Friday, February 1, 2013

साझा श्रीमती हुने दाजु भाइको दैनिकी

Krishna, Tsedar & Tsiring
राजधन कुलुङ/संखुवासभा,
संखुवासभा किमाथांका– १ का पेमा शेर्पा(५५) र छेदर शेर्पा(४९) चारदाजुभाइध्ये जेठा र माहिला हुन् । परिवारका चारमध्ये साइला छेवी र कान्छा टासी छुट्टिएर अलग्गै आफ्नो परिवारका साथ बस्छन् । तर पेमा र छेदर बाबुकै पालादेखि सँगै बस्दै आएका छन् । पहिलेको सगोल परिवार जस्तै अहिले पनि उनीहरुको एउटै परिवार छ । दुबैको साझा श्रीमतीका रुपमा २६ वर्षदेखि छिरिङ भुटिक(४९) छिन् ।

दाजुभाइ सँगै बस्छन्, खान्छन्, सुत्छन् । दिउँसो अधिकांश समयसँगै काममा जान्छन् । उनीहरुलाई दाजुभाइको एउटै श्रीमती भएकोमा कुनै अप्ठ्यारो छैन । श्रीमतीसँग बस्ने उनीहरुको आफ्नै समझदारी छ । साझा श्रीमतीबाट दुबैको गरी २ छोरी र ३ छोरा जन्मिएका छन् । अझ यसो भनौ बहु विवाह गर्ने पुरुषको मिलेका दुईवटी श्रीमतीहरु जस्तै छ, दाजुभाइको सम्बन्ध । दुबैलाई अप्ठ्यारो महशुस हुन्छ त, जब अन्य गाउँका कोही घरमा आइपुगे प्रश्न सोध्दा हुन्छ ।

यो पङ्तीकार २०६६ जेठको १२ गतेको साँझ उनीहरुको घर पुग्दा बाहिर पानी परिरहेको थियो । भित्र पेमा र छेदर दाजुभाइ चुलोको पूर्वपट्टि आगो ताप्दै कुरा गरिरहेका थिए । चुलोको पश्चिमपट्टि बसेर श्रीमती छिरिङभूटिक फापर भुटिरहेकी थिइन् । किमाथांका गाविस सचिव कृष्ण खनालका साथमा गएको पङ्तीकारसँग कुरा गर्न सुरुमा उनीहरुले अप्ठ्यो माने । ६० घर मात्रै बसोबास गर्ने किमाथांका गाविसका सबैले सचिवलाई चिनेका थिए । साथीको रुपमा खनालले परिचय गराएपछि उनीहरु मसँग आफ्नो परिवारका बारेमा बोल्न राजी भए । जेठ ४ दिनको बसाइको क्रममा यो परिवार मात्रै थियो दुबै श्रीमानसहित श्रीमती घरमा भेटिएको र केही कुरा गर्न मञ्जुर । होइन भने गाउँका केही शिक्षित र देश–परदेश डुलेका भनाउँदोहरुबाट तिमीहरुको बेइजत यिनीहरुले पत्रिकामा छापेर गर्छन् भनेकाले यस्ता सबै परिवारका मान्छे फोटो खिच्न त के र कुरा गर्नसमेत मान्दै नमान्ने । तर पेमा र छेदर थोरै उदार भेटिए यस मामिलामा ।

नेपालकै दुर्लभ परम्परा धानी रहेको भएपनि यी दाजुभाइ साझा श्रीमती राखेको कुरालाई सजिलै भन्न चाहँदैनन् । छिरिङभुटिक दाजुभाइको साझा श्रीमती हो नी ? भन्ने जिज्ञासामा हो भनेका छेदरले जेठाको खुट्टा एकपटक भाँचिएर कमजोर रहेका कारणसँगै बस्नु परेको बताए । यो परम्पराको पुरानो चलनअनुसार दाजुभाइसँगै घरमा नबस्ने भएपनि उनीहरु धेरैजसो दुबै घरमै हुन्छ्न । शारीरिक सम्बन्ध र सन्तान विभाजन प्रश्नमा छेदरले शारीरिक सम्पर्कको आफ्नै तालिका भएको तर बताउन अप्ठयारो रहेको भनेर पन्छिए । सन्तानको बाँडफाँड भने अनुहार हेरेर गरिने र यही तरिकाबाट दाजुभाइको भाग लगाएको उनले बताए । छेदरकाअनुसार दाइ अस्वस्थ्य र चौरी गोठ नभएकाले धेरै जसो गाउमा दुबैजना बसेका हुन् । तर परिवारको नेतृत्व माइलाले गर्दै आएका छन् ।
Pema & Tsedar: Brothers
छेदर र पेमा शेर्पा परिवार जस्तै किमाथांका–९ का तेबागुरु च्याबा र ङाङरछिरिङ च्याबा दुबैको एउटै परिवार छ । साझा श्रीमती छिरिङ छिन् । उनीहरुको पनि पेमा र छेदरको जस्तै हो दैनिकी । एकजना गोठमा बस्छन् त अर्को घरमा । कहिलेकाही सँगै घरमा बस्छन् । तेबा र ङाङ्छिरिङ दाजुभाइका साझा छोरा ३ र छोरी २ छन् । त्यस्तै किमाथांका– ५का नेबुधार्चे च्याबा र पासाङछेदर च्याबाको एउटै श्रीमती पेम्बर हुन् । नेबुधार्चे प्राय गोठतिरै बस्छन् । दुबैकी साझा श्रीमती पेम्बरसँग दुई श्रीमानहरुसँगको सम्बन्ध बारे कुरा गर्न खोज्दा लजाएर मानिन् । नेपाली बोल्न नजान्नु उनका लागि सजिलो बहाना बन्छ यसबारे कसैले प्रश्न गरे । उनका श्रीमानहरु भेटिएनन् । दुबै श्रीमानबाट पेम्बरका ३ छोरा र ३ छोरी छन् । नेबुधार्चेका कान्छा भाइ दामेछिरिङले अर्कै विहे गरेर बसेका छन् । तर सुरुमा सबै दाजुभाइकोसँगै टीकाटालो गरिएको थियो । किमाथांकामा पछिल्लो पटक दाजुभाइले एउटै विवाह गर्ने परिवार छेम्बी(२५) र छिरिङ शेर्पा(१८) हुन् । उनीहरु दुबैसँग दुई वर्ष पहिले चुक्सुमको विवाह भएको हो । तर भाइ छिरिङ अर्कै विहे गर्ने बताउँछन् ।

किमाथांकामा साझा श्रीमती(पाँच पाण्डव)को परम्परा धान्दै आएका यिनै चार परिवार हुन् । भारतको उत्तराञ्चल, हिमाञ्चल र केरलामा समेत केही हिन्दु जातिमा समेत रहेको यो चलनप्रति नावा जातिका युवा पुस्ता नकारात्मक भइँदिँदा परम्परा नै लोप हुने अवस्था केही समयपछि नै आउने देखिन्छ । यो चलन अनुसार परिवारमा खास गरी एकजनाको विवाह हुन्छ । उसैकी श्रीमती भनेर मागिन्छ तर विहेमा सबैसँग राखेर टीकाटालो गरिन्छ । टीकाटालोपछि भित्र्याएकी दुलही सबै दाजुभाइकी श्रीमती हुन्छिन् । कतिपय महिलाहरु नै साझा श्रीमतीका रुपमा मात्र विवाह गर्न चाहनेपनि हुन्छन्, नावा परम्परामा । महिला कै माग त्यस्तो हुँदा दाजुभाइले एउटै ल्याउनैपर्छ ।
Tsiring frying Buckweat.
पहिले परिवारमा जति जना दाजुभाइ छन्, तिनीहरु सबैले एउटै महिला विवाह गर्थे । किमाथांका कै स्थानीय लामा दावा नावाका पाँच हजुरबाहरु किङसङ दोर्ची, जिमी लामा, ल्हाकपा, पेम्बा र येसीका श्रीमती कासाङ थिइन् । उनको हजुरबाको मात्र होइन अन्यको पनि यस्ता थुप्रै परिवार थिए । त्यो वेला र अहिलेको जीवनपद्धतिमा केही परिवर्तन भएको छ । तर यो चलन विशेष खालको छ ।

दावा नावाका अनुसार पहिलेको चलनमा दाजुभाइ सबैको जिम्मेवारी विभाजन हुन्थ्यो । कोही खेतीको जिम्मामा बस्थे भने कोही गोठ, कोही व्यापार, कोही लामा आदि कामको जिम्मा लिन्थे । यसले गर्दा उनीहरु सबै दाजुभाइ एकै पटक घरमा कमै मात्र भेला हुने भए । जुन भाइ घरमा भयो, श्रीमती त्यहीसँग बस्थिन् । वर्षको एकदिन सबै दाजुभाइ आ–आफ्नो कामबाट घर आउँथे, सबै बसेर आफ्नो वर्षभरिको काम, नाफा घाटा सबैको समीक्षा गर्ने चलन नावाहरुको छ । त्यसपछि आफूहरु नहुँदा घरको रेखदेख गरिदिएको भनेर पूजा गर्ने चलन हुन्छ । चाँदीले बाँधेको तोङबामा चाँदीकै पिपा(चुस्ने पाइप) राखेर पूजा गर्नुपर्छ । पूजापछि श्रीमतीलाई जेठादेखि कान्छासम्म सबै दाजुभाइले के कति कमाए भनेर अन्तिम हिसाब पालै पालो श्रीमतीलाई सुनाउँछन् ।

श्रीमती भने त्यसदिन राम्रो कपडा, गरगहना लगाएर श्रृङ्गार गरेर घरमा बस्नुपर्छ । पूजा सकिएपछि दाजु–भाइ एकठाउँ र श्रीमती अन्तै बसेकी हुन्छिन् । श्रीमानहरु एकै पटक श्रीमती कहाँ जानु हुन्न । चलन अनुसार जेठोबाट पालै पालो गरेर इच्छा हुनेमध्येले शारीरिक सम्पर्क गर्छन् । तर पालो तलमाथि भए ओछ्यानमा को छ, को छैन हेरेर श्रीमती कहाँ जाने चलन भएको दावा बताउँछन् । साझा श्रीमती हुने परिवारमा सबैभन्दा बढी चासोको रुपमा उनीहरुको यौन जीवनलाई नै हेरिएको हुन्छ ।

तर पहिले साझा श्रीमतीमा बसेका पेम्मा शेर्पा भने अरुले भनेको जस्तो, यस्तो परिवारमा नहुने बताउँछन् । भन्छन्– ‘दाजुभाइहरु एकै दिन पारेर कमै श्रीमतीसँग बस्न जान्छन्, परम्परागत रुपमा भन्ने हो भने घरमा एकजना मात्र श्रीमतीसँग रहन्छ । यदि कोही दाजुभाइ आए ऊ छाडेर अन्तै जानुपर्छ, यो चलनै हो ।’ तर सबैले यो नियम पालन नगरेको उनकै अनुभव छ । ‘मेरो नामकी श्रीमती दाइले निजी बनाए’– पेम्माले भने । त्यही विषयमा उनी अहिले जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् ।

स्थानीय गुम्बाका लामा दावा नावा भन्छन्– ‘खास परम्पराकै कुरा गर्दा जेठा र कान्छा मात्र पालै पालो श्रीमतीसँग जाने र अन्य दाजुभाइहरु कोही गिलोङ(कुमार) लामा बस्ने, कोही अन्य काममा लाग्नु पर्ने यो साझा श्रीमती प्रथाको मुख्य मान्यता हो ।’ तर शारीरिक सम्बन्ध सबैसँग नभए पनि सबैको हेरचाह श्रीमतीले गर्नुपर्ने, नगरे दाजुभाइ मिलेर कारबाही गर्ने चलन रहेको दावा बताउँछन् ।

संखुवासभामा दाजुभाइको साझा श्रमिती राख्ने चलन शेर्पा समुदायको नजिक मानिएका नावा जातिमा मात्रै पाइने गरेको भोटखोलाको भोटिया संस्कृति सम्बन्धि पुस्तक लेखक फिन्जो भोटे बताउँछन् । भोटेका अनुसार पैत्रिक सम्पत्ति र जमिनको खण्डीकरण नहुने र कामको बाँडफाँडमा सजिलोका कारण यो चलन अपनाइएको देखिन्छ । भोटखोला क्षेत्रकै अन्यजातिमा यस्तो परम्परा कहिल्यै अपनाइको इतिहास छैन । पूर्व गाविस अध्यक्ष रिञ्जिन लामा र शिक्षक लाच्या पनि यसमा सहमत छन् । कम उब्जाउ हुने र थोरै कृषियोग्य भूमि भएका ठाउँमा बस्नेहरुले यस्तो चलन चलाएको उनीहरु बताउँछन् । किमाथांकामा खर्कसमेत कम भएकाले यहाँ जनसंख्या नियन्त्रण गर्न तथा सम्पत्ती विभाजन रोक्न स्थानीय विशेषता अनुसारको परम्परा विकास भएको उनीहरुको तर्क छ ।

तर किमाथांकामा पछि आएका तिब्बतीयन मुलका फेच्याबाहरुमा यस्तो चलन छैन । च्याबा, नावा र शेर्पामा मात्रै यस्तो छ । त्यस्तै चेपुवा–७ छुमसुर, ८ रिदाक र हटिया २ फाराङ यो चलन छ । त्यहाँका मेनाक्पा, ङोम्बा, च्याबा, नावा, ठाकतोक, ज्याङग्रा, ठोमा, नावा, शेर्पा थर भएकाहरुले साझा श्रीमती राख्ने गरेका छन् । यो परम्परा नावा जातिको मौलिक पहिचान भएको शिक्षक लाच्या नावा बताउँछन् । अहिले किमाथांका बाहेक रिदाकमा ३, छुमसुरमा २ र हुङ्गुङ फाराङमा २ परिवारका दाजुभाइ साझा श्रीमतीमा बसेका छन् ।

शिक्षितहरु युवाहरुको आकर्षण पटक्कै साझा श्रीमती प्रथाप्रति नभएको शिक्षक नावा बताउँछन् । अहिले व्यक्तिवादी सोंच बढ्नु र यो चलन नै नराम्रो अरु समुदायबाट भनिनु यसमा विकर्षण देखिनको मुल कारण भएको फिञ्जो बताउँछन् । बाह्य सम्पर्क बढ्दै गएकाले परम्परागत विवाह प्रणालीलाई अस्वीकार गरिएको शिक्षक नावाको भनाइ छ । नावाका अनुसार साझा श्रीमती राख्ने परिवारमा पनि दाजुभाइमध्ये कोही बढी हावी भइदिनाले समस्या देखिएको हो । नाम सबैको भएपनि एकजनाले निजी बनाउँदा धेरैको समस्या देखिएको उनको अनुभव छ ।
(छिरिङभुटिक नावाका दुई श्रीमानहरु पेमा शेर्पा(दाँया) र छेदर शेर्पा– १, छेदर र दाजुभाइकी साझा श्रीमती छिरिङभुटिक–२ र पेमाको परिवासँग गाविस सचिव कृष्ण खनाल । तस्विरः राजधन कुलुङ)                                                                     

No comments:

Post a Comment