Tuesday, August 13, 2013

बहुदलीय जनवाद हजुरआमाको मिस्री होइन

प्रदीप ज्ञवाली
(नेपाली राजनीतिमा कृयासिल नेताहरुमध्ये मलाई मन पर्ने नेता प्रदीप ज्ञवालीको लेख अनलाइन खबरबाट साभार गरेको छु ।)

जनताको बहुदलीय जनवाद (जबज) नेपालको लोकतान्त्रिक आन्दोलनका अनुभवहरु, सामाजिक विशिष्टता र अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकारात्मक एवं नकारात्मक अनुभवहरुलाई संश्लेषण गरेर हामीले नेपाली क्रान्तिको एउटा विशिष्ट कार्यक्रमका रुपमा अगाडि सारेका हौं ।पाँचौं राष्ट्रिय महाधिवेशनमा कार्यक्रमका रुपमा बहुदलीय जनवादलाई अगाडि सारिएको हो । छैठौं महाधिवेशनमा आइपुग्दा हामीले यो राजनीतिक आर्थिक कार्यक्रममात्रै होइन, समाज रुपान्तरणका निम्ति मार्गदर्शन गर्ने एउटा सैद्धान्तिक अवधारणा पनि हो भनेर बहुदलीय जनवादलाई स्वीकार गरेका हौं ।

जनताको बहुदलीय जनवाद के अर्थमा यो सिद्धान्त हो त ? सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवादले माक्र्सवादको भण्डारमा के नयाँ कुराहरु थपेको छ ? या माक्र्सवादको कस्तो नयाँ व्याख्या या सिर्जनात्मक विकास गरेको छ? नेपाली कम्युनिष्ट आन्दोलनमा यसले के नयाँ कुराहरु प्रस्तुत गरेको छ ? या नेपाली क्रान्तिको सन्दर्भमा यसका नयाँ अवधारणाहरु के हुन्? यी प्रश्नहरुमा आठौं राष्ट्रिय महाधिवेशनले स्पष्ट पारेको छ ।

सही प्रमाणित
अहिलेका राजनीतिक घटनाक्रमहरुले बहुदलीय जनवादले अगाडि सारेका अवधारणाहरुलाई पुष्टि र प्रमाणित पनि गरेको छ । कम्युनिष्ट आन्दोलनमा यसले अगाडि सारेकामान्यताहरु भनेको संघर्षका कुनै रुपहरु पनि अपरिहार्य या त्याज्य हुँदैनन् । ती तत्कालीन परिस्थितिमाथि निर्भर गर्छन् । एक्काइशौं शताब्दीमा आइपुग्दाखेरि समाजको शान्तिपूर्ण रुपान्तरण सम्भव छ भन्ने मान्यता बहुदलीय जनवादले अगाडि सारेको थियो । यो अहिले पुष्टि भएको छ । कम्युनिष्टहरुले क्रान्तिपश्चात चाहे जनवादी व्यवस्था होस्, चाहे समाजवादी व्यवस्था, त्यसलाई लोकतानित्रक मूल्य मान्यताका आधारमा, बहुदलीय प्रतिश्पर्धाका आधारमा सञ्चालन गर्नुपर्छ र कम्युनिष्टहरुले प्रतिश्पर्धाबाट श्रेष्ठता सावित गरेर जनताबाट अनुमोदित भएर मात्रै शासन सञ्चालन गर्नुपर्छ भन्ने कुराहरु पुष्टि भइरहेका छन् ।

कम्युनिष्ट आन्दोलन एउटा विशुद्ध राजनीतिक आन्दोलनमात्रै होइन, यो सामाजिक, सांस्कृतिक आयामहरु समेटिएको एउटा समष्टिगत आन्दोलन हो र कम्युनिष्ट आन्दोलन यी सबैको नेताका रुपमा स्थापित हुनुपर्छ भन्ने मान्यताहरु स्थापित भएका छन् । बहुदलीय जनवादले अगाडि सारेको प्रगतिशील राष्ट्रवादको पनि व्यवहारले सही सावित गरेको छ । जे कुरालाई हामीले सिद्धान्त भनेर अगाडि सारेका थियौं, ती कुराहरु पुष्टि भएका छन् र नेकपा एमालेसँग आज सबैभन्दा महत्वपूर्ण पुँजीका रुपमा जनताको बहुदलीय जनवाद रहेको छ । त्यसैले हामीले जनताकोे बहुदलीय जनवादलाई पुँजीकृत गर्ने हो ।

एमालेको गल्ती जबजलाई बोकाउन मिल्दैन
जनताको बहुदलीय जनवादको कार्यान्वयन गर्दै जाँदा व्यवहारमा हामीले थुप्रै कमजोरी पनि गरेका छौं । ती कमजोरीहरुको मूल्य नेकपा एमालेले चुकाएको पनि छ । तर, ती कमजोरीहरुको दोष तपाईले जबजलाई दिन मिल्दैन । त्यसो गर्ने हो भने संसारका कुनै पनि सिद्धान्तहरु काम लाग्ने छैनन् । किनभने सिद्धान्तको दुरुपयोग पनि भएको छ, अपव्याख्या पनि भएको छ र सिद्धान्तको भ्रष्टीकरण पनि भएको छ । पोलपोटले क्याम्बोडियामा मच्चाएको त्रासदी माक्र्सवादकै नाममा भएको थियो । पोलपोटलाई देखाएर कसैले माक्र्सवाद गलत भन्यो भने त्यो भन्दा हास्यास्पद कुरा के हुन्छ ? त्यसैले कमजोरीहरुको संश्लेषण गर्न जरुरी छ, त्यसलाई सच्याउन जरुरी छ । तर, ती कुराहरुका आधारमा जबजको सहीपनामाथि हामीले प्रश्न उठाउन सक्दैनौं ।

पछिल्लो समय बाहिरबाट जनताको बहुदलीय जनवादमाथि हमला शुरु भयो । यो हमलामा यस्तो साथीहरु देखा परे, जो कुनैबेला माओवादीको महिमागान गर्न कस्सिनुभएको थियो । साथीहरुले दुईवटा कोणबाट यस विषयमा प्रश्नहरु उठाउनुभयो । एउटा, विगतमा भएका एमालेका कतिपय कमी कमजोरीलाई लिएर त्यो चाँहि जबजकै कारणले भएको हो कि भनेजस्तो गर्नुभयो । तर, यो सिद्धान्तका कारणले होइन, सिद्धान्तलाई ठीक ढंगले प्रयोग नगरेका कारणले हो ।हामीले ०५४ सालमा राप्रपालाई नेता मानेर संयुक्त सरकार बनायौं । जवजको मान्यता वा पाँचौं महाधिवेशनले गरेको दिशानिर्देशले हामीलाई त्यसो गर्न अनुमति दिन्थ्यो ? दिँदैनथ्यो । किनभने पुनरुत्थानवादी शक्तिहरु मुख्य खतरा हुन् है भनेका बेलामा हामीले कांग्रेसलाई देखाइदिऔं भन्नका निम्ति पुनरुत्थानवादी शक्तिहरुसँग सरकारमा गयौं । दोस्रो, सडकमा गणतन्त्रको नारा लागिराखेको थियो, संवैधानिक राजतन्त्रले सम्झौता तोडेपछि हामी सिधै गणतन्त्रमा फड्किनुपथ्र्यो । तर, हामी प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गयौं ।

त्यसैगरी ०६४ सालको संविधानसभा चुनावपछि लोकतान्त्रिक संविधान निर्माणका निम्ति माओवादीका अधिनायकवादी मान्यताहरु चुनौतीका रुपमा थिए, महाधिवेशनले समेत माओवादीसँग सहकार्य, संघर्ष र रुपान्तरणको नीति लिएको थियो, तर, संघर्ष भन्दा पनि हामीले माओवादीसँग गोप्य सातबुँदे सम्झौता गर्न पुग्यौं । यी हाम्रा आफ्ना कमजोरीहरु हुन् । यसका निम्ति जबजलाई दोष दिन मिल्दैन ।

थप व्याख्या आवश्यक
निश्चय नै गएको २० वर्षमा नेपाली समाजमा पनि काफी परिवर्तनहरु भएका छन् । र, अहिले हामीले नवौं महाधिवेशनमा उभिइरहँदा यी २० वर्षका परिवर्तनहरु के हुन्, त्यसले नेपाली समाजको आधारभूत चरित्रलाई कुन हदसम्म फेरबदल गरेको छ, ती परिवर्तनहरु मात्रात्मक छन् कि गुणात्मक छन् र त्यसले क्रान्तिको जनवादी चरित्रलाई नै बदल्नुपर्ने अवस्थामा पुगेको हो ? यी विषयमा हामीले नयाँ ढंगले छलफल अगाडि बढाउनुपर्ने जरुरी छ । र, त्यसका आधारमा जनताको बहुदलीय जनवादको कार्यक्रमिक पक्षमा नयाँ व्याख्या र नयाँ विकास गर्न जरुरी छ ।

हामीले ०४९ सालमा जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गरिरहँदा हामीले राजतन्त्रको अन्त्य गरेर जनवादी गणतन्त्र स्थापना गर्ने कुरालाई मुख्य कार्यक्रमिक लक्ष बनायौं । अहिले राजतन्त्र अन्त्य भएको छ । तर, जनवादी गणतन्त्रको लक्षचाँहि प्राप्त भएको छैन । यो लक्षलाई नयाँ ढंगले परिभाषित गर्न जरुरी भएको छ । नवौं महाधिवेशनले यसमा परिमार्जन गर्नेछ, विकास गर्ने छ । र, यी सबै जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमै खडा हुनेछन् ।

नेपाली समाजमा अहिले चलिरहेको बहस भनेको नेपाली समाजको वर्तमान चरित्र के हो ? नेपाली समाज पूर्ण पुँजीवादी भयो कि अहिले पनि अर्धसामन्ती वा अर्धपुँजीवादी नै छ ? दोस्रो, ०६२/०६३ को आन्दोलन र त्यसले ल्याएको परिवर्तनको आयाम कति छ ? यो समाज रुपान्तरणको हैसियत राख्ने क्रान्तिकारी आन्दोलन हो या हामी क्रान्ति सम्पन्न भएको अवस्थामा छौं ? अथवा हामी रुपान्तरणको प्रक्रियामा, संक्रमणकालमा छौं ? अहिले एमालेले आठौं महाधिवेशनबाट निकालेको निश्कर्ष भनेको सामन्तवाद कमजोर हुँदै गए पनि पूर्णरुपमा समाप्त भएको छैन र आधारभूतरुपमा हामी अहिले पनि अर्धसामन्ती, अर्धपुँजीवादी अवस्थामा छौं । नेपाली समाज पूर्णपुँजीवादी भएको छैन । हामीमाथि विभिन्न ढंगले बाह्य शोषण र उत्पीडनहरु छन् । यसलाई तपाई नवऔपनिवेशिक भन्नोस् या अर्धऔपनिवेशिक भन्नोस् । नामले स्वाधीन भए पनि यथार्थमा हामी स्वाधीन छैनौं ।

केही साथीहरुचाँहि नेपालमा अब अर्धऔपनिवेशकिता पनि रहेन, नेपाल स्वाधीनरुपमा माथि उठ्यो र नेपाली समाज अब पुँजीवादी भयो, त्यसकारणले क्रान्तिको चरित्र पनि बदलियो र ०६२/०६३ को परिवर्तनले नेपालमा क्रान्तिकारी परिवर्तन गर्यो भन्नेखालको निश्कर्षमा पुग्नुभएको छ । यस्तो व्याख्या सही हुन सक्दैन ।

संघीयता सिद्धान्त होइन
केही साथीहरुको तर्कचाहिँ बहुदलीय जनवादमा समावेशिता नभएको हुनाले जबज अपूर्ण भयो या संघीयता नभएको हुनाले यसले अहिलेका समस्याको व्याख्या गर्न सकेन भन्ने पनि छ । मेरो आग्रह के छ भने संघीयता या समावेशिता निश्चित राजनीतिक प्रणालीका अंग हुन्, राज्यका आधारभूत चरित्र वा सिद्धान्त होइनन् । त्यस्तो हो भने त जति पनि संघीय मुलुकहरु छन्, तिनलाई कम्युनिष्ट भन्नुपर्ने होला । यस्तो हुँदैन । संघीयताभन्दा पनि राज्यको चरित्र प्रमुख कुरा हो । हामीले जनताको पक्षमा कुन मोडल उपयुक्त हुन्छ भनेर अवलम्बन गर्ने कुरालाई स्थायी सिद्धान्तका रुपमा व्याख्या गर्नुहुँदैन । मुल कुरा हामीले हेर्ने भनेको त्यो राज्यको चरित्र कस्तो छ ? त्यो राज्य पुँजीवादी हो कि । समाजवादी हो कि, सामन्ती हो कि ? यो हेरिनुपर्छ । संघीयता हो कि हैन भन्ने कुराले यो तय गर्दैन ।

जबज मदन भण्डारीकी हजुरआमा होइन
कसैले पनि जनताको बहुदलीय जनवादलाई जडसूत्र बनाउन चाहेको छैन । म आफैं भनिरहेको छु, गएको २० वर्षमा आएका परिवर्तनहरुले गर्दा यहाँमात्रै होइन, अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमै नयाँ ढंगको व्याख्या जरुरी छ । यो व्याख्याको धेरै हदसम्म ढोका खोल्ने काम जबजले गरेको छ । तर, जनताको बहुदलीय जनवाद त्यो सन्दुस होइन । मदन भण्डारीकी मायालु हजुरआमा पनि होइन, जसले नाति नातिनालाई पछिसम्म आवश्यक पर्ला भनेर मिस्री, लत्ताकपडा, औषधि, खेलौना राखिदिएर जानुभएको होस् । भण्डारीले त आजको कम्युनिष्ट आन्दोलनको व्याख्या कसरी गर्ने भनेर एउटा बाटोमात्रै दिनुभएको हो । यो मार्गदर्शनमा हामीले आजका समस्याहरुको समाधान गर्ने हो । हो ठीक यहीँनेर जबज सिद्धान्त हो । यसले आजका समस्याहरुलाई समाधान गर्नका लागि एउट पद्दति दिन्छ । माक्र्सवाद पनि आफैंमा मूलतः एउटा पद्दति हो । जबजले पनि समाजको लोकतान्त्रिक रुपान्तरणको एउटा पद्दति दिएको छ । यो पद्दतिका आधारमा हामीले आजका समस्याहरुलाई हेर्ने हो ।
अहिले बहस गर्ने बेला होइन
आज हामी कहाँ आइपुगेका छौं ? यो हेर्ने भनेको महाधिवेशनले हो । बहस गर्ने पनि समय हुन्छ । यो बहस जबजमाथि आधारित भएर, जबजको सहीपनामाथि गर्व गर्दै, त्यसको वैज्ञानिकतामाथि विश्वास गर्दै अगाडि बढाउनुपर्छ ।अहिले जबजलाई मृत सिद्धान्त र मलामीहरु भनिँदैछ । अहिले नेपाली कांग्रेसका केही साथीहरु पनि राष्ट्रिय राजनीति हामीले भनेको ठाउँमा आयो भनेर दम्भ गरिरहनुभएको छ । माओवादीको त दम्भ छँदैछ । यस्तो बेलामा हामीभित्र पनि साथीहरुले ठीक ढंगले बुझ्न नसकेर अलिकति असमयमा बहस शुरु गर्नुभएको छ । अहिले बहसको उपयुक्त समय होइन । अहिले त हामी चुनावमा जाँदैछौं । निर्वाचनमा तीनवटा ‘स्कुल अफ थर्ड’का वीचमा प्रतिश्पर्धा हुनेछ । माओवादी, एमाले र कांग्रेस । माओवादीले सिद्धान्तहीनतालाई नै सिद्धान्त बनाइरहेको छ । उसले वर्ग संघर्षको ठाउँमा जातीय संघर्षलाई जोड दिन्छ, उसको उग्रराष्ट्रवाद उग्रसमर्पणवादमा रुपान्तरित हुन्छ । कांग्रेस परम्परागत प्रजातन्त्रको व्याख्या बोकेर चुनावमा आउँदैछ ।योबेलामा हामीले जबजप्रति गर्ववोध गर्नुपर्छ । यस्तोबेलामा सार्वजनिकरुपले जबजकै कारणले एमाले संकटमा परेको हो भन्नेखालको तर्क अनुचित हुन्छ ।

No comments:

Post a Comment