Monday, January 7, 2013

गणेशमानको भाषण, प्रधानमन्त्री निर्वाचन र बाबुराम क्रेज

–राजधन कुलुङ
२०४६ को जनआन्दोलन सफलतापछि त्यसको सर्वाेच्च कमाण्डर गणेशमान सिंहले खुल्ला मञ्चमा दिएको भाषणले नेपाली राजनीतिक बजार चालीसको अन्तिम र पचासको सुरुवाती दशकमा बहुत गर्माएको थियो । उनले नेपाली जनताको चरित्रलाई इङ्गित गर्दै भनेका थिए– ‘गणेशमान जेल गयो टरर ताली, गाणेशमान जेलबाट निश्क्यो टरर ताली । सात सालमा प्रजातन्त्र आउँदा पनि ताली, सत्र सालमा राजाले ‘कू’ गर्दा पनि ताली । अनि अहिले फेरि प्रजातन्त्र आउँदा पनि ताली । जे गर्दा पनि टरर ताली मात्रै पड्काउने काठमाण्डौवासी भेडा हुन् । उनीहरुसँग सही के हो ? गलत के हो ? छुट्टयाउने विवेक छैन ।’ 

वास्तवमा उनले आफ्नो लामो राजनीतिक अनुभव र वर्षाैं काठमाण्डौंवासीसँगको व्यवहारलाई रिफरेन्स लिँदै नागरिकले अस्थिर चरित्र प्रदर्शन गरे भोलि प्रजातन्त्रमाथि आइपर्ने खतरा टार्न कठीन हुने कुरालाई संकेत गरेर त्यसो भनेका थिए । जसलाई उनका विरोधीहरुले गणेशमानले नेपाली जनतालाई भेडा भन्यो, उस्को पार्टीले जनतालाई भेडा ठान्छ भन्दै कतिपय अवस्थामा अर्नगल प्रचार गरेका थिए । अझै त सभ्य र मर्यादित राजनीति गर्न नेपालीहरुले सिकेका छैनन्, भने त्यो बेला भरखरै खुल्लापनमा प्रवेश गरेको अवस्थामा त्यसको पत्तै थिएन । त्यो बेला समय नै त्यस्तै थियो र उनलाई गाली गरियो ।

गणेशमानले त्यसरी भाषण गरेको २१ वर्षपछि पनि नेपाली जनताको आधारभूत चरित्रमा परिवर्तन आएको देखिन्न । २०४६ साल भन्दा शिक्षित र सभ्य कहलाइएका जनता त्यसै गरी टरर ताली पड्काइ रहेकै छन् । कुनै राजनीतिक पार्टी, घटना, व्यक्ति र प्रवृत्तिलाई समालोचनात्मक रुपमा विश्लेषण गरेर हेर्ने दृष्टिकोण नेपालमा विकास भइसकेको छैन । गणेशमानले काठमाण्डौंवासी भेडा भनेर भाषण गरे देखिको दुई दशकको अवधिमा साँच्चै नेपालीहरु भेडै त होइनन् ? भन्ने शंका उब्जाउने घटनाहरु धेरै पटक भएका छन् । संविधानसभा निर्वाचनका कतिपय परिणामदेखि त्यो क्रम निरञ्तरता अद्यपि जारी छ ।

यो २१ वर्षलाई सामान्य समीक्षा गर्दा देखिन्छ, दलहरुलाई ताली बजाउने नेपाली जनता नै थिए । पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दनमा पनि जनता नै कुदिरहेका थिए । संविधानसभा निर्वाचन र केही मात्रामा अहिले पनि माओवादीलाई जनताकै नाममा ताली बजाइँदैछ । अहिले कुनै अमुक शक्तिले लोकतन्त्रको अपहरण गरेर अधिनायकता लादेमा फेरि जनताकै नाममा नेपालीहरुले टरर ताली बजाउने छन् । 

माधव नेपालले राजीनामा दिएपछि देश नयाँ प्रधानमन्त्रीको खोजीमा छ । दुई महिनाको ५ वटा निर्वाचनबाट संसदले नयाँ प्रधानमन्त्री त दिन सकेको छैन । बरु गणेशमानको भाषणको सान्दर्भिकता बढाइ रहेको छ । संसद आफ्नै अभ्यास गरिरहँदा जनता नामधारीहरु कुनै चमत्कारिक प्रधानमन्त्री खोजी रहेका छन् । नयाँ संविधान निर्माण गरेर लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्ने बेला प्रधानमन्त्रीको खोजीमा हामी हराएका छौं । ३४ औं प्रधानमन्त्री को ? भन्दै टेलिभिजनहरु जनतालाई प्रश्न गरिरहेका छन् । छापा, रेडियो र अनलाइनहरु त्यही भनिरहेका छन् । रनभुल्ल जनता साँच्ची भेडा न परे । केही एसएमएस भोटिङ, कोही मेल भोटिङ त कोही कमेन्ट भोटिङ गरिरहेका छन् । 

यहाँ सचेत नेपाली नागरिकहरुलाई एउटा अहम् प्रश्न के छ भने हामी पद्धति निर्माण गर्न जाँदै छौं वा प्रधानमन्त्री फेर्न मात्रै ? के कोही व्यक्तिले पद छाड्दैमा र कोही कुर्सीमा बस्दैमा नयाँ संविधान बन्छ ? बुझनु पर्ने कुरा अहिले कुनै व्यक्तिलाई कुर्सीमा होइन, सिस्टमलाई स्थापित गराउन जरुरी छ र हुनु पर्ने त्यही नै हो । एकोहोरो कुनै व्यक्तिको आलाकाँचा फ्यान बन्ने प्रवृत्तिले देश अगाडि बढ्दैन । सञ्चारमाध्यमहरु फ्यान बनाउने उद्यममा लागेका छन् । यसले सिस्टमलाई बसाउँदैन र अहिलेको डेडलकको अन्त्यसमेत गर्दैन । 

संसदको अभ्यास आफ्नै ठाउँमा छ । मिडियाहरुको प्रधानमन्त्री खोजीको रेसमा सबैभन्दा अगाडि एमाओवादीका द्धितीय उपाध्यक्ष बाबुराम भट्टराई छन् । मिडियाहरु उनको बजार प्रवद्र्धन गर्न लागेको भान हुन्छ । जस्ले गर्दा केहीको आशक्ति भट्टराईप्रति बढाएको देखिन्छ । पार्टीभित्र प्रचण्ड पक्षले श्यामशरणलाई भेटेको विषयलाई उचाल्दै पेलेपछि सहानुभूति बटुल्न केही समय अगाडि भट्टराईले नेपाली राष्ट्रियता सम्बन्धि लेख एउटा ब्रोडसिट दैनिकमा लेखेका थिए । त्यो लेख धेरै पाठकबाट पढिएको र प्रतिकृया लेखिएको थियो । जसको पाठक प्रतिकृयाले नै मलाई केही कोर्न बाध्य बनाएको हो । अधिकांश प्रतिकृयाको आशय थियो– ‘बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री भए चुड्कीको भरमा सबै काम तमाम भइहाल्छ । संविधान बनिहाल्छ र विकास हुन्छ आदि । 

होला बाबुरामजीसँग देश चलाउने क्षमता । तर अहिलेकै सिस्टममा व्यक्ति परिवर्तनले के हुन्छ ? उनी प्रधानमन्त्री हुँदैमा सबैकाम भइहाल्ने आधार के हो ? अरु हुँदा किन हुन सकेन ? के संविधान सरकारले लेख्ने हो ? के साँच्चै बाबुरामजीको पार्टी यो देशमा लोकतान्त्रिक संविधान बनाउन चाहन्छ ? यस्ता दर्जनौं गम्भिर प्रश्नहरुलाई विचारै नगरी धेरैले उनको पक्षमा वकालत गरिरहेका छन् । जुन विवेचना योग्य छ । 

सम्झनु पर्ने कुरा केहो भने बाबुराम भट्टराई रामहरि श्रेष्ठ हत्यारा अनि दर्जनौ अपराधमा संलग्न कालीबहादुर खामका नेता हुन् । आफ्नो महत्वकाक्षा हाँसिल गर्न जे गर्न तयार प्रचण्डले हाँकेको एउटा अपराधिक दस्ता र राजावादीहरुको आश्रयस्थल बनेको पार्टीका नेता हुन् भट्टराई । उनीसँग के छ ? जसका कारण उनलाई माओवादीमा अलग सोंच भएका नेता हुन् भनेर छुट्टयाउने । मैले नबुझेको के भने प्रचण्डले ज्ञानेन्द्रलाई पुनःस्थापित गराउने सल्लाह गर्न तुलसी गिरी र कमल थापाहरुकोमा मिसन पठाइ रहँदा चुप लागेर समर्थन गरिरहने बाबुराममाथि के को आकर्षण यस्तो? 

यो कथित् आरोप होइन तथ्य हो । २०६१ सालमा प्रचण्डले ज्ञानेन्द्रसँग मिलेर बहुदलीय पार्टीहरुलाई प्रतिबन्ध लगाउने बार्ता गरिरहँदा के बाबुरामले त्यसको प्रतिवाद गरे ? कि रामहरि श्रेष्ठका हत्यारा र अनेकौं डकैटीमा संलग्न अपराधी केन्द्रीय सदस्य कालीबहादुर खामलाई कारबाही गर्नमा राज्यलाई सघाए ? सयौं अपराधिहरुलाई नेतृत्व दिएर हिँडेका र आफ्नो शिक्षा अनुसारको सामान्य सभ्यतासमेत प्रदर्शन गर्न नसक्ने एउटा रुखो र रुढीगत नेताको पछि लाग्नु पर्ने कारण के छ ? 

यो देशको गम्भिर विडम्बना ! बाबुराम प्रधानमन्त्री भए सबै ठीक भइहाल्छ भन्ने धेरैले धारणा राख्छन् । जबकी उनको पार्टी नेपालमा लोकतान्त्रि संविधान बनोस् भन्ने रत्तिभर चाहँदैन । जो यो देशमा जनताले मिल्काइ सकेको पूर्व राजासँग मिलेर अधिनायकवाद लगाउने दाउमा छ । त्यस्तो पार्टीको एकपछि अर्को नेता प्रधानमन्त्री हुँदा कसरी नेपाली जनताको आपेक्षा पुरा होला ? कसरी शान्ति र अमनचयन कायम होला ? हाम्रो भेडोपनले हामीलाई कही पु¥याउँदैन । अर्को कुरा बाबुराम पार्टी भित्रकै निरिह प्राणी हुन् । त्यहाँ उसको केही चल्दैन । तर ऊ प्रधानमन्त्री भए सबै तमाम हुन्छ, हामी भन्दै छौ । त्यो कसरी सम्भव छ ? यो महामुर्खता बाहेक केही होइन ।

पक्कै व्यक्तिको कार्य क्षमताले देश निर्माणमा ठुलो प्रभाव पार्छ । यस्ता धेरै उदाहरण छन् संसारमा । तर हाम्रो जस्तो पद्धतिहीन देशमा व्यक्तिको परिवर्तनले केही नाप्नेवाला छैन । र पनि किन हामी कोहीका पछाडि यत्ति धेरै लागेका ? म सोंच्छु हामी नेपालीहरुको चिन्तन गर्ने शैलीमा कतै गडबड छ । हामी पद्धति निर्माणको होइन, व्यक्ति निर्माणको सँस्कृतिका पक्षपाती रहेछौं ।

(याे लेख डा. बाबुराम भट्ट्रारर्इ २९ अगष्ट २०११ मा प्रधान मन्त्री चुनिनु भन्दा करिब ५ महिना अघि लेखेकाे हुँ । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा गरी सकेपछि काे नयाँ प्रधानमन्त्री हुने भन्ने घनघाेर बहस त्याे बेला मिडियामा चलिरहेकाे थियाे । सबैले बाबुराम प्रधानमन्त्री भए सबै चुड्कीकाे भरमा ठीक हुने कुरा गर्दै थिए । उनकाे रेटिङ त्याे बेला यति उच्चाे थियाे कि, अरू उम्मेदारले अाकाशतिर हेर्न पर्थ्याे । यही सेराेफेराेमा रामचन्द्र पाैडेल १७ पटक हारिरहेका थिए । पछि प्रचण्डकाे याेजनामा एमाले अध्यक्ष झलनाथ खनाल ४ महिनाकाे छाेटाे समय प्रधानमन्त्री भए । खनाललार्इ माअाेवादी 'इस्' गरिदिएपछि अन्तत ः बाबुराम जी प्रधानमन्त्री भए । दुःखकाे कुरा उनी प्रधानमन्त्री भएपछि क्रमश अलाेकपृय हुँदै गए र वर्तमानसम्मकाे यात्रामा अाइ पुगे । मलार्इ लाग्छ, त्याे समयकाे बाबुरामप्रतिकाे मेराे विश्लेषण गलत भएन ।)

No comments:

Post a Comment