Monday, February 4, 2013

केही सम्झनाहरु

मैले जतिखेर नेपाल ग्रामीण पुनःनिर्माण संस्था(आरआरएन)को कर्मचारीका रुपमा २०५७ सालको अन्तिम महिनाबाट जागीर सुरु गरेँ । त्यस बेला माओवादी विद्रोहले उत्कर्षता लिँदै थियो । सुरुदेखि नै माओवादीहरु गैरसरकारी संस्था(गैसस) र तिनका कर्मचारीहरुलाई राम्रो मान्दैनथे । जता भेट्यो त्यहीँ गैससका कर्मचारीहरुलाई उनीहरु गाली गर्थे । प्राय माओवादीहरुको गाली गर्ने शब्द एउटै हुन्थ्यो । हामीलाई उनीहरु भाडाका टट्टु र साम्राज्यवादीका जासुस् भन्थे । यद्यपी २०५८ मंसिर ११ गतेको संकटकाल घोषणाअघि गैससहरुप्रति उनीहरु धेरै निर्मम थिएनन् ।

संकटकाल घोषणासँगै तात्कालिन सरकारले माओवादी मात्र होइन, उनीहरुप्रति सदभाव राख्नेहरुमाथि कडा नीति अपनायो । धेरै नागरिकले अनाहकमा राज्यपक्षबाट ज्यान गुमाए, यातना पाए । एउटा महासंकट नै झेल्नु प¥यो गाउँगाउँमा जनताले । संकटकाल घोषणा भएको बेला संखुवासभाकै विकटमध्ये एक पावाखोलाको पावाखोला गाउँमा थिएँ । दुर्गम गाउँ भएकाले संकटकालको त्यहाँ कुनै प्रभाव देखिएको थिएन । तर सञ्चारमाध्यमहरुमा यसको प्रभाव महसुस हुन थालेको थियो । त्यसैले मंसिर १४ गते मेरो स्टाफ दोर्जी भोटेसँग फर्कियोै । नुम आइ पुग्दा संक्ट कालकोे प्रभाव प्रष्ट महशुस भयो । सबै गाउँलेहरु आत्म सर्मपणका लागि खाँदबारी लाम लागेर आइरहेका थिए । मनमा अनेक तर्कना गर्दै, कतै सेनाले मारी त हाल्दैन ? धेरैमा चिन्ता थियो । आत्म सर्मपण गर्नेहरुको हुलले बाटोमा बाससमेत पाइएन । वास्तवमा त्यो दृष्य भारत–पाकिस्तान विभाजनपछि सिमाना पार गर्ने हिन्दु मुस्लिम भीड जस्तै हुल थियो ।

सरकारको अन्धाधुन्द दमनले माओवादीहरु थप मौलाए । पहिले सहानुभूति नराख्नेहरुसमेत उनीहरुलाई माया गर्ने भए । त्यो सरकारी दमनको नतिजा थियो । माओवादीहरु पनि संकटकालसँगै बढी कठोर हुन थाले । विशेष गरी गैसस र उनीहरुलाई प्रश्न उठाउनेहरुमाथि । माओवादीहरुले गाउँ खाली गर्दै सबैलाई काम गर्न रोक लगाउन थाले । जताबाट आएको उतै नर्फिए राम्रो नहुने चेतावनी हुन्थ्यो उनीहरुको । देशमा संकटकाल लागेपछि दर्जनौं पटक माओवादीका साना ठूला नेता कार्यकर्ताबाट यस्ता चेतावनी मैले पनि पाएँ । तीनचार पटक त गोविन्द गिरीलाई जस्तै अरुण नदीमा फाल्ने धम्की नै दिए । जिल्ला वन कार्यालय, संखुवासभाका वन रक्षक गिरीलाई माओवादीहरुले सरकारी पक्षको जासुसी गरेको आरोपमा हातखुट्टा बाँधेर जिउँदै २०५९ जेठमा अरुणमा मिल्काएका थिए । तै सकेसम्म विद्रोही पक्षलाई कन्भिन्स् गरेर काम गरियो ।

सरकारी पक्षबाट पनि गैससहरुलाई शंकाको दृष्टिबाट हेरिन्थ्यो । विद्रोही माओवादीसँग मिलेर गाउँमा काम गरेको सरकारी पक्षको आरोप थियो । त्यसैले प्राय सुरक्षाकर्मीहरु गैससका कामहरुबारे गोप्य रुपमा जानकारी लिइरहन्थे । कर्मचारीहरुको पृष्ठभूमि, उनीहरुको गतिविधि, कार्यक्षेत्र र संगतकाबारे चासो राख्थे । कैयौं पटक मानसिक यातना उनीहरु दिन्थे । आफैँले त्यो अवस्था अनेकौं पटक व्योहोर्नु प¥यो । खाँदबारीको डेरामा सेनाले खनतलासी लियो । अन्य गैससका कर्मचारीहरुले पनि कति हो कति यस्ता मानसिक यातना दुबै पक्षबाट पाए । यस्तो दुईतिरको दवावले गैससका कमचारीहरु भित्रभित्रै पिल्सिएका थिए । कतिपय अवस्थामा उनीहरुलाई मानसिक डिप्रेसनसमेत भएको थियो ।

सदरमुकाम वरिपरि काम गर्नेहरु धेरै समस्या थिएन । तर म जस्ता ग्रामीण क्षेत्रमा रहेर काम गर्नेहरुलाई ज्यादै गाह्रो थियो । मैले द्धन्द्धका समयमा हटिया, पावाखोला, नुम, मत्स्यपोरी, दिदिङ, बाह्रविसे, सभापोखरी, जलजला, सिद्धपोखरी, सिद्धकाली, नुनढाकी, मावादिन, मादीरामबेनी, मादीमुलखर्क, तामाफोक जस्ता गाविसहरुमा काम गरेको छु । जुन संखुवासभाका सबैभन्दा संवेदशील क्षेत्र थिए । गैह्रसरकारी संस्थाका कर्मचारीहरु जताततै जनताले अँध्यारो देखिरहेका बेला थोरै भएपनि आशाको सन्देश लिएर गाउँ गाउँमा गइरहेका थिए । वास्तवमा गैससहरु नै संकटका बेला जनतालाई परिवर्तन आशा जगाउनेहरु थिए । उनीहरु भोलि अवश्य राम्रो हुनेछ भन्दै जनताका निराशा हटाएर सपना देखाइ रहेका थिए । चुनौति चौतर्फी थियो । बोल्न मन लाग्थ्यो । आफ्ना विचारलाई धक फुकाएर राख्न मन लाग्थ्यो । पीडाहरु पोख्न मन लाग्थ्यो । तर विचार राख्न सजिलो थिएन । सार्वजनिक अभिव्यक्ति दिउँ सरकार र विद्रोही दुबैको भोलि टार्गेट बन्नु पर्ने । अफिसमा छलफल गरौ, कसैसँग केही उपाय थिएन । सकेसम्म जोखिमबाट बच्दै काम गर्नु वा जागीर त्याग्नुको विकल्प थिएन ।

वास्तवमै एउटा उकुसमुकुसको अवस्था थियो त्यो समय । जति बेला म द इष्ट फाउण्डेसन(टिइएफ)मा काम गर्थेँ, माओवादी विद्रोह र ज्ञानेन्द्र शाहको तानाशाही दुबै उत्कर्षमा थिए । म लगायत टिइएफ, सिलिचोङ क्लब, सोडेक लगायतका संस्थामा काम गर्ने युवाहरु पीडा पोख्ने चौतारीको खोजीमा तड्पिएका थियौं २०६२ सालको सुरुवाततिर । म, गंगाप्रसाद चाम्लिङ, तेज तामाङ, सुन्दर चाम्लिङ, गोविन्द तामाङ, सोलिरा राई, विजया राई, सीता राई, बलिराज गुरुङ, प्रेमचन्द्र कुलुङ लगायतका साथीहरु दुबै पक्षले दिएको ताड्ना र मनमा उठेका तरङ्गहरुकाबारेमा छलफल गथ्र्यौं । हामी वास्तवमै पीडा पोखाउने मञ्चको खोजीमा चिन्तनमा थियौं । हामी एउटा यस्तो समूहको निर्माण गर्ने, जो साँच्चै उन्मुक्तिको प्रतीक बनोस् भन्ने चाहन्थ्यौं । त्यसमा स्वतन्त्र मानिसका, स्वतन्त्र र उन्मुक्त विचार राख्न पाइयोस्, कही कसैको नियन्त्रण नहोस् भन्ने कल्पना गर्दथ्यौंं ।

हाम्रा विचार प्रवाहका लागि पत्रिका प्रकाशनको सोंचाइमा पुग्यौं । समूहको साझा विचारको आउटलाइन बनाउने जिम्मा मैले पाएँ र तीन पेजको दस्तावेजसमेत तयार गरेंको थिएँ । त्यसमा विचारको बन्देज थिएन । वास्तवमा हाम्रो त्यो समूह ‘क्वान्टम सिद्धान्त’मा विश्वास गर्दथ्यो र मानिसहरु क्वान्टा जस्तै हुन्छन् भन्ने मान्दथ्यो । हामलिे प्रकाशन गर्ने पत्रिकाको विचार क्वान्टम थ्योरीमा आधारित भएकाले क्वान्टम आवाज नाममा प्रकाशन सुरु गर्ने भयौं । तर केही साथीहरुले नाम जटिल हुने भनेपछि नाम परिवर्तन गरियो । हाम्रो स्वाभिमान मासिकका नाममा जिल्ला प्रशासन कायाृलय, संखुवासभामा पत्रिका २०६२ मंसिरमा दर्तापछि पहिलो अंक त्यही महिना प्रकाशन भयो । जसको प्रकाशक म थिएँ ।

द्धन्द्धका समयमा हामीलाई जीवनप्रतिको उर्जा सकारात्मक दृष्टिकोणले दिएको थियो । हामी सकारात्मकतामा विश्वास गर्दथ्यौं । पत्रिकाको एउटा उदेश्य हामीले समाजमा पु¥याएका सकारात्मक योगदान र सकारात्मक पक्षहरु बारेमा लेख्दै नागरिकहरुलाई भविश्यप्रति विश्वास जगाउनु थियो । राजाको तानाशाही र माओवादी युद्धले सबैको मन छियाछिया बनेको थियो । चार अंक प्रकाशन भएको त्यो पत्रिकाले संखुवासभाको पत्रकारितामा एउटा बेग्लै इतिहास छाड्यो । समूहका सदस्यहरु सबै अलग थलग हुँदै जाँदा पत्रिका आफैं पनि इतिहाँस बन्यो ।

क्वान्टम थ्योरीमाथिको विश्वास र प्रसंसनीय दृष्टिकोणको प्रचार गर्ने हुटहुटीले मलाई केही लेख्न प्रेरित ग¥यो । हाम्रो स्वाभिमान मासिकको सम्पादक गोविन्द तामाङ भएपनि मैले नै सबै काम गरें । यसले मलाई पत्रकारिताप्रति रस भिज्यो । आफूलाई पत्रकारितामा खोज्न थालें । अर्को संखुवासभाको पत्रकारितामा आदिवासीहरुको सहभागीता पटक्कै थिएन । सञ्चारक्षेत्रमा आदिवासी सहभागिता हुनुपर्छ भन्ने मान्यताले पनि मैले लेखनलाई निरन्तरता दिन थालेंँ । हुन त मैले २०५८ सालतिर पनि स्थानीय पत्रिकाहरुमा वातावरण सम्बन्धि लेखहरु लेखेको थिएँ ।

२०६२÷०६३ को जनआन्दोलन सफलतासँगै माओवादीहरु शान्तिपूर्ण राजनीतिमा आए । २०६३ चैतमा टिइएफको जागीर छाडेपछि त्यही महिनाबाट मकालु सन्देश साप्ताहिकको सम्पादकको रुपमा पूर्णकालीन पत्रकारितामा आएँ । अहिले मकालु सन्देश साप्ताहिक लोकतन्त्र र नागरिक अधिकारप्रति प्रतिबद्ध व्यवसायिक पत्रिकाको रुपमा प्रकाशन भइरहेको छ । २०६३ सालको अन्तिमदेखि २०६६ को अन्तिमसम्म स्थानीय र केही राष्ट्रिय तथा क्षेत्रीय संञ्चार संस्थामा सञ्चारकर्मीको रुपमा सकृय काम गरेँ । तथापि जीवन सोंचे जस्तो सरल रेखामा नबग्दैन रहेछ । अहिले पत्रकारितामा मेरो सकृयता कम भएको छ ।

No comments:

Post a Comment