्रीमण्डलमा समावेश भएका सबैलाई अर्थतन्त्रमा परेका अड्कोहरूको
फेहरिस्त कण्ठै छ । समयमै आगामी आर्थिक वर्षको बजेट ल्याउने र कथं
असारभित्रै चुनाव हुने भयो भने यसै आर्थिक वर्षको बजेट परिमार्जन गर्न
जुट्नु पर्नेछ । राजनीतिक अस्थिरताले धेरै वर्षदेखि नेपाल विकास मञ्चको
बैठक हुनसकेको छैन । कतिपय ठूलो वैदेशिक लगानीका, खासगरी जलविद्युत
आयोजनाहरूको अनुमति प्रक्रिया राजनीतिक खिचातानीमा परेर अड्किएको छ ।
निर्वाचनमा नै हुने खर्च जुटाउन पनि दाताहरूको विश्वास जित्नुपर्ने
आवश्यकता छ । सबै नसके पनि यी मध्येका केही काम यो सरकारले गर्नसक्यो
भनेमात्र यी 'योग्य'हरूको योग्यता वास्तवमा पुष्टि हुनेछ । अन्यथा
प्राज्ञिक/प्राविधिक रूपमा जति नै योग्य भए पनि राज्य सञ्चालनको नेतृत्व नै
गर्नचाहिँ प्रशासकहरू योग्य हुँदैनन् भन्ने फेरि एकपटक प्रमाणित हुनेछ ।
यस अर्थमा, यो मन्त्रीमण्डलका सदस्यहरू र नेपालको अर्थतन्त्र दुबैलाई
अहिलेको अवस्था चुनौती र अवसर दुवै हो ।
No comments:
Post a Comment